Skip to content


“नमस्ते !!! नमस्ते !!!” माया आफ्ना अतिथिहरूलाई पालै पालो स्वागत गर्दै बैठक कक्षतर्फ गएर बस्न अनुरोध गरिराखेकी छिन ।

मायाले पचासौं बसन्त पार गरेको दिन कुनामा मायाको ८० बर्षीय श्रीमान भिक्टर ह्विल चेयरमा बसेर आगन्तुकसित हात मिलाई रहेका छन् । खानाको जिम्मा भारतीय रेस्टुरेन्टलाई दिइएको छ । छिमेकी रामलाल टेबुलमा केक सजाई रहेछन । उल्लासपूर्ण वातावरण छ ।

“अब को आइपुग्न बाँकी छन् माया ?” शान्तिले हल्लालाई चिर्दै सोध्छिन ।

“कोही छैन दिदी, सबै आइपुगिसक्नु भयो ।”

“लौ खाना सुरु गरौं ।”

“केक अन्तमा काट्ने हो ?” रामलालले अनुरोध गरे ।

“आइतबारको पार्टी मज्जै हुन्न भन्या । भोलि बिहान सबेरै काममा जानुपर्ने हुन्छ, ” भन्दै शर्मिला अगाडि बढिन ।

पार्टीमा सबै आफ्नो धुनमा गफ गर्दै थिए । मायाले भर्खरै भिक्टरलाई उसको नियमित औषधि खुवाएर बिछ्यौनामा पुर्याई आएकी थिइन ।

देबेन्द्रले मायाको गिलासमा भोड्का थप्दै भने, “माया तिमी कति भाग्यमानी हगि ?”

मायाले धन्यवाद भन्न न पाउदै शान्तिले मायाको हात तान्दै भनिन्, “ए माया, के गर्छेस यत्रो सम्पत्ति यार यो बुढो मरेपछि ?”

“छि दिदी पनि ? जे गरे पनि गरौला नि ! पहिले यो बुढो त मरोस्!”

“हा हा हा हा हा, ” दुवै चियर्स गर्दै हाँसे ।

“अमेरिकामा सुख पाउने हो भने एउटा मालदार गोरेसित बिहे गर्नु पर्ने रे छ यार शान्ति !” दीपाले बियरको चुस्की लगाउदै थपिन ।

“हो त देखिनस शिबेको सालीको फुर्ती ? बिहे गरेको दुई बर्ष मै बुढो मर्यो । त्यत्रा दुई वटा घर, ब्यापारको मालिक्नी भएकी छे अहिले !”

“नेपालबाट आफू भन्दा ५ बर्ष कान्छो ह्याण्डसम केटोलाई बिहे गरेर लेराएकी छे मोरीले!” रिमा गफमा गफ थपिन् ।

“हो यार अमेरिकामा त कि कुकुर कि केटी भएर जन्मनु पर्छ भन्दैथ्यो अस्ति एउटा श्रीमती पिडित बिचरा ।” झुमाले थपिन ।

सबै हाँसे, “हा हा हा ।”

कोठामा पुग्दा भिक्टर फ्वाँ फ्वाँ लामो घुराइमा थिए । थकित माया निदाउन खोज्छिन पटक्कै निन्द्रा लाग्दैन ।

ओल्टे कोल्टे फर्कदैमा बिहानको आलार्म घन्टी बज्यो । भिक्टरको लागि ब्रेक फास्ट बनाउन भान्सा तिर लागिन आँखा मिच्दै । भिक्टरलाई औषधि खुवाउनुभन्दा पहिले ब्रेकफास्ट दिन डाक्टरले भनेका थिए ।

माया, त्यो माया जसको त्यो अपार सम्पत्ति छ, आज गोरे बुढाले मृत्युपश्चात सबै सम्पत्ति मायाको नाममा भनी वकिललाई लेखाएर मन्जुरी दिई सकेका छन् । देख्नेलाई औडाह भै राखेको छ मायाको त्यो सम्पत्तिको हिसाब गरेर । तर त्यो मायाको बिगत कसलाई थाहा ?

मायाको छाती कति कठोर भएको छ । कति दुख हण्डर खाई मायाले ? सम्पूर्ण जवानी संघर्ष, दुख आँशुमा बित्यो । मर्ने बेलामा हरियो काक्रो भने जस्तो भएको छ मायालाई अहिले । कति बाजी जिती, कति बाजी हारी, मायाले यो जिन्दगीलाई अगाडि बढाउन । जुवा नै भयो मायाको जिन्दगी आज हात पर्यो भोलि फेरी हार्यो । एक दिन हाँस्यो । सय दिन रोयो । उसको मनको तनाब कहिले पनि शान्त भएन होस् पनि कसरी ? समुद्रमा तैरन हिंडेकी तिब्बती केसांग मरुभूमिमा पुगेपछि । कुनै रात त्यस्तो छैन दुई चार पेग भोड्का नपिई निदाएको दुई चार खिल्ली चुरोटलाई खरानी न बनाइ ओछ्यानमा गएको ।

हिमाल पारीकी केसांग वारी पुगेपछि आंग फुर्फा लामा बनिन् । बिरानो ठाउँमा दुई काखे बच्चा च्यापेर आइपुगेकी मायाले के के मात्र सम्झौता गरिनन् ? ती कहाली लाग्दा दिनहरू मायाका माया बाहेक कसले अनुभव गर्नसक्छ ?

केसांग (माया) मात्र २० बर्षकी थिइन । केही महिना अगाडि नेपाल आइपुगेको श्रीमान छिरिंगले “अब अमेरिका जाने हो । तिमी पनि आऊ, ” भनी पैसा खर्च गरेर चोर बाटो हुदै नेपालको सोलुसम्म अबैध तरिकाले लेराउने बन्दोबस्त गरेको थियो । सोलुको प्रहरी र प्रशासनसित लुकाछिपी गर्दा-गर्दै यता छिरिंगको अमेरिका उड्ने समय गुज्रने भएकाले छिरिंग एक्लै अमेरिका उड्यो । श्रीमान् एक्लैअमेरिका उडिसकेकोको खबर दलालले सुनाएपछि केसांग बिक्षिप्त भईन। फर्कनु पनि ज्यान जाने खतरा, अगाडि बढुँ कसरी ? कहाँ जाऊँ कोसँग जाऊँ ? दलालले पनि छोडेर गैहाल्यो, उसको जिम्मा सोलुसम्म पुर्याउने मात्र थियो ।

सोलुमा केसांगले तेन्जिङ्सित सम्झौता गरिन्, भएको सुन अनि आफूलाई बेचेर । तेन्जिङ्की आंग फुर्बा बनेर केसांग चरिकोट आइपुगिन् । चरिकोटमा हर्क तामाङ्की श्रीमती माया तामाङ् बनेर नेपालको नागरिकता बनाइन् । नेपाली भाषा सिकिन हर्कसितको बसाइमा । बल्ल काठामाडौंको तिब्बतियन शरणार्थी क्याम्पमा पुगिन केसांग, उर्फ माया । अनि ठुलो स्वास फेरिन । श्रीमान छिरिंग सम्पर्कबीहिन भएपछि मायाले बाँकी यात्रा स्वयमले तय गर्नुपर्ने भयो ।

मायाका दुई छोरी निमा र डोल्मालाई एउटा बिदेशी संस्थाले भारत देहरादुन मसुरीको स्तरीय स्कुलमा निशुल्क पढाई दिने भयो । माया अब एक्लो भईन । क्याम्पमा नै मायाले हिन्दी अंग्रेजी नेपाली भाषा सिकिन् । उनी एउटा सिंगो पहाड बनेर धेरै अप्राकृतिक झरी तुषारो व्यहोर्न थालिन । हिमालपारिकी पवित्र छोरी केसांगले माया बनेर धेरैलाई माया बाँडिन्, साट्न भने पाइनन् । विवशता भित्रै हिम्मत जुटाइन र अगाडि बढ्दै गर्दा केही समयमा नै हंगकंगे, दिल्लीकी ब्यापारी माया दिदी बनिसकेकी थिइन ।

दुई दशक बित्न लागिसक्यो मायाले अमेरिकाको मोहमा इस्टकोस्टदेखि वेस्टकोस्टसम्म भौंतारिएकी । जसरी सजिलै सम्झौता गर्थिन् त्यतिकै सजिलोसित टुटी जाने क्रमको अत्यास लाग्दो बिगतले मायाको निन्द्रा बाटो रोकिन्थ्यो । बिचलित सम्झौताहरूले माया हो भोकलाई भगाई दिन्थ्यो ।

अहिले धेरै नेपालीहरू बसेको ठाउँमा मायाको घर छ । उनीहरू मायाको दर्दनाक बिगत सुनेर स्नेह ममता दिन्छन्, आफ्ना परिवारका हरेक उत्सवमा मायालाई बोलाउन बिर्सदैनन्।
माया केही राहत महसुस गर्छिन् । उनको मन बेला बेलामा अतालिन्छ । त्यस बेला भाग्यलाई धिक्कार्छिन् । घरबाट कहाँ जान निस्केकी केसांग, माया बनेर कहाँ पुगी । सम्झदा पनि अत्यास लाग्ने दिनहरू । फर्कने बाटो भत्किएका छन्, फर्किनुको कुनै औचित्य नै छैन । पछाडी फर्केर हेर्न पनि चाहन्नन् । तर घरीघरी अतित घचघच्याएर चियाइरहन्छ । पीडा नै पीडाको आलो घाउमा नुन घोप्ट्याई दिन्छ । हुर्केका छोरीहरूमा निमा जर्मन त डोल्मा न्युजिल्यान्डमा छन् बिदेशीसित विवाह गरेर ।

जुन दिन अमेरिकन भिसा हात परेथ्यो मायाको खुसीको सीमा थिएन । चिने जानेसम्मकालाई भोज खुवाएकी थिइन । अब त आफ्नो श्रीमान छिरिंगसित भेट हुने भयो भनेर ।
अमेरिका पुगेपछि पो उनी जिउँदै मरे सरह भईन्, छिरिंगले अर्की केसांगसित घरबार बसाइसकेका रहेछन । “जे जे भयो बिर्रसी देऊ” मात्र भनेनन्, भेट्न समेत इन्कार गरे ।

मायाले सहारा खोजिन । आफ्नै समुदायको तेन्जिङ्ले प्रस्ताब राख्दा नाई भन्ने अवस्था मायाको थिएन । तेन्जिङ् र मायाले केही बर्ष सँगै बिताए । बिहे गर्ने बाचा गरे पनि ऊ आज-भोलि आज-भोलि गर्दै टार्दै थियो । एक दिन तेन्जिङ्ले मायालाई असैह्य झटका दियो । आफ्नो श्रीमती र बच्चा नेपालबाट आइपुगेकाले अबदेखि मसित सम्पर्क नगर्नु भन्दै अर्कै राज्यमा बसाइँ सर्यो । विवाह गर्न आलटाल गरेको कारण मायाले त्यस बेला मात्र थाहा पाइन् ।

जब जब माया मिठो सपना देख्थिन्, हमेसा भात्किन्थ्यो मात्र । मायाले अँझै अमेरिकामा बस्ने अधिकारको कागज पत्र हात पर्न सकेकी थिइनन् । पछाडी खाल्डो, अगाडि अन्धकार । मायाको गन्तव्य डामाडोल थियो । उनी न त नेपाल जान सक्थिन् न त तिब्बत नै। देशवीहिन बनेकी मायाको लागि अमेरिकाको बिकल्प थिएन । मजबुरीसितको सम्झौता नै उनको नियति बनिसकेको थियो ।

भाग्यवस मायाको पीडा सुनेर एक जना सज्जन नेपालीले भिक्टरसित उनको भेट गराई दिएका हुन् ४ बर्ष अगाडि मात्र । चालीस बर्ष पहिले पिसकोप्समा काम गर्दा केही बर्ष नेपालमा बिताएका भिक्टर अँझै टाक्कटुक्क नेपाली बोल्दथे पनि । सन्तानवीहिन भिक्टरले मायाको पीडा सुनेर उनको जीवनमा सहायक पनि हुने भन्दै कानुनी प्रकृयाको लागि लोग्ने बनिदिएका थिए । आफ्नो मृत्युपश्चात सम्पत्तिको एक मात्र हकदार पनि मायालाई नै तोकिदिएका छन् ।

जीवनको जोस उमंग सपनाहरू निख्रिएको बेला जीवनको बाँकी दिन गन्दै बस्ने बहाना मिलेको छ मायालाई । माया अर्थात् माया दिदी । नेपालीहरूको प्रत्यक जमघटमा उपस्थित हुन्छिन । दिल खोलेर चन्दा दिन्छिन् । सबैकी हाय हाय भएकी छिन ।

बिदेशी भूमिमा, आफ्नो देश गुमाएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *