Skip to content

लाल सूर्य उदाइरहेछ


पात्रहरू:- पहिलो आमा मुख्य भूमिका खेल्ने पात्रहरू

१) अग्नि :- उच्च तहका पुरुष जनसेना
२) अमृत :- मध्यम तहका पुरुष जनसेना
३) अनमोल :- निम्न तहका पुरुष जनसेना
४) आभा :- उच्च तहकी महिला जनसेना
५) आस्था :- मध्यम तहकी महिला जनसेना
६) आनी :- निम्न तहकी महिला जनसेना

अग्नि आभा अमृत अनमोल आस्था र आनी बाहेक दोस्रो आमा मुख्य भूमिका खेल्ने पात्रहरू

७) जोसेफ :- अनमिन प्रतिनिधि
८) प्रमोद :- अयोग्य ठानिएका पुरुष जनसेना
९) प्रलय :- अयोग्य ठानिएका पुरुष जनसेना
१०) प्रमिला :- अयोग्य ठानिएकी महिला जनसेना
११) प्रतिमा :- अयोग्य ठानिएकी महिला जनसेना
१२) प्रकृति :- अयोग्य ठानिएकी महिला जनसेना
१३) तार्केश्वर :- सरकारी प्रतिनिधि

दृश्य :-१

स्थान :- खेल्ने चौर

जनयुद्धको दौडानमा भूमिगतकालमा क। प्रचण्डद्वारा लिखित “कालो शासन” बोलको गीत बज्दछ । कम्ब्याट ड्रेस लगाएका एक दर्जन जनसेनाहरू परेड खेलिरहेका छन् । गीतको समाप्तिसँगै परेड खेल समाप्त हुन्छ । अग्नि र आभा बाहेक अरु मैदानमा विश्राम गर्न बस्छन् । अमृत अनमोल आस्था र आनी चाहिँ वातचितमा प्रत्यक्ष रुपले सरिक हुन्छन् । अरु चाहिँ कुराकानी सुनी मात्र रहन्छन् ।

अमृत :- यो सैनिक पोशाक लगाउन पाइएको छ जनसेना कहलाउन भेट्टाइएको छ । कहिले सम्मानजनक भविष्य देख्छु कहिले गद्दार घोषणा भइएलाकी भन्ने त्रास बोक्छु । आखिरमा न उँभो न उँधोको जीवन विताइरहेको छु जस्तो लागिरहेको छ ।

अनमोल :- के गर्ने र जीवन हत्केलामा लिएर लडिएकै हो । निरंकुशताका मतियारहरूलाई, जनहत्याराहरूलाई पाखा लगाएकै हो । व्यक्तिगत जीवनलाई तिलाञ्जली दिएर राष्ट्रिय हितमा जीवन अर्पेकै हो र पनि यो क्यान्टोनमेन्ट नामक जेलभित्र कैद भएर बसिराख्नुपर्ला कि जस्तो भएको छ ।

आस्था :- घरपरिवारको माया ममतालाई बिर्सेर निमुखा वर्गको हकअधिकार ठूलो ठानेर युद्धमोर्चामा समाहित भइयो । यत्रो रगतको खोलो उरालियो यत्रो कहरको समुद्र तयार भयो । यस्तो अवस्था जानी-जानीकन किन आखिरमा राज्यले हामीलाई किन सौताका छोराछोरीका रुपमा हेर्दछ ? मेरो मनले त आफैँलाई भन्छ- आगो ओकल्न जानेको छस् आगो पचाउन पनि जानेको छस् । सामन्तको सातो उडाउन पनि सिकेको छस् । विकृतिको भण्डाफोर गर्ने प्रशिक्षण पनि पाएको छस् । दबेर नबस् तँ निकै माथि छस् । गुम्सेर नबस् तैँले नै नयाँ नेपालको निर्माण गर्न सक्छस् ।

आनी :- हो मलाई पनि लाग्छ- आँधी बनेर विकृतिका पर्खाल तोडूँ । भूकम्प बनेर हुकुमीतन्त्रको मुटु फोडूँ । पौने तीन करोड नेपालीको गाँस बास कपास शिक्षा रोजगारीको आवश्यकता पूरा नहुँञ्जेल युद्धबाट विश्राम लिँदै नलिऊँ । (दाह्रा किट्दै) काम गर्ने कालु मकै खाने भालु । ज्यान हत्केलामा लिएर तरवारको धार टेक्दै पूरातनवादी कुसंस्कारलाई आर्यघाट पुर्याउने चाहिँ हामी । लोकतान्त्रिक गणतन्त्र नेपालको जन्म गराउने मुख्य श्रेय हाम्रो । अझ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बिजारोपण गर्ने पनि हामी नै । सम्पूर्ण अग्रगामी कदमको नेतृत्वकर्ता प्रारम्भकर्ता र सफलिभूत पार्ने पनि हामी नै । तर हामीलाई पाखा पारेर हाम्रो भावना र विचारलाई परपरै पन्छाएर हरूवा चरुवाहरूको हैकम सहनु पर्ने के यस्तै दिनको लागि हाम्रो प्राण उत्सर्ग भएको हो हाम्रो रगत बगेको हो त्यत्तिकैमा अग्नि र आभाको प्रवेश हुन्छ । अरु चार जना तस्रन्छन् विलखबन्दमा पर्छन् ।

अग्नि :- कमरेड मित्रहरू निश्चय नै हामी औपचारिक पोशाकमा छौँ तर अनौपचारिक कुराकानीमा छौँ । बाहिर गएर यस्ता कुराकानी गर्न मिल्दैन । सीमाभित्र अल्झिएर बसेका छौँ । त्यसैले धन्दा नमान्दा हुन्छ ।

आभा :- हो मित्रहरू तपाईंहरूका मनका सम्पूर्ण कुराहरू हामीले सुन्यौँ । तपाईंहरू धन्दा नमान्नुस् । हामीले पनि तपाईंहरूको मनपेट लिन चाहेका थियौँ । केही हदसम्म सफल भयौँ । यहाँ जे जस्ता कुरा र प्रसंग आए ती सबै हरेक अग्रगामी सोच भएकाहरूको सामुहिक पीडा हो । मनका पीडाहरू पोख्दा पनि नभेटेको सुखानुभूति प्राप्त हुन्छ । एकले अर्काको भावना बुझ्न सकिन्छ ।

अग्नि :- अझ आफ्नो कर्तव्यको बोध हुन्छ । गर्विलो छाती पारेर कर्मक्षेत्रमा सरिक हुने जोस र जाँगर मिल्छ ।

आभा :- हामीले हाम्रा पीडाहरू सम्बन्धित ठाउँमा राखिसकेका छौँ । राखिरहेका छौँ ।

अग्नि :- हो शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउने र हामी जनसेनाको मामलामा अनमिन गम्भीर छ । राज्यपक्ष भने गम्भीर हुन निकै बाकी छ । त्यसै बेला आनी रुँलारुँला जस्तो गर्छिन् । उमेरमा पनि उनी सानै हुन्छिन् । उनलाई परिवारजनको यादले सताउँछ ।

अग्नि :- आनी मन मुलुक भरी लगाऊ । काँधमा बन्दुक र कम्मरमा कार्तुसको माला भिरेर हिँडेका दिन सम्झ । यी कुरा सुन त-

ए ! सानासाना नानी ए ! प्रिय भाइबहिनीहरू
मिरमिरे पछिका ए ! सुनौला बिहानीहरू
नरोऊ तिमी मुस्कुराउँदै उठ
नरोऊ तिमी जुर्मुराउँदै उठ
पीडाका आरनहरूमा पाइन चढेर
तिमी तेजिलो धार बन्दै उठ
दुःःखका आगो ओकल्ने भट्टीहरूमा
तिमी इस्पाती तरबार बन्दै उठ
उठ गरिवीका विरुद्ध लड्ने योद्धा बनेर उठ
उठ विषमताको विरुद्ध लड्ने मोर्चा कसेर उठ
हुर्क तिमी यिनै अभावहरूमा हुर्क
हुर्क तिमी यिनै दबाबहरूमा हुर्क
शिरमाथि सिङ्गो आकाश उचाल्न सक्ने तिमीहरू बच्चाहरू
बाहुलीमा सम्पूर्ण संसार थाम्न सक्ने तिमीहरू बच्चाहरू ।१३

आभा :- सबै क्षेत्रको जनदवाब भए राज्य पक्ष पनि यथोचित तवरले निकास निकाल्न वाध्य हुन्छ ।

अग्नि :- तातै खाउष जली मरुँ जस्तो गर्न पनि भएको छैन । हतारको काम गडबड हुन्छ ।

आभा :- अब कसो गर्ने त बाह्र हात नाघेर भित्तामा हार्ने कुरा पनि भएन । दश दश वर्ष युद्ध लडियो । क्यान्टोनमेन्ट भित्रका यी दिनहरू पनि मनग्यै काटियो । साथीहरूले गरेको जीवन उत्सर्ग हामीले भोगेको पीडा त्यसै खेर जाँदैन । लाल सूर्य उदाउँदै छ । यत्तिखेर पर्खनु सिवाय अर्थोक केही छैन । हामीले एउटा ठूलो युद्ध जितिसकेका छौँ । अरु खालका युद्ध जित्न बाँकी नै छ ।

अग्नि :- हामी कुनै व्यक्तिका लागि लडेका हैनौँ । हामी कुनै राजनैतिक पार्टी वा समूहका लागि लडेका पनि हैनौँ । हामी त राष्ट्रका लागि लडेका हौँ । यहाँ पर्खेर बस्नु भनेको देशको लागि हो । शान्तिका लागि हो । तर एउटा कुरा ख्याल गरौँ साथीहरू नयाँ नेपालको जनमुखी संविधानले नेपाली जनता सुशोभित हुन पाएनन् भने र सामन्तहरूको चंगुलबाट मुक्त हुन सकेनन् भने हामी हातमा दही जमाएर बस्ने वाला छैनौँ ।

आभा :- जहाँ जे छ त्यही लिएर प्रलय ल्याईकनै छाड्छौँ । त्यस्तो अवस्था आएमा त झन् चाँडो जनगणतन्त्र ल्याई छाड्छौँ ।

अग्नि :- हेर्नुस् देश र जनताका लागि मर्न पनि तयार छौँ भने आवश्यकता पर्यो देश र जनताका लागि मार्न पनि तयार छौँ । यी कुराहरूले सबैको मनमा जोश र जाँगर छाउँदछ । सबै उठ्छन् र गर्विलो पाखुरी उठाउँदै अघि बढ्दा बढ्दै प्रगतिवादी कवि एवं वरिष्ठ पत्रकार यी कृष्ण सेन “इच्छुक” द्वारा लिखित यो गीत बज्न थाल्छ……॥

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै
तिमी भन्छौ-गाऊ न त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।

हाम्रा विचारमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातमा हतकडी पहिर्याउँदै
तिमी भन्छौ-लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा खुट्टाहरूमा नेल गिराउँदै
तिमी भन्छौ-हिँड्न त हिँड
तर यो बाटो निहंँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।

ओ शासक ! प्रशासकहरू !
अस्वीकार्य त हामीलाई
तिम्रा निरंकुश आदेशहरू
तिमी जतिसुकै जुलुम र
उत्पीडनहरू शुरु गर
सक्छौ भने हाम्रा चेतनामा प्रतिवन्ध लगाऊ
र सत्यलाई कैद गर

तर ओ तानशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ
उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुटठीहरू
ओ अत्याचारका पहरेदारहरू !
जित हाम्रै हो
तिम्रो हार माथि विजयको झण्डा गाड्दै
हामी भने अथक र अविचल
संघर्ष गरिरहन्छौँ ।१

गीत बजुाजेल सबै जना जोसिलो मुद्रामा खडा रहन्छन् । विस्तारै पर्दा खस्छ ।

दृश्य:-२

स्थान :- वार्ता कक्ष

अयोग्य ठानिएका पुरुष र महिला जनसेना प्रमोद प्रलय प्रमिला प्रतिमा र प्रकृति वार्ता कक्षमा बसेका छन् । उनीहरू नजिकै तर अलिक पर अग्नि अमृत अनमोल आभा आस्था र आनीहरू पनि बसेका छन् । उनीहरू सरकारी प्रतिनिधि तार्केश्वर र अनमिन प्रतिनिधि जोसेफको आगमनका लागि प्रतिक्षारत् छन् ।

प्रमोद :- नेपाल र नेपालीलाई यो अवस्थासम्म ल्याइपुर्याउन अनेकन् वीरवीरांगना योद्धाहरूको पसिना चुहेको छ रगत बगेको छ प्राण उत्सर्ग भएको छ । कतिपयले आफ्नो अमनचयनलाई पारिवारिक सुखसयललाई तिलााजली दिएर नेपाल र नेपालीको समुन्तिमा नै आफ्नो सर्वस्व देखेका छन् ।

प्रमिला :- निरास हुँदै हामीले पनि त्यत्रो योगदान दियौँ तर पनि “अयोग्य” ठहरियौँ । शब्दले पनि हामीलाई मारेको छ ।

प्रतिमा :- ज्यानको बानी थापेर निरंकुसताका विरुद्ध लडेर देशमा गणतन्त्र भित्र्याउने हामी कसरी “अयोग्य” भयौँ यो प्रश्नको उत्तर कसले दिने

प्रलय :- गोजीबाट कागज निकाल्दै प्रतिमाको यो प्रश्नको उत्तर जसले दिन खोज्छ त्यसलाई मैले आमालाई लेखेको यो पत्रको फोटो कपी दिन्छु ।

अनमोल :- खै खै के लेख्नुभएको रहेछ पढौँ उनी कागज लिन्छन् र पढ्न थाल्छन् “आमा ! विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै होला । मलाई क्याम्पस विश्वविद्यालयमा पढ्न नपाएकोमा कुनै पछुतो छैन । मनको एक कुनामा पनि त्यसको दुःख छैन । मैले जुन कुरो रोजेँ अत्यन्तै ठीक रोजेँ आमा । हामी दाजुभाइ नै यस मानेमा प्रफुल्ल छौँ गौरवान्वित छौँ । क्रान्तिको महाअभियानमा पस्नु यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहो भाग्य हो । यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ । सिकेर सिकी नसकिने अथाह कुराहरू रहेछन् यहाँ । जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ । यहाँ यस्तो पनि देखियो आमा युगौँयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरू छुराजस्तो धारिलो भएको पनि देखियो । सन्दुक खोल्न नजान्ने हातहरू बन्दुक चलाउन जान्ने भएको पनि देखियो । टोपीमा तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरू कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो । कपुरी क नजान्ने हातहरू -हामी निरंकुशताका कैदी हैनौँ स्वतन्त्रता समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्रांगणमा त यस्तो लाग्छ-हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनी मिसिएर आएजस्तो गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरू मकैकोदोसँगै पिसिएर आएजस्तो । चराहरूको चिरविराहट भित्र नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ । नदीहरूको कुलकुलाहटभित्र धर्तीकै उमंग छचल्किएको आभाष मिल्दछ यहाँ ।२

प्रमिला :- कत्ति मार्मिक पत्र । यिनै कुरा सम्झेर पनि हाम्रो लागि “अयोग्य” शब्दको उपाधी नदिनुपर्ने हो ।

प्रकृति :- तिम्रो यो कुरो मलाई असाध्यै मन पर्यो । यसरी नै जुनसुकै कुराको पनि जरोसम्म पुग्ने बानी राम्रो हो । हामी त्यत्तिखेर जरुर पढ्थ्यौँ । तर कापी किताब लिएर हैन । स्कूल धाएर हैन । घरमा नै सबै कुरा पढ्थ्यौँ । आमा हजुरआमाले सिकाउँनुहुन्थ्यो । पढ्ने कुरा यिनै कुचो मस्को र पोतो हुन् । अरु पनि भन्नुपर्दा खुर्पी हँसिया कुटो कोदालो आदि हुन् । विहान कुखुरो वासेदेखि रातको एघार-बाह्र बजेसम्म काममा घोटिइरहनुपथ्र्यो र पनि चार गाँस खाने एक धरो लगाउने मुण्टो लुकाउने झुपडी पनि जोड्न सकिएन । जति कमाए पनि अर्काका लागि नै कमाइन्थ्यो । कूलिनवर्गलाई सधैँ एउटा त्रास हुँदो रहेछ- निम्नवर्गका मान्छेको जीवनस्तर उक्सियो भने उनीहरूको जीवनस्तर खस्किदो रहेछ ।

प्रतिमा :- किताबकापी समाउने हातमा बन्दुक र बम समातियो । हो हामी टोपीमा तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्थ्यौं तर जनयुद्धको बाटो समाएपछि भने कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै जनतालाई उकास्न थाल्यौँ ।

प्रकृति :- वीरवीरांगना योद्धाहरूको पसिना चुहेको रगत बगेको प्राण उत्सर्ग भएको र पारिवारिक सुखसयललाई तिलााजली दिएको कारण नेपाल र नेपालीलाई प्रलयको महासागरबाट मुक्त गर्न हो भन्ने कुरा यी शासकहरू किन बुझेर पनि बुझ पचाई रहेका छन्

प्रमोद :- यो परिवारबाट छुट्टिनु पर्दा पीडा भइरहेछ ।

अग्नि :- पीडा मान्नु पर्दैन । हामी जहाँ रहे पनि देश र जनताका लागि हौँ । हाम्रो नातो एउटै छ । कविता वाचन गर्न थाल्छन् यो कविताले पनि यही भन्छ-

एउटै रगतको साइनो रहेछ आखिर
मेची र महाकालीका साँधहरूमा
एउटै नाताको नातो रहेछ आखिर
कमला र भेरीका छालहरूमा
एउटै धर्मको उपासना रहेछ आखिर
झापा र धनुषाका बलिदानीहरूमा
एउटै कर्मको आराधना रहेछ आखिर
गोर्खा र रोल्पाका अनुष्ठानहरूमा
निरन्तर चलेको रक्तिम युद्धमा
मिसिसिप्पीदेखि भोल्गासम्म एउटै रंग छ ।३

आभा :- हेर्नुस् साथीहरू ! हामी सम्झौताका आधारमा यस क्यान्टोनमेन्टमा छौँ । यो सम्झौताको लहरो यस्तो पनि हुँदो रहेछ कि कहिले एक दुई हात तल पनि पर्नु पर्दो रहेछ । कहिले एक दुई हात माथि पनि परिँदो रहेछ तर यी सब परिस्थिति जनताका लागि शान्तिका लागि हो ।

अग्नि :- हामीले प्राण उत्सर्ग गरेअनुसार पसिना चुहाएअनुसार रगत बगाएअनुसार हुने भएको भए त हामी उहिल्यै जनगणतन्त्र नेपालका नागरिक बनिसक्थ्यौँ नि । यहाँ त अरुहरूसँग सम्झौता गर्दै हिँड्नुपरेको छ ।

आस्था :- यत्तिखेर मलाई एउटा कविता सुनाउन मन लाग्यो । उनी कविता वाचन गर्न थाल्छिन् ।

यो पीडा मेरो होइन/देशको पीडा हो ।
यो पीडा तिम्रो होइन/युगको पीडा हो ।
विदा भएर गएको वूढो शताब्दीजस्तो/अस्पतालको शैप्याबाट
अशक्त र रोगाक्रान्त भएर ढलिरहेछु म
बाढी आइरहेको बेला/ छालहरू उर्लिरहेजस्तै
मनभित्र चिन्ताका हिमतालहरू फुटिरहेछन् ।
र यस्तो लाग्छ/ आज मलमपट्टी होइन
यो देशले पूर्ण रोगको जड नै निर्मूल पार्ने
एउटा ठूलो चिरफार खोजिरहेको छ ।४

अमृत :- हो जसै गरे पनि अरुका कुरा खाँदै हिँड्दा मात्र आफ्ना कुरा माथि पार्न सकिने रहेछ ।

प्रकृति :- काम गर्नेले अर्थोक नपाए पनि मान पाउनुपर्छ । सम्झौताको नाममा नैतिकतालाई बन्धक पार्न पाइन्न । मानिसको सबभन्दा ठूलो धन भनेको नैतिकता हो । नैतिकता नभएको मानिस मानिस हैन । मानिसभित्रको नैतिकता हराउनु भनेको परोक्ष रुपमा सर्वस्व गुमाउनु हो । यसर्थ मानिसको लागि नैतिकता सामाजिक बन्धन हो । यिनै सामाजिक बन्धन नाध्नु भनेको मानिसको जातबाट तल झर्नु हो । उनी कविता वाचन गर्न थाल्छिन् –

“जब अखण्ड स्वतन्त्राको घर
अंशवण्डाको मारमा परेर
धेरै धेरै चिरामा विभाजित हुन्छ
त्यतिखेर कालो रातको साम्राज्य
सघन भएको हुनसक्छ धर्तीमा
आगोको याचनामा अखण्ड गीतहरू सुसेलिरहेका
गायकहरूको गायन कलामा मन्दता छाउन सक्छ ।”५

प्रतिमा :- पीडा त व्यक्तिगत रुपमा कत्ति छ छ त्यसको लेखाजोखा गरी साध्य छैन । तर म जहाँ रहे पनि जे भए पनि यही भनिरहन्छु । उनी कविता वाचन गर्न थाल्छिन् ।

तिमी मलाई उग्रवादी सावित गर
यतिखेर मेरा पीडाका निरीह आवाजहरू नै
तिम्रो धृष्टताका विरुद्ध पड्कने बमहरू बनिरहेछन् ।
तिमी मलाई आतङ्कवादी प्रचारित गर
म त युग-युगदेखि निरन्तर जारी
केवल तिम्रा बन्दुक र बर्बर युद्धका विरुद्ध
यत्तिखेर उठाउँन विवस छु बन्दुक
तिमी मलाई युद्ध अपराधी सावित गर
म त मुक्ति र स्वतन्त्रता चाहन्छु
म त केवल न्यायपूर्ण युद्ध चाहन्छु
मेरो विरुद्ध युग-युगदेखि निरन्तर जारी
तिम्रो अन्यायपूर्ण युद्धको अन्त्यका लागि ।६

प्रमोद :- राष्ट्रघात जनघात आस्थाघात विश्वासघात जनहृदयको आंकाक्षामाथि तुषारापातको सँगीन समयमा म जनसेनाको हैसियतले सर्वत्र पुगेँ । मनमा माया छ । उनी कविता वाचन गर्न थाल्छन् ।

यति निकटबाट पहिले
कहिल्यै देखेको थिइन
क्रोधले उत्तेजित तिम्रो अनुहार
यत्ति निकटबाट पहिले
कहिल्यै देखेको थिइन
रोषले आक्रोषित तिम्रो आवाज
यत्ति निकटबाट पहिले
कहिल्यै सुनेको थिइन ।
तिम्रो सघन पीडाको अनुभव
ए मेरो प्यारो मधेस ।
ए सुन्दर श्यामल प्रदेश ॥७

प्रलय :- उनी पनि तुरुन्तै कविता वाचन गर्न थाल्छन् ।

यत्ति निकटबाट पहिले
कहिल्यै भएको थिएन
तिम्रो गहन संवेदनाको आभाष ।
म पहाड हुँ/तिमी मधेस
म हिमाल हुँ/तिमी तराई
म लेक हुँ/तिमी मैदान
ढुङ्गाको भर माटो तिमी हौ
माटोको भर ढुङ्गा म हुँ
म लालीगुराँस/तिमी रातो गुलाफ
म लालुपाते/तिमी गुलमोहर
म शितल बतास/तिमी न्यानो हावा
तिमी ग्रीष्म हौ /म वर्षात् हुँ
भिन्न भिन्न पन्छीहरूको
भिन्न भिन्न गानजस्तो
हाम्रो भाषा/हाम्रो भेषभुषा
सप्तरंगी इन्द्रेणीको सप्तरंगी मालाजस्तो
हाम्रो रुपरंग/हाम्रो मुखमुद्रा
भिन्न भिन्न भए पिन
ए मेरो मधेस ।
ए सुन्दर श्यामल प्रदेश ॥८

प्रमिला :- तुरुन्तै उनी पनि कविता वाचन गर्न थाल्छन् ।

हामी एउटै प्रकृतिका
भिन्न भिन्न ऋतुहरू हाँै
हामी एउटै फूलवारीका
भिन्न भिन्न फूलहरू हौँ ।
यत्ति बेस्सरी पहिले
कहिल्यै अनुभूत भएको थिएन
हाम्रो अभिन्न एकता
यत्ति बेस्सरी पहिले
कहिल्यै महसुस भएको थिएन
हाम्रो प्रगाढ धनिष्ठता
यत्ति बेस्सरी पहिले
कहिल्यै प्रखर भएको थिएन
हाम्रो वर्गीय मुक्ति
ए प्यारो मधेस
ए सुन्दर श्यामल प्रदेश ॥

यत्ति बेस्सरी पहिले
कहिल्यै मुखर भएको थिएन
हाम्रो प्रबल राष्ट्रबोध
यत्तिबेला पानी धमिल्याएर कसैले
माछा मार्न चाहेको हुन सक्छ
होस गर/हाम्रै घर डढाउन
कसैले बृक्षको आगो झोसेको हुनसक्छ
आगोको भर पानी हामी
पानीको भर आगो हामी
राम्ररी आँखा खोल ।९

प्रतिमा :- तुरुन्तै उनी पनि कविता वाचन गर्न थाल्छन् ।

कताको आँप कताको झटारो
यत्तिबेला हामीलाई जुधाउन कसैले
फुटको कुचक्र रचेको हुनसक्छ
एउटै कर्म भूमिका दाँयावाँया हात हौँ हामी
हाम्रो साँझा लक्ष्यको तारो एउटै छ
एउटै मातृभूमिका दाँयाबाँया काँध हौँ हामी
हाम्रो साझा भविष्यको तगारो एउटै छ
एउटै पितृभूमिका दाँयावाँया पाउ हौँ हामी
हाम्रो साझा गन्तव्यको गोठालो एउटै छ
ए प्यारो मधेस ।
ए सुन्दर श्यामल प्रदेश ॥१०

प्रकृति :- उनी पनि कविता वाचन गर्न तुरुन्तै थाल्छन् ।

हाम्रै कर्मशीलतामा
देश अझ जीवनशिल बन्छ
हाम्रै गतिशिलतामा
देश अझ प्रगतिशिल बन्दछ
एउटै साज र आवाजका
एउटै होस्टे र हैसे हामी
हाम्रै एकता र पौरखले
देश अझै गौरवशाली बन्छ ।११

अग्नि :- धन्यवाद मित्रहरू यहाँहरूको दृष्टिकोण तीखो र परिपक्व भएको छ । जसरी युद्ध भन्ने कुरा सिकेर जान्ने कुरा नभएर हामी व्यवहारबाट धेरै कुराहरू सिक्दै जान्छौँ त्यसरी नै समस्याको निकास पनि सरल हुँदैन यो जटिल हुन्छ बांगोिटंगो हुन्छ अनगिन्ती मोड कुइनेटाबाट अगाडि बढेको हुन्छ । कुनै ठाउँ गर्भले छाती फुलाउने बन्ला तर वास्तविकतालाई आत्मसात् गर्दै सहमतिको विन्दुमा पुग्नका निम्ति केही तल झर्न पनि सक्नुपर्छ । यस्तो अवस्थामा छाती खुम्च्याउने र शिर निहुर्याउने काम चाहिँ हामीलाई गर्न सुहाउँन्न । किनभने हामी त जनताका सिपाही हौँ । जनताका सिपाही न कहिले हारे न कहिले हार्नेछन् ।

आभा :- उनी पनि कविता वाचन गर्न थाल्छिन् ।

आर्तहरूको मुटु कलमले बोल्नुपर्छ
बन्धनमा जकडिएको जीवन खोल्नुपर्छ
किरणीले चुम्नुपर्छ खोला वारिपारी
नवयुगको बन्नु पर्यो तिमी कारिगरी ।१२

वर्तमान स्थितिप्रति असन्तुष्ट मात्र हुनु छैन । परिवर्तनका लागि जनचेतना जगाउँदै नयाँयुगको सृजना गर्न कालमाथि पनि विजय प्राप्त गर्नुपर्ने बेला आएको छ । सपनाको भ्रमित महलभन्दा सिर्जनाहरू निकै टाढा हुन्छन् । आहत असह्य निरीह कमजोर वर्गका सपना र जपनालाई हाम्रा सृजनाहरू र काम गराइले सम्बोधन गर्न सक्नुपर्छ । जनताको कल्पना र भावनालाई मूर्त रुप दिन सक्नुपर्छ । जागृतिका नूतन किरणहरूले गाउँवस्तीमा फैलिएकॊ अन्धकारमा गुम्सिएका जीवनहरूलाई बन्धनमुक्त पार्नुपर्छ्र । उत्पात मच्चाउने उडुस उपियाँ लामखुट्टेको जमातलाई नष्ट गरी युगले ल्याएको जागरण ध्वनिलाई सबैले सुन्नुपर्छ । वलिदानको मूल्यलाई सबैले सम्मान गर्नुपर्छ । सहिदका सपनाहरूलाई नविसर्ीकन करोडकुटी झुप्राहरूको मुक्तिको लागि वफादारीका साथ लाग्नुपर्छ । क्यान्टोनमेन्ट बाहिर गएर गर्ने धेरै काम छन् । लाल सूर्य उदाइरहेको कुरो सबैले बुझ्नुपर्छ । मेरो गोरुको बाह्रै टक्का भन्न मिलेन । एकै मिलन विन्दु भेट्न जो भए पनि तल झर्नैपर्छ । तपाईंहरू धन्दा नमान्नुस् । मिल्ने जति झर्छौं र सके जति मुलुक र जनताको हितमा बचनबद्ध हुन्छौँ ।

तार्केश्वर र जोसेफ पर्दा नजिक देखिन्छन् ।

तार्केश्वर :- उपस्थित सम्पूर्ण सज्जनवृन्द हामी समस्या सुल्झाउने अभियानमा छौँ । हाम्रा अगाडि अनगिन्ती तगाराहरू छन् । ती तगाराहरूको निर्माणकर्ता पनि हामी नै हौँ । पन्छाएर अघि बढ्ने सामथ्र्य पनि हामीमै छ । तसर्थ कुनै पक्षको मन पनि नकुडिने गरी र मुलुकलाई दीर्घकालीन सकारात्मक असर पर्ने गरी काम गर्न निर्णय गर्न हामी तयार छौँ । यस कुरामा कसैको मन दुखाइ नहोस् ।

जोसेफ :- म पनि दुई शब्द बोलौँ । उपस्थित सम्पूर्ण महानुभावहरू हामी नेपालमा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भन्ने चाहन्छौँ । मूलतः हामी मध्यस्तकर्ता हौँ । निर्णायक हैनौँ । निर्णायक त तपाईंहरू हुनुहुन्छ । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउने सवालमा भएका सम्पूर्ण अग्रगामी पहलकदमीमा हाम्रो साथ छ । नेपालमा लाल सूर्य उदाइरहेछ । धन्यवाद । सबैले ताली बजाउँछन् । तार्केश्वर जोसेफ अग्नि र आभा वार्ताका लागि अर्कै कक्षतर्फ प्रस्थान गर्छन् भने अमृत अनमोल आस्था आनी प्रमोद प्रलय प्रमिला प्रतिमा र प्रकृति माचमै रहन्छन् । पर्दा खस्छ ।

……………………………………………………………………………………………

पादटिप्पणी :- १, ३, ६, ७, ८, ९, १०, ११ र १३ साहित्यकार कृष्ण सेन “इच्छुक” का कवितांश र २५ र १२ साहित्यकार पुन्य कार्कीको “मध्यरातमा” कथा संग्रह- २०६२ र बाघले घाँस खायो कविता संग्रहका केही अंश

दिनाङ्क-२०६६-०८-०३ तपेश्वरी-१ गल्फडिया उदयपुर

4 thoughts on “लाल सूर्य उदाइरहेछ”

  1. धन्यवाद केबीएसज्यू
    नाटक त

    धन्यवाद केबीएसज्यू
    नाटक त प्रकाशन भएछ तर प्रीति फन्टमै कतैकतै के भाको कुन्नि ? गलत हुन गएछ
    कारण थाहा पाउन सके पुनरावृत्ति नहुने गरी लेखेर पठाउने थिएँ !
    पुनः धन्यवाद र
    तिहारको झिलिमिली र देउसी भैलोका विविध कार्यक्रमको रमाइलो सम्झदै
    शुभकामना !!!

  2. नन्दलालजी प्रीति फन्टबाट
    नन्दलालजी प्रीति फन्टबाट युनिकोडमा रुपान्तर गर्दा निकै गहारो भयो। नमिलेका कुराहरू पनि होलान्। त्यसको लागि माफ छ!

  3. धन्यवाद KBSज्यू काम गर्नेलाई
    धन्यवाद KBSज्यू काम गर्नेलाई नै थाहा हुन्छ
    जानकारी पाउँदा खुशी लाग्यो
    मचाहिँ मेरै कम्पोजमा त्रुटि भएछ कि भन्दैथेँ
    यदाकदा भएका कुरा हुँदै गर्छन्
    तर कम्पोज गर्दा नै कुनै सावधानी अपनाउनुपर्छ कि भनेर जानकारी पाउन पत्र लेखेको थिएँ
    धन्यवाद
    गारो भकोमा दुखित छु
    सायद सर्ट कि युज भएका लेटरमा पो यस्ता त्रुटि आउँछन् क्यारे

  4. पुराना कुरा पढ्दाको अनुभव
    पुराना कुरा पढेर मनमा यस्तो छाप पर्यो

    एकपल्ट अब जोस जगाएँ
    मात्र मनभित्र होस जगाएँ ।
    जुत्ता नै चाहिन्न हिँड्नलाई
    बेथितिविरूद्द दोष जगाएँ ।
    कसैको जालले बेरिनु छैन
    कपट मनमा रोष जगाएँ ।
    कटु वाणी नसहनलाई
    फिर्ता दिनुपर्ने ठोस जगाएँ ।
    मुखले हैन कामले बाँचिन्छ
    जीवन जिउने कोष जगाएँ ।
    तपेश्वरीः 1 उदयपुर
    nandalalacharya@gmail.com/9842829206

    thank you verymuch.

Leave a Reply

Your email address will not be published. Required fields are marked *