वि.सं. १९५८ बाट प्रकाशन प्रारम्भ भएको गोरखापत्रको इतिहास पनि विश्व पत्रकारिताको जेष्ठताको इतिहासक्रममा जोडिन पुग्ने गौरवपूर्ण आयुको भइसकेको छ । दक्षिण एसियाको पाटोमा मात्रै हेर्ने हो भने त गोरखापत्र जेठो पत्रिकामै गणना हुन थालेको छ । नेपाली पत्रकारिताको सन्दर्भमा भन्नुपर्दा गोरखापत्र जननी हो । एक सय दस वर्षको आयु भनेको लरतरो इतिहास होइन । यही इतिहास नै साहित्यिक पत्रकारिताको इतिहास पनि हो । वि.सं. १९५५ मा जन्मिएको ‘सुधासागर’ नबाँचेपछि गोरखापत्रले नै साहित्यिक पत्रकारितालाई पनि धेरथोर भरथेग गर्दै आएकोमा वि.सं. २०२५ सालबाट त छुट्टै साहित्यिक पत्रिका ‘मधुपर्क’ को प्रकाशन प्रारम्भ गरेर साहित्यसेवामा पनि उत्तिकै समर्पित रहँदैआएको छ ।
वि.सं. १९९१ बाट प्रकाशन प्रारम्भ भएको ‘शारदा’ मासिक वि.सं. २०२० मा आएर बन्द भएपछि भरपर्दो साहित्यिक पत्रिकाको अभावमा तत्कालीन साहित्यकारहरूको माग, सल्लाह र सुझावअनुसार नै गोरखापत्र संस्थानबाट ‘मधुपर्क’ को प्रकाशन प्रारम्भ गरिएको थियो । यसको प्रथम अङ्कमा जेठ ३० को मिति राखेर निकालिएको आधारमै अचेल पनि मधुपर्क महिना प्रारम्भ नहुँदै प्रकाशित हुने गरेको छ । गोरखापत्रको मासिक सह-प्रकाशनमा सबैभन्दा जेठो मधुपर्कको ४३ वर्षे आयुले धेरै घामपानी खपेको छ, उकालीओरालीहरू पार गरेको छ । यति लामो यात्रामा त्यतिबेलाका स्थापित साहित्यकारहरूले साथ-सहयोग, सल्लाह-सुझाव नदिएका भए यो ५०० पूर्णाङ्कको इतिहास बन्न कसरी सम्भव हुन्थ्यो र ! मधुपर्कसँगै जन्मिएकाहरू वयस्क भइसकेका छन्, लेखनमा ताते गर्दै गरेकाहरू ‘वरिष्ठ’ भइसकेका छन्, यसैले जन्माएकाहरू पनि प्रशस्तै होलान् । अर्थात् धेरैले मधुपर्कलाई गुन लगाएका छन् र मधुपर्कले गुन लगाएकाहरू पनि उत्तिकै, अझ बढी हुनुपर्छ । ‘ढुङ्गालाई माटोको भर, माटोलाई ढुङ्गाको भर’ दुवैलाई दुवैको उत्तिकै आवश्यक छ । यो यात्रा भनेको सबैको सहयोगको यात्रा हो । यात्राको क्रममा आफूले निर्माण गरेको इतिहासलाई पछाडि फर्किएर हेर्ने जमर्कोस्वरूप वि.सं. २०५९ सालबाट ‘मधुपर्क सम्मान’ प्रारम्भ गरिएको हो । मधुपर्कलाई अहिलेको अवस्थामा ल्याइपुर्याउनलाई साथ-सहयोग पुर्याउँदै आउनुभएका र हालसम्म पनि निरन्तररूपमा नेपाली साहित्यमा समर्पित रहिरहनुभएका वरिष्ठ साहित्यकारहरूलाई सम्मान गर्ने परम्पराको थालनी गर्नमा गोरखापत्र संस्थानका तत्कालीन अध्यक्ष किशोर नेपालको ठूलो भूमिका रहेको छ । मधुपर्क प्रकाशनको ३५औँ वर्ष प्रवेशको अवसरमा प्रारम्भ गरिएको गद्य र पद्य गरी दुई जनालाई प्रदान गरिने जनही रु. पाँच हजार नगद र सम्मानपत्र रहेकोमा नगद राशि हाल रु. दस हजार बनाइएको छ । किशोर झुत्रेको नामबाट एक समय निबन्धलेखनमा चर्चा कमाउनुभएको किशोर नेपालले यो सम्मानको थालनी गरिदिएर मधुपर्क र साहित्यकारहरूबीचको सम्बन्ध सेतु-लाई झनै दरिलो बनाइदिने काम गर्नुभएको अनुभव हुन्छ । उहाँले पत्रिकालाई कसरी हुन्छ बिकाउ बनाउनुपर्छ भनेर मधुपर्कका आवरणपृष्ठमा हिरोइन र मोडलका फोटोहरू सजाउन लगाएर आलोचना खेप्नुपरेको भए पनि मधुपर्क सम्मानको परम्परा बसाएकोमा चाहिँ स्वागतयोग्य काम मानिएको छ ।
मधुपर्कको ५०० पूर्णाङ्कसम्मको यात्रामा यसले धेरै साहित्यकारहरूलाई गुमाइसकेछ । पहिलो अङ्कमा रचना प्रकाशित भएका साहित्यकारहरूमध्ये जम्मा चारजना मात्रै पो जीवित हुनुहुँदोरहेछ – कमल दीक्षित, कालीप्रसाद रिजाल, डा. ध्रुवचन्द्र गौतम र उत्तम नेपाली । उत्तम नेपालीले मधुपर्कका प्रारम्भका आठ अङ्कसम्म लगातार आवरणकला तयार पार्नुभएको थियो । आफ्नो इतिहासलाई कोट्याउन मधुपर्कसम्मान एक किसिमले सहायकसिद्ध भएको छ ।
मधुपर्क सम्मानका लागि नाम चयन गर्न पहिलो पटक ‘मधुपर्क सम्मान चयन समिति’ गठन भएको थियो र यसको संयोजकमा वरिष्ठ साहित्यकार रत्नशमशेर थापा
हुनुहुन्थ्यो । समितिबाट निर्विवाद नाम चयन गर्नका लागि पहिलो पटक नै केही स्पष्ट आधारहरू तयार पारिएका थिए । ती आधारहरू यस्ता छन्-
१) सिर्जनामा विशिष्टता हासिल गरी विधागत विकासको लागि उल्लेख्य योगदान पुर्याउनुभएका स्रष्टाहरूलाई सम्मान गर्ने ।
२) कुनै प्रकारको साहित्यिक विवादमा नपरेका स्रष्टाहरूलाई मात्र सम्मान प्रदान गर्ने ।
३) मधुपर्क प्रकाशनकालदेखि आफ्ना अमूल्य सामग्री र सुझाव प्रदान गरी स्तरीय र पठनीय बनाउन सहयोग पुर्याएका स्रष्टाहरूलाई प्रदान गर्ने ।
४) मधुपर्क प्रकाशन प्रारम्भदेखि निरन्तर सिर्जनारत गद्य तथा पद्य विधाका स्रष्टा-साधकहरूलाई विशेष प्राथमिकतामा प्रदान गर्ने ।
उल्लिखित आधारहरूमा टेकेर पहिलो वर्षको मधुपर्क सम्मानका लागि कविवर मोहन कोइराला र कमल दीक्षित चयनमा पर्नुभएको थियो । उहाँहरू दुवैका रचना पहिलो अङ्कमा प्रकाशित थिए ।
पछिल्ला वर्षहरूका चयन समितिले पनि यिनै आधारहरूलाई केन्द्रमा राखेर केही आधारहरू थप गर्दै सम्मानका लागि नाम छनोट गर्दै आएका छन् । जस अनुसार-स्तरीयता, निरन्तरता र प्रभावकारीता हेर्ने । जीवित स्रष्टाहरूबाट मात्र चयन गरिने । सिर्जनामा मौलिकता, प्रतिभा सम्मान गर्न योग्य, विषयगत स्तरमा उच्चबाट वरिष्ठतम्को क्रमलाई कायम राख्दै चयन गर्ने भन्ने आधार थप गरिएका थिए ।
सामान्यतः एकजना वरिष्ठ साहित्यकारलाई संयोजक बनाएर मधुपर्कका सम्पादकीय विभागका सम्पादकहरू रहेको चयन समिति बनाइनेमा सबैभन्दा ठूलो समिति चाहिँ वि.सं. २०६५ मा बनेको थियो । यो वर्ष साहित्यकार शारदारमण नेपालको संयोजकत्वमा पाँच सदस्यीय समिति बनेको थियो र यसमा गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य प्रा. माणिकलाल श्रेष्ठ र सोमबहादुर घलेसमेत रहनुभएको थियो । यो समितिले बनाएको थप आधारहरू यस्ता थिए-
१) नेपाली भाषा र साहित्यका माध्यमबाट नेपालको साहित्य-संस्कृतिको उत्तरोत्तर उन्नयन र प्रवर्द्धनद्वारा समाजलाई अग्रगामी रूपान्तरणमा योगदान दिइआएका व्यक्तित्वहरूबाट चयन गर्ने ।
२) नेपाली भाषा-साहित्यका माध्यमबाट नेपाली समाजको अग्रगामी रूपान्तरणमा योगदान दिइआएका र कुनै समय मधुपर्क मासिकमा रचना प्रकाशित भएका र सापेषरूपमा उत्कृष्ट ठहर हुनआएका सर्जक व्यक्तित्वहरूमध्ये चयन गर्ने । यसअनुसार-सामयिक, साहित्यिक, सांस्कृतिक मूल्य-मान्यताको प्रकाशमा समेत मूल्याङ्कन गरी छनोट गर्न । उल्लिखित आधारहरूमा रहेर समितिले वैरागी काइँला र खगेन्द्र संग्रौलालाई चयन गरेको थियो ।
वि.सं. २०६६ सालमा गठित चयन समितिले सम्मानका लागि समयसापेक्ष एवं सर्व स्वीकार्य व्यक्तित्वको चयनका लागि स्रष्टाको निरन्तरता, सिर्जनात्मक विशिष्टता, लोकतान्त्रिक-गणतन्त्रात्मक राज्यव्यवस्थाका संरचनात्मक आधारहरूलाई पनि अवलम्बन गरेर कार्य सम्पन्न गरेको थियो । यसैगरी, वि.संं. २०६७ सालको सम्मानका लागि नाम चयन गर्न गठित समितिले योगदान अनुसार मूल्याङ्कन नभएका स्रष्टाहरूबाट चयन गर्न प्राथमिकता दिँदै सम्भव भएसम्म समावेशी आधारहरूलाई पालन गरिने गरी आधारहरू बनाएको थियो ।
सम्मानको महत्त्व र गरिमा आफैँमा विशिष्ट हुन्छ तर पनि नगद रु. ५ हजार १ अहिलेको सन्दर्भमा ज्यादै थोरै हो भन्ने आवाज कार्यक्रमहरूमा उठ्दैआएकोमा वि.सं.२०६४ सालको सम्मानदेखि यसलाई दोब्बर बनाएर प्रदान गरिदैआएको छ । मधुपर्क सम्मानबाट सम्मानित हुनुहुने स्रष्टा व्यक्तित्व आफैँमा उच्च र गौरवशाली हुनुहुन्छ । उमेरका कारण पनि यो अग्रजपुस्ता हो र पछिल्लो पुस्ताका लागि मार्गदर्शक पनि हो । जीवनको उत्तराद्धमा आएर पूर्वस्मृति गर्दै प्रदान गरिने यो सम्मानलाई साहित्यिक वृत्तमा उच्च मूल्याङ्कन गरिएको छ । मधुपर्क सम्मानप्राप्त व्यक्तित्वहरूमध्ये-मोहन कोइराला, कृष्णचन्द्रसिंह प्रदान, उपेन्द्र श्रेष्ठ, रमेश विकल, धुस्वाँ सायमि, गोविन्दबहादुर मल्ल गोठाले हामीमाझ हुनुहुन्न तर उहाँहरूको साहित्यिक योगदानले उहाँहरूलाई जीवित राखिरहनेछ । मधुपर्कको इतिहासमा जोडिएको सम्मानबाट मधुपर्कले पनि सदासर्वदा सम्भिmने मेलोमेसो बनाएको छ ।
मधुपर्क सम्मानको घोषणा गोरखापत्र संस्थानको वाषिर्कोत्सवको अवसरमा वैशाख २४ गते आयोजना हुने कार्यक्रममा गरिने र जेठ ३० गते समर्पण कार्यक्रम गर्ने प्रचलन बसाइएको छ । तर जेठ ३० गते नै कार्यक्रम गर्न चाहिँ समय-परिस्थितिका कारण सबै वर्ष सम्भव भएको छैन । हुन त साहित्यिक क्षेत्रलाई राजनीतिले प्रभाव पार्न नहुने हो तर सरकारी संस्था भएका कारण व्यवस्थापनको हेरफेरले असर पुर्याउने गरेको छ । मधुपर्कको इतिहासमा पनि राजाको प्रत्यक्ष शासनकाल (२०६२-६३) मा राजनीतिक प्रभावका बाछिटा परेरै छाडे । राजनीतिक नियुक्तिका नाममा बाहिरबाट साहित्यिक पत्रकारिताको कखरा नै नबुझेका कवि तथा व्यावसायिक ज्योतिष उदय निरौलालाई सम्पादकको जागिरमा नियुक्त गरिएका कारण भाँडभैलो उत्पन्न भएको थियो । यसैकारण घोषणा भइसकेको मधुपर्क सम्मान समर्पण गर्नलाई पनि सात महिना ढिलो भएको थियो । आशा गरौँ अबका दिनमा त्यस्तो अवस्था आउने छैन ।
