Skip to content


जब मेघ घेरिएको आकाश देख्छु, मेरो हृदय गद्गद् भरिएर आँउछ । आकाशमा जसै उसले गर्छ गड्याङगुडुङको नाद, मभित्रपनि एउटा तिलस्मी नादको अभिर्भाव हुन्छ । मेघाच्छादित आकाशको अध्याँरो मलाई औधी प्यारो लाग्छ । मेघको गर्जन मन नपराउनेहरू पनि देखेको छु, कालोमैलो वादलको निन्दा बाँच्नेहरू पनि सुनेको छु । तर यी सबैको वीचमा घेरिएर पनि म उनीहरूको प्रतिकित्तामा उभिएर मेघमागल सुनाइरहेको छु, बादलवन्दना गाइरहेको छु । मेरो आकाश मेघले घेरिएपछि धर्तीमा म जीवनका अंकुरणहरू देख्न थाल्छु । तप्त घामले डढेको उत्तप्त धरणीमा हरियाली जीवनको अरुणिमा खुल्न थाल्छ । आँत सुकेर मुख आँ गरिरहेका फूल मञ्जरीमा रङको नयाँ चहक खुल्न थाल्छ । हावाका सूक्ष्म लहरहरूमा सुगन्धको नयाँ महक लहराउन थाल्छ । उजाड पाखाहरूमा चिउलाका नवीन प्रस्फूटनहरू गतिमान हुँदै जाँदा एउटा हेरिरहूँ जस्तो, लोभलाग्दो क्षितिज टाँगिन थाल्छ ।

मेघको बोलमा अबोल आनन्द छ । यसले त सधैँ मलाई जीवनको सरगम सुनाउँछ । मेघ बर्सेर पाउलो फेरेका पालुवालाई म किनकिन मेघ मञ्जरी भन्न रुचाउँछु । मञ्जरीहरूको जीवन मेघमा आवेष्टित रहेको सत्यलाई कति अहोभावका साथ हेरिरहेछु । जब पानीका वुँदहरूमा बर्सिछ मेघ, अनि यहाँ जीवनदायी शितलताको रसधारमा पौडिन्छन् स्यावर र जङ्गमका अनगिन्ति रचनाहरू ।

एउटा सफेदपोश कर्मचारीले बादल लागेको बिहानीलाई गाली गरेपछि उसको शरीरमा टाँगिएको सुती कपडामा प्रश्नचिन्हहरू देखेँ । मेघलाई गाली गर्नेहरूलाई कपडा पहिरिने हक छैन । उनीहरूलाई सुस्वादु भोजनको हकबाट पनि बञ्चित गराउनुपर्छ भन्छु म । सुतीकपडाका वश्त्र परिधानहरू कपासकोपिलामा अंकुरित हुन्छन् । फेरि कपासविज माटोमा अंकुरित हुन्छ । माटोलाई बादल रसले सिंचन गरेपछि मात्र त्यो, बस्त्र सिर्जनाको द्वार खुल्छ । अनि आफ्नो आङ्गको कपडामा मेघमालाको वरद् वरदान नभेट्नेहरूले स्वभाविक रुपमा बादललाई गाली बक्ने गर्छन् । बरु एउटा अनपढ किसानले मेघ महत्तालाई राम्रोसँग वोध गरेको हुन्छ । चैतेखडेरीमा मकै छर्न नपाएर निराश कृषक, साँझपख कतै आकाशको कुनामा बादलको थेग्लो तैरिएको पाँउदा हर्षले पुलकित् बन्छ । अझै खेतीको चिन्ताले डसिएर निद्राविहीन रातमा अनयास गड्याङगुडुङ गरी मेघगर्जन सुन्न पाँउदा खुशीले झंकृत बन्छ । अध्ँयारो निशाको घोर नगरी चिरेर बिजुली चम्ँिकदा ऊ भित्र आशाको सानो सानो स्वर्ग खुल्छ, त्यसैले एउटा सफेदपोश साक्षरी र अनि धैलोमैलो निरक्षरीलाई एकैठाँउ उभ्याएर मेघमहिमाको बारेमा व्याख्यान गर्न लायो भने मलाई लाग्छ कुनै पनि हालतमा साक्षरीले निरक्षरीलाई जित्न सक्तैन ।

मेघाच्छादित् आकाशको भाषा किसानले भन्दा अरु कुन प्राणीले बुझ्दो हो र ? आकाशको कुनै कुनामा बादलको सानो लहरको उपस्थिति मात्रमा किसान कुलाका मुहानहरू खेततिर सोझ्याएर आनन्दको निदमा शयर गर्छ । मेघको भाषा महादेव र इन्द्रले भन्दा बढी एउटा सामान्य किसानले बुझेको कुरा एउटा पौराणिक कहानीमा सुन्न पाइन्छ । मेघको भाषा बुझ्ने विषयमा किसानको अगाडि महादेवले शर्मनाक हार खानु परेको छ । मेघमालाको भंगिमालाई कि त मयूरले नै राम्ररी बुझ्दो हो । जब मेघ गर्जिन्छ, जब विजुली चम्किन्छ अनि मयूरजोडीको मधुमय मिलनको नृत्य फुट्छ रे । हामी मान्छे भन्दा त मयूर पो एक कदम अघिरहेछ । आकाशमा मेघको जालो बिच्छिने वित्तिकै छम्छम् मयूरीनाचको थिरकनले दुनियाँलाई अचम्म बनाँउछ । कठैं ! हामीले भुलेछौं मयूरहरूका मयूरीनाचको नर्तन ।

बादलु आकाश देख्नेवित्तिकै हामीभित्रको नर्तकीवेश खुल्नुपर्थ्यो छमछमी, बादलबाट बढी भन्दा बढी लाभान्वित धर्तीमा कुनै प्राणी छ भने मान्छेमात्र हो । मेघमालाको जुलुश हेरेर सबैभन्दा बढी नाँच्नुपर्थ्यो भने मान्छेले पो नाँच्नुपर्थ्यो । कहाँ गयो हामीभित्रको अहोभावको भाव ? मयूरले त्यो भाव सजिलै बुझ्यो, हामीले चाहिँ बिर्सिने ? यो हुनसक्छ ? हुनु नपर्ने हो तर धन्यवादको निसर्ग भाव मान्छेले गुमाउदै आएको कारण पनि अनन्त दुःखको चक्रव्यूहमा रुमलिरहेको छ ।

कि त मेघको अप्रतिम सौन्दर्य कविहरूले नै बुझेका छन् । संस्कृतका महाकवि कालिदासले अषाढको मेघलाई हुलाकी बनाएर प्रीतिको समाचार यक्षसामु पुर्याएका छन् । जुन भाषाको प्रयोग कालिदासले गरे, जुन अलङ्कारको प्रस्तुति मेघदूतमा भयो, त्यो अद्भुत र आश्चर्यजनक छ । मेघलाई जुन रुपकमा देखे, त्यो एउटा कविले अनुभूति गर्ने काव्यात्मक अभिव्यक्तिको पाराकाष्ठा थियो । रविन्द्रनाथ ठाकुरको अन्तिमअन्तिम जीवनी पढ्दा भेटेको छु, कुरा दोस्रो विश्वयुद्ध सुरु हुनु अगाडिकै थियो । उहाँ विश्वकविको रुपमा प्रख्यात भैसक्नु भएको थियो । एक दिन इटालीको शासक मुसोलिनीले उहाँलाई सम्मान गरेर निम्ता पठायो । उहाँ इटाली जानुभयो, इटालीको नेपल्समा प्रतिवन्धित जीवन विताएका कलाका कोलम्बस वेनेडेटो क्रोचेसँग भेट भयो, त्यहाँका राजा ड्यूकसँग पनि भेट हुन्छ । उहाँलाई ठूलो सम्मान दिइयो । त्यसपछि अन्य युरोपियन राष्ट्रहरूमा पनि उहाँको धुमधाम स्वागत सम्मान हुन्छ । महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनसँग पनि भेट हुन्छ । पाँच महिना युरोपमा अल्मलिएको वखतमा इरानका राजाले निम्ता पठाउछन् । उहाँ त्यतैबाट इरान जानुहुन्छ । स्वागत, सम्मान र सुखसुविधाको वीचमा पनि उहाँभित्र एउटै तड्पन थियो, यो पालीको वर्षाऋतु मैले गुमाए । मेघले ढाकिएको आकाश बर्सिन, चुहिनलाई तयार कालोबादलको अपूर्व सौन्दर्यबाट बञ्चित हुनुपर्यो । आफ्नो जन्मभूमिमा भए मेघमालाको त्यो अद्भूत भंगिमा हेर्न पाउने थिए,ँ उहाँको मनमा हर्दम यही भाव जन्मिन्छ ।

सच्चा कविहरू मेघदर्शनको कति ठूलो प्यासा हुदाँरहेछन् । मान प्रतिष्ठा र भौतिकताको सुख स्वर्गभन्दा प्रकृतिमा उठ्ने बादलले दिने सुख ठूलो हुँदोरहेछ, यो कुरा ठाकुरको जीवनी हेर्दा थाहा पाइन्छ । मेघाच्छादित आकाश र निर्झर वर्षाको दृश्यप्रति यति ठूलो लालचीपुरुष पाउन असंभव लाग्छ । हाम्रा कवि लेखनाथले पनि ऋतुविचारमा मेघको जुन विम्बरचना गरे, त्यो आफैँमा अद्भूत छ ।

मेघ जब प्रशवपिंडाले आक्रान्त भएर गड्याङ्गुडुङको चित्कार फ्याँक्छ, तब सुन्दर परिधानमा जन्मिन्छिन् वर्षा । वर्षा मेघकी छोरी हुन् । यस्ती साक्षात् छोरी जसले प्रकृतिका हरजीवनलाई पारिदिन्छिन् हराभरा । हरेक जीवनको अन्तस् केन्द्रमा मेघको मृदुल राग गुन्जिएको हुन्छ भन्ने कुरा झुटो होइन । मेघपुत्री वर्षाको आवाजमा जीवनको गुंजन सुनिरहेछु । मेघलाई गर्भवती नारीरुपमा हेर्न खोजीरहेछु आज । एउटा गर्भवती नारीको प्रशवपींडाबाट सुन्दर शिशुको उपस्थिति हुन्छ । त्यसले तत्काल एउटा जीवनको प्रतीति गराउन सक्छ । तर गर्भिणी मेघ ब्याएपछि अनन्त जीवनका सुन्दर सुमधुर दृश्यहरू उद्भासित हुँदै जान्छन् ।

मेघ वर्षाको रुपमा प्रकट भएपछि उसले आफ्नो चोला बदल्छ । मेघको गरिमा वर्षामा रुपान्तरित हुन्छ, फेरि वर्षा जीवनहरूमा रुपमान्तरित हुन्छ । मेघमा भएको अमृततत्व एकपछि अर्कोरुपमा फड्को हानेर धर्ती ओर्लिन्छ । धर्तीमा हरियालीको बहार रच्छ, रङहरूको होली खेल्छ, रुपहरूको हाट जमाँउछ । गन्धहरूको धुप सल्काउँछ । ध्वनिहरूको राग गुंजाँउछ ।

मलाई भावमा वगेको वेला कहिलेकाहीँ बादलमा रुझ्न मन लाग्छ । बादल अर्थात् कालो कालो मेघ । कालो कालो मेघ अर्थात् वर्षातका अमृतमय बुँदहरू वर्षामा रुझ्नु भनेको मेघसँग साक्षात्कार गर्नु हो । मेघसँगको जुन प्रेम हो, त्यसको दर्शन गर्नु हो । त्यसैले त जब झरी पर्छ, अनि झमझमी भिज्न मन लाग्छ । यो अभिप्साको अन्तर्यमा आफू मेघसँग गहिरो प्रेममा जोडिएको वोध हुन्छ । पारिजात दिदीलाई मन पर्ने ऋतु वर्षाऋतु थियो । जब असारे पानी बर्सिन्छ, अनि निथ्रुक्क भिज्न मन पराउँछु र मेरा यौवनका दिनहरू झमझमी भिजेकी छु, भनेर लेख्नु भएको छ । मलाई लाग्छ दिदीलाई पनि मेघले घेरिएको आकाश मन पर्थ्यो । निर्झर वर्षाको गुंजन प्यारो लाग्थ्यो ।

वर्षात्मा भिज्नु जीवनरसको चास्नीमा पसेर मेघलाई अन्तर्दशन गर्नु हो मेघको आस्वादन शरीरका कोषकोषमा पुर्याउनु हो । कुनै विचारकले दिएको महान्वाणी छ । उनले प्रत्यक्ष प्रयोग गरेको घटना छ – वर्षात्को पानीले बोटबिरुवालाई, अन्नवालीलाई, सिंगो वनस्पति जगत्लाई फाइदा गर्छ भने पानीले तिनका जरामा जीवन भर्छ भने मान्छेचाहिँ यति महान् घटनाबाट किन वञ्चित रहने ? जति भिज्यो त्यति फाइदा हुन्छ । एउटा विरुवालाई जति भिज्यो त्यति फाइदा मिल्छ भने हामीचाहिँ ओत लागेर किन ठगिने ? यसो भन्दै उनी भिज्न निस्किन्थें । पानी परेपछि अरु ओता खोज्थे ? उनी चाहिँ रुझ्न बाहिर आँउथे । ती विचारक या साहित्यकारको नाम ठ्याक्कै सम्झनामा भने आएन तर उनको वर्षादर्शनको यो विधि मलाई निक्कै प्रेरणादायी लाग्छ । भित्री चाह हुन्छ – वर्षामा अघाँउजी रुझूँ । तर रुझ्ने वाहनासम्म गुमाएर विकलाङ्ग समय भोगिरहेछु । सानोमा केटाकेटी हुँदा बाख्रा चराउन, मौबोटे, खिर्राबोटे, साल्बोटे, हर्राभन्ज्याङ्ग, मर्डाडाँको पाखामा जाँदा पानीले बेस्कन कुटिएको छु । त्यतिखेर मुसो हुन्जेल रुझेको अनुभव छ, तर त्यो रुझाइ वोधपूर्ण थिएन, होशपूर्ण थिएन । काव्यानुभूतिको सुख थिएन । त्यतिखेरको त्यो रुझाइमा त्यो चरम दुःख थियो । पींडा थियो । अभावको दंसले दंसित रुझाइ थियो ।

आशावादीहरू कालोबादलमा चाँदीको घेरा हुन्छ भन्ने कहावतमा रट लाउँछन् । मेरो नजरमा यो कुरा गलत छ । कालोबादलमा भएको चाँदीघेराले खोइ के दिन सक्ला, एउटा भ्रमको झलक दिनु सिवाय । यो उखान उल्ट्याएर कालोबादलको घेरामा पानी छ, वर्षा छ, जीवन छ, अमृत छ भन्दा पो हामी सार्थक सत्यको सन्निकट हुने थियौँ कि ? नजिकै आँपका दानाहरू नुहेका छन्, त्यसमा बादलकै प्रतिविम्ब देख्छु । फूलहरू पुष्पित, पल्लवित छ, त्यसमा पनि कालोबादलकै आभास भेट्छु ।

बगैंचाको किनारमा बसेर गोधुली आकाशको दर्शन गर्दा हिजैमात्र आठरङका बादलहरू एकमाथि अर्का खप्टिएको पाँए । कुनै तताएको फलाम जस्तो रातो, कुनै कलेजी रङको, कुनै कालो चुक घोप्टे जस्तो, कुनै सुनौला रङको, कुनै सफेद सेतो, कुनै खैरो, कुनै वैजनी, कुनै सुन्तला रङको । सबभन्दा वर अनि तल कालो रङको वादल छ । उसले मादल होइन तवला वजाएको छ । खोलाकिनारबाट उठ्यो सप्तरंगी इन्द्रेणीको धर्सो । केहीक्षणमा हावाको सानोसानो झोक्ँका सँगै वस्र्यो बादलनिर निर्झरी । मेरा आँखा अश्रुपुरित बन्छन्, यस्तो दृश्यले अक्सर मलाई घायल गर्छ । माथि मेघवर्षात् तल अश्रुवर्षात् । तर यो घायलचोट मीठोमीठो लाग्छ । यसमा पींडाको कुनै दंस छैन, यो त हृदयले प्रकट गरेको अहोभाव हो, यस्तै अहोभावमा बगिरहनु, मेघमहिमा कथिरहनुमा जीवनको काव्यिक सुख भेट्ने गर्छु । मेघाच्छादित् आकाश हेरी हृदयको प्यास मेट्ने गर्छु ।

अस्तु

२०६४/६/३०
लहान

Leave a Reply

Your email address will not be published. Required fields are marked *