बाहिर रातको कालो पानसमा झलल्ल जून बलेको छ तर म अँध्यारो कोठामा आफ्नो थाप्लो ठटाएर बसेको छु । केही समयदेखि मेरा मगजमा कुनै अनौठो कीराले गुँड लगाएको हुँदा म सारै रनभुल्लमा परेको छु । बेलाबेला कीरो सगबगाएर सक्रिय हुन्छ र बेलाबेला पूरै निस्क्रिय । त्यो मथ्थर भएका बखत मलाई सन्चो र आराम हुन्छ तर त्यो उखरमाउलिएका बखत मलाई कस्तो-कस्तो छटपटी जस्तो हुनथाल्छ । त्यतिखेर मेरो सोचाइ, क्रिया र प्रतिक्रिया अरू कसैका कब्जामा परे जस्तो हुन्छ र म त्यसैबाट सञ्चालित हुनथाल्छु । अचेल मलाई आफ्ना गिदीभित्र कीराले गाइँगुइँ कुरा गरेको जस्तो पनि लाग्छ ।

यो मनको बतासे फुल पनि हुनसक्छ भन्ने ठानेर म गिदी जँचाउन अस्पताल जान्छु । अनेक जाँच र परीक्षण गरेपछि मस्तिष्कको नामुद डाक्टर भाइराजा जोशीले मतिर पुलुक हेरेर सोध्छ, “तिम्रो नाम के रे ?”

“लोकायतनप्रसाद हो तर तपाईं छोटकरीमा लोक मात्र भन्नसक्नु हुन्छ ।”

“भाग्यमानी रैछौ, तिम्रो मस्तिष्कमा कुनै कीरा छैन ।”

“त्यसो भए डाक्टर, मेरो खप्परभित्र बेलाबेला रगरग हिँड्ने कुरो के हो त ?”

“ध्यानसँग सुन लोक, तिम्रो मस्तिष्कमा अत्यन्तै सूक्ष्म, शक्तिशाली र उन्नत खालको चिप राखिएको छ । रिमोट कन्ट्रोलद्वारा त्यो चिप चलाएपछि तिमीलाई कीरा हिँडेको जस्तो लागेको हो ।”

“डाक्टर, त्यो चिप मेरा मथिङ्गलमा भित्रैबाट पलाएको हो कि बाहिरबाट रोपिएको हो ?”

“चिप मानव अङ्ग वा जैविक तìव नभएको हुँदा त्यो आफैँ उम्रिदैन, कसैले प्रत्यारोपण गरेको हुनुपर्छ । लोक, जसले प्रत्यारोपण गरेको हो त्यसले तिमीलाई अराउन र चलाउन सक्छ ।”

“खोइ डाक्टर, कसले प्रत्यारोपण गरेछ ? यसबारे मलाई केही था छैन ।”

“लोक, कुनै बेला तिम्रा टाउकाको अप्रेसन भएको थियो ?”

“छैन डाक्टर, मेरो टाउको त के कुनै अङ्गको पनि अप्रेसन भएको छैन ।”

“ठीक भन्यौ, तिम्रा टाउकामा चिरफार गरेको अथवा प्वाल पारेको कुनै चिनो छैन ।”

“डाक्टर, त्यो चिप झिक्ने उपाय के होला ?”

“उपाय त अप्रेसन हो तर अहिले हामीकहाँ त्यसलाई झिक्ने अप्रेसनको उन्नत प्रविधि आइपुगेको छैन ।”

“त्यसो भए डाक्टर, अब म के गरौ त ?”

“शान्त रहू र केही दिन प्रतीक्षा गर । लोक, म छिट्टै एउटा यस्तै सम्मेलनमा भाग लिन विदेश जाँदैछु, फर्केपछि केही गर्न सक्छु कि ? अहिले तिमी जाऊ, घरमा गएर आराम गर ।” भन्दै डा. भाइराजाले अर्को बिरामी जाँच्ने तर्खर गर्छ ।

म डाक्टरको कोठाबाट गरुङ्गो जिउ लिएर बाहिर आउँछु । सोचमग्न भएर खुट्टा लतार्दै भर्‍याङ ओर्लिन्छु । घाँटी सुकेर मुख प्याकप्याक हुन थालेकाले म अस्पतालको खाजाघरभित्र छिर्छु । जुसको एउटा बट्टा किनेर कुर्सीमा थचक्क बस्छुु र त्यसमा पाइप कोचेर स्वार्रस्वार्र झोल तान्न थाल्छु । झोल बट्टाको पिंधतिर पुग्नै लाग्दा एक्कासि मेरो खप्परभित्रको कीरो………, होइन चिप सक्रिय हुन्छ । पहिला मेरो मस्तिष्कभरि कस्तोकस्तो गाइँगुइँ आवाज भरिन्छ र त्यसपछि कसैलाई बोलाएको जस्तो टड्कारो बोली सुनिन्छ, “केतु, केतु, केतु ……….!”

मौन बोलीमा म मनमनै सोध्छु, “को हो केतु ?”

“यो केन्द्र हो र यस केन्द्रले तिमीलाई दिएको नाम केतु हो । हाम्रो केन्द्रीय प्रणालीमा तिम्रो यही नाम सुरक्षित छ, सम्झिराख ।”

“मेरो आफ्नै नाम छ, त्यो नाम किन सम्झिराख्ने ?”

“तिमीले आफ्नो नयाँ नाम केतु सम्झिराखेनौ र चिपमार्फत पठाएको केन्द्रको आदेश सुनेनौ वा मानेनौ भने हाम्रो केन्द्रीय प्रणालीले तिम्रा खप्परभित्रको चिप पड्काइदिन्छ र गिदी छ्यालब्याल पारेर तिमीलाई समाप्त गर्छ ।”

टाउकोभित्र चिपले विस्फोट गर्छ भन्ने कुराले मलाई थरहरी पार्छ । मेरा हातखुट्टा चिसिएर लुला हुन्छन् र म ठाङेले छोएझैं अवाक् हुन्छु । म त्यही अवस्थामा रहिरहेकै बेला मेरा मथिङ्लमा केन्द्रको उही आवाज फेरि गुन्जिन्छ, “केतु, त्यसरी डराउनु पर्दैन ! जबसम्म तिमी केन्द्रले भनेको मान्छौ तबसम्म तिम्रो ज्यानलाई कुनै नोक्सानी हुँदैन । अब केतु, केन्द्रको आदेश सुन र तुरुन्त कारबाइ गर ।”

“आदेश के हो, केन्द्र ?”

“तिमी फेरि त्यही डाक्टरको कोठामा जाऊ र ऊ कहिले, कहाँ, कुन सम्मेलनमा जाँदै छ भन्ने बुझी उसको फोटोसमेत पठाऊ ।”

“केन्द्र, मसँग फोटो खिँच्ने क्यामेरा छैन ।”

“क्यामेरा चाहिँदैन केतु, तिम्रा आँखाले हेरे केन्द्रले देख्छ र फोटो निकाल्छ । अनि तिम्रा कानले सुने केन्द्रले पनि सुन्छ । केतु, यस पटक तिमी डाक्टरको कोठामा छिर्नासाथ तिम्रो यो मानव रूप रहँदैन, केन्द्रीय प्रणालीले तिम्रा रूपको परिवर्तन परामानवमा गरिदिन्छ ।”

“अनि मेरो त्यो रूप कस्तो हुन्छ त, केन्द्र ?”

“केतु, तिमी आफ्ना नामअनुसार केतु ग्रहजस्तै बन्छौ । ल अब जाऊ ओभर !”

खाजाघरबाट निस्केर म अस्पतालको भर्‍याङमा पुग्छु र लुरुलुरु माथि उक्लिन थाल्छु । बाटाभरि म सोचिरहन्छु, केन्द्रलाई डाक्टरहरूको त्यो सम्मेलनबारे जानकारी किन चाहिएको होला ? डाक्टरको फोटो के कामका लागि जरुरी भएको होला ? केन्द्रले डाक्टरलाई चिप झिक्ने प्रविधि ल्याउन रोक्न खोजेको त होइन ? कतै डाक्टरलाई नोक्सान पुर्‍याइने त होइन ?

यिनै गाँठाहरूमा अल्झिँदै र बल्झिँदै म डाक्टरका कोठाको ठ्याक्कै अगाडि पुग्छु । झट्ट भित्र नपसेर म एकछिन बाहिरै ठिङ्ग उभिन्छु । त्यसै बेला मेरा गिदीभित्र रहेको चिपले ख्यारख्यार गर्छ र आवाज निकाल्छ, “केतु, केतु, केतु……!”

“केन्द्र, म केतु बोल्दै छु ।”

“झट्टभित्र जाऊ ! सावधान, अब तिम्रो रूप फेरिन सुरु हुन्छ एक, दुई, तीन …..ओभर !”

