करेसाबारीमा लगाएको
लहराले
धेरैको कौशीलाई स्नेहले बेर्छ
स्वतन्त्र छोड्ने हो भने
सिङ्गै टोलभरि फैलन रमाउछ ।
जतिपटक मुन्टो निमोठ
पलाउन छोड्दैन
भगिरथ प्रयत्न गर्छ
अग्लाअग्ला कौशी छिचोल्न
होचा अट्टालिकाहरूलाई पनि
उस्तै ममताले बेर्छ
लहरा आमा हो सबै सन्तानलाई
बराबरी माया पोख्ने ।
न उचाइमा अहम छ
न फेदीमा दुःखेसो छ
अदमय उत्साह हो
जो हरघडी यथावत छ
सत्रुको कौशीमा पनि लटरम्म झुन्डिन्छ ऊ ।
शत्रु, मित्रु, जातभात, उच, निचको
भेदभाव राख्दैन लहराले
पियनको लहराले हाकिमको छानो भ्याउछ
दलितको माटोमा उमि्रएर
ब्राहृमणको छानो उस्तै गरी बेर्छ
छिमेकीसागको द्वेष-क्लेशलाई मेटाइदिन्छ लहराले
मान्छे बन्न किन सकेनन् लहरा ?
