तपाईं सँाच्चिकै देशभक्त भए यो देश बन्छ बन्दैन खासै ख्याल नराख्नु होला । सरकार चल्छ चल्दैन, उतिसारो ध्यान नदिनु होला । सरकारै नभएको बेला छ भने पनि कुन कुन सरकारले केके लछारपाटो लगाएका थिए, थोरै भए पनि सिंहावलोकन गर्नु होला । सरकार बने क-कसको बन्छ, नबने कसकसको बन्दैन र किन बन्दैन त्यता पनि वास्ता नतेस्र्याउनु होला । बनेर के के नाप्यो र के के लछारपाटो लगायो, मूल्याङ्कनको माथापच्चीसीमा नफस्नु होला । कसैको गाली र कसैको प्रशंसामा घोक्रो नफुलाउनु होला । उत्तरदायी सरकार बने हुन्थ्यो, यस्ता गाँडेगुँडे कुराको कामना नगर्नु होला । त्यस्तै उस्तै सरकार बनि हालेछ भने पनि त्यसैको भर पर्नु होला । उपलब्धि चाहिँ कस्तै परे पनि नखोज्नु होला ।

तपाईं सभासद नै भए त झन् सुनमाथि सुगन्ध । झमेलै खतम । संसद सेसन सुरु हुँदा सधैँ प्रसन्नचित्त रहनु होला । संविधान बन्छ बन्दैन वास्तै नगर्नु होला । संविधानसभाको अवधि नै सिध्दिने भए दिनरात नारा, घेराउसहित ‘मस्सल शो’ मा उत्रिएर रातारात मियाद थपाउनु होला । अघिपछि बजेट आयो आएन त्यतातर्फ सधैँ सतर्क रहेर ठाडा कान लगाउनु होला । बजेट आउने बेला पहाडतिर बारीका पाटाहुँदी लगाइने भोजभतेरका काग झैँ मुख मिठ्याउनु होला । देशभित्र विकास निर्माणका के के काम हुने भए, चासो नराख्नुहोला । पानीबत्तीलगायत समस्यामा निरपेक्ष जडभरत बनेर कानले सुन्दै उडाउँदै गर्नु होला । बजेट पेश हुनेबित्तिकै कान थापेर ध्यानमग्न बन्नुहोला । चित्त बुझे हुन्छ भन्नु होला । न बुझे पनि हुन्छ भन्नु होला । कसै कस्तै परे पनि हुन्न नभन्नु होला । दानाको भकारी खुलेको बेला ताली ठोकेर स्वागत गान घन्काउनु होला । खानाको भण्डारा खुलेको बेला सत्रु मित्रु केही नभन्नु होला । खर्चको खजाना खुलेको बेला मुठ्ठी कसेर समर्थनमा धावा बोल्नु होला ।

रूखमा पाकेको फल झार्ने झटारो मिलेको बेला हतार नगर्नु होला । धैर्यपूर्वक सञ्चै सुविस्तै ताकेर प्वाक्क हान्नु होला । खुत्रुक्क खसेको आकाशे फल क्वाप्प पार्नु होला । वरपर तलमाथि नहेर्नु होला । सधैँ असन्तोषी बनेर हन्तकाली लेग्रो पसार्नु होला । आफ्नै अनुहारको अर्को जो कोही पर्न सक्छ । उसले पनि आस गर्न सक्छ । कतै नहेरी पकापक पुक्याउनु होला । वरपर धेरैथरी भोका नाङ्गाहरु तेर्सिन सक्छन् । बेरोजगार विल्टुवाहरू धुइरिन सक्छन् । गरिब निमुखा आशामुखी अनुहार लिएर पाउमा पस्रिन सक्छन् । शिक्षित बेरोजगार युवकयुवतीहरू हजारौं आशामुखी अनुहार लिएर बर्सिन सक्छन् तर कतै कुनै ख्याल नराख्नु होला । तपाईंको हात लागेको मेवामाथि अरूले पनि पेवा सम्झिएर घेवा मनाउने दाउमा आँखा लगाउन सक्छन् । सुरक्षा अङ्ग परिचालन गरेरै भए पनि हात लागेको फल आधासरो नपार्नु होला । गोलमाल नगर्नु होला । नत्र भोलि नामर्द, निकम्मा, नाम दरिएर आफ्नै कलत्र सन्ततिको कङ्गाल बाबुको कात्रोभित्र फेला पर्नु होला ।

मान्छेभित्रको असन्तुष्टि नै उन्नतिको जननी भन्छन् । त्यसैले भरसक आकाशै ताक्नुहोला । कथंकदाचित आकाशै नमिले जमिनलाई नै पर्याप्त ठान्नु होला । रेमिट्यान्स भित्रिएकै छ । टाट्ना खुलेकै छन् । घाँस पराल पर्याप्त छन् । नुन पिँडो पेलम्पेल छ । आनन्दले घाँस खानु होला । नुन चाट्नु होला । पिँडो पकापक पार्नु होला । चउर खुलै छन् । दुबो चर्नु होला । वन बुट्यान मैदान खनिएका छन् । बन्सो, खरी, गन्दे, पटपटे लगायतका घाँसपात भेटे जति चपाउनु होला । खोकी खाँसीको खतरा नआओस् । पेट दर्दको सिकायत नरहोस् । चपाएरै खानु होला । पचाएरै छाड्नु होला । गोब्य्राएरै पौरखप्रकोप देखाइदिनु होला ।

लौराकै रूपमा उभिनु भएको छ भने पनि धन्दा नमान्नु होला । कतै सम्झौता कतै सहमति जे जे पर्छ सही मार्नु होला । स्पष्टीकरण तुप्टीकर कहाँ कहाँ के गर्नुपर्छ गर्नु होला । कस-कसलाई के के दिनुपर्छ बेलैमा सोच्नुहोला । आफू सप्रिने अरू बिग्रने उत्तम विकल्प रोज्नु होला । बालुवामा खोज्नै परे सियो नखोज्नु होला । हलो खोज्नु होला । हरिश अनौ, चुकुल के के पर्छ जोर्नुहोला । खेत, बारी होइन हलो चलाएर देशको निधारै कोर्नुहोला । डोजर रोलर विस्थापित गरेर हलो क्रान्तिद्वारा हरियो देश भरिलो फेस बनाउनु होला । भान्सा खुलेका छन् । चौरासी व्यञ्जन बनेका छन् । तिघ्रा पड्काएर अघि सर्नुहोला । पेट ठड्याएर कुनाकाप्चा भर्नु होला । भरिएको थैलो बोकिहिँड्न गारो लागे प्राडो पजेरो खोजेर भित्र लोड गर्नु होला । किन्न महँगो लागे प्राधिकरण, संस्थान जता फेला पर्छ लामा हात गर्नु होला । त्यति गर्ने हैसियत नभए बोर्डर छेउछाउ गएर चोरीकै भए पनि जोड्नुहोला । सतभतार भुँडीलाई देह-दर्शनको अत्युत्तम उपलब्धि मान्नु होला ।

“भुँडी सत्यं अरू मिथ्या”

परम्परागत वेदान्त दर्शनलाई विनिर्माण गरेर उत्तर आधुनिक मीठा सूक्तिहरु सुनाउनु होला । आफ्नो युगको महान दार्शनिक आफैँलाई मान्नु होला । अरूलाई मान्छे जस्तो नठान्नु होला । खुलेको भान्सामा थाल ठटाएर खानु होला ।

“भन भन भाइ हो”- देउसी भट्टयाएर खानु होला ।

“स्वाद लिँदै भन, कुन मीठो भन” – लेग्रो तानेर, घोक्रो फुलाएर कुर्लदै एक-एक आइटम चपाईचपाई खानु होला ।

उहिले राणाकालमा दसैंतिहार खुल्ने जुवाघर अहिले बारैमास खुलेको छ – थर्की थाप्नु होला । पासा पल्टाउनु होला । काम्लो बिछ्याउनु होला । कतै आफँै जुवाको खाले बनेर भोर्जुवा नार्नु होला । कौडा लडाउनु होला । जिते आराम गर्नु होला । हारे पाण्डवले द्रौपदीसमेत बाजी राखेको सम्झनु होला । अनि सुर्रिदै, चम्किँदै कर्णाली, महाकाली दाउ राख्नुहोला । कोसीगण्डकी बाजी राखेर हान्नु होला । अरू सानातिना नदीखोला च्यँाखे थाप्नुहोला । जनशक्ति पर्याप्त नभए अरौटे भरौटे धुपौरे जे जो चाहिन्छ खोजेर राख्नु होला । फिस्ट उठाउने हन्बेर्नाहरू चाहिँदो मात्रामा खटाउनु होला । जुवाकै खालभित्र राष्ट्रवादको नशाले गाँज्न सक्छ । विदेशी साहु खोजेर खाल सजाउनु होला । आफू सरदार भएर यताउता चाहार्दै हालखबर बटुल्नु होला । जीवनको अरू उद्देश्य र राजनीतिक सङ्कल्प भए भुलिदिनु होला । कसले पठाए कहाँ आइपुगियो, यो नसोच्नु होला । के गर्नु थियो, के गर्न लागियो, कहिल्यै नभन्नु होला । बस ताली लगाउँदै र हुन्छ भन्दै सर्वसम्मतिले बजेट पास गराउनु होला । देशविदेश रिङ्दै बरालिँदै रमाउनु होला । खाँटी देशभक्त हुनुको गौरवशिखर चुम्नुहोला ।

युवामञ्च २०६८ असोज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *