Skip to content


स्वास्नीमानिसहरू प्रेमका पाठशाला हुन्, मेरो जीवनमा पाठशाला बनेर उभिएका ती प्रिय स्वास्नीमानिसहरूलाई…

पत्रकारिता गर्दागर्दै साहित्यकार बनेका मणि लोहनीले आफ्नो कथासंग्रह परास्त प्रेम स्वास्नीमानिसहरूलाई समर्पण गरेका छन्। कुन्नि कति स्वास्नीमानिसको प्रेम पाउन सफल भए मणि? तर, उनको समर्पणभाव देख्दा लाग्छ, संसारका स्वास्नीमानिसहरूबारे जानकार छन् र ती स्वास्नीमानिस सबै प्रेममा पोख्त छन्। सबैले मणिलाई प्रेम गरेका छन्, प्रेम गर्न सुझाएका छन् र प्रेमका बारेमा पढाएका छन्। यस मानेमा मणिलाई संसारका भाग्यमानी पुरुषमा गणना गर्न सकिन्छ।

कथासंग्रहमा समेटिएका सबै १६ वटा कथामा मणिले वर्तमान समाजमा बाँचिरहेका अधिकांश मानिसको जीवनभोगाइ सम्झौतामा अडिएको ठानेका छन्। मणिको कथामा पात्र बनेका धेरै स्वास्नीमानिस परपुरुषको तातो अँगालो अनुभूत गर्दै यथार्थको सम्बन्धचाहिँ चिसो रूपमा गुजारिरहेका छन्। समाजमा यस्ता स्वास्नीमानिसको संख्या छँदै छैन त भन्न सकिन्न तर सबै प्रवृत्तिलाई एउटै कोटीमा राखेर मूल्यांकन गर्नुचाहिँ लेखकको अतिकल्पना हो।

मणिका कथाको सबैभन्दा राम्रो पाटो यिनले महिलालाई महिला स्वयंले भन्दा बढी चिन्ने प्रयास गरेका छन्। महिलाको संवेदनशीलतालाई ग्रहण नगरििदँदा त्यसबाट उत्पन्न जटिलताको सामना पुरुषले गर्नुपर्ने सम्भाव्यता पनि औँल्याएका छन् उनले। महिलालाई के कुराको खाँचो हुन्छ र त्यसको पूर्ति कसरी गर्ने भन्ने सामान्य ज्ञान नभएका पुरुषको जीवन पनि सुखद नहुने र महिलाले पनि आफूलाई नर्कको बास अनुभूत गर्ने दाबी मणिको छ। यसमा पनि कथाकारका रूपमा मणि सफल दरिएका छन्।

तर, संग्रहमा कतिपय छेउ न टुप्पोका समाचारजस्ता लाग्ने कथा पनि छन्। ‘यो कस्तो माया हो भाउजू?’, ‘हाँसो’, ‘तान्या’, ‘झ्याल’, ‘केसरा रानी’ यस्तै उदाहरण हुन्। मणिका पात्रहरू प्रेम र यौनका भोका छन्। के उमेरदार, के अधबैँशे, के प्रौढ सबै महिला यौनका मामलामा असन्तुष्ट तर उदार देख्नु मणिको दृष्टिमा समस्या हुनसक्छ। सन्तान प्राप्तिका लागि महिलाले चरित्रको ख्याल गर्दैनन् भन्ने उनको तर्कसँग त झनै सहमत हुन सकिँदैन। यस्ता तमाम महिला समाजमा छन्, जो सन्तान नभए पनि परिवार र लोग्नेको खुसी आफ्नै ठानेर बाँचिरहेका छन्। तर, यी कथाहरूमा पनि मणिले महिलाको मनोविज्ञानलाई बुझ्ने जुन प्रयास गरेका छन्, त्यसको प्रशंशा नगरिरहन सकिन्न।

नेपाल साप्ताहिक ४३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *