Skip to content

रोजरोज मृत्युदर्शन

  • by


केहीदिन अगाडि बजारका शुभलाल तामाङ मरे । त्यसपछि बाईसबर्षे छिमेकी गोविन्द थापा मरे । अस्तिका दिन चौरासी बर्षीय केराबारी हजुरबुबा बिते । हिजो अठ्ठाईस-तीस बर्षका अशोक राउत बितेको खवर आयो । भर्खर भीमप्रसाद पराजुली गुरुकी मातालाई हेरेर आएँ । मोटरसाईकलको ठक्करबाट बेहोश अवस्थामा पन्ध्रबीस दिन अघिबाट थला पर्नु भएको छ । उँभो आउने अवस्था न्यून भएरै होला अस्पतालले घरमै फर्काइदियो । रोजरोज मृत्युका दृश्यहरू साक्षात्कार गरिरहेको छु । सम्भव भएसम्म र भ्याएसम्म मृतकहरूलाई भेट्न कुदिरहेको छु । मृत्युको क्षणमा मृतक ब्यक्तिहरूको अवस्था निरीक्षण गर्न नपाएपनि भरिसक्य मलामी गएर उनीहरूको अन्तिम दाहसंस्कारको दृश्यलाई नजिकबाट टुलुटुलु हेर्ने गर्छु ।

आजभोलि मेरो गाउँघरमा भित्रिएका प्रत्येक मृत्युहरूले मेरै मृत्युको खवर लिएर आएका हुन् जस्तो लाग्न थालेको छ । मृत्यु सबैभन्दा अकाट्य सत्य । जन्म अकाट्य सत्य नहुन सक्छ । तर मृत्यु घटाउन नमिल्ने, छाँटकाट गरी छोट्याउन नमिल्ने, लम्ब्याउन नमिल्ने अन्तिम सत्यको रूपमा यसलाई ग्रहण गर्न थालेको छु । म सानो हुँदा मृत्युदेखि असाध्यै डराउँथें । तीनचार बर्षको कलिलो बाल्यकालमा आमाको मृत्युलाई पहिलोचोटि नजिकबाट साक्षात्कार गरेपछि मृत्यु मेरोलागि औधि त्रासदिको विषय बन्यो । मृत्युको भीषण र भयानक रूपले मलाई तर्साउन थाल्यो । मेरी आमाको सम्झना आँउदापनि मृत्युकै बिभत्स दृश्य मेरो सामु खडा हुन पुग्यो । त्यतिखेर मेरो मनोदशा पूराका पूरा याद छ, म आमालाई सम्झिंदा पनि डराउन थालेँ । मेरो बालहृदयमा मृत्युको त्रासद चित्र यसरी खोपियो कि मेरी बात्सल्यमयी मातालाई चटक्क छिनेर लाने त्योचिज संसारमै क्रुर र आततायी अनुहारको हुँदो हो ।

आजभोलि हरेक मृत्युलाई दर्शक बनेर हेर्न थालेको छु । कमिलाको मृत्युबाट, चराको मृत्युबाट, गाईको मृत्युबाट र कुकुरको मृत्युबाट अलिअलि आफूभित्र मृत्युबोधको अनुभवलाई सघन पार्दै लगेको छु । मेरालागि आजभोलि हरेक मृत्युहरू महत्वपूर्ण हुन थालेका छन् । झुलमा घुुस्रिएको मच्छड किचिमिची पारेर मार्छु, एकछिन त्यो मच्छडको अर्थी औँलामा लिएर त्यसको आखिरी नियतिलाई हेर्छु । पहिले पहिले जीवनप्रति मात्र एकोहोरो मोह थियो । म मृत्युको कुरा सुन्न चाहन्नथेँ । म मृत्युको दृश्यहरू हेर्न चाहन्नथेँ । जीवनको अन्तिम अवस्थामा धिपिक धिपिक सास गनिरहेका मधौरुसामु जान पनि डराउँथे । त्यस भयको अन्तर्यमा जीवनप्रतिको एकाङ्गी ब्यामोह थियो । जीवनको एकलकाँटे सम्मोहनले मलाई मृत्युदेखि टाढाटाढा पार्दैथियो । तर मृत्युदेखि भागेर आखिर कहाँ पुग्ने ? भाग्ने ठाँउनै रहेनछ । मृत्युबाट जति भाग्यो त्यसले त्यति नै लखेट्तो रहेछ । फेरि जो भाग्छ त्यसैलाई खेद्दो रहेछ । जो डराउँछ त्यसलाई नै बढी सताउँदो रहेछ । मृत्युसँग आमने सामने मुकाविला गर्नेहरू, मृत्युलाई सहज रूपमा स्वीकार्नेहरू अनि मृत्युलाई अँगालो हाल्नेहरू त बाँच्ता रहेछन् युुगयुगसम्म । उनीहरूको अभय चेतनाको पूजा हुँदोरहेछ कालान्तरसम्म ।

जीवन र जगत्को सबैभन्दा सुनिश्चित चिज मृत्युमात्र रहेछ । जीवनका सारा कुराहरू अनिश्चित छन् । हामीले निश्चित ठहर्याएको कुराहरूपनि समयक्रममा उल्टिँदा रहेछन् । बदलिँदा रहेछन् । तर मृत्यु यति निश्चित छ जुन समयको अघिपछिको कुरामात्र हो, मृत्यु हरेकको जीवनमा घटित हुने अन्तिम सत्य रहेछ । यो अन्तिम सत्यलाई हृदयको गहिराइबाट आत्मसात गर्न मन लागेको छ तर पनि भयका बिकृत भावनाहरूले मलाई त्यो मनोदशामा उक्लिन अवरोध हाल्छन् । ममात्र होइन होला संसारका सारा मान्छे अजम्वरी जीवनको आकाँक्षी बन्दा रहेछन् । उनीहरूको अन्र्तलोकमा मृत्युले कहिले नडसोस् भन्ने उत्कट कामना छल्किएको हुँदो रहेछ । अनि जन्मजन्मको बेहोशी संस्कारको उपादान स्वरुप रिसराग, झगडा, मद, मात्सर्य र यौवनको लाली चढेको बखत म कहिले मर्नु पर्दैन भन्ने सोच्दो रहेछ । अहङ्कारको आगोले भित्रभित्रै तातो बनाएको घडीमा आफूलाई मृत्युका चिसा करहरूले छुन सक्दैनन् भन्ने सोच्दो रहेछ । मपनि त्यस्तै सोच्दो रहेछु, पैँतीस बर्ष अगाडिसम्मका मेरा मनोभावनाहरूलाई अवलोकन गर्दा मृत्युलाई जित्ने अहम् भावहरू ज्यादा बलशाली भएको पाएको छु । आज रोजरोजका मृत्युहरूले म भित्रका अहङ्कारको पहाड गलाँउदै लगेको, भत्काँउदै लगेको बोध अलिअलि बढ्न थालेको छ ।

आजभोलि त गाउँमा एकोहोरो शङ्ख टुटाएपछि त्यसको आवाजमा आफ्नै मृत्युको सन्देश गुञ्जिएर कानमा ठोक्किएको हो कि यस्तो आभास हुन थालेको छ । यो अनुभूतिले केटाकेटीलाई कुट्न उज्याएको हातपनि लत्रक्क भुँइमा खसेका छन् । म मलामी जाँदा आजभोलि बढी चिताको नजिक हुन खोज्छु । बलिरहेको चितामा जिवेषणाका बिम्बहरू नियाल्न खोज्छु । चिताबाट निसृत अन्धमुस्ली कालाकाला धुँवाका चक्काबीच जीवित अवस्थाका कांचन कामिनीका रागहरू ठम्याउन खोज्छु ।

कसैको मृत्युको मलामी जानु अलिकति आफ्नोपनि मलामी जानु हो । कसैको अर्थीलाई काँधमा बोक्नुको अर्थ आफ्नोपनि अर्थीलाई अलिकति काँधमा बोक्नु हो । मृत्युलाई सहज स्वीकार्य भावदशामा परिणत गर्दैजाने यी खुट्किलाहरूलाई मान्छेले बेवास्ता गरिरहेको छ । अरुको मृत्युमा आफ्नोपनि सम्भावित मृत्युको छायाँ देख्नका लागि सबैकुराको आयोजना भैरहेको छ । नत्र शङ्ख टुटाएर सातगाँउ एकोहोरो टुँ आवाज पुर्याउनुको अर्थ के हो ? तर मृत्युका मर्महरू मान्छेले बुझिरहेको छैन । अस्ति शुभलाल तामाङदाइको शवदाह भैरहेको बेला देखेँ; एकातिर चिता जल्न सुरु भैरहेथ्यो, अर्कातिर मलामीहरूको एकजत्था तासको खाल नार्न थालिसकेका थिए । अर्कोडफ्फा राजनीतिका गरमागरम बहसमा जुट्यो । अर्कोतिर केहीमान्छे घरका लागि घोचाघारा खोज्न जङ्गल पसे । कोही मेरो घरमा काम बित्दो छ, यहाँ बस्न फुर्सद छैन भन्दै घरतिर कुद्न थाले । एकातिर लामाहरू चामलपैसा फिँजाउन लगाएर कर्मकाण्डतर्फ लागे । कसैले पनि हाम्रो अखिरी नियत यस्तै हुनेछ भनी पाँच मिनेट जलिरहेको चितातर्फ ध्यान दिएको देखिनँ । जीवनका अरु क्षणहरूमा त मृत्युको बारेमा सोच्न पुर्सत भएन भएन, कसैको मलामी गएको बखतमा, कसैको अर्थी काँधमा लिएको बखतमा पनि मान्छे मृत्युप्रति संवेदनशील भएको छैन । मसानघाटमा पनि उसलाई मृत्युलाई हेर्न पाँच मिनेट फुर्सद मिल्दैन । हामी कत्तिसारो एकोहोरो जीवनेच्छाको रुग्ण कामनाहरूबाट बेरिएका हुँदारहेछौँ ।

मान्छेले मशानघाटमा जलिरहेको चिता हेरेर आफ्नो आखिरी नियति त्यही आगोको लप्काबीच खोज्न थाले; दुनियाँका आधि दङ्गाफसाद कम हुँदाहुन्, अड्डाअदालतमा चल्ने मुद्धामामिलाहरूको आधि समय कटौति हुँदो हो । मारकाट, युद्ध र शोषणपनि कम हुँदै जाँदा हुन् । लोभ, लालच, रिस, प्रपञ्च र अहङ्कारका किल्लाहरू क्रमशः भत्किँदै जाँदाहुन् । जाल र षड्यन्त्रका तानाबुना कम बुनिदाँ हुन् । आफ्नो सन्निकट उभिएको मृत्युलाई नदेखेरै मान्छे बढी भन्दा बढी पापकर्ममा निवृत्त हुँदो हो । तर मान्छे जीवनको नियुक्ति पत्र पाएपछि मृत्युको राजिनामा पत्रलाई सजिलै बिर्सिदिन्छ । जुन दिन हामी जीवनको नियुक्ति पत्र बुझ्छौँ । त्यहीदिन मृत्युको राजिनामा पत्रमा पनि ल्याप्चे लगाएको हुन्छौँ । हाम्रा औँलाका रेखाहरूमा त्यो ल्याप्चे छाप मेटिएको हुँदैन, तर बाँचुञ्जेल हामी मृत्युको राजिनामालाई भुलिदिन्छौँ । त्यसैकारण त जगत्मा अखण्ड उपद्रो मच्चिरहेको छ ।

मैले सुनेको छु, गाँउको कान्छासाहुले मर्नु पन्ध्रदिन अघिसम्म सातमाने पाथी भरे अरे । अनि आसामीको घरबाट अन्न उठाँउन चाहिँ नौमाने पाथी लिएर हिँड्थे अरे । आफूले लगानी लाँउदा चैँ सातमाने पाथी प्रयोग गर्थे अरे । पछि कति दिनसम्म स्वास घिटिकघिटिक भएर झुँगाएपछि बूढाको छातीमा दुवै पाथीहरू राखिदिएपछि प्राण गयो अरे । गाउँमा एउटा विश्वास छ, तुलोतराजुमा मानापाथीमा ठग्ने मान्छेहरूको सजिलोसित प्राण गएन भने छातीका त्यही तुलोतराजु र मानापाथी राखिदिने । संयोग या सत्य के छ ? त्यो भन्न सक्तिन तर त्यति राखिदिएपछि कतिमान्छेको सजिलै सास जान्छ अरे ।

विचरा कान्छासाहुले आफ्नो मृत्यु देखेका भए गरिबलाई किन पाथीमा एकमानो ठग्दा हुन् ? फेरि आफू मरेपछि त ठगी ठगी कमाएको एकपित्को द्रव्यपनि साथै नजाने रहेछ । सिकन्दर महोदयले पृथ्वीको झण्डै आधा भूभाग कजाइँ गरेर मर्ने घडीमा वास्तविक सचेतताको बोध गरे । उनले सबै मलामीहरूलाई सास उम्किनु अघि नै भनेका थिए रे– मेरो लाशबाट दुवैहातहरू बाहिर निकालेर कात्रोबाहिर लट्काइदिनू । उनले संसारलाई देखाउन खोजेको कुरा के थियो भने सिकन्दरले त्यत्रो मारकाट मच्चाएर पृथ्वीको आधी भूभाग जितेपनि संसारबाट बिदा हुँदा ऊ रित्तोहात गएको छ है । उसले एकपित्को केही लगेको छैन है । अनि संसारका मानिसहरूले यो कुरापनि बुझ्नू, जीवनमा जति धनसम्पत्ति, पद, प्रतिष्ठा, विद्या, ऐन, ऐश्वर्य र राज्य नै जितेपनि/कमाएपनि ती चिज यहीँ छोडिन्छन् है । त्यो कसैले पनि लिएरर जान सक्तैन है । सिकन्दरको लाशमा लट्किएका हातहरूले दिएको यो मृत्युदेशना संसारले भुलिरहेको छ । तमाम बुद्धपुरुषहरूले एउटै सूत्रवाक्य बोलेका छन्– तिमी जीवनलाई जुन सम्मान दिन्छौ, मृत्युलाई पनि जीवनकै कित्तामा सम्मान दिन सिक । कतिले त सहज, स्वभाविक र सजिलोसित इच्छामरण गरेरपनि देखाइदिएका छन् । तर यी यथार्थहरूप्रति आँखा चिम्लिएर हामी एकोहोरो बाँच्नेमात्र रटानमा लागेका छौँ । जसले गर्दा रोजरोज मृत्युका कडा चट्टानमा ठोक्किन पुगेका छौँ ।

मलाई सुकरातले मृत्यु अवलोकन गरेको घटना औधि मन पर्छ । उनलाई युनानका शासकहरूले सत्य नबोल्ने सर्तमा जीवनको भीक लिन निर्देश गरेका थिए । उहाँले त्यो कुरा हाँसीहाँसी अस्वीकार गरिदिनुभयो । झुट बोलेर जीवनको भीक लिनुभन्दा सत्य बोलेर मृत्युलोकमा जाने मान्छे हज्जारौँ गुणा श्रेयस्कर हुन्छ भनेर हेमलक नामक कडा बिषको कचौरा हाँसीहाँसी पिउन तयार हुनुभयो । बिष पिएपछि मृत्यु कसरी बिस्तारै शरीरमा प्रवेश गर्यो; उहाँ साक्षी भएर हेर्न थाल्नुभयो । खुट्टा चिसो पार्दै, शरीरको स्वभाविक तापमान घटाउँदै मृत्यु सजिलैसँग विस्तारो विस्तारो शरीरमा प्रवेश गर्दै गयो । दार्शनिक सुकरात बिना हडबड सहज अवस्थामा मृत्यु श्पर्शलाई अनुुभूत गर्दै, आफू वरिपरिका शुभेच्छुकहरूलाई त्यो अनुभव एकएक बताउँदै जानुभयो । यसरी मृत्युलाई चियाको चुस्की लिएजस्तो स्वाद मानीमानी रसास्वादन गर्ने मानुषीहरूपनि छन् ।

जगत्को सबैभन्दा सुनिश्चित विषय मृत्यु । अनि कार्लमार्क्स, लेनिन, माओ, चेगुभेरा, रर्वटअवेन, चार्ल्स् फुरियर भन्दा ठूलो साम्यवादी हो मृत्यु । ऊ कसैलाई भेदभाव गरेर आफ्नो आयुभन्दा एकदिनपनि बढी धर्तीमा रहन दिँदैन । जगत्मा मृत्युभन्दा ठूलो साम्यवादी के होला ? कसैले जीवनमा चकाचक चरमोत्कर्षको सगरमाथा चढेपनि ऊ मृत्युकै खाडीमा ओर्लनु पर्छ । कोही प्रगतिको टुकुचा चढ्न नसकेर नालीमा जीवन विताउनु परेपनि उसले पनि उही मृत्युको समतल खाडीमा प्रवेश पाँउछ । अरबपतिको लागि छुट्टै मृत्यु, कङ्गाल अदनाका लागि छुट्टै मृत्यु देखेको छुइनँ । त्यसैले यो खाँटी वर्गविहीन सिद्धान्तको तराजुमा हालेर सबैलाई एकैठाउँ जोख्छ । टाटा बिडाला र रकफेलरहरूलाई लैजाने मृत्युले नै मेरो गाँउको रने दमाई र टुल्के खत्रीलाई लगेको छ । अमेरिकी रोनाल्ड रेगनलाई लैजाने मृत्युलेनै त्यहाँको पदविहीन अर्थविहीन सडकमा सुत्ने रङ्कहरूलाई टपटप टिप्ने गर्छ । अनि पदप्रतिष्ठाको चुली टेकेँ भनेर फुर्किनुको के अर्थ ? दरबारभरि हिरामोतीको डङ्गुर थुपारेर अभीमान बोल्नुको सार के ? बरु मृत्युका मृदुल करहरूले मलाई चाँडै श्पर्श गर्नेछन् भनेर सोच्नु चाहिँ सारै राम्रो हुने थियो ।

रोजरोज मेरो वरिपरि घटिरहेको मृत्युदृश्यले संवेदनाको मौन सन्नाटामा थुन्दै लगेको छ । आखिर मृत्यु यसैगरी चुपचाप आउने रहेछ । मृत्यु भनेको फेरि जीवनको आखिरी घडी त रहेछ । यो आखिरी घडी कसको कत्ति बर्षमा घटित हुने हो त्यो थाहा नहुने रहेछ । नत्र हिजोअस्ति केहीदिनको अन्तरालमा मर्ने त्रीरासी बर्षीय केराबारी कान्छा बूढा र तेईस बर्षीय गोविन्द थापाको मृत्युमा कत्ति ठूलो अन्तर छ । बूढाको त्रीरासी बर्षमा मृत्यु हुने स्वभाविक भएपनि तेइस बर्षे कल्कलाँउदो लालुपाते उमेरमा मृत्यु हुनु कत्ति अस्वभाविक अनि कत्ति असामयिक देखिन्छ । तर मृत्यु मृत्यु नै हो यसले उमेरको पनि भेदभाव राख्तैन न त जातको भेदभाव राख्छ । न त धर्म,वर्ण, लिङ्ग, जाति, क्षेत्र, सम्प्रदायको नै भेदभाव राख्छ । मृत्यु साम्यवादीमात्र होइन भेदभावविहीन पनि छ ।

मृत्युलाई हामी एकैचोटि आउने थोकघटनाको रुपमा बुझ्ने कोसिस गर्छौँ । तर त्यो हाम्रो जीवनमा अचानक घट्ने परिघटना अवस्था होइन । यो त जन्मका दिनदेखि रोजरोज हाम्रो आयुहिस्सालाई खियाउँदै खण्डित आउने एक आखिरी छलाङ्ग मात्र हो । आयुको लामो भर्याङ्गमा रोजरोज हामी मृत्युको अखटाहरू उक्लिँदै जान्छौँ, जुनदिन हामी अन्तिम खुट्किलो टेकेर तलीमा चढ्छौँ, त्योदिन हाम्रो मृत्यु हुने गर्छ । आखिरी खुट्किलो भन्दा मुनिको अखेटाहरू चढुञ्जेल हामीलाई मृत्युबोध हुँदैन, हामी जीवनको नशामा यत्ति सारो लिप्त रहन्छौँ । दिनदिनै मरिरहेको हेक्का नै रहँदैन । जब खुट्किला सकिए अब अर्को तलामा जानुपर्छ भन्ने बोध हुन्छ, तबसम्म बाँच्ने आयुहिस्सा पुछिइसकेको हुन्छ ।

प्रत्येकदिनको समाप्तिमा आफ्नोपनि एउटा मृत्यु दृश्य हेर्न मनलागेको छ । रोजरोज नयाँ मृत्यु दर्शन गरिरहेको छु । जीवन भोग्नुको अर्कोनाम मृत्यु पनि त हो । म मृत्युको शिखरतिर आरोहण गरिरहेको छु । आयुका एकएक खुट्किला टेकेर म मृत्युको शिखर गन्तव्य छुन हिँडिरहेको छु । हामी धरावासी सबै नै मृत्युपथको यात्रामा छौँ । कत्ति बोधपूर्ण हाँैला, कत्ति अबोधपूर्ण हाँैला । तर एउटा अकाट्य सत्य हामी जति नै समृद्धिको, सुखको, वैभवको, यात्रामा छौँ भने पनि हामी पुग्ने आखिरी लोक भनेको मृत्युलोक नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *