आफ्नै स्पन्दनले रचेर गीत जिन्दगीको
आफ्नै ढुकढुकीले भरेर सङ्गीत जिन्दगीको
आफ्नै गुन्गुनाहटमा गाइरहेछु गीत जिन्दगीको।
कुनै धूर्त ईश्वरले भरेको भए धुन जिन्दगीको
कुनै पातकी राजाले गाएको भए गीत जिन्दगीको
कहाँ पाउँथेँ आफैँले गाउन मेरो गीत जिन्दगीको?
ठीकै गरेछु, नदिएर नाङ्गो देउतालाई सङ्गीत भर्न जिन्दगीको
राम्रै गरेछु, नदिएर कालो शासकलाई गाउन गीत जिन्दगीको
नत्र, मैले घाम-पानीसँग लाप्पा खेल्दाको
लय र ताल सुनिन्थेन सङ्गीतमा यो जिन्दगीको
नत्र, पसिनाको देउरालीमा टाँगेको लुङदर जस्तो
फर्फराउँथेन आरोह-अवरोह यो जिन्दगीको।
धेरै भयो गाएको तीतो-पीरो र अमिलो जिन्दगीको
दुःखको हिमाल बोकेर त दिनरात गाउनै पर्थ्यो
सुखको रक्तचाप पनि गाउनै पर्याछ गीत जिन्दगीको।
कहिले साथीभाइसँग प्यालाको रक्सीझै छचल्किँदै
कहिले पाखण्डीहरूसँग पौँठजोरी र मुठभेडमा
हार-जीतको तरबार-युद्ध पनि लडेँ जिन्दगीको
जताततै फैलिएका अचाडु नियत विरुद्ध
इन्क्लाबको दावानल पनि गाएँ यही जिन्दगीको।
मानेँ कि हार्मोनियमको कुनै शास्त्रीय नोटमा
ठ्याक्क मिलाएर गाउन सकिनँ होला गीत जिन्दगीको
के भो त? मैले आफ्नै स्वर-स्केल गाएँ जिन्दगीको।
पीडाको मौसमी कुहिरोभित्र निसास्सिएको बखत
चट्याङको अग्निझिल्को पनि गाएँ जिन्दगीको
थाथिएन, लडाइँ त जीवनभर खेल्नुपर्ने खेल रैछ
तर, किमार्थ टेक्न दिइनँ कतै घुँडा जिन्दगीको
कदापि गाइन पीठ फर्काई भाग्ने गीत जिन्दगीको।
हिमाल खबरपत्रिका पूर्णांक २७३
