चरा रहस्य जीवको चरा सशक्त जिन्दगी
चरा प्रभात लक्ष्यको चरा अनन्त माधुरी
मभित्र फुल्छ विश्वको अपार सभ्य भावना
मभित्र खुल्छ सृष्टिको हजार-लाख चाहना ।।
म पुग्न सक्छु व्योममा नथाक्छ पङ्ख क्यै गरी
म उड्न सक्छु शान्तिको फुकेर शङ्ख बेसरी
म लाख बन्द पिँजडा फुटाउँदै छु शब्दले
विचार बन्धुभावको जुटाउँदै छु चालले ।।
भए विचार तुच्छ त्यो समात एक पङ्ख यो
म लग्छु भव्य व्योममा रहन्न द्वेष आत्मको
हिमाल होस् पहाड होस्, मधेश या उपत्यका
मभित्र छैन भिन्नता, मभित्र छैन दासता ।।
फुलेर फूल वागमा झुकेर गर्छस्वागत
लुकाउँदै छ गर्भमा अनन्त सूर्य त्यो जल
हिमाल हाँस्छ गर्वले पहाड फुल्छ हर्षले
म हेर्छु चाल सृष्टिको रमाउँदै रहस्यले ।।
चरा हुँ नग्न हुन्न है भुलेर भ्रष्ट बन्दिनँ
चरा हुँ झूटको बिटो लिएर हिँड्न जान्दिनँ
हजार रूप छन् सधैँ म बाँच्छु एक शब्दमा
मनुष्य त्यो मझैँ भए हुनेछ पूज्य विश्वमा ।।
