Skip to content

विद्वान् टेकनाथ गौतमका अवदानका केही सम्झना

  • by


सेता मयलपोस सुरूवाल पहिरेका, सेतै पटुका बाँधेका, खैरो जहाहरकोट त्यसमाथि लाएका, सेतै फुलेका केश, लाम्चोलाम्चो परेको गोरो अनुहार भएका, कागतले बेरेको सानो किताप काखीमा च्यापेका, गम्भीर प्रकृतिका, ज्ञानवृद्ध वयोवृद्ध व्यक्ति मेरो कक्ष कोठामा टुप्लुक्क प्रवेश गरेर मुसुक्क हाँस्तै नमस्ते गरे । परिचयसाथ भलाकुसारी गर्दा उनी दाङका विद्वान् टेकनाथ गौतम रहेछन् । म त्यसबेला प्रज्ञाप्रतिष्ठानको कोठामा बसेर अध्ययन गर्दै थिएँ । मैले उनको सही सकल साक्षात्कार गर्ने अवसर पाए पनि उनको ज्ञान गरिमाबाट चाहिँ धेरै पहिले परिचित थिएँ । उनले थारू सम्बन्धमा अनुसन्धान गरी थारूपुराण नामको एक पुस्तक प्रकाश गरेको रहेछ । सो पुस्तक मैले लगेर मनोयोगले पढेको थिएँ, उनको विचारसरणी, एकनौलो र उपज्ञातत्त्व प्रकट भएको देख्ता मेरो मनमा उनीसँग भेट्ने इच्छा कताकता मनमा जागिरहेको थियो । आज अकस्मात अवसर आइपर्‍यो । उनले ल्याएको पुस्तक फुकाएर हेर्दा विधवा महिलाको पुनर्विवाह सम्बन्धको पाण्डुलिपि रहेछ-‘पुनर्विवाह विमर्श’ भन्ने ।

टेकनाथ गौतम विद्यार्थी अवस्थामा इलाहबादमा बसेको बेला प्रयागको ठूलो कुम्भमेलामा त्रिवेणीस्नान गर्न भारतवर्ष भरिका महिला पुरुषहरूको ठूलो भीड लागेको रहेछ । मेलामा धर्ममा अधिक रूचि राख्ने विधवा महिलाहरूको अधिक सङ्ख्यामा उपस्थिति रहेछ । घर फिर्ने बेलामा निःसन्तान र बालविधवाहरूलाई त्यसै अलपत्र छाडेर तिनका अभिभावक देवर जेठाजुहरू घरतिर हिँडेछन् । असहाय विधवाहरू रोइकराई गर्दै विलखवन्दमा परिरहेको अवस्थामा स्वयम्सेवकहरूसँग सहायता, याचना गरिरहेका रहेछन् । त्यसबेला कमलो मनभएका टेकनाथ गौतम अघिसरी महाविद्यालयका आफ्ना साथी सङ्गातीसमेत भई ती निरपराध असहाय विधवा महिलाहरूको एकएक गरेर नाउँ, गाउँ, ठाउँ-ठेगाना सोद्धै घरघर पुर्‍याइदिने काम गरेर कृतकृत्य भएका रहेछन् ।

त्यसै दिनदेखि पुरुषको जस्तै विधवा अनाथ महिलाको पुनर्विवाह गर्नु अत्यावश्यक रहेछ भन्ने कुराले टेकनाथ गौतमको हृदयमा घर गर्‍यो । यसै प्रेरणाले उनले धेरै धर्मशास्त्र स्मृतिशास्त्रहरूको अहोपोह गरी यो पुनर्विवाह विमर्श नामको कृति लेखेर विधवा विवाहको प्रथालाई प्रचारमात्र होइन वैधानिकता पनि प्रदान गर्ने विचार गरेका रहेछन् । वयोवृद्ध विद्वान्को सो आकाङ्क्षा पूर्ति गर्ने उद्देश्यले मैले पनि सकभर चाँडै सो पुस्तक प्रकाश गराइदिएँ । त्यस बेलादेखि उनीसँग मेरो सम्पर्क निरन्तर भइरहृयो ।

दाङ घोराहीमा भएको कविसम्मेलनमा प्रज्ञाप्रतिष्ठानको तर्फबाट भाग लिन जाँदा गौतमजीको घर पुगेको थिएँ र पुनः प्रत्यक्ष भेटघाट भएको थियो । अरू बेला चिठीपत्र आदान प्रदान भइरहन्थ्यो ।

यहाँ आश्चर्यको कुरा के छ भने त्यसपछि टेकनाथ गौतमसँग मेरो राम्रै सम्पर्क चिनाजानी भयो, उनको जीवनचर्या अनौठो प्रकारको रहेछ । स्वयम् यसरी विधवा महिलाको पक्षमा मनोयोगले लागेर अनाथ असहाय तिनको उद्धारका लागि पुनर्विवाह गर्नुपर्छ भनेर लौकिक स्थिति शास्त्रीय वचनको अनुशीलन गरिरहने विचारवान् पुरुष स्वयम् आफूचाहिँ २६ वर्षको चढ्दो वैंसमै पत्नी गुमाएर आफ्ना जीवनका अमूल्य अतिदीर्घ समय अर्थात् चौसट्ठी वर्षसम्म विधुर बनेरै बिताए । जुन दिन उनकी पत्नीले पुत्र पैदा गरेकी थिइन्, उसै दिन उही प्रसूति व्यथाले परलोक भइन् । गौतमजी जीवनभरै एकैदिन पुत्र जन्मोत्सव र पत्नीको श्राद्ध गर्दै रहे । आफ्नो पुनर्विवाह गर्ने विचार कहिल्यै गरेनन् । छोरा नातिहरूकै सहारामा यति लामो जीवन विधुर बनेरै व्यतीत गरे ।

टेकनाथ गौतमको जन्म १९७५ मा भएको थियो । उनको जन्म एक धनी मानी सम्पन्न परिवारमा भएको थियो । त्यसबेलामा विश्वप्रसिद्ध विद्याकेन्द्र बनारस र इलाहवादमा यिनको पढाइ चालु रहृयो ।

संस्कृतमा शास्त्री र अङ््ग्रेजीमा आई.ए.सम्मको अध्ययन गरी यिनी घर गृहस्थीमा लागे । त्यसबेला यति पढाइ पनि मनग्गे धेरै हुन्थ्यो । योग्यता पनि अहिलेका डिगि्रवाला पी.एच.डी.वालाको भन्दा कम हुँदैनथ्यो । परन्तु न सरकारी वृत्ति लिए, न कुनै जागिर तिरै लागे आयुर्वेदशास्त्री भए पनि न वैद्यवृत्ति नै अपनाए । आफ्नो पुख्र्यौंली सम्पत्तिकै भरमा जीवननिर्वाह गर्दै धार्मिक कार्यमा लाग्दै समाजसेवामै रमाएर रहि रहे । अनुसन्धान अध्ययन गरिरहे । वेद पुराण धर्मशास्त्र आदिको अध्ययनबाट आएको निचोडका आधारमा अनेक ग्रन्थका पाण्डुलिपि तयार पार्दै रहे ।

अखिल भारतको भ्रमण धेरै पल्ट गरे । केदारदेखि कन्याकुमारीसम्म आसामदेखि अपरान्तसम्म तीर्थक्षेत्रको यात्रा गरेका थिए । अरू सामाजिक, धार्मिक कार्यमा पनि लागिरहे । पुलपुलेसा बाटोघाटो, धर्मशाला बनाउने कामदेखि स्कुल पाठशाला विद्यालय-महाविद्यालय, विश्वविद्यालयहरू स्थापना गर्नेसम्म का कार्यमा तनमनधनले सक्तो सहयोग गर्दै रहे ।

उनको भित्री इच्छा एक अक्षयकोष खडा गरी सम्मान पुरस्कारले विद्वज्जनलाई सम्मानित गर्ने पनि थियो । पछि त्यस्ता स्थापित पुरस्कारले स्थायित्व नपाएको देखेर सुनेर बुझेर उनको मन बद्लिएछ र महाविद्यालय (क्याम्पस) धर्मशाला स्थापनामै जो सकेको सहयोग गरे । उनकै लेखाइ अनुसार अन्तिम अवस्थामा उनले बी.एस्सी. क्याम्पसलाई रु. छ लाख र धर्मशालाभवन बनाउन रु. सोह्रलाख दान दिएका थिए ।

—–

उनको अन्तिम इच्छा अझ बढी धर्मार्थमा लगानी गर्ने भए पनि हापुरको उनको पक्की घर र जग्गा जमीन आयस्ता पनि माओवादी पार्टीले कब्जा गरिरहेकोले बढी गर्न नसकेकोमा चिन्तित थिए ।

दाङ, सल्यानदेखि पश्चिमका धेरै जिल्ला उनले भ्रमण गरेका थिए । त्यहाँका बसोबास गर्ने खसमगर जातिको बारे उनले आफ्नो विचार व्यक्त गरेका छन् । राप्ती अञ्चलको इतिहास र स्वर्गद्वारी आश्रम, र महाप्रभुको जीवनचर्या पनि लेखेका छन् । बाइसे चौबीसे भनिने राज्यहरू गौतमको परिभाषाअनुसार राज्यको गणना नभएर त्यतातिर बस्ने जातिहरूको आधारमा गणना गरिएका हुन् भन्ने छ । त्यससम्बन्धी उनको लेख प्रज्ञाप्रतिष्ठानको मुखपत्र प्रज्ञामा प्रकाशित छ ।

नेपालको तराई भागमा पश्चिमदेखि पूर्वसम्म व्याप्त भएर रहेको थारूजातिको बारेमा उनको विचार अनन्य साधारण छ । उनले संस्कृतवाङ्मयको अनुशीलन गरी नयाँ-नौलो मतको स्थापना प्रस्तुत गरेका छन् । थारू इतिहास संस्कृतिलाई लक्षित गरी लेखिएको यो किताबको नाम ‘थारूपुराण’ हो । यसको अङ्ग्रेजी भाषामा अनूदित संस्करण प्रकाशित छ । यसो हुँदा नेपालमा मात्र होइन यसको प्रचार बाहिरी मुलुकमा पनि पुगेको छ । विचार पनि प्रमाण परिपुस्ट नौलो भएबाट धेरै पाठकलाई यसले प्रभावित पारेको छ ।

थारूजातिका बारेमा धेरैथरी विचार निस्केका छन् । धेरै देशीविदेशी विचारकहरू समाजशास्त्रीहरूले यसबारे धेरै लेख निबन्ध लेखि प्रकाशित गरेका छन् । कतिपयले थारूलाई गौतमबुद्ध जन्मेको शाक्य कुलकै वंशज शाक्य नै हुन् भन्ने लेखेका छन्, यो मत भारत नेपालमा निकै प्रचारित भए पनि थारूहरूमा बुद्धधर्मको कुनै चिन्ह नदेखिएको हुँदा विवेकशील विद्वानहरूको हृदयमा यो जम्न सकेन । अर्काथरीले थारूलाई प्राचीनकालका चक्रवर्ती राजा चन्द्रगुप्त अशोक आदिको मौर्यवंश आदिको मौर्यवंशकै शाखा सन्तान हुन् भनेर लेखेका छन् । अन्य धर्म आचरणको साम्य देखाएर थारूहरू रजपुत जातिका हुन् भन्ने पनि छन्

यसरी अन्यान्य, मतमतान्तर चलिरहेकै प्रसङ्गमा थारूबारे अन्वेषणमा लागेका टेकनाथ गौतमले धेरैवर्ष श्रुति स्मृति पुराणहरूको अनुशीलन गरेर उक्त पुस्तक ‘थारूपुराण’ प्रस्तुत गरेका हुन् । थारूलाई धेरै प्रमाण जुटाएर उनले पुरानो असुरजातिकै वंशज हुन् भनेर सिद्ध गरेका छन् । प्राचीन असुरजाति र वर्तमान थारूजातिमा केही धर्माचरण समता र पुराना वाङ्मयमा वणिर्त असुरप्रसङ्गका प्रमाणले उनले यो मत प्रतिष्ठापित गरेका छन् ।

यो गौतमको मत प्रकाशमा आएपछि यसमा तर्कवितर्क आउने नै भए । मुख्यतः यस मतको विपक्षमा आफ्नो पक्ष राख्न अघिसरेका पहिले बुद्धको शाक्यवंशी हौँ भन्ने पछि आएर अशोक मौर्यवंशका हौँ भनी मान्ने भूतपूर्व महान्याधिवक्ता रमानन्दप्रसाद सिंह थारूले ‘असुर भनेर पुराना जमानाका राक्षस र अभक्ष्य खानेहरू नराम्रो संस्कृतिका, आर्यहरूलाई सताउने’ भन्ने लेखे भनी आक्षेप लाएका थिए तर रमानन्दप्रसादले भनेजस्तो अहिले मानिसले सम्झिएजस्तो असुर थिएनन् । असुर दैत्यदानव वा राक्षस जे भने पनि प्राचीनकालमा तिनीहरू राजघरानाका उच्च खानदानका गणजाति मानिन्थे । असुरलाई वा दानवलाई ‘बलवान् बुद्धिमान्, ऐश्वर्यवान् र मायावी (वैज्ञानिक) कलाकुशल (असुरत्व प्रज्ञावत्व बलवत्वम् ऐश्वर्यवत्वम्) भनेर बयान गरिएको छ । अरू असुरलाई देवयोनि र पूर्वदेव (पहिलेका देवता) भनेरै सम्बोधन गरिएको छ । दैत्यराज बलिराजको बयन त सबैले सुनेजानेकैछ । बलिराज देवराजबाट हार खाएर पछि असुरहरू भारत छोडेर पश्चिम लागेका थिए । विजयीको बयान सधैँ हुन्छे, त्यस्तै हार्नेलाई हेयभावले हेर्ने (होच्याएर) भन्ने पनि प्रचलनै छ । असुरहरू हेय वा हीन थिएनन्, शूरवीर बुद्धिमान् आचारविचार भएका नै थिए भन्ने कुरामा गौतमजीले धेरै प्रमाण जुटाएका छन् । विना प्रमाण पुरानाका कुरा सुनेर मात्र लेखेका चाहिँ होइनन् ।

हो, थारूसमाज अरूजातिजस्तो पुरूषप्रधान होइन, स्त्रीप्रधान हो । अरू जातिको बिहेमा केटालाई दाइजो तिलक दिएर खुसी पार्नु पर्छ । तर थारूमा कन्यालाई शुल्क दिनुपर्छ अर्थात् धन धान्य गाई बाच्छा, गोरू, दिएर कन्यापक्षलाई राजी पार्नुपर्छ, यो चलन अहिलेसम्म छँदैछ ‘धन दिएर शुल्क दिएर गरिने विवाह ‘आसुर’ कहिन्छ । असुरहरूको आवादी भएरै पश्चिमको ‘आरिरिया’ देश कहलाएको हो भनिन्छ असिरियादेखि पुनः यतै फैंलदै नेपालको तराई भरी र करिब आसाम सम्म यिनको आवादी भइआएको र पहिले पनि यताउता सरिरहने सरूवा भएबाट करिव तीन हजारवर्ष पहिले भएका मिरूक्तकार यास्कले असुरको परिभाषा यस्तो गरेका छन्- ‘असुर किन भनेको भने सरिरहने अर्थात् आफ्ना स्थानमा आफू बसेको भूमिमा सुस्थिर भएर नबसिरहने यताउता डुलिरहने भनेर सरति भन्ने धातुरूपबाट असुर भनिएको हो । त्यस्तै ‘थर्वाणः’ को अर्थ पनि हिँडिरहने अस्थिर स्वभावका मानिसलाई नै भनिन्छ । ‘थर्वति’ भन्ने मूल धातुरूपबाट थर्वाणः, थर्वणी (थारू थरूनी) भनेको र बसेको ठाउँ ‘थर्वट’ भएको हो” भन्ने लेखिएको छ ।

यसरी यास्कको निरूक्तका पुराण र कोशका प्रमाणहरूबाट थारूजातिलाई गौतमजीले प्राचीन असुरका शाखा सन्तान ठहर्‍याएका हुन् । उनले आफ्ना लेखमा अठार वटा प्रमाण जुटाएर दिएका छन् । यहाँनेर आश्चर्यको कुरा के छ भने थारूजातिलाई मौर्यका शाखा सन्तान भने पनि असुरका वंशज भने पनि त्यस्तो अनहोनी कुरा भएरपो हो जस्तो लाग्दैन, किनभने असुरलाई देवयोनि-देवतावाटै पैदा भएका ‘पूर्वदेव’ पनि भनिएको छ भने मौर्यलाई व्रात्य क्षत्रीय भनिएको छ, अहिलेको परिभाषा अनुसार सौर्य खत्री क्षेत्री थिए भने ऐतिहासिक दृष्टिले भन्दा लिच्छवि शाक्यकोली जस्तै ब्रात्यगण जातिका थिए । मौर्यगणकै राजकुमार चन्द्रगुप्त मौर्यले राजनीतिज्ञ चाणक्यको सहयोगले नन्दवंशलाई मासेर पाटलिपुत्रको राजगद्दी प्राप्त गरेका थिए । ब्रात्य क्षत्रिय भएबाटै कतै कतै मौर्यवंशका चन्द्रगुप्तलाई दासी पुत्र (दासीका सन्तान) पनि भनिएको छ । अन्यत्र मौर्यगणलाई दानवका असुरगणभित्रै पारेको बयान पाइन्छ र कालका दौ हेर्दा (मौर्याः कालकेयाः) आदि । यसरी हेर्दा पंकारान्तरले मौर्यहरू पनि दानव वा असुर गणभित्रै पर्ने भए ।

यहाँनेर गौतमजीले उल्लेख नगरेको अर्को एउटा कुरा पनि स्मरणीय छ । थारूजातिमा अत्यन्त लोकप्रिय सवारी साधन भनेको गोरूगाडा नै हो । यसको नाम संस्कृतमा प्राचीनकालमा महानस भन्ने हुन्थ्यो । पछिल्लो कालमा यो शब्द भान्सा भन्ने अर्थमा रूढ हुन आयो । अहिले कोश अनुसार महानस-भान्सा भन्ने अर्थ हुन्छ । यसको शाब्दिक व्युत्पत्ति चाहिँ महान-अनुस् ठूलो गोरूगाडा भन्ने हुन्छ । पछि आएर यो कसरी भान्सा भन्ने अर्थ बोकेको शब्द गोरूगाढामा रूढ हुन आयो भने गोरुगाढाभरि भान्साघरमा चाहिने जति सबै सरसामान बोकाएर यताउता बसाइँ सर्दै हिँड्ने प्रवृत्तिले गर्दा नै ठूलो गोरुगाढा अर्थात् भान्सा भन्ने अर्थमा परिणत हुन आएको देखिन्छ । यसरी यसले थारूहरूका सरीसरी बस्ने यायावरी प्रवृत्तिलाई नै सङ्केत गरेको देखिन्छ ।

टेकनाथ गौतमको अनुसन्धानात्मक प्रवृत्तिले गर्दा हरेक लेखमा केही न केही नयाँ कुराको उल्लेख गरिएको हुन्छ । उनले खस र मगरबारेमा पनि छुट्टाछुट्टै निबन्ध लेखेका छन् । सारमा मगरहरूको भाषामा संस्कृत प्राकृत भाषाबाट तद्भव भई आएका शब्दहरू सरावर देखिएका र पन्ध्र सोह्रसय वर्ष पहिले लेखिएका ग्रन्थमा खस र मगध गणको सँगसँगै उल्लेख भएको र पछि खस मगर सैन्यको वर्णन बरावर पाइएको देखिएकोले पनि उनलाई अघिका मगध नै पछि गएर मगर भएका रहेछन् र तिनको आर्यभाषा भाषीहरूसँग पनि पहिले यस्तै मत व्यक्त गरेका रहेछन् ।

मगर को हुन् भन्ने निबन्धको लेखोट हेर्न मलाई उनले पठाइ दिएका थिए । सो पढेपछि मैले उत्तरपत्रमा लेखे- मगध नै पछि मगर भए भन्ने कुरा भन्न असजिलो पर्छ । को र बनेको कहीँ देखिँदैन । प्राचीन कालमा खस पनि मगध पनि लडाका हुँदा सँगै उल्लिखित भए, पछि नेपालको मध्यपहाडी भागमा मगर लडाका वीर भएबाट खससँग यिनको उल्लेख भयो ।

अरूधको अप्रभ्रंश हुँदा ह भएको देखिन्छ, जस्तो-माघी मगही । धकोर भएको कतै देखिँदैन । मगरको पूर्वरूप ‘मंग्वर’ आठ नौ सय वर्ष पहिलेका अभिलेखमा देखिन आउँछ । मगरको पूर्वरूप यही हो । यिनको आगमनचाहिँ पश्चिमोत्तर भारतबाट भएबाट मगरभाषामा आर्यभाषाको प्रभाव पर्नु स्वाभाविकै हो’

मैले यस्तो कुरा चिठीमा लेखेपछि उनले यी अभिलेख हेर्न पाऊँ भनेर मलाई लेखेका थिए । मैले अभिलेख पुस्तक पठाउन सकेको थिइँन । उनी त सिकिस्त विरामी भई औषधोपचारको लागि गत साल जेठमा काठमाडौँ आएपछि मेरो भेट भयो । गालामा निस्केको खटिरो उकुच पल्टेर असाध्य भएको रहेछ, यस्तो अन्तिम अवस्थामा अब शास्त्र प्रमाण हेर्ने शास्चार्थ गर्ने समय थिएन । उनीसँग अन्तः संवाद गर्ने विचार थियो । त्यो पनि प्रत्यक्ष सम्भव भएन । पछि परिवारजनले टिपेका केही अलिकति संस्मरणका कुरा पाएको थिएँ । रोग निको नहुने भएपछि उनलाई मूलघर दाङ घोराही लगियो । अलिक दिनपछि गत २०६६ आश्विन १७ (गते) उनी स्वर्ग भएको दुःखद समाचार सुनेँ जीवनभर कुनै आय आर्जन हुने पेशा वा जीवनवृत्ति नलिएका समाजसेवी, शास्त्रचर्चा, लेखपढ मै जीवनव्यतीत गरेका आँखाले नदेख्ने कानले नसुन्ने हुँदा पनि अरूको सहाराले लेख्ने पढ्ने काम जारी राखिरहने यस्ता साधक वषर्ीया विद्वान्को ९१ वर्षको उमेरमा गत २०६६ असोजमा देहान्त भएको खवर सुनेपछि अब उनको र मेरो भेट हुने सम्भव भएन । उनीसँग साथसाथ भएका गरेका र शास्त्रगत केही कुराको संस्मरण मात्र अब बाँकी छन् । ती सहितको यो सानो श्रद्धासुमन उनैको सम्झनामा समर्पण गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *