‘त्यो खराब मान्छे हो लालबाबु’ -एक दिन वहिद काकाले सुनाए । ‘ए हो र’ – लालबाबुले टाउको हल्लाउँदै अनभिज्ञता जनायो ।
उनले मुसुक्क हाँस्दै भने -‘हो त ।’
त्यसपछि त्यो मान्छेप्रति उसका नकारात्मक सोच आयो र वहिद काकाप्रति अगाध श्रद्धा जाग्यो । धेरै सिकाएका थिए काकाले । बस्तीकाहरूको पनि सोंच त्यस्तै थियो ।
त्यसैको विरुद्ध जाँदैछौं लालबाबु, सहयोगको अपेक्षा गरेका छौँ-काकाले आशापूर्ण नजरले हेर्दै भने । उसले साथीहरूलाई पनि सुनायो । लामो विचार/विमर्शपछि सबैले काकालाई साथ दिने भए । कुरा लिएर ऊ काका भए ठाउँ गयो ।
काकाको काममा जोस र जाँगरले बल प्रदान गर्यो । उहाँहरू खुबै हौसिनु भयो । तिनीहरू पनि दिलोज्यानले लागे र विरोधले आन्दोलनको रूप लियो ।
जसको विपक्षमा आन्दोलन हुँदै थियो, त्यसैको समर्थनमा केहीपछि काकाको वक्तव्य आयो । वक्तव्यले सबैलाई स्तब्ध तुल्यायो । साथीहरू आक्रोशित भए । आन्दोलनको क्रममा नजीर र बजीरले ज्यानसमेत गुमाइसकेका थिए । ‘के गरेको वहिद काका ?’-आक्रोशपूर्ण भावमा प्रश्न राख्यो उसले । काका एकछिन घोरिए र मुस्कुराउँदै भने-‘बाबु, राजनीतिक पेसा भनेको यस्तै हो, समर्थन र विरोध भइरहन्छ ।’
