सडकको पारिपट्टि ठेलामा सुन्तलाका राम्रा दानाहरू देखेपछि गाडी रोक्दै मैले पुष्पा (श्रीमती)लाई भनेँ, “यहाँ किनौं न त सुन्तला, राम्रा रहेछन् ।” राम्रै रहेछु भन्दै उनी झरिन् । म गाडी साइडमा रोकेर पर्खी बसेँ । करिब पाँच मिनेटपछि उनी उदास हुँदै फर्किन् र कारण बताइन्, “पाँच मिनेट उभिँदा पनि सडक पार गर्न सकिनँ ।” सडक खाली हुँदै हुन्न, मोटरसाइकल र गाडीवाला कसैले रोकेर पालो दिने होइनन् । जबरजस्ती गरूँ भनेँ मोटरसाइकल वा गाडीले हानेर पिचिक्क पारिदेला । अनि, साँझ रेडियो, टीभीमा आधा मिनेटको समाचार आउला, “बौद्धमा एक महिलाको सवारी दुर्घटनामा मृत्यु । त्यत्ति मात्र हुने हो अनि म किन जबरजस्ती गरेर ज्यान फालूँ ?”
मैले ठट्टा गर्दै भनेँ, “के त्यो समाचार आधा मिनेटको नभई पाँच मिनेटको भइदिने हो भने ज्यान जानु सार्थक हुन्छ अनि फाल्ने त ?” पछि मलाई लाग्यो, “त्यो नगर्ने खालको ठट्टा थियो ।”
“त्यसरी पनि नफाल्ने किनभने पाँच मिनेटको समाचार तब मात्र हुनेछ, जब दुर्घटनाको कारण गाडीमा तोडफोड हुन्छ, जलाइन्छ, बौद्ध क्षेत्र बन्द हुन्छ, प्रहरी र स्थानीय बासिन्दाबीच ढुंगा हानाहान हुन्छ, लाखौँले अनावश्यक दुःख पाउँछन् । बरु त्यसबेला ज्यान फाल्नु ठीक हुन्थ्यो, जब मेरो मृत्युबाट सिकेर ट्राफिक व्यवस्था सुध्रन्थ्यो, बाटो काट्नेले सजिलोसँग काट्न सक्थे र त्यो सुधारमा मेरो मृत्युलाई सम्झिइन्थ्यो । तर, यहाँ त्यसो केही हुनेवाला छैन अनि म किन जबरजस्ती बाटो काट्न खोजूँ र?”
हो त, बडो राम्रो कुरा गरिन् पुष्पाले । म ठट्टा गर्दै थिएँ तर प्रत्युत्तर भने गहन पाएँ । मृत्यु सार्थक हुनसक्ने एक विकल्पबारे राम्रो विचार थियो त्यो ।
हामी नेपालीका लागि मृत्युका घटना मात्र घटनाक्रमका दसौँ, एघारौँ, बाह्रौँपटक र यस्तै यस्तै भएर रहन्छन् । घटनाबाट प्रायः कसैले केही सिकेको हुँदैन तसर्थ रोकिने काम पनि हुँदैन । अमेरिकामा राष्ट्रपति फेरिंदा प्रशासनिक संयन्त्रमा रहेका पूरा कर्मचारी नै फेरिने (स्प्वायल सिस्टम) व्यवस्था रहँदा जागिर गुमाएको एक व्यक्तिले चरम निराशाको अवस्थामा राष्ट्रपति गारफिल्डको हत्या गर्यो । त्यसलाई मात्र हत्याका रूपमा हेरिएन । कारण खोतल्ने प्रयास गरियो र कारण निर्मूल गर्न निजामती सेवालाई योग्यता प्रणालीमा आधारित गराइयो, पेन्डलटन सिभिल सर्भिस रिफर्म एक्टु लागू गरेर । त्यसपछि जागिर गुम्दा उत्पन्न विक्षिप्तताको कारणबाट अरू कसैले राष्ट्रपतिलाई गोली हानेका छैनन् । हामीकहाँ भए गोली हान्नेलाई जेल कोचिन्थ्यो होला, बस् पुग्यो ।
घटना वा इतिहासले आफैँ शिक्षकझैँ उभिएर केही सिकाउँदैन । मात्र सिक्ने खुराक दिन्छ । त्यसबाट सिकेन भने निर्मम तरिकाले प्रहार मात्र गर्छ । हामी अति कमजोर छौँ सिक्नमा, त्यसैले नसिकेको कारणबाट पछि परेको पर्यै छौँ, प्रहार खाएको खायै छौँ ।
हामीसँग जोस मात्र छ, होश छैन । त्यसैले चाबहिल क्षेत्रमा स्वयम्भू यातायातको बसले एक-डेढ महिनाको अवधिमा नौ र नौ जनालाई किचेर मार्दा निर्जीव बस जलाएर आगो ताप्तै रमाउँछौँ, दुर्घटनाको कारण पत्ता लगाउन खोज्दैनौँ । कारण पत्ता लगाइहाल्यौँ भने पनि सो रोक्न कदम चाल्दैनौँ । दुःखको कुरो, कतिपय अवस्थामा लक्षणको उपचार गर्छौं, रोगको होइन । त्यसैले नौ जना मरिसकेपछि स्वयम्भू यातायातको बसलाई चाबहिल क्षेत्रमा प्रवेशमा निषेध गरेर समस्या सुल्झेको ठानी मख्ख पर्छौं ।
चालक उस्तै, गाडीको अवस्था उस्तै, उछिनपाछिन गरेर दौडाउने शैली उस्तै, मान्छे मारे पनि १८ हजार तिरेर उम्किन्छ भन्ने मानसिकता उस्तै (१८ हजार जाबो, एक हातको ताली निबन्धसंग्रह, युवराज नयाँघरे) । घूसमा बिकेका चालक-लाइसेन्स दिने कर्मचारीको लोभ उस्तै अनि सरकारमा पुग्ने मोलतोलभन्दा पर गएर जनताका दैनन्दिन समस्यालाई नीतिगत रूपमा समाधान खोज्ने इमानदारी नभएका जनप्रतिनिधिहरू उस्तै अनि सवारी दुर्घटनामा मान्छे मारिने क्रम कसरी थामिन्छ त !
स्वयम्भू यातायातका गाडी साँच्चै त्रुटिपूर्ण छन् भने कहीँ पनि चल्न नदिनु पर्ने हो । चाबहिल क्षेत्रमा मात्र मान्छे किच्न नहुने, गौशालामा किचे हुने त अवश्य होइन होला । अनि, माथि भनिएका कुरा सबै उस्तै भएपछि चाबहिल क्षेत्रमा स्वयम्भू यातायातको बसले मान्छे नकिचे, हलम्भू यातायातको बसले किच्ने सम्भावना रत्तिभर कम हुँदैन । त्यसैले जुन कुरा समाधान होइन, त्यसलाई समाधान ठानिरहेछौँ हामी । टाउकोमा लगाउने औषधी नाइटोमा लगाएर रोग निको हुने भ्रम पालिरहेका छौँ हामी ।
साँच्चै हामी नेपाली गल्तीबाट सिक्नमा कमजोर नै छौँ, भलै किताबमा लेखेका कुरा रटेर परीक्षामा अंक राम्रो आएको होस् । गल्तीबाट सिक्ने भए हरतरहका ठूला गल्ती भइसकेका छन् यहाँ, त्यसबाट सिकेर हामी सुध्रनुपर्ने हो । ठीक उल्टो, झन् गल्तीमाथि गल्ती थपिँदा छन् ! हामी गल्ती नै गल्तीले बनेको बारुदको थुप्रोमा बसेर अग्लिएको ठानी मख्ख छौँ । कुन बेला बारुदमा आगो लागेर विस्फोटमा परी अस्तित्व नै नामेट हुने हो, थाहा छैन । जात, धर्म, संस्कृतिको आडमा गरिने राजनीति ठीक नभएको बग्रेल्ती उदाहरण पुरानो युगोस्लाभिया, नाइजेरयिा, भारत तथा अन्य देशमा भेट्दा पनि अविवेकका पट्टी दिमागमा बाँधेका कारण अनि त्यस्तै सत्तामा पुग्ने मुते न्यानोको तिर्सनामा त्यतै लागेका छन् नेताहरू । बबुरा सर्वसाधारण हामी नागरिक तिनै पाखण्डी नेताका पछि लागेका छौँ । (ती पाखण्डी किन हुन् भने जनताका लागि लडेको, राजनीति गरेको भनेर भ्रम छर्छन् तर पद र पैसा मात्र तिनको मूल अभीष्ट हुन्छ।)
अनि, त्यस्ता पाखण्डी नेताका चारो बनेका हामी खुब राजनीतिक अधिकार पाएको भनी गर्व गर्छांै । स्वतन्त्र विवेकमा बट्टा लागेका हामी नागरिकहरू स्वतन्त्र हुनुको अर्थ विवेक राख्नु हो भन्ने बुझ्दैनौँ । आफूलाई कुनै राजनीतिक दलको समर्थक ठानेपछि उसले जति गल्ती र थिचोमिचो गरे पनि एक्काको घोडाझैँ उसको समर्थन र अर्काको विरोध गररिहन्छौँ । आफू समर्थक रहेको पार्टीले नराम्रो काम गरेकामा ठीक भएन भन्न सक्ने र अर्को विपक्षी दलले राम्रो गर्दा समेत राम्रो भन्न नसक्ने मानसिकताको बन्दी बनेर स्वतन्त्र भएको ठान्छौँ हामी । स्वतन्त्र हुनुको अर्थ विवेक पनि स्वतन्त्र हुनु हो भन्ने सिक्न सकेका छैनौँ, खुब स्वतन्त्र भएका हामी नागरिकले ।
हामी नेपालीहरू चारखुट्टे गैँडाको संरक्षण गर्न अक्षम देखिएका भए पनि दुईखुट्टे गैँडाको संख्या करोडौँ करोड पुर्याइरहेछौँ । हामी मानिस नै गैँडा भइरहेछौँ- अति बाक्लो छाला भएका । गल्ती सुधार्न दिइएको सुझाव, टिप्पणी, आलोचना, आदेशका डन्डाले हामीलाई छुँदैन । अध्ययनका प्रतिवेदन कीराका लागि हुन्छन्, हाम्रा लागि होइन । महालेखा परीक्षकको प्रतिवेदनको मोटाइ नबढ्नुपर्ने हो, प्रत्येक वर्ष । उही गल्ती औँल्याइएका ठेली बढेका बढ्यै छन् । महालेखाका बेरुजु र सुझावले गैँडाको छाला हुनेलाई केही दुखाउन सक्दैन । दुईखुट्टे गैँडाको वृद्धिको कारण नै जंगली गैँडा संकटमा परेको निष्कर्ष निकाल्दा कत्ति गल्ती हुने छैन ।
यही गैँडा प्रवृत्तिकै कारण कति अनिष्टकारी घटना भइरहेका छन् । हामीलाई घटनाका कारण पत्ता लगाउने र निराकरण गर्ने सद्बुद्धि आउँदैन । आउँदो हो त हाकाहाकी सार्वजनिक साधन र कोषमाथि गिद्धे झम्टाइ भइरहँदा पनि त्यसलाई रोक्न प्रभावकारी उपाय नअपनाइने हुँदैन थियो । दृष्टान्तका लागि ०६६ माघमा दमौलीमा सिँचाइ डिभिजन कार्यालयले निकालेको टेन्डर हाल्नेबारेमा एकथरीले अर्कोथरी ठेकेदारलाई टेन्डर हाल्न नदिन जबरजस्ती गर्दा भएको झडप शान्त पार्न प्रहरीले अश्रुग्यास हान्नुपर्यो र नजिकको स्कुलमा सात-आठ जना विद्यार्थी बेहोस भए । टेन्डर हाल्नेबारेमा एक पक्षले अर्कोलाई जबरजस्ती र हाकाहाकी रोक्न कसरी आँट गर्यो, रोक्न सक्ने अवस्था कसरी सिर्जना भयो, त्यसतर्फ हामीले कहिल्यै ध्यान पुर्याएनौँ । टेन्डर दर्ता गराउँदा हूलहुज्जत हुने, ठेकेदारहरू मिल्ने र मिलाइने कारणले स्वच्छ प्रितस्पर्धा नभई सरकारी कोष बढी खर्च हुने समस्या दशकौँदेखिको हो तर आजसम्म उपाय खोजिएन, त्यसैले दमौलीमा त्यस्तो घटना भयो । हामी अझ पनि रोग पहिचान गर्न नसकी टेन्डर हाल्ने ठाउँ स्कुलनजिक हुनु भएन पो भन्दैछौँ । के समाधान त्यही हो त रु खुला चौरमा टेन्डर हाल्नेबीच मारिपट भएर अश्रुग्यास हान्दा ठीक हुन्छ त, होइन रु इमेल, इन्टरनेटको जमाना छ, यसैबाट टेन्डर हाल्ने उपाय अपनाउने हो भने त्यस्तो स्िथति नै आउने थिएन । यति सजिलो उपाय नअपनाएर गुन्डागर्दीद्वारा टेन्डर जित्ने प्रथा जोगाइरहेछौँ ।
अर्को अचम्म छ हामीकहाँ ! नसिक्दा र नफेरिंदा फाइदा हुने वर्गको हातमा निर्णय गर्ने तालाकुँची छ । स्वच्छ प्रितस्पर्धा नभई इस्िटमेट (अनुमान) लागतमा टेन्डर खस्यो भने टेन्डर स्वीकृत गर्ने सरकारी कर्मचारी र मन्त्रीले ठूलो भाग लिन पाउँछन् । त्यसैले पनि चलन फेरिंदैन । नसिक्दा र नफेरिंदा नै फाइदा हुन्छ भने को फेरइिरहोस् !
मलाई यी सबै कुरा देख्दादेख्दा के लाग्न थालेको छ भने सिक्ने र फेरिने डन्डा प्रहार छेक्न जुन गैँडाको छाला ओढिरहेछौँ हामीले, त्यो नै हाम्रो विकासको बाधक हो । सिक्न नसक्ने वा ढिलो गर्नेलाई चिकित्सा विज्ञानमा मेन्टली “रिटार्डेड” भन्छन् र त्यस्तो व्यक्तिलाई जीवन गुजारा गर्न सक्ने सीप मात्र सिकाइन्छ, अरू थप कुरा होइन । त्यस्तै मेन्टली “रिटार्डेड” हुनु राष्ट्रिय चरत्रि हुन गएको छ । गल्ती, भद्रगोल, विसंगति यत्रतत्र छन् र हुन्छन् पनि तर तिनलाई सुधार्न वर्षौं, दशकौँसम्म केही सिकेझैँ गर्दै गरन्िन । सिक्नै खोजिन्न । सुधारका कुनै कदम चालिन्न । कुनै कदम चालिन्छ भने अत्यन्त फितलो वा टाउको दुख्दा नाइटोमा औषधी लाएजस्तो मात्र । जसरी ट्राफिक दुर्घटना रोक्न स्वयम्भू यातायातको बस चाबहिल जान दिइएन र टेन्डर हाल्ने ठाउँ स्कुलनजिक हुनु भएन भनियो । यस्तै भएकाले नै होला पुष्पाले बौद्धमा सडक पार गर्न चाहिनन् किनभने न त आजसम्म दुर्घटनाबाट चालक वर्गले केही सिकेका छन्, न त ट्राफिक प्रहरी वा सरकारी निकायका कसैले । अनि, कथं केही भइहाले पनि त्यसबाट कसैले केही सिक्ने नै छ । अनि,मेन्टली “रिटार्डेड” राष्ट्रिय चरत्रि भएका हामी फगत गुजाराको अवस्थामा छौँ ।
कहिलेकाहीँ मलाई सहिद हुनेप्रित दुःख लागेर आउँछ र तर्पन दिँदै भन्न मन लाग्छ, आमनेपाली जनताको जीवनमा परविर्तन ल्याउन तिमीले गरेको बलिदान खेर गएको छ ! बगेको तिम्रो रगत पानी बनेको छ किनभने आमनेपालीको जीवनमा परविर्तन आएको छैन । मुट्ठीभर फटाहा राजनीतिको खोल ओढ्नेहरू, घूस-कमिसन नै खुराकी हुने केही किर्ना कर्मचारीहरू अनि उपभोक्ता र सरकार दुवै ठग्ने व्यापारीरव्यवसायीहरूबाहेक कसैको जीवनमा कुनै सुखद परविर्तन आएको छैन । कसैले केही सिकेको छैन, केही फेरिएको छैन । तिमीले बलिदान त मात्र राणशासन फाल्न, शाहशासन फाल्न र पञ्चायत फाल्न गरेका थिएनौँ होला । बरु थियौ होला, आमजीवनस्तरमा परविर्तन ल्याउन । त्यस्तो केही भएको छैन । यहाँ दुःखी, गरिब अझै उस्तै छन् । त्यसकारण तिम्रो रगत बगाइ सार्थक भएको छैन, खेर गएझैँ भइरहेछ ।
नेपाल साप्ताहिक ४०४