Skip to content


समय शाश्वत

इतिहास त्यसैमा आशक्त छ ।

समयले जन्माएका
आइन्स्टाइनहरू
समय झैं
शुन्यमा ठोकिए
किनकि
ईश्वर शुन्य हो ।
तिनको इतिहास हुँदैन ।

समयको घेराभित्र
माटो हुन्छ
वर्षात हुन्छ ।
इतिहास हुन्छ – भोलिको
र अन्ततः
समयको घेराभित्र
समयकै पनि अवसान हुन्छ ।

यद्यपि
इतिहास झैं समयको अवसान हुन्छ
समय इतिहास होइन
इतिहास साक्षी छ ।
इतिहास रोकिंदा
समय फगत
बगिरहन्छ

इतिहास बगाउँछ ।
अनि
ठोकिन्छ – शुन्यमा
किनकि
ईश्वर शुन्य हो ।
शुन्यबाट नै
इतिहास बन्दछ ।

इतिहास दुख्दा र फुल्दा पनि
समय
निर्झर
पल्लवित भएर रमाउँछ ।

इतिहास
प्रायः म जस्तै मान्छेहरूको दुख्ने गर्छ –
किनकि
तिनीहरू
समयलाई गाली गर्दैनन् ।
समयका प्यालाहरूमा इतिहास पिउँदैनन् ।

तिनीहरू
समयका डोबहरूमा
रक्ताम्मे भएर लड्छन्
किनकि
समय पछिको इतिहास
अनवरत–
रगतका छिर्काहरूमा रमाउँछ ।

समय/
ईश्वर
विषाक्त छ ।
किनकि
इतिहास अभिशप्त छ ।

1 thought on “समय र इतिहास”

  1. समयको अन्त्य त्यो आफैंमा
    समयको अन्त्य त्यो आफैंमा विचारयोग्य कुरा हो! तर त्यसको अर्थ, “फेरि नयाँ समय शुरु हुन्छ” भन्ने होला कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *