Skip to content

तिमी शहरका धनी बाउका छोरी


तिमी शहरका धनी बाउका छोरी
तिमी जस्तै दिदी-बैनीहरू
खाली खुट्टा घाँस्-दाउरा
कुटो-कोदालो गरिरहँदा
तिमी स्टेप र साल्सा नाँच
नाचिरहेकी हुन्छौ
भोकले छट्पटिएका आमाहरू
पेट भर्न मेलापात गरिरहँदा
तिमी महंगा रेस्टुरेन्ट र होटेल
चहारी रहेकी हुन्छौ
धनी र गरीब बिचको-
पर्खाल कहिले भत्केला?

तिमी जस्तै दिदी-बैनीहरू
पढ्न नपाएर क ख पनि
लेख्न नसकेको बेला
तिमी नेपाली बिर्सेझै
अंग्रेजी बोल्दै हिंडेकी हुन्छौ
उपचारको अभावमा आमाहरू
अकाल मरिरहेको बेला
तिमी सुन्दर देखिन कस्मेटिक-
सर्जरी गरिरहेकी हुन्छौ
धनी र गरीब बिचमा-
समानता कहिले होला?

तिमी जस्तै दिदी-बैनीहरू
भरिया बनेर प्रचन्ड गर्मीमा
भारी बोकी हिंडेको समय
तिमी बिदेशी मोटरमा
कुदिरहेकी हुन्छौ
सुत्ने छाप्रो नभएर आमाहरू
जाडोमा कठंग्रिएको समय
तिमी कुकुर-बिरालोलाई
सोफामा सुताई रहेकी हुन्छौ,
के तिम्रो थोरै धन्-
ज्ञान र भावना
गरीबसँग बाँड्न सक्तैनौ?

नोट:-पश्चिमेली सँस्कार अंगालेका संभ्रान्त परिवारका चेली-बेटी र गाँउका भोको, खाली पेट बोकेर दासीको जिन्दगी बिताउन वाध्य चेली-बेटी बिचको असमान जीवन शैली!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *