Skip to content


कुकुर छिर्नसमेत पास चाहिने सिंहदरबारमा
एउटा केराको बोट गर्वले उभिएको छ
नेता र कर्मचारीहरूको आशीर्वादमा
बटुवाहरूलाई शक्तिको धमास छर्दैछ ।

यसका पहेँला पात
सिंहदरबारको कमसल शासन लाग्छन्
यसका हरिया पात
सिंहदरबारको मौलाएको भ्रष्टाचार लाग्छन्
यसको जबरजस्ती अडिएको बुँगो
सिंहदरबारको कुर्सी लाग्छ
अनि, पलाइरहेका हरिया कांगिया
भर्खरै बजेट भाषणबाट बढेको करझैँ लाग्छन्
बढिरहेको यसको गुबो
अकासिएको महँगी लाग्छ
हृष्टपुष्ट थाम
स्वयं कुशासनको प्रतिमूर्ति ।

सिंहदरबारको केराका पात
सधैँ ‘छैन, छैन’को संकेतमा हल्लिन्छन्
मानौँ, मन्त्रीले हात हल्लाएजस्तो !
सिंहदरबारको केरामा लागेको फल
आमबटुवाले हेर्न पाउनु नै अहोभाग्य !
यसको फल चाख्ने-
पर्खालभित्रैका थोरै भाग्यमानी छन्
सिंहदरबारको ओत र स्रोत पनि
भित्रैका मुट्ठीभरहरूकै लागि मात्रै त हो ।

लाग्छ,
सिंहदरबारको केरा
सिंहदरबारकै प्रतिमूर्ति हो
जहाँ सिंहदरबार मात्रै मौलाउँछ
जनता सधैँ दुब्लाउँछन्
जहाँ सिंहदरबार मात्रै जित्छ
जनता सधैँ हारिरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *