Skip to content

बलकापुरी कान्तिपुरी नगरी

  • by

सब राष्ट्र छ जेलसमान हरि
पशु रक्षक बन्दुक लट्ठी भिरी
डुलन्या फुन लीकन कानभरि
पशुका पतिको यही हो नगरी ।

पशुलाई छ मर्न अनेक छुट
पतिलाई सकेजति गर्न लुट
तर बोल्नु कहाँ पशुले कसरी
खलकापुरी कान्तिपुरी नगरी ।

छ निषेध यहाँ छ निषेध वहाँ
पशुलाई निषेध छ मात्र यहाँ
पतिचैँ दुनियाँ पथ जाम गरी
डुलन्या, चिन यो पतिको नगरी ।

हरियाजति नोट सबै पतिको
जति बँच्तछ त्यो पशु-रक्षकको
पशुलाई फगत् मरुभूमिसरि
बलकापुरी कान्तिपुरी नगरी ।

खुन बग्दछ खेत र बारीमहाँ
मल बग्दछ बेसरी वाग्मतीमा
पति मग्न घटाउ र जोड गरी
छलकापुरी कान्तिपुरी नगरी ।

सहने पशुता कति मात्र सधैँ
रहने पतिकै कति भक्त अझै
उठने कहिले प्रतिवाद गरी
र बनाइ लिने जनको नगरी ।

जति छन् खबदारी समाप्त गरी
पशुका पतिलाई बिदा नगरी
कन हुन्छ कहाँ जसरी तसरी
पशुमुक्ति र मानवको नगरी

पशु नै पनि माथि पुगेर कुनै
सपना पतिकै यदि देख्छ भने
त्यसलाई तुरन्त तलै नगरी
बनिँदैन कबै जनको नगरी ।

जनता, अब चक्षु उघार खुला
अनि, ज्ञान, विवेक, सुधार पूरा
भइ मानव मानवले जसरी
गर सिर्जन मानवको नगरी

-आदिकवि भानुभक्त आचार्यको ‘अलकापुरी’ माथि आधारित आजको कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *