Skip to content


“गुहार …..! मलाई बचाउनुस् !” मङ्गलेको घरबाट आज पनि फेरि एक तमासको चिच्याहट, साइँली बज्यैको कानमा आएर ठोकिन्छ । साइँली बज्यै फुकेको पटुकाको फेर कम्मरमा समेट्दै हतार-हतार दुगुरेर मङगलेको घरमा पुग्छिन् । यता भोकाएको झोकमा मङ्गलेले मङ्गलीलाई यति खेरसम्म भात नपकाएको भनेर बेस्सरी भकुर्दै हुन्छ।

मङ्गलीलाई अन्धाधुन्द भकुरिरहेका मङगलेका हात समात्दै साइँली बज्यै, आक्रोस ब्यक्त गर्छिन्, “(हन ए) मङ्गलेका जोइ-पोइ मोरा-मोरी हो ! के तमास गरेका हँ ? तिमीहरूले यो रातोदिन शत्रु, हँसाएर ।”

साइँली बज्यैको आवाज सुन्ने बित्तिकै मङ्गलेकी स्वास्नी मङ्गली झन डाँको छोडेर रुन्छे, साइँली बज्यैको पाखुरामा मुन्टो राखेर ।

त्यसपछि साइँली बज्यै मङ्गलेतिर जाइलाग्छिन – “तँ स्वास्नी कुटुवा मोरा । तँलाईं अलिकतिपनि लाज सर्म छैन् ?”

साइँली बज्यैको मुखको गाली खाएर कालो र निलो मुख लगाएर भोकले लखतरान भएको मङ्गले भक्भकाउँदै बोल्छ – “तिमीनै भन त साइँली बज्यै म बिहानभरि मुखियाको खेतमा हलो जोतेर आएको, त्यो त तिमीलाई थाहानै छ । यो मङ्गलीले म भोकले लखतरान भएर आउँछ भन्ने जान्दाजान्दैपनि अहिलेसम्म चुलोमा आगोसम्म जोडेकी छैन् ! अनि रिस उठ्दैन ?”

साइँली बज्यै कड्के स्वरमा भन्छिन् – “रिस उठ्छ भन्दैमा कुट्नै पर्छ ? गोरु जोत्ने मोराको बुद्धि गोरु जस्तै भैसकेछ । कति सार्है निष्ठुरी !”

साइँली बज्यैका कुरामा फेरि भक्भकाउँछ, “मङ्गले तिमी मङ्गलीको पक्ष लागेर मलाइ खाउँलाझैं गरेर के झम्टिन्छेउनी साइँली बज्यै ? म त आफ्नो काम लुरु-लुरु गरेकै त छु नि ! यही मङ्गली उस्ती हो । घाममाथि आउञ्जेलसम्म सुत्छे । ”

मङ्गलेका कुरातिर एकछिन् घोरिएर साइँली बज्यै भन्छिन, “तेरो कुरा त सही हो मङ्गले । तर, मङ्गली किन सुती ? सञ्चो नभएर पनि त हुन सक्छ । त्यो कुरा नबुझिकन सधैंको लडाईं, झगडा गरेर गाउँलेलाई रमिता देखाएर हुन्छ ? कसरी हुन्छ ? जोइ-पोइ मिलेर पो घर ब्यवहार चलाउनु पर्छ । राम्रो सँग सम्झाइ-बुझाई गर्नु पर्छ । कि कसो ? मैले बोलेका कुरा तँलाई नराम्रा लागे ? स्वास्नी कुट्ने बानी राम्रो होईन बाबै । अब देखि त्यस्तो गलत काम गर्नु हुँदैन, बुझिस ?”

साइँली बज्यैका कुराप्रति सही थाप्दै मङगले भन्छ- “बुझें साइँली बज्यै ।”

अनि साइँली बज्यै सम्झाउँछिन्- “हेर, मङ्गले यो मङ्गली पनि त आफ्नो जन्मघर छोडेर आएकी छ । तैंलेपनि यसलाई माया नगरे कसले माया गर्छ ? ”

साइँली बज्यैका कुरा ठीक लाग्छ मङ्गलेलाई । आखिर नबुझीकन हातपात गर्नु मेरै कमजोरी हो । मनमनै मङ्गले’ले आफूलाई धिक्कार छ । साइँली बज्यै मङगलीलाई पनि सम्झाउँछिन्- “हेर नानी तिमीहरू धेरै पनि छैनौ । दुई जोइ-पोइ छौ । जे जुटाउन सक्छौं, मिठो मसिनु समयमै बनाई-तुल्याई आफू पनि खानुपर्छ । लोग्नेलाई पनि दिनुपर्छ । परापूर्वकालदेखि नारीलेनै घर परिवारको भोक-तिर्खा बुझ्दै आएकी छे । यो नै नारी धर्म हो, बुझिस ?”

मङ्गली साइँली बज्यैका कुरा बुझेको संकेत दिन्छे मुन्टो हल्लाएर ।

“तिमीहरू दुईले पनि देशमा नेताले अड्को थापेको जस्तो अड्को थापेर घर चल्छ ? घर भनेको हामीलाई सितल छाहारी दिने मन्दिर हो । तिमीहरूले देखेकै छौं, हेर त आज देशमा यस्तै ‘तैं रानी मै रानी को भर्ने कूवाको पानी’ गर्ने भएकाले नै हामी देशबासीले खप्नु सास्ती खपेका छौं । तँ मङगले पनि छोरा मान्छे भएर यसो बाहिर फेरो घुमेर हेर्नु पर्छ । तेरो बाबुको पालादेखि अहिलेसम्म त्यो मुखियाकै खेत जोतेर कति कमारो प्रथा मै सकी-नसकी घिस्रिन्छस् ? त्यस्तो पाराले कहाँ घर ब्यावहार चल्छ ? आफ्नो आत्मसम्मानको हक आफैंबाट सुरक्षा गर्न सक्नु पर्छ । तेरो बाबु त कठै बरा गर्भे टुहुरो थियो । न बस्ने बास न खाने गाँस थियो । जन वन गरेर खाइ-नखाइ अहिले त जे भएपनि तिमीहरूको लागि एउटा घामपानी ओताउने झुप्रो त जोडिदिएर गयो । तैंले त केही नभए पनि पाँच- पाँच कक्षासम्म पढेकै छस् क्यारे । अक्षर चिनेपछि गरिखाने बाटो खोज्नुपर्छ बाबै ! भोलि तिमीहरू दुईका छोराछोरी हुन्छन् । खाने मुख बढेपछि झन मुस्किल हुन्छ । हेर बाबै मैले त तिमीहरू दुईको भलाईकै लागि भनेकी हुँ। यो बूढी कति अर्ती र उपदेश दिंदिरहिछ नभनेस् । अर्ती, उपदेश दिने मान्छे भएनन भनेपनि मीयो बिनाको गोरु झैं दाहीँ हुन्छ ?” साइँली बज्यै एकतमासले मङ्गलेका जोइपोइलाई सम्झाउँछिन् ।

साइँली बज्यैका कुरा सुनिसकेर मङ्गले पनि निन्याउरो मुख लगाएर गल्तीको महसुस गर्दै हात जोडेर भन्छ मेरो आमा भने पनि बाबु भनेपनि तिमी नै हौ, एउटी साइँली बज्यै । नत्र यो गाउँमा को छ र ? मलाइ यसरी सम्झाउने ?”

अनि साइँली बज्यै पनि मङ्गलेका कुरामा सहनुभूतीका मीठा शब्द थप्दै भन्छिन् “म पनि त तँलाई आफ्नै सम्झिन्छु र पो त सम्झाउँछु नत्र……! अरु भए के खाँचो थियो र मलाइ यसरी सम्झाइराख्नलाई ?”

मङ्गलीलाई पनि मनमा कता-कता गल्तीको चिसो पस्छ। त्यसैले छेउको चुलोमा आगो जोडेर भात पकाउने तरखर गर्न थाल्छे मङ्गलीपनि । केही छिन घोरिएर मङगले फेरि बोल्छ “साइँली बज्यै ! साँच्चै चल्दैन त मुखियाको खेत जोतेर मेरो जीविका ? त्यसो भए आज मैले एउटा निर्णय गरे तिमी के भन्छ्यौ ?”

मङ्गलेको मनसायप्रति सहानुभूती दर्साउँदै साइँली बज्यैले सोध्छिन् “कस्तो निर्णय ? भन् न मैले सकेको सयोग गर्छु क्यारे म तँलाईं ।”

त्यसपछि मङगले आफ्नो मनको कुरा साइँली बज्यैसामु ब्यक्त गर्छ, “त्यसो भए मलाइ बाटो खर्च पाँचसय दिन्छ्यौ त ? म मुग्लानतिर जान्छु कमाउन । कमाएर तिम्रो पैसा ढिलो चाँडो तिरिदिन्छु ।”

अनि साइँली बज्यै भन्छिन् ” मुग्लान जाने कुरा चाँही मसँग गर्दै नगर ! तँ मङ्गले विवेकी भएर काम गर्छस् भने यही आफ्नै देशमा केही गर्नु पर्छ । तँ मुग्लान हिंडेपछि यो मङ्गली कसको मुख हेरेर बस्छे ? तिमीहरू दुबै जोइपोइ मिलेर यही केही गर्नुपर्छ । यो मङगलीलाई सुख दिन्छस् भने मैले पाँच सय दिन नखोजेको होईन ला, अहिले नै दिन्छु पाँच सय ।”

साइँली बज्यै पटुकामा सातगाँठो पारेर राखेको पाँच सयको नोट झिकेर मङ्गलेको हातमा राखिदिन्छिन् ।

मङ्गले साइँली बज्यैतिर हेर्दै भन्छ “त्यसो भए के गर्नु त ? ”

साइँली बज्यैले भन्छिन् “हिजो मैले सुन्तलीको मुखबाट भन्ज्याङमा सुनेकी डाँडाघरे अन्तरेको घरमा गाउँलेकै भेला थियो रे ।”

“केको भेला साइँली बज्यै ? ” मङगले सोध्छ ।

साइँली बज्यै अर्थाउँछिन् “त्यो माथि देवीथान वनको खाली जग्गामा समुदायिक वन उपभोक्ता समूह मिलेर सामूहिकरुपमा अलैंची र अदुवा खेती गर्ने रे ! काम गर्न इच्छुकले चाँडो सम्पर्क गर्नु भनेका छन् रे । त्यहाँ काम पाईन्छ गर्दै गर । काम गर्दै गए पछि अनुभव पनि बढ्छ । त्यसपछि काम गर्ने जोस जाँगर उत्साह बढ्दै जान्छ । पछि तैंले जानेका कुरा यो मङ्गलीलाई पनि सिकाएर नारीलाई पनि आत्मानिर्भर हुनसक्ने बनाइस भने, सबै गाउँलेले पनि तँ र मङगलीबाट सिक्नेछन् । अनि पो गाउँ र देशको बिकाश हुन्छ । यो मङगलीले यही करेसाबारीमा खाने सागसब्जी मात्रै लगाई भने पनि कहाँ हो कहाँ ? अलैंची र अदुवा खेतीमा काम गर्दा जान्ने बुझ्ने मान्छेले कसरी लगाउदा रहेछन् हेर्ने , उन्नत जातको बिउ बेर्ना कहाँ उपलब्ध हुँदो रहेछ थाहा हुन्छ । बेर्ना कहाँबाट ल्याउने त्यसको हेरचाह कसरी गर्ने कुरा जानिसकेपछि जोइपोइ मिलेर मेरो माथि त्यो सिरानछेउको त्यत्रो बारी कति बर्षदेखि बाँझै बसेको छ । तिमीहरूले कमाउनु , आफू पनि खानु , मलाई पनि दिनु ।”

साइँली बज्यैका यति राम्रा-राम्रा ज्ञानका कुरा सुनेर मङगले साइँली बज्यैको कुरासँग सहमति हुँदै खाना खाएर डाँडाघरे अन्तरेसँग गएर भेट्ने मनसाय बनाउँछ ।

यता त्यतिबेरसम्म मङ्गलीले भात तयार भएको सूचना सहित हातधुने पानी दिन्छे मङ्गलेलाई ।

साइँली बज्यै आफूले गरेको असल कामप्रति मङगले’ले सहमति जनाएको खुशीले गदगद हुँदै मङ्गले र मङगलीसित बिदा मागेर घर आउँछिन् ।मङ्गलेका जोइपोइ मिलेर भात खान भान्सातिर लाग्छन् ।

गीता थापा (दोषी)

1 thought on “सहमति”

Leave a Reply

Your email address will not be published. Required fields are marked *