Skip to content

खण्डहर सपना

  • by


बिहा गरेको धेरैपछि
रमाउँदै थियौं हामी
समुद्री किनारमा
छोराछोरी समुद्रका छालहरूमा
ज्वारभाटासँगै छुँदै थिए खतराको सङ्केत
र फर्कंदै थिए किनारसम्म ।

तातो बालुवामा पल्टेर हेर्दै थियौं
समुद्रको कोक्रोमा निदाउन लागेको
रातो घाम
एकाएक मलीन अनुहारमा
सुस्तरी भन्यौ तिमीले –
यत्रो वर्षभइसक्यो
अझै जोड्न सकिएन
एउटा सम्पूर्ण घर !

मैले सुरक्षित भविष्यका लागि
बालुवाको एउटा घर बनाएँ
जीवनको एउटा अत्यावश्यक आकृति
तर घर बनाइसकेपछि पो थाहा भो
मात्र घर भएर पूरा नहुने रहेछ
एउटा सम्पूर्ण घर ।

पर्याप्त खाद्यान्न र लत्ताकपडा
अभावहीन खानेपानी, ग्याँसको सिलिन्डर
सूचनाको लागि रङ्गीन टिभी
सञ्चारको लागि मोबाइल
बैठकको लागि गलैंचा, सोफासेट
छोराको लागि मोटरसाइकल
छोरीको लागि कम्प्युटर
तिम्रो लागि गरगहना
र भविष्यको लागि अलिकति बैंक ब्यालेन्स
सबै चाहिने
जीवनको पुरानो रोडम्याप ।

त्यसपछि बिस्तारै पूरा गर्दै जान्छु
फूलका थुँगाजस्तै एकमुष्ट
आवश्यकताका फेहरिस्तहरू ।

जब पूरा भयो
एउटा सम्पूर्णा घरको निर्माण
तिम्रो अनुहारमा खुसी छल्कियो
मेरो अनुहारमा विजय झल्कियो
खुसी-खुसीमा हामी निर्निमेष
हेरिरहेका थियौं
भरखरै बनाएको बालुवाको घर
एक्कासि समुद्रको छाल आयो
र, बगाएर लग्यो हाम्रो घर
आह ! त्यस घरसँगै बगे
हाम्रा सारा सपना र उमङ्गहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *