बाल्यकालदेखि नै गीत गाउने रुचि मेरो चरम सीमामा थियो। हिन्दी फिल्मका कतिपय गीत मलाई कण्ठ थिए। त्यसमा पनि विशेष गरेर लता मंगेशकरका गीतहरू म बडो रुचिका साथ गाउँथे। मेरो आवाज त्यस बखत मसिनो र तिखो थियो। त्यसकारण लताका गीतहरू गाउने गर्थें। टोलमा विभिन्न उत्सव र अन्य समयमा पनि म गाउथेँ कर गरेर पनि टोलेहरू गाउन लगाउँथे। कहिलेकाहीँ गाउन मन नगर्दा कुटेर पनि गाउन विवश गराउँथे।
मलाई सिनेमा हेर्ने निकै सोख थियो । त्यति मात्र होइन, केटाकेटीमा म गाउन भन्दा पनि कुनै दिन फिल्मको नायक नै बनुँला भनेर कल्पना गर्दर्थें। कतिपटक घरबाट भागेर बम्बई जान्छु भनेर पनि सोच्थेँ, विशेष गरी बाले गाली गरेका बखत। फिल्मको यस्तो लहड थियो कि एउटा फिल्म म १२-१४ पटकसम्म पनि हेर्थे, आफूलाई मन परेको छ भने। मैले १४ पटक हेरेको एक फिल्म थियो चन्द्रलेखा। त्यसबेला सिनेमाको फ्रन्टस्टलको टिकटको मोल थियो, एक सुकी।
एक दिनको घटना म कहिल्यै बिर्सिन सक्दिनँ। त्यसै घटनाबाट के पनि प्रमाणित हुन्छ भने बाहिरको तडकभडकले प्रभावित भएर नायक बन्न खोजे पनि म संगीतमा चुर्लुम्म डुबेको थिएँ । आत्मादेखि नै मेरो पिताजीलाई अनिवार्य रूपमा भातसँग घिउ चाहिन्थ्यो। तर, जहिले पनि भात पस्केपछि मात्र मलाई चार पैसा दिएर घिउ किन्न पठाउनुहुन्थ्यो। कहिलेकाहीँ मलाई झर्को पनि लाग्थ्यो। तर, पिताजीको त्यो बानी कहिल्यै पनि फेरिएन। एकदिन सधैँझैँ चार पैसा दिएर घिउ किन्न पठाउनुभयो। म दगुर्दै गएँ, बाटोमा एउटा चिया पसल थियो, झमकलाल भन्ने मानिसको। त्यहाँ म पनि बेलाबेलामा चिया खान पस्थेँ। तर, त्यस पसलको आकर्षण मेरा लागि चियाले होइन, त्यहाँ रहेको रेडियोले गर्दा बढेको थियो। त्यस बखत रेडियो सीमित घरमा मात्र हुन्थ्यो। झमकलालको रेस्टुराँमा पनि रेडियो थियो र त्यसबाट बजेका गीतहरू म खुब सुन्ने गर्थे।
त्यस दिन पनि घिउ किन्न भनेर हिँडेको म झमकलालको पसलअगाडि उभिएँ। रेडियो सिलोनबाट गीतहरू प्रसारति हुँदै थिए। एउटा मीठो गीत सुनेपछि म त्यहाँबाट हिँड्नै सकिनँ। लठ्ठिएको जस्तै भएँ। मलाई गीतबाहेक अरू कुराको होसै रहेन। म रेस्टुराँमा पसेँ र त्यहाँ बसेर चिया र पाउरोटी खाँदै एकपछि एक बज्ने गीत सुनेर बसिरहेँ। निस्कँदा आधा घन्टा बितिसकेको रहेछ। डराउन थालेँ, पिताजीले के गर्नुहोला। भात पस्केपछि घिउ किन्न हिँडेको। त्यसपछि अर्को फसाद पर्यो। गीत सुन्ने सुरमा मैले घिउ किन्ने पैसा कहाँ खसालेछु, सम्झनै भएन । घर नगएर धेरैबेरसम्म सडकमा पैसा खोजिरहेँ। त्यस्तो संकटको समयमा पनि म रेडियोबाट आएको एउटा गीत भने बारम्बार गुनगुनाइरहेको थिएँ। धेरैबेरपछि मलाई झल्याँस्स सम्झना भयो, मेरो होस पैसाले होइन, गीतले पो उडाएको रहेछ। वास्तवमा गीतमा ज्यादै डुबेकाले मैले पैसा हरायो भन्ठानेर सडकमा खोजेको रहेछु। यथार्थमा पैसा त मेरो मुठीमै रहेछ। त्यसपछि घर पुग्दा मेरो कस्तो पूजा गरयिो त्यो नलेखे पनि हुन्छ। तर, त्यसदिन जसरी गीतमा डुबेर मैले पैसा हराएँ। त्यसैगरी आजसम्म गीतमा डुबेर मैले आफैँलाई हराएको छु, यो भने सत्य हो।
(स्वरसम्राट नारायणगोपालले आफ्ना सीतारवादक पिता आशागोपालबारे लिखित सम्झना रूपरंग मासिक, भदौ २०४५ बाट साभार)
नेपाल साप्ताहिक ४०९

malai padher dherai kushi
malai padher dherai kushi lagyo pani maile kehi kura sikepani kinki mapani yaha lekhieako jastai sobhab chha ma pani sanai umerdekhi git ma dubne garchhu ra ma asa pani garchhu ki ma ramro singer banchhu..