घाम जून हराएको छ आज,
क्षितिज चुम्ने चाहनेहरू
अन्धकारमा रुमल्लिदै छन् ।
कसैलाई थाहा छैन,
भोलि के हुने हो ?
कहा पुग्ने हो ?
अनि कस्तो हुने हो ?
तर पनि कोही बिचलित देखिन्न,
न त कसैलाई पश्चाताप नै छ
आफ्नो कर्मप्रति ।
बरु अन्ध धुन्ध एक-आर्का बिरुद्ध
तिखो बाण प्राहर गर्दै छन् ।
बढ्न खोजेका पाइलाहरू
छिर्के लाउँदै छन् पछार्नलाई ।
ढाल्दै छन् एक अर्काले शिरहरू,
मेटाउन तल्लिन छन् एक अर्काको पाइला समेत,
हुन सक्छ आफू बाहेक अरुको
अस्तित्व समेत स्वीकार्य छैन ।
राजेश रुम्बा लामा “अतृप्त्”