केन्द्रले ‘ओभर’ भन्दा नभन्दै म कोठाभित्र छिर्छु । भित्रपट्ट िखुट्टा राख्नासाथ मेरो टाउको खर्ल्यापखुर्लुप घाँटीभित्र पस्छ र म गिंड मात्र भएको मुर्कट्टा बन्छु । मेरो टाउको घिच्राबाट छिरेर भित्रपट्ट िछातीनिर बस्छ । त्यहीबाट आँखा घुमाएर म आफ्ना शरीरको भित्री भागलाई छक्क परेर नियाल्न थाल्छु । मेरो शरीरमा हाडका ठाउँमा पाइपहरू छन् । नसाका ठाउँमा तारहरू छन् । रगतका ठाउँमा कालो तरल पदार्थ छ र मेरो मासु सेतो र पारदर्शी भएको छ । म त साइबर कथाको साइबोर्ग जस्तै आधा मानिस र आधा मेसिन बनिसकेको छु । मेरो बाहिरी रूप नवग्रहमध्ये केतुजस्तै शिरविहीन भएर भयानक हुन पुगेको छ । मेरो विशाल गिंड इस्पातबाट बनेको छ । म इस्पातको मुर्कट्टा, डरलाग्दो मुर्कट्टा ! सोझो लोकायतनप्रसादबाट बनेको भयावह केतु !

म छातीभित्रका आफ्ना आँखाको पारदर्शी मासु र इस्पातको छाला छिचोल्दै बाहिरका सबै कुरा छर्लङ्ग देख्छु । यन्त्रका चालमा हिँडेर म टेबुल छेउ पुग्छु र मेसिनको जस्तो खरखराउँदो आवाज निकाल्छु, “डाक्टर !”

डाक्टरमा दुईवटा चकित र विस्फारित आँखा मतिर पर्लक्क पल्टेर जडवत् हुन्छन् । यो डाक्टर त्यो डाक्टर होइन, अर्कै महिला डाक्टर हो । महिला डाक्टर राम्री, तन्नेरी, गोरी र अलि मोटी छ । पहिलाका डाक्टरको पालो सकिएर त्यसका ठाउँमा यो डाक्टर आएको हुनुपर्छ । ऊ मलाई देखेर एक पटक फुस्रिएको स्वरमा चिच्याउँछे र बेहोस भएर टेबलमाथि घोप्टिन्छे । यतिखेर म साँच्चै केतु हुँ, एउटा आतङ्ककारी मुर्कट्टा हुँ, एउटा भयोत्पादक गिंड मात्र हुँ भन्ने कुरा मेरा मनमा गाडिन्छ ।

त्यसै बेला मभित्र आवाज गुन्जिन्छ, “स्याबास् केतु, अब त्यहाँबाट निस्केर बच्चा वार्डमा जाऊ । डाक्टरको खोजी पछि गरौंला । अहिले तिमी सक्दो डर र त्रास उत्पन्न गरेर आतङ्क फैलाऊ ।”

“हस् केन्द्र, म बच्चा वार्डतिर लाग्छु ।”

“केतु, अहिलेलाई ओभर !”

म भुइँ थर्काउँदै टकटक हिँडेर बच्चा वार्डमा पुग्छु । ठूलो हलमा लहरै राखिएका खाटहरूमा सानाठूला बच्चाहरू लडिराखेका छन् । केतुको मुर्कट्टा रूपमा मलाई आफूहरूतिर आउन लागेको देखेर तिनीहरू डरले कहालिंदै डाँको छाडेर रुन कराउन थाल्छन् । मैले तिनलाई उफार्दै र पछार्दै गर्न थालेपछि त्यहाँ अघ्घोरको चिहिलबिहिल र भागाभाग मच्चिन्छ । खुट्टामा प्लास्टर लाएको बच्चा खाटबाट हाम फाली ढोकातिर घस्रिन्छ । सेलाइन पानीमा राखिएको बच्चा नली थुतेर आत्तिंदै शौचालयतिर भाग्छ । अक्सिजनमा राखिएका बच्चाहरू मास्कभित्रै अलल्लिएर बिचेत हुन्छन् । मैले मुड्की बजारेर भेन्टिलेटरहरू शतचूर्ण पार्न थालेपछि हलभरि भय र आतङ्कको आतेसपूर्ण वातावरण छाउँछ । सातापुत्लो उडेका बच्चाहरू रुँदैकराउँदै, लड्दैपड्दै, ठोक्किदैउठ्दै भागाभाग गरिरहेका हुँदा त्यहाँ सानो सानो रणभूमिको जस्तो ध्वस्त, त्रस्त र अस्तव्यस्त दृश्य उपस्थित भएको छ ।

मैले एउटा बच्चा निस्लोट सुतेको खाट उचालेर झ्यालबाट बाहिर फ्याँक्न लागेका बेला मभित्र उही आवाज धन्किन्छ, “स्याबास केतु, अब यस्तै आतङ्क महिला वार्डमा फैलाऊ ।”

“केन्द्र, जो आदेश !”

“अब त्यहाँबाट गइहाल, ओभर !”

म बच्चा वार्डबाट निस्केर बरन्डामा राखिएका दराजहरू मुड्की बजारेर भाँचकुच गर्दै महिला वार्डमा पुग्छु । त्यहाँ थुप्रै बिरामी महिलाहरू खाटखाटमा पल्टेका छन् र कुरुवाहरू छेउछाउमा बसेका छन् । मलाई देख्नासाथ त्यहाँ पनि भयङ्कर हाहाकार मच्चिन्छ । इन्जेक्सन लगाउँदै गरेकी नर्स रोगी महिलाका फिलामा घोपेको सिरिन्ज त्यहीं छाडेर आत्तिंदै भाग्छे । मुखमा थर्मामिटर च्यापेकी बिरामी युवतीले तर्सिएर थर्मामिटर नै निल्छे र ऊ घिक्लिकघिक्लिक गर्न लाग्छे । भयभीत भएर केही महिलाहरू ठाउँको ठाउँ लडेर बेहोस हुन्छन् भने केही महिला रुँदैकराउँदै झ्यालबाट हाम फाल्छन् । त्यहाँका सबै महिलाहरूको आतङ्कले बेहाल छ । न कसैलाई आफ्ना जिउका लत्ताकपडाको होस् छ न आफ्ना रोगबिमारकै । सबै सातोपुत्लो उडेर लड्दैपड्दै यता र उति भागिरहेका हुन्छन् । वार्डभरि पूरै सन्त्रासको वातावरण व्याप्त हुन्छ ।

त्यस्तैमा मेरा खप्परभित्र फेरि आवाज गुन्जिन्छ, “केतु, हाम्रो योजनाअनुसार आजलाई आतङ्क मच्चाउने कारबाई टुङ्गियो । अब तिमी केतुबाट आफ्नै रूपमा आउँछौ । सावधान केतु- एक, दुई, तीन…!”

तीन भन्नासाथ मेरो टाउको फुत्त बाहिर निस्किन्छ र म आफ्नै साविक मानव रूपमा आउँछु । त्यसै बेला मेरो मथिङ्गलमा फेरि आवाज घन्किन्छ, “केतु, तिमी अब आफ्ना घर जाऊ र हाम्रो अर्को आदेशको प्रतीक्षा गर !”

“हस्, केन्द्र !”

“ओभर !”

केतुका रूपमा आफैँले मच्चाएको आतङ्कको दुष्परिणाम लोकायतनप्रसादका रूपमा हेर्दै र दुखी हुँदै म अस्पतालबाट बाहिर निस्किन्छु र घरको बाटो लाग्छु । कोठामा पुग्नासाथ म एकदमै थकित भएर ओच्छ्यानमा पल्टिन्छु, पल्टेपछि म घोरिन थाल्छु । मेरा मनमा अनेक कुरा एकैपल्ट ओहिरिएर खेल्न थाल्छन् । म सोच्छु, पक्कै पनि त्यो केन्द्र कुनै असामाजिक गिरोह वा गुप्तसङ्गठन हो तर म त्यसका फन्दामा किन र कसरी परें ? अस्पतालजस्तो सार्वजनिक ठाउँमा आतङ्क मच्चाउन खोज्नेहरूको समूह निश्चय नै नकारात्मक र प्रतिकूल काम गर्नेहरूको वर्ग हो तर म तिनको सहयोगी किन बन्न पुगें ? देशमा अशान्ति, अस्थिरता, अन्योल, गडबडी अहिंसा, मारामार, लुटपाट मच्चाउन खोज्ने त्यो केन्द्र कुनै विदेशी शक्तिका आडमा चलेको हुनुपर्छ तर म त्यस्ता अवाञ्छित र खलपात्रहरूको खेलौना कसरी बन्न पुगें ? म यिनका हातमा कसरी परें, कसरी परें…….. ?

कुराहरू सोच्दासोच्दै एक्कासि म झल्याँस्स हुन्छु । झल्याँस्स भएर म सम्झन्छु, केही समयअघि म र कलेजका अरू तीन जना साथीको अपहरण भएको थियो । अरू तीन जनामा जङ्गीलाल, सन्तु आले र शकुन्तला थिए । अपहरणपछि कुनै अनकन्टारमा रहेको गुप्त प्रयोगशालामा पुर्‍याई हामीलाई बेहोस पारेर राखिएको थियो । हामीलाई दस दिन जति बेहोस नै राखेर पछि कलेजमै फर्काइएको थियो । मलाई अहिले विश्वास लागेको छ, यिनै दस दिनभित्र अपहरणकारीले हाम्रा गिदीमा चिप राखिदिएको हुनुपर्छ ।

ठाउँठाउँ यस्तै खालका अपहरणहरू गरेर म जस्ता अरू कति कति युवाका गिदीमा चिप राखिएको होला भन्ने सोचेर मलाई कहाली लाग्छ । मलाई त्यस असत्ती चिपबाट कसरी छुटकारा पाउने भन्ने चिन्ताले एकदमै सताउँछ । यिनै सब सोच र चिन्तामा परेर म कतिखेर निदाउँछु, मलाई पत्तै हुँदैन ।

मगजमा हल्लखल्लको आवाज रुमल्लिन थालेपछि म हडबडाएर ब्युँझन्छु । झ्यालबाट यसो चिहाउँछु त बाहिर उज्यालाले धरतीको आँगन झलमल्ल पारेर लिपिसकेको हुन्छ । त्यसै बखत मेरो गिदीमा कर्कशस्वर बज्न थाल्छ, “केतु, केतु, केतु…..!”

“हजुर” !

“तुरुन्त गएर ब्याघ्रीलाई भेट र केन्द्रलाई खबर गर । उससँग दुई दिनदेखि सम्पर्क टुटेको छ ।”

“केन्द्र, ब्याघ्रीको ठेगाना ?”

“तिमी राहुलाई भेट, उसले बताउँछ ।”

“राहुको ठेगाना ?”

राहुको ठेगाना बताएर ‘ओभर’ भनेपछि आवाज बन्द हुन्छ । म छिटोछिटो तयार भएर राहुकहाँ पुग्छु । उसलाई देखेर म छक्क पर्छु, किनभने ऊ त जङ्गीलाल पो रहेछ । ऊ, सानासाना नानीहरूलाई थुपारेर ट्युसन पढाउँदै छ । पढाउन छाडेर ऊ मेरा छेउमा आएपछि म कुरा थाल्छु, “जङ्गी, मलाई व्याघ्रीको ठेगाना देऊ !”

“लोक, मलाई उसको ठेगाना था छैन तर उसको ठेगाना कहाँ पाइन्छ भन्ने था छ !”

“उसको ठेगाना कहाँ पाइन्छ ?”

“अजाकहाँ जाऊ त्यहीं व्याघ्रीको ठेगाना पाउँछौ ।”

“जङ्गी, जानुअघि एउटा प्रश्न सोधौं ?”

“सोध !”

“हिजो तिमी कहाँ थियांै र के गर्‍यौं ?”

“हिजो म एउटा ब्याङकमा थिएँ र त्यहाँ मैले खूब आतङ्क मच्चाएँ !”

“कसरी, जङ्गी ?”

“लोक, मलाई केन्द्रले राहु ग्रहजस्तो साइबोर्गमा रूपान्तरण गर्‍यो । अनि त म गिंडबिनाको बडेमानको टाउको बनें । त्यस टाउकाको न हात छ, न खुट्टा छ, न पेट छ, न छाती छ । पित्तलमा ढलोट भएको भयङ्कर टाउको गुड्दै आएको देखेर सातो उडेका मान्छेहरूको त्यहाँ गजप भागाभाग भो । धेरै जना गम्भीर घाइते भए ।”

त्यसपछि अजाको ठेगाना लिएर म उससँग बिदा माग्छु र अजाकहाँ पुग्छु । ऊ बगैंचामा नयाँनयाँ फूलका बिरुवा रोप्दै छ भन्ने सुनेर त्यतै हानिन्छु । उसका बगैंचामा थरिथरिका फूल फुलेको देखेर मनै रमाउँछ । बिरुवा रोपेर हातको माटो टकटकाउँदै गरेकी अजालाई देखेर म झन् छक्क पर्छु, किनभने ऊ त सन्तु आले पो रैछे ।

“सन्तु, मलाई ब्याघ्रीको ठेगाना चाहियो ।”

“लोक, म तिमीलाई नै पर्खिरहेकी थिएँ । यो कागत लेऊ, यसमा व्याघ्रीको ठेगाना लेखिएको छ ।”

“सन्तु, हिजो तिमी कहाँ थियांै र के के गर्‍यांै ?”

“हिजो म एउटा ठूलो र्‍यालीमा गएको थिएँ । त्यहाँ त म भीमकाय बाख्रामा पो रुपान्तरित भएँ । भयानक जिउडालको तामारङ्गी डरलाग्दो बाख्रा देखेर त्यस र्‍यालीमा पूरै आतङ्क फैलियो र एकदमै भागाभाग पो भो । लोक, भाग्दाखेरी धेरै मानिसहरू लडेर अनि कुल्चिएर नराम्ररी घाइते भए । मलाई त्यो देखेर सारै दिग्दार लागेको छ ।”

“यसबाट मुक्ति पाउने कुनै उपाय खोजेकी छौं ?”

“मैले विशेषज्ञहरूसँग सरसल्लाह गर्दा भाइरसद्वारा चिपलाई बेकम्मा पार्न सकिन्छ भन्ने था पाएँ, तर दुखको कुरो के छ भने यति उन्नत भाइरस अहिले हामीकहाँ उपलब्ध छैन ।”

म त्यहाँबाट बिदा भएर खाना खान जान्छु । खाइवरि फेरि बाटो लाग्छु, तर घर खोज्न निकै समय लागेकाले बल्लतल्ल व्याघ्रीकहाँ पुग्छु । ऊ त्यतिखेर आफ्ना कोठामा बसेर चित्रकारी गर्दै हुन्छे । उसले पानीरङ्गमा बनाउँदै गरेको कुनै पहाडी ठाउँको भूदृश्य अत्यन्त मनोरम देखिएको छ । आफ्नै सिर्जनमा लीन ब्याघ्रीको ध्यान तान्न मैले ढोकामा ढकढक गरेपछि उसले मुन्टो बटारेर मलाई हेर्छे । उसको अनुहार देख्नासाथ म आश्चर्यको अग्लो चुचुरामा पुग्छु । ऊ अरू कोही नभएर शकुन्तला हुन्छे । बल्लतल्ल मेरा मुखबाट आवाज निस्किन्छ, “शकुन, म केन्द्रले पठाएर आएको हुँ !”

“लोक तिमी आफैं त किन मकहाँ आउँथ्यौं र ?”

“तिमीले आफ्ना आमाबाको मन राख्न उहाँहरूले खोजेको केटासँग बिहे गर्ने निधो गरेपछि मैले मायाप्रीति बिर्सेर पन्छिदिनु बेस ठानें, के मैले गल्ती गरें त शकुन् ?”

“त्यो कुरा छाड लोक, अब एउटा नयाँ कुरा सुन !”

“भन ”

“आमाबाले ठीक पारेको त्यो बिहे मैले अस्वीकृत गरिदिएँ !”

“किन ?”

“तिम्रो माया लागेर !”

“साँच्चै ?”

“हो, साँच्चै !”

“अब शकुन, कामको कुरो गरौं !”

“हुन्छ, गरौं !

“केन्द्रले सोधेको छ शकुन, तिमीले केन्द्रसँग सम्पर्क किन टुटायौं ?”

“मलाई त्यो केन्द्र जनतामा आतङ्क र विध्वंस मच्चाएर आफ्नो स्वार्थसिद्धि गर्ने कुनै खराब सङ्गठनजस्तो लाग्यो ।”

“तिमीलाई त्यस्तो किन लाग्यो ?”

“किनभने केन्द्रले मलाई व्याघ्री अर्थात् बघिनीका रूपमा सेन्ट्रल मलमा आतङ्क मच्चाउन अराएको थियो । मैले निरपराध जनतालाई बिनाकाम आतङ्कित पार्न उचित ठानिनँ ।”

“एकदम ठीक ठान्यौं शकुन, तर तिमीले केन्द्रसँग सम्पर्क कुन तरिकाले टुटायौ ?”

“लोक, त्यो म बताउन्न । मैले बताएँ भने केन्द्रले मलाई फेरि फन्दामा पार्छ ।”

“केन्द्रका लागि होइन मेरा लागि भन, शकुन ! हिजो एकदिन अस्पतालमा आतङ्क मच्चाएर म आफैँ पनि आतङ्कति भइसकेको छु । शकुन्, म पनि केन्द्रबाट मुक्ति चाहन्छु, चिपबाट उन्मुक्ति चाहन्छु ।”

“त्यसो भए सुन, मैले त्राटक गरे !”

“के हो त्राटक ?”

“योग हो ।”

“कस्तो योग ?”

“आफ्नो दुवै आँखा कुनै एक बिन्दुमा स्थिर गरेर एकाग्र हुने योग ।”

“त्यसो गर्दा हाम्रा मगजमा राखिएको चिपले काम गर्दैन त ?”

“मसँग केन्द्रको सम्पर्क टुटेबाट त त्यही प्रमाणित हुन्छ, हुन्न र ?”

“पूरै प्रमाणित हुन्छ शकुन् तर तिमीले त्राटकबारे कसरी था पायौ ?”

उसले सानो पुस्तक देखाएर जवाफ दिनै खोज्दा उसको मोबाइल टिरिरिङ्ग बज्छ । स्पिकफोन खुला राखिएको हुँदा उतापट्टि सन्तु बोल्दै छ भन्ने म थाहा पाउँछु । उसले म पुगें कि पुगिन भनेर जानकारी लिन खोजेकी रहिछ । मोबाइल बन्द गरेपछि शकुन्तलाले सुनाउँछे, “लोक, हिजो राति सन्तु यहाँ आएकी थी ।”

“किन ?”

“केन्द्रसँग टुटेको सम्पर्क जोड्नाका लागि मलाई ललाइफकाइ गर्न ।”

“ऊ त आफैँ चिप नास्ने भाइरस खोजेर हिँडेकी छ, अनि तिमीलाई फकाउन किन आएकी होली ?”

“उसलाई केन्द्रले बाध्य पारेर पठाएको हुनपर्छ ।”

“अनि ?”

“अनि के, मलाई फकाउन नसकेपछि आतङ्कित पार्नका लागि डरलाग्दो अजामा परिवर्तित भई । मैले पनि झट्ट त्राटक सुरू गरिहालें !”

“त्यसपछि ?”

“त्यसपछि उसले मलाई अजाको बडो खुरले खोस्री, चुच्चिएका सिङले घोची, तीखा दाँतले टोकी, मेरो जगल्टा मुठ्याएर उचाल्ने र पछार्ने गरी तर म त्राटकमा लीन भएकी हुँदा मलाई कुनै वेदनाले छोएन । लोक, एकै छिनलाई पर्ख, म कफी बनाएर ल्याउँछु ।”

ऊ मेरो जवाफ नपर्खी छेउको भान्साकोठामा जान्छे । बाल्नाका लागि उसले खोलेको ग्याँसको गन्ध हृवास्स मेरो नाकसम्म आइपुग्छ । केही बेरमै ऊ दुई वटा कप उचालेर कफीको मगमग बासनाका साथ आइपुग्छे । एउटा कप समाएर पिउँदै म जसरी सुरुप्पको आवाज निकाल्छु, ऊ पनि त्यसरी नै सुरुप्पको आवाज निकाल्छे । त्यसपछि अघिको सानो पुस्तक देखाएर हाँस्दैहाँस्दै भन्न थाल्छे, “लोक, मैले केही समयअघि ‘योगविद्या’ नामक यस पुस्तकमा त्राटकबारे पढेकी थिएँ । यसमा त्राटक योगको साधनाले आत्मनियन्त्रण बढाउँछ र परनियन्त्रण हराउँछ भन्ने लेखिएको छ । यसैबाट प्रेरित भएर म त्राटक सिक्न गएँ ।”

“कहाँ गयौं ?”

“पशुपतिको भष्मेश्वरमा साधना गरेर बस्ने धूर्जटीश्वर नाम गरेका अघोरी बाबाकहाँ !”

“अनि ?”

“अनि मेरा सबै कुरा सुनेपछि उनले भने- बालिके, मस्तिष्क बडो चलायमान हुन्छ, किनभने त्यसमा उत्पन्न हुने आवेग र संवेग चलायमान हुन्छन् । अहिले तिम्रा आवेग र संवेगलाई त्यो चिप भन्ने यन्त्रले आदेश दिएर चलायमान पार्दा तिमी त्यसका वशीभूत भई परनियन्त्रणबाट परिचालित हुन्छ्यांै तर त्राटकले तिम्रा आवेग र संवेगमा तिम्रो आत्मनियन्त्रण बहाल गरेर परनियन्त्रणको जालोलाई निरस्त पारिदिन्छ । लौ, अब यस त्रिशूलको एउटा टुप्पामा दुवै आँखा स्थिर पारी पहिला म त्राटक गरेर देखाउँछु ।”

“त्यसपछि ?”

“बाबाले कुनातिर ठड्याइराखेको बडो त्रिशूल आफूछेउको धुनीको खरानीमा गाड्दै अलि उँचो स्वरमा कसैलाई डाके- शिवाभवानी, ए शिवाभवानी……..)!”

“अनि शकुन् ?”

“अनि लोक, कालो कपडा लगाएकी र जिउभरि खरानी घसेकी तीसबत्तीस उमेरकी अघोरी साधिका एउटा हातमा बडो सियो र अर्का हातमा धारिलो छुरी लिएर भित्री कोठाबाट बाहिर निस्किन् । उनलाई केही आराएपछि बाबाले त्रिशूलमा दृष्टि गडाएर त्राटक सुरु गरे । लोक, त्यसपछि मैले कहिल्यै नदेखेको अचम्म देखें ।”

“कस्तो अचम्म ?”

“बाबा त्राटकमा एकाग्र भएपछि शिवाभवानीले उनको एउटा पाखुरामा सियो र्‍वाम्म रोपिन् र अर्को पाखुरामा छुरीले ठूलो घाउ पारिन् । भलभल रगत बग्न थाल्यो तर बाबाका अनुहारमा पीडाको सानो रेखा पनि देखापरेन ।”

“ओहो !”

“एकछिनपछि लोक, त्राटक रोकेर मतिर हेर्दै बाबाले भने- बालिके, त्राटकद्वारा मैले आत्मनियन्त्रण गरेको हुँदा मलाई अन्य बाहिरी आवेगको प्रभावले छोएन र सियो घोच्दा वा छुरीले चिर्दा पनि पीडा भएन । ल, अब तिमी त्राटक गर र यन्त्रले उत्पन्न गर्ने आवेगबाट मुक्त होऊ !”

“अनि ?”

“अनि मैले त्राटक गरें र चिपले गिदीमा उत्पन्न गर्ने आवेगबाट मुक्त हुँदै केन्द्रबाट सम्पर्कविहीन भएँ ।”

“शकुन्, के तिमी मलाई त्राटक सिकाउँछ्यौं ?”

“शिष्य बन्छौ भने गुरु बनिदिनु पर्ला !”

“गुरु, सबभन्दा पहिले म के गरौं त ?”

“चेला, तिमी सबभन्दा पहिले पलेंटी कसेर बस अनि कुनै एउटा वस्तुमा आफ्ना दुवै आँखा स्थिर गर !”

“म आफ्ना आँखा गुरुका रसिला ओठमा स्थिर गरौं, अनुमति छ !”

“छ, शिष्य !”

उसले लजाएर अनुमति दिएपछि म आफ्ना दुवै आँखा उसका सुन्दर ओठमा स्थिर गर्छु । त्यसै बखत मेरा मगजमा आवाज घन्किन्छ “केतु, केतु, केतु….!”

म विचलित नभई आफ्ना आँखा लक्ष्यमा केन्द्रित गर्दै जान्छु । मेरा आँखा जतिजति केन्द्रित हुँदै जान्छन्, त्यतित्यति केन्द्रको आवाज मलिन हुन थाल्छ र आखिरमा मेरा मगजबाट विलीन भएर जान्छ ।

केही बेरपछि सुस्तसुस्त मेरो जिउ हल्लाउँदै शकुन्तला भन्छे, “लोक, आजलाई पुग्यो । अब त्राटक छोड ।”

त्राटक सके पनि म अझै त्यसकै प्रभावमा परिरहेको जस्तै गरी पुर्लुक्क उसका काखमा ढल्छु । अनि आत्तिएर उसले मेरा अनुहारमा पानी छम्किन खोज्दा फ्याट्ट म दुवै आँखा उघार्छु ।

उसले हाँसेर मायाका साथ मेरो कान समाउँछे र म पनि उसै गरी उसको चिउँडो समाउँछु । विस्तारै बाहिर रातको कालो पानसमा झलल्ल अर्को जून बल्छ ।

युवामञ्च २०६८ असोज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *