Skip to content


म एउटा मान्छेलाई सदैव सम्झिरहन्थेँ । ती मेरालागि ‘एउटा मान्छे’मात्र थिएनन्, मेरा जिज्ञासायुक्त, उत्सुक र चञ्चले बाल्यकाललाई रोमाञ्चकता दिलाउने सहयात्री पनि थिए । मलाई घरिघरि तानिरहन्थ्यो त्यही कुराले । अर्थात् बाल्यकालमा मैले चिनेका, छामेका र जानेका ती व्यक्ति कता होलान् ? जीवनको विहङ्गम यात्रामा कुन गोरेटोतिर ती व्यक्तिले पाइला चाल्दै होलान् ? साँच्चै, कुन भूगोलको हावापानीसित लुकामारी खेल्दै बसिरहेका होलान् ती व्यक्ति ? यस्तै-यस्तै जिज्ञासाका तरङ्गहरू उदाइरहन्थे मभित्र । ती मान्छे रघुपति चौधरी थिए ।

तर भेटेँ मैले उनलाई । २०६४ सालको मङ्सिर-पुसतिर मैले रघुपति चौधरीलाई सकुशल भेटेँ । भेटिछाडेँ । करिब पच्चीस वर्षपछि भेट्दा सुरुमा त अनुहार नै पर्गेल्न हम्मेहम्मे पर्‍यो । परिवर्तनका धेरै रेखाहरू कुँदिइसकेछन् । पच्चीस वर्षअघिका विम्बहरू खोज्न थालेँ मैले पनि दू्रतगतिमा तर कहाँ भेटिनु ? चौथाइ शताब्दीसम्म एकजना मानिसलाई नदेख्दा र त्यसपछि झ्वास्स भेट्दा धेरै नै अन्तर-दृश्य पलाउँदो रहेछ । त्यस्तै भयो रघुपति चौधरीलाई भेट्दा पनि मलाई । एक दिन नयाँ बानेश्वरमा रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा जाँदा त्यहीका एकजना कर्मचारीसित सोधेँ-‘रघुपति चौधरी कता हुनुहुन्छ, तपाईंलाई केही थाहा छ ?’

त्यही बोर्डअन्तर्गतको एउटा शाखा रहेको पाल्पातिर उनी कार्यरत छन् भन्ने झुलुक्क सुनेको हुँदा केही पत्ता लागिहाल्छ कि भनेर ती कर्मचारीलाई सोध्ने घृष्टता गरेको थिएँ । उनले तुरुन्तै भनिहाले-‘अहिले पोखरामा हुनुहुन्छ । किन ?’

‘मैले उनलाई भेट्नु छ ।’ मैले भनेँ ।

‘तपाईंले कस्तो अनुकूल समयमा सम्झाउनुभयो । उहाँ पर्सि काठमाडौँ आउँदै हुनुहुन्छ । पर्सि यस्तै बेला आउनुस्, उहाँलाई भेट्न सक्नु हुनेछ ।’ ती कर्मचारीको जानकारीले म कृतकृत भएँ र पच्चीस वर्षअघि सामीप्य र हार्दिक व्यवहार आदानप्रदान गरिएका ती व्यक्तिलाई समयको यति लामो अन्तराल छिचोल्दै भेट्ने कुराले उत्सुक भएँ । मेरो आँखाअगाडि अझै पनि पच्चीस वर्षअघिकै उही रघुपति चौधरी उदाइरहेका थिए, झुल्किरहेका थिए । र, मलाई अँगालोमा बेरेर टाढा-टाढाका क्षितिजतिर उनी टोलाइरहेको कल्पना गर्न थालेँ म ।

भेटेँ मैले रघुपति चौधरीलाई । उनको स्मृतिबाट म टाढिइसकेको रहेछु । उनको स्मृति-अंशमा मेरालागि ठाउँ थिएन होला सायद । धेरै सम्झिने कोसिस गरे र हेरे मेरो मुहारमा पटक-पटक । धेरै पटक । म पनि त शारीरिक रूपमा धेरै नै बदलिइसकेको थिएँ । त्यतिबेलाको फुकीढल म र अहिलेको मोटाघाटा म । कसरी चिन्नु ? मैले विस्तारै ती पुराना दिनहरूका पाना पल्टाउन थालेँ-‘म त्यही मान्छे हुँ, जसले तपाईंसामु धेरै जिज्ञासा राखेर हैरान पाथ्र्यो । मेरा बालसुलभ चञ्चलता र जिज्ञासाहरूका सामु तपाईं नतमस्तक हुनुहुन्थ्यो । हो, म त्यही सानो फुच्चे हुँ ।’

यसपटक भने उनले मलाई राम्ररी नियाले र सम्झिदै भने-‘हो, मलाई याद आयो । एउटा सानो-सानो फुच्चेलाई म धेरै माया गर्थें र उनका बालसुलभतासित परिचित थिएँ । तपाईं त्यही व्यक्ति हो ?’

हो, म त्यही व्यक्ति थिएँ ।

विक्रमाब्द २०३९ सालतिर सप्तरीको कुनै गाउँबाट रघुपति चौधरी मेरो जन्मस्थल पुगेका थिए । तराईको गर्मीमय परिवेशबाट हिमालको चीसो हावा पिएर बाँचिरहेको विजयछापको हावा, पानी र माटोको गन्धसित स्नेह गाँस्न उनी आइपुगेका थिए । गाउँको सिरानमा भर्खरैमात्र खुलेको ‘जुनार उपकेन्द्र’मा जेटिएका रूपमा उनी भित्रिएका थिए । त्यतिबेला जुनार खेतीलाई व्यावसायिक हिसाबले अघि बढाउन जापान सरकार र नेपाल सरकार दुवैले व्यापक अनुदान दिएको हुँदा विजयछापमा जुनारका लागि एकजना जेटिए राख्ने चाँजोपाजो मिलेको थियो ।

रघुपति चौधरीले पहाडको त्यस अनकण्टार गाउँमा पाइला टेक्दा भर्खरै विवाह गरेका नवदुलहीलाई पनि लिएर गएका थिए । दुवै जना मेरा दिदी-भेनाजूको घरमा एउटा कोठा लिएर बसेका थिए । मलाई सम्झना छ, दिदीहरू पारिको भस्मेमा घाँस-दाउरा गर्न जाँदा रघुपति चौधरीका नवदुलही पनि जान्थिन् । तराईको मान्छे, पाखा-भित्ता चहारेर घाँस-दाउरा गर्न के सक्थिन् र ? त्यो क्रम केही दिनसम्म चले पनि त्यसपछि भने भङ्ग हुन पुगेको थियो । त्यसपछि रघुपति चौधरीकी पत्नी तराईतिरै रहन थालिन् र उनी एक्लै बस्न थाले त्यस गाउँमा ।

वि.सं. २०४० साल प्रवेशको सङ्घारमा थियो । त्यस्तै एक हप्ताजति थियो होला नयाँ वर्षारम्भ हुन । त्यतिबेला गाउँमा एउटा नौलो हल्लाले प्रवेश पाएको थियो । सबैको मुखमा यही शब्द थियो- चालीस साल त्यति फापिलो वर्ष छैन, चालीस सालमा महाप्रलय जान्छ । महाप्रलयको चर्चा मैले बूढाबूढीका मुखबाट पनि प्रशस्तै सुन्न थालिसकेको थिएँ । गाउँका बूढापाकाहरू भन्थे-‘साँच्चै, प्रलय नै आयो भने के होला ? दसैँका लागि स्याहारेका खसीहरू काटेर पो खानुपर्छ कि क्या हो ?’ खै, कताकतातिर त महाप्रलयमा मरिने त्रासले भोज पनि मनाए भन्ने सुन्नमा आएको थियो ।

‘महाप्रलय हुँदा के हुन्छ ?’ मैले आफूभन्दा जान्नेसुन्नेहरूसामु यही प्रश्न राख्थेँ । प्रायःजसो सबैको एउटै उत्तर हुन्थ्यो-‘यो पृथ्वी पल्टिन्छ, महाप्रलय भयो भने…।’ अहो ! कति भयावह कल्पना कति डरलाग्दो विम्ब साँच्चै, महाप्रलय भयो भने के गर्ने होला ? मेरो बालमस्तिष्कलाई धेरै दिनसम्म यही कुराले रिङ्ग्याइरहृयो । अहँ, समाधानका गोरेटाहरू कसैले पनि पहिल्याउन सकेनन् । एकदिन त म झनै आत्तिएँ । चैत-वैशाखको दिनमा हावाहुरी चल्नु, आँधीको सूत्रपात हुनु त्यति अनौठो कुरा होइन । म घरभन्दा करिब आधा किलोमिटर तल बाख्रा चराउन गएको थिएँ, साथीसङ्गातीहरू पनि थिए । त्यही बेला ठूलो बतास चल्यो । गढी डाँडाबाट हुत्तिएर आएको बतासले हामीलाई केही नोक्सान नपुर्‍याए पनि त्यो डरलाग्दो भने अबश्य नै थियो । मैले त्यही ठूलो बतासलाई महाप्रलयको सङ्केतको रूपमा बुझेँ र झन् भित्रभित्रै कहालिएँ-‘कतै यो महाप्रलय आउने सूचना त होइन ?’

महाप्रलयको भूतले मलाई नजानिँदो तरिकाले अँठ्याउन थालिसकेको थियो । महाप्रलयबाट जोगिने सम्भावित उपायहरू के के हुन सक्छन् ? म पहिल्याउन थालेँ । र, उपाय-मास्टरहरूको खोजीमा हिँड्दै जाँदा उपयुक्त पात्रका रूपमा मैले रघुपति चौधरीलाई नै भेट्टाएँ । एक दिन मैले उनीसामु प्रष्ट कुरा राखेँ-‘चालीस सालमा पृथ्वी प्रलय हुन्छ भन्छन् । के गर्ने होला ?’

‘कसले भनेका ?’ उनले सोधे मलाई ।

‘हैन, जताततै त्यही कुरा छ । साँच्चै, प्रलय भयो भने के गर्ने होला ?’ म छट्पटाएँ ।

मेरो बालमनोविज्ञानलाई बुझ्न रघुपति चौधरीलाई रत्तिभर समय लागेन । उनले तत्काल भनिहाले-‘ए, किन डराएको ? मसित उपाय छ नि ।’

‘के छ त्यस्तो उपाय ?’ मैले झट्पट सोधेँ ।

‘म एउटा हवाईजहाजको व्यवस्था मिलाउँछु । जुन दिन यो पृथ्वी पल्टिन्छ, त्यतिबेला हामी हवाईजहाजमा चढ्नुपर्छ । हामी हवाइजहाजमा चढेपछि टन्टै साफ । तल पृथ्वी पल्टिन्छ, हामी हवाईजहाजमा हुनेछौं ।’ उनले एउटा गजबको उपाय सुल्झाए । मेरो पनि आत्मबल बढेर आयो । त्यसपछि मैले सोधेँ-‘त्यो हवाईजहाजमा को-कोलाई राख्ने त ?’

विद्युत् गतिमा उनले जवाफ फर्काइहाले-‘म त आफ्ना नातेदारहरूलाई लैजान्छु, तिमीचाहिँ क-कसलाई लैजाने ?’

मैले भनेँ-‘म पनि मेरा बुबा, आमा, दिदी, दाजुहरूलाई लैजान्छु ।’

अहाँ ! कति राम्रो उपाय फुर्‍यो । मैले यो उपाय घरमा गएर बुबा-आमालाई भनेँ । उहाँहरूले पत्याउनु भएन । हाँसेर टारिदिनुभयो । र, भन्नुभयो-‘त्यस्तो प्रलय-स्रलय केही पनि आउँदैन ।’ नव वर्ष पनि प्रारम्भ भयो र महाप्रलय पनि आएन । त्यसपछि भेट्दा रघुपति चौधरीले भने-‘प्रलय त आएन तर आएको भए पनि के हुन्थ्यो र ? हामी हवाईजहाजमा चढिहाल्थ्यौं ।’

रघुपति चौधरी जुनार उपकेन्द्रको क्वार्टरमा बस्न थालिसकेका थिए । डाँडामा रहेको उपकेन्द्रबाट चारैतिर देखिन्थ्यो-रामेछापका डाँडाकाडाहरू, शैलुङ पर्वतमाला, सिन्धुलीगढीको मनोरम दृश्य, चपौलीको टुप्पो, अँधेरी खोला…। रमणीय दृश्यहरू नियाल्न धेरै नै उपयुक्त थलो थियो त्यो ।

हरेक दिन स्कुलबाट फर्किंदा म रघुपति चौधरीको कोठामा छिर्दथेँ । उनी पनि एक्लै थिए । उनको कोठामा छिर्नुको पछि मेरो एउटा महत्वपूर्ण स्वार्थ लुकेको हुन्थ्यो । दुरविन थियो त्यहाँ । मलाई त्यो दुरविनले धेरै नै तानिरहन्थ्यो । यति शक्तिशाली थियो कि त्यो दुरविन, त्यति टाढाको शैलुङका अवयवहरू आँखैमा हाजिर हुन आइपुग्थे । मैले प्रस्ताव राखेँ-‘ म त त्यो दुरविन हेर्न आएको हुँ, देखाइदिनुपर्‍यो ।’

‘हुन्छ तर बिदाको दिन आउनू, म देखाइदिन्छु । आज भने नगरौं ।’ उनले नम्रपूर्वक भने ।

म बिदाको दिन गन्न थालेँ । नभन्दै शनिबार पनि आयो । म बिहान सबेरै खाना बुकुर्‍याएर उपकेन्द्रतिर उकालो चढेँ । दिन राम्ररी नै खुलेको थियो । उपकेन्द्रको डिलमा रघुपति चौधरीले दुरविन उभ्याए र त्यसका लेन्सहरू मिलाउन थाले । कहिले उनले र कहिले मैले पालैपालो दुरविनबाट टाढा-टाढाका दृश्यहरू आँखामा टाँस्न थाल्यौं । कुनै ठाउँ बाँकी नराखी दुरविनको सहायताले नियालेँ मैले । आँखा टट्याउञ्जेलसम्म नियालिरहेँ । नियाल्दा-नियाल्दै म यति प्रफुल्ल भएँ कि, पारि गाउँमा एउटी फुच्चीले बाख्रा चराइरहेको दृश्य त यति नजिक आयो कि, मैले रघुपति चौधरीलाई भनेँ-‘त्यहाँ एकजना मानिसले बाख्रा चराइरहेकी रहेछ, कति नजिकै देखेँ मैले ।’

उनले भनेँ-‘त्यति नजिक आएको भए हातले यसो छोए हुन्थ्यो नि । न भेटिइहालिन्थ्यो कि ?’

त्यस दिन, दुरविन मैले सैलुङका पाखा-भित्तामात्र होइन, रामेछापका रुख्खा-सुख्खा गाउँहरू पनि मजाले नियालेँ ।

अहो ! यस्तो परम तृप्ति प्राप्त गरेँ, त्यसको कुनै लेखाजोखा नै थिएन । दिनभरि दुरविन हेरेको फूर्ति घरमा गएर देखाउन त बाँकी नै थियो । सायद त्यसै वर्ष मेरी फुपू रामेछापतिर सर्नुभएको थियो । मैले घरमा जाने बित्तिकै फूर्ति देखाइहालेँ-‘मैले आज दुरविनबाट फुपूलाई देखेँ नि !’

यो मैले बोलेको सर्वथा नौलो झुठ थियो । कहाँ देख्नु फुपूलाई ! तर दिनभरि घरबाट गायव भएको र दुरविन हेरेरै दिन बिताएको फूर्ति त देखाउनै थियो । त्यही भएर मैले झुठ बोलेँ । बुबा र आमाले पत्याउनुभयो । दुरविनबाट टाढाका चीज पनि नजिकै देखिन्छ भन्ने थाहा पाउनुभएका बुबा र आमाले नपत्याउने कुरै थिएन ।

गाउँमा बस्दा पनि उनी लुङ्गी बेहोर्थे । तराईमा लगाउने बानी भएर होला, मैले उनलाई उपकेन्द्रको क्वार्टरमा जति समय देखेँ, छिर्केमिर्के लुङ्गीमा नै देखेँ । पहाडमा मानिसका लागि लुङ्गी लगाउने कुरा अचम्मको विषय थियो । पाखा-भित्ता चहार्नुपर्नेहरूले कहाँ लुङ्गी लगाउनु ? तर रघुपति चौधरी आफ्नो त्यही मौलिक भेषमा नै सजिनु हुन्थ्यो र गर्व पनि गर्नु हुन्थ्यो होला सायद ।

पच्चीस वर्षपछिको भेटमा मैले स्मृतिका क्षणहरू कोट्याइदिँदा उनी भावुक भएका थिए । मेरासामु उनको भावुकता यसरी छताछुल्ल भएको थियो-‘मैले आफ्नो जागिरे जीवन त्यहीबाट थालनी गरेँ । जीवनका दुई वर्ष मैले त्यही ठाउँमा बिताएँ । अब मलाई फेरि एकपटक त्यो ठाउँमा पुग्ने रहर छ । र, मलाई त्यो ठाउँ जुनारका लागि मात्र होइन, चिया र कफीका लागि पनि उपयुक्त ठाउँ हो भन्ने लाग्छ । म त्यस ठाउँमा कफीको बगैंचा झुलेको हेर्न चाहन्छु ।’ रघुपति चौधरीको सपना पूरा होस् ।

मधुपर्क २०६७ मंसिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *