रातभरि पानी परेर बिहान सिनित्तै उघ्रिएको त्यो नीलो आकाश । आँखै नहटाइकन हेरिरहुँ जस्तो छ । तर केही दिन यता भने म मनमनै अनेक किसिमका उल्झनमा परेकी छु । देशको काल, परिस्थितिले घरको आर्थिक अवस्थामै प्रश्न चिन्ह उभिएको छ । म बार्दलीमा बसेर ती गमलामा निस्फिक्री फुलेका फूल सुम्सुम्याउँछु । कति सुन्दर छन् ती । सा-साना गमलामा पनि सहजै मुस्कुराउन सक्छन् ।
तर मान्छे भने जति सुन्यबाट उठेर माथि पुग्छ उति पिँजडामा थुनिएर निस्सासिएको महसुस गर्छ आफूलाई । म द्विविधामा मौन हुँदै टुलु-टुलु तीनै फूलहरूमा एकोहोरिन्छु । तल बाटोमा मान्छेको चहल पहल आज निक्कै बढेको छ । साँझको किनमेल गर्ने र स्कूलबाट घर फर्किने विद्यार्थीहरूको लर्को छुटेको छ ।
एक्कासि पल्लो बार्दलीबाट सविताका आवाज मेरा कानमा ठोकिन्छन्, “ए,शिला के हेरेर त्यसरी टोलाइरहेकी ?”
त्यो आवाजसँगै मेरो मौनता भंग हुन्छ । म मुन्टो उठाएर सवितातिर फर्किन्छु । मेरो यो उदास मुहारमा उसका आवाजले हाँसो पोत्छन् । सहज हुन्छु – होइन । हेर्न यहाँ गमलाका फूल हिजो रातभरिको पानीले चुटेर ओइलिएछन । यीनैलाई टेको दिएर उठाएकी ।
उताबाट सविता मेरा कुरामा सहि थाप्दै प्रश्न र उत्तर एकैसाथ फ्याँक्छे ।
ए हो र ?
फुर्सत भए आइज चिया खान ।
सविताको निमन्त्रणाको जवाफ हुन्छ अथवा हुन्न भनेर मैले सोच्न नपाउँदै उ भित्र पस्छे । उसलाई एक्कासि खोइ के काम आइलाग्यो । खुट्टयाउन सक्दिनँ म ।
फेरि म एकाएक ओठमा पोतिएको देखावटी हाँसोबाट बाहिर आउँछु । र आफ्नै दुनियाँमै पुगेर एकोहोरिन थाल्छु । मलाई मेरा छोरा छोरीको भविष्यको जिम्मेवारीको बोझले भित्रभित्रै उकुसमुकुस बनाएको छ ।
उसो त म कहाँ बेइलमी नै हुँ र ? हातमा भरपर्दो जागिर नभएपनि म एउटी कुशल फोटोग्राफर । हिजो म आफ्नो पेशामा औधी सन्तुष्ट थिएँ । तर अहिले देशमा चलेको राजनीतिको फोहोरी खेलका कारणले म जस्तै हजारौं घर परिवारको सर्वप्रथम त रोजी रोटी बन्द भएको छ । कुराको चुरो त्यही समस्यामा आएर अडिँदो रहेछ । मनमा अब के होला र कसो गर्ने भन्ने प्रश्नहरूका खात लागेका छन् । त्यो म सहजै अनुमान लगाइरहेकी छु । तर सही बाटो चुनेर अगाडि बढ्नु पर्ने कठिन कार्यमा जीवन उल्झिरहेको छ । के गर्ने ? कसो गर्ने ? भन्ने कुराले तातेको छ सिंगो मन मस्तिष्क । हिजो जेनतेन व्यापारले धानिएको साँझ बिहानको हात मुख जोड्ने उपायमा आज आर्थिक मन्दीको लाहाछाप लागिसकेको छ । मेरो लागि घुमेको छ यो सिङ्गो ब्रमाहण्डै । भित्र भित्रै चक्कर लागेको छ । म होस् गुमाउने तरखरमा छु । मैले अब यो कठिन परिस्थितिबाट उम्किने बाटो नपहिल्याइ हुन्न । तर कसरी ?
एउटा कुरा मलाइ आफ्नो देशमा रहन मन लाग्छ । आफ्नै घर वरिपरि रमाउन औधी मन पर्छ । सानो घर । सफा वातावरण । कुनै झै झमेला नभएको साधारण जीवनशैली । कोलाहलबाट टाढा गाउँले जीवन । हरियाली । कुल्कुलाउने कुला र खोला नाला । निर्धक्कको ग्रामीण पारा । आहा ! कस्तो आनन्दको अनुभूति । सम्झना गर्दा मात्रै पनि मनमा एक प्रकारको प्रसन्नता छाउँछ ।
मेरा यीनै थिए सदैव कल्पना । तर मेरा यी कल्पनामा अब कुठाराघात परिसकेको छ । अब मैले आफ्ना खुट्टा गतिलोसँग टेक्ने ठाउँ खोजेर सामुन्ने देखा परेका अभावका भड्खालाहरु पुर्नुपर्ने छ । त्यसलाई संभव बनाउने चाहिँ कसरी हो मेसो पाइसकेकि छैन ।
मन मस्तिष्कमा यीनै कुरा फनफन्ती घुमेका छन् । उतारचढावको बीचमा म चेपिएकी छु । आफैँलाई खोक्रो ढाडसमा बचाउनु सिवाय कुनै उपाय देख्दिन अघिल्तिर । यतिकैमा फेरि पल्लो बार्दलीबाट सविता निक्लेर म तिर हेर्दै बरबराउँछे –
” ए शिला तँलाई थाहा छ एउटा कुरा ?
अहँ !
एकाएक अनभिज्ञताको शालीन स्वर सवितातिर सोझ्याउँछु म – “ए साँच्ची प्राइभेट एम्.ए, परीक्षा दिएकी थिइस् होइन ? उत्तीर्ण गरिस् ?
सविता मेरा कुरा सुनेर हाँसो खुस्काउँछे । भन्छे – होइन तँलाई थाहै छ । यो समाजको गतिविधि । आफ्नो भन्दा पनि अरूको बेसी चियोचर्चो गर्छ । त्यसैले त्यो एम्.ए को परीक्षा दिएकी’छु भनेर । मैले तँलाई बित्थामै भनिदिएकी थिएँ के कहाँ जान्छे यो सधैँभरि । मान्छेको चासोले मलाइ नपछ्याओस् भनेर ।
सविताका कुराले म झन् द्विविधामा पर्छु । र जिज्ञासु बन्छु – होइन कुरा के हो सविता भन न । कि कुरा निकाल्दै ननिकाल्नू । निकालेपछि खुलस्त पार्नु । म कागजमा कलमले कोरे जस्ता तेरा बाङ्गा टिङ्गा कुरा बुझ्दिन ।
मेरा कुरा सुनेर फेरि उही हाँसो दोहोर्याउँछे – ‘विदेश जाने भिसा लागेछ ।
म छक्क परेँ ।
हैन ‘प्रोसेस’ कहिले गरेकी थिइस् नि ?
छ, महिना भो ।
के पढ्नको लागि हो ?
होइन कामको लागि
कुन देशमा ?
इजरायल ।
इजरायल जानु पर्ने के लहड चलो हँ तँलाई ?
अहो ! यो शिला पनि कति अचम्मै कि केटी छ बा ! तँलाई के थाहा घरभित्र बसेर सपना देख्नेलाई ?
अहिले इजरायलबाट बूढाबूढीको स्याहार गर्ने (केयर टेकर) को लागि राम्रो कोटा आएको रै छ ! काम पनि सहज दाम पनि कमाइने । केही वर्ष दु:ख गर्दा जीवनका कठिनाइ सहज बन्छन् भने किन नजाने भन्ने सोच बनाएँ मैले त ! ती डिल्लीराम सरकी कान्छी दुलही छन् नि नानू ! ती पुगेर पनि कत्ति कमाइसकिछन् बाबै ! काठमाडौंमा घर किन्ने निधो गरि सके रे उनका परिवार मिलेर ।
म सविताका कुरा सुनेर केही क्षण स्तब्ध बन्छु । कता-कता सविताका कुरामा मैले पनि आफ्नो गन्तव्य खोज्दा भेट्ने केही आशलाग्दो अंश पाउँछु । हुनत मलाइ डिल्लीराम सरकि दुलही जस्तै काठमाडौंमा घर जोड्ने परिकल्पनामा चुर्लुम्मै डुब्नु छैन । मात्रै जिन्दगी जिउन चाहिने अति आवश्यक वस्तुको जोहो गर्न सके मलाई पुग्छ । आफ्ना खुट्टामा बलियोसित उभिनु छ । बस यति मात्रै जान्दछु म । यति भए रमाउने छु म ।
अनि कहिले उड्ने हो त यहाँबाट ?
बुधवार ।
ए ! हो र ? यही बुधवार ?
म केही क्षण एकोहोरिन्छु । भन्छु- ल ल राम्रो सित जा । इजरायल पुगे’सी त मलाई मर्लक्कै बिर्सने होइन नि फेरी !
मेरो भनाइमा सविता गम्भीर देखिन्छे । अनुहार फुङ्ग बनाउँछे । आश्वस्त पार्न खोज्छे उ मलाई- बरु तँलाई पनि भिसा पठाउँला नि !
त्यसपछि उ आफ्नै कोठातिर लाग्छे । म लामा-लामा सुस्केरा फ्याँक्छु । घोरिन्छु । सविताको काम सफल भयो भने मपनि ‘प्रोसेस ‘ गर्ने छु । मेरो झीनो आशाको किरण लहरिन्छ । शायद जीवन कसरी सहजसँग जिउने भन्ने तर्कनाले छताछुल्ल भएको जिन्दगीले सरल र सहज मार्ग कतै भेटाइहाले झैँ । यीनै सपनाका गुजुल्टामा धेरै दिन बेरिइरहें म । दिन रात यसैगरी ढल्दै गए ।
मेरो हातमा एउटा पत्रीका छ । म त्यहाँ सफल जिन्दगी भोग्ने मान्छेका कथा खोज्न तल्लीन छु । मेरा आँखा एकपछि अर्को पानामा दौडिरहेका छन् । तर छोरा छोरीको भविष्य भुइँभरि असरल्ल छरिएको छ । म अहिलेसम्म उठाउने तरखरमा जुटेकी छुइनँ । सफल जिन्दगीको कथा खोज्छु । तर त्यो पर्दा पछाडिको राज खोतलेर चिन्तनमनन गर्न डराउँछु । तर फेरी लाग्छ- कति दिन यसरी डराएर काम चल्छ र ?
म घोरिएकी छु । म भित्रको सोच एकाएक परिवर्तनको मोडतिर तन्किदै छ। जीन्दगीको सफल कथा खोज्न छोडेर मनले व्यथा र व्यवधानमा चिन्तन गर्न थालेको छ । त्यसो त, मलाई हेक्का पनि छ – मैले नारीमा हुने कमजोरी र भ्रमलाई हटाएर केही गर्नु छ । तब पो आउँदो पुस्ताले यस्तै साहसी नारीका कथा बुझ्ने छन् । त्यसता नारीलाई खोजी खोजी पढेर नारी कमजोर छैनन् भन्ने कुरा बुझुन् । जानुन् । ती पनि साहसी बनुन् । संघर्षशिल बनुन् । नारीलाई यहाँ खाँचो अवसरको मात्रै छ भन्ने पाठ सिकुन् ।
त्यसको लागि त सर्वप्रथम मैले आफ्ना खुट्टामा उभिनु छ सुन्यदेखि माथि उठेर । यहाँ कुरा भन्दा काम गर्ने प्रचलनको सुरुवात गर्नु छ । हिम्मतका खुट्किला म आफैँले चढेर देखाउनु छ । म एक व्यक्तिले सक्ने जति आफैँसँग इमानदार भएर । यही बुझेर आफू बसेको ठाउँबाट जुरुक्क उठ्छु । र गन्तव्यको खोजीमा पाइला बढाउने तरखरमा लाग्छु ।
पल्लो बरन्डामा सविताका छोरा छोरी हजुरआमालाई हातको सामान देखाउँदै भनिरहेका हुन्छन्- ‘मम्मीले पठाइदिएको दादा र मेरा लागि । कति राम्रा नाना हेर्नुस् त हजुरमुवा’।
म केही छिन् ती केटाकेटी रमाएको दृश्य हेरेर पुलकित बन्छु । अनि बाहिरिएर सडक छेउका मान्छेको भीडमा उभिन्छु । खचाखच भरिएको एउटा माइक्रो आएर रोकिन्छ मेरै छेउ । म कुइनाले भीड ठेल्दै माइक्रोको ढोकासम्म पुग्छु । खलासीको आवाज मसम्म आएर अड्किन्छन् ।
दिदी कहाँ जानुहुन्छ ?
वसुन्धरा !
उ ढोका ढकढक्याउँदै मलाइ छिटो चढ्ने संकेत गर्छ । म त्यसैमा चढेर वसुन्धरातिर हानिन्छु । केहीबेरको घुइँक्याइपछि माइक्रोले मेरो गन्तव्यसम्म छोडेर आफ्नो बाटो हुइँकिन्छ । अनि म मेन पावरको ढोकामा पालेको अनुमति लिएर भित्र पस्छु । मालिक आरामदायी कुर्सीमा कफीको चुस्की लिँदै बसेको छ । भित्र पस्नासाथ म अभिवादन टक्र्याउँछु-
नमस्ते सर ?
उ नमस्ते फर्काउँदै मलाइ बस्ने अनुमति दिन्छ ।
म नजिकैको कुर्सी तानेर बस्दै आफ्ना जिज्ञासा राख्छु – सर रोजगारका लागि इजरायल जान कति जति लाग्छ होला खर्च ?
तालिम सालिम गर्दा लगभग पाँच लाख ।
उसको पाँच लाखको जवाफले म त झन्डै बेहोस हुन्छु ! पैसा नभएर त कमाउन जान लागेको । अनि त्यहाँ पुग्नै लागि यत्रो पाँच लाख ? उसको लागि त त्यो पाँच लाख सामान्य रकम जस्तो ।
तर के गर्ने नेपाल जस्तो ठाउँमा जन्मिनेहरुकालागि जहाँ वैदेशिक रोजगार भन्दा वैकल्पिक उपाय नभएपछि ?
हुनेहरू आफ्नै दुनियाँमा मस्ती गरिरहेका छन् । नहुने हामी जस्ता पलायनवादको शिकार भएका छौं । अरू के उपाय छ त ? कि त भएको थोरै जमिनमै लडाइँ गरेर बस्नु पर्यो । त्यसैलाई खोस्रिएर चित्त बुझाउनुपर्यो । विशेष केही इलम गरौं ज्ञान छैन । सरकारकै मुख ताकौं पाइने केही होइन । सहरिया जीवनको लोभमा परेर आमा बाउलेनै बालबच्चा बोकेर हिँडेका छन् । सुखको मोहमा डुबेर सहर रोजेर गाउँ त्याग्दा सन्तानका लागि के छ विकल्प तिनले खुट्याउँदैनन् । जागिर खान काकाबाउ हुनुपर्छ कुर्सीमा ? ब्यापार गरौं सधैँको बन्द हड्ताल । सानो तिनो काम गर्न लाज हुन्छ । कामभन्दा बेरोजगारको जमात ठूलो छ । श्रमको कदर छैन । पलायनवाद भन्दा अर्को सजिलो जागिरनै के छ र नेपालमा ?
केही बेर मलाइ वैदेशिक रोजगारका लागि लाग्ने रकमले रिँगाटा त छुट्छ । तैपनि यो अन्योलबाट मुक्ति खोज्न सबैले विदेश रोजेको कटु सत्यलाई स्विकार्दै मपनि भविष्यको सफलताका खुड्किला उक्लिएर सहज जीवन बिताउने परिकल्पनामा विदेश लागेँ । अझ साहूको नाममा घरबारी बन्धक राखेर । मर्नु भन्दा बहुलाउनै निको’ भन्ने उखानलाई चरितार्थ पार्दै ।
गीता थापा (दोषी)
