Skip to content


नेपाली उपन्यासको फाँटमा स्थापित नाम हो शंकर भारती । २०४१ सालमा अर्को जुनीमा उपन्यास प्रकाशन गरेर नेपाली उपन्यासकारको रूपमा उदाएका भारतीको ‘महापुरुषको सन्तान’ बजारमा आएको छ । भारतीको उपन्यास महापुरुषको सन्तानले मूलतः सामाजिक विषयवस्तुलाई चित्रण गरेको पाइन्छ । उपन्यासको घटनाक्रम सेठ भक्तमानका दुई छोराहरू जय र अजयले प्रथम श्रेणीमा एम.एस.सी. उत्तीर्ण गरेको खुसीयालीमा आयोजना गरेको पार्टीको परिवेशलाई लिएर अगाडि बढेको छ । जसमध्ये जय सेठ भक्तमानको आफ्नै छोरा नभई पालिएका पुत्र हुन् भन्ने कुराको जानकारी उपन्यासको शुरुवातमै थाहा पाइन्छ । जसको संगतले गर्दा उदण्ड स्वभावको अजय पनि भलाद्मी, लगनशील र अनुशासित विद्यार्थीको रूपमा परिचित हुन पुग्दछ । आफ्नो अफिसमा काम गर्ने केटी शीलासँगको जयको प्रेमप्रसङ्ग नै उपन्यासको मूलः कथावस्तु हो भन्दा हुन्छ । जय र शीलाको प्रेम प्रसङ्ग विजय र प्रतिमाको प्रेमप्रसङ्गलाई तथा अजय र उनकी श्रीमती अञ्जुबीचको सम्बन्धलाई पनि उपन्यासकार भारतीले केही हदसम्म आफ्नो लेखनको दायरामा समेटेका छन् । सेठ बाबुको छोरो जय र गरिब केटी शीलाबीचको आदर्श प्रेमले कुरीतिका विरुद्ध धावा बोलेका छन् । दुई मुख्य नारीपात्र शीला र अञ्जुमध्ये शीलालाई शालिन, सभ्य र सुसंस्कृत नारीको रूपमा प्रस्तुत गरिएको छ भने अञ्जुलाई एक घमण्डी, धनको मात लागेर असभ्य भएकी भन्ने हिसावले नकारात्मक ढङ्गले प्रस्तुत गरिएको छ । ‘महापुरुषको सन्तान’ मा पात्र विजयलाई महापुरुषको रूपमा चित्रण गरिएको छ भने जय -जो विजयको आफ्नै छोरा हुन् तर सेठ भक्तमानको पालिएका पुत्र) लाई ‘महापुरुषको सन्तान’ भनेर सङ्केत गरिएको छ । जुन कुरा उपन्यासको अन्तिममा मात्र थाहा पाउन सकिन्छ । जसले गर्दा उपन्यास पद्दै जाँदा पाठकलाई महापुरुष को होला ? भन्ने कौतुहलता अन्तिमसम्म जन्माइरहन्छ । उपन्यासमा नेपाली सामाजिक परिवेशका घटना, परिघटनाहरू समेटिएका छन् । उपन्यासकार भारतीका शब्दहरू सरल, सहज र प्रष्ट वाक्यहरूको संयोग छ । यति हुँदाहुँदै पनि कतै कतै उपन्यासमा उपन्यासको कथावस्तुभन्दा बढी लेखक हावी भएको हो कि भन्ने भान पर्न सक्छ । कथावस्तुलाई स्वभाविकभन्दा पनि नाटकीय ढङ्गले प्रायोजितरूपमा घटनाहरू प्रस्तुत गर्नु नै हो । मूलनारी पात्र शीला र जयको सम्बन्धमा एक अर्काले दुवैलाई उत्तिकै माया र विश्वास गरिसकेपछि पनि शीलाले आफूलाई तल्लो कोटीको रूपमा प्रस्तुत गर्नु, गरिव, निरीह प्राणीको रूपमा प्रस्तुत भएका अभिव्यक्ति बारम्बार दोहोरिनुले उपन्यासलाई केही खल्लो बनाएको छ ।

समग्रमा ‘महापुरुषको सन्तान’ उपन्यास नेपाली समाजको प्रतिविम्बको रूपमा उभिएको छ । यसका पात्रहरू सबै नेपाली जनजीवनका वास्तविक पात्रहरूका रूपमा उभिन सफल भएका छन् । उपन्यासका केही कमजोरीहरू हटाएर भन्नुपर्दा महापुरुषको सन्तान समाजका अन्तरसम्बन्धहरू र संरचनाहरूको सटिक प्रतिविम्बन गर्न सफल छ ।

पुस्तक ः महापुरुषको सन्तान (उपन्यास)
लेखकः शंकर भारती
प्रकाशकः हृवाइट बिज ग्लोबल एजुकेशन
पृष्ठः १८ ं १७८
मूल्य ः रु. १००।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *