Skip to content


छाया सँगै बसेको छ कि
छाडेर अन्तै गएको छ हँ ॽ
दुनियाँ ब्यूँझिएको बेला
निदाएको स्वाङ गर्ने
ए घडीहरू ! ब्यूँझ, हेर र भन
यो दिनको बाह्र बजे हो या
रातको बाह्र बजे हो ॽ…

अहँ, जवाफ आउँदैन कतैबाट
दुनियाँ ब्युँझाउने
अर्थात् हिंडाउने घडी
आज स्वयम् निदाएको छ

समय एकतमासले हिंडिरहेको छ
दौडप्रस्थान रेखामा उभेर
चूप…चाप.. छन् घडीहरू भने
अचम्म घडीहरू छरपष्ट भएर
स्वयम् समय रोक्ने
प्रतियोगितामा सामेल छन्
समय बगिरहेकै छ
नाडी चलिरहेकै छन्
बिहानी पर्दा उघारि
बिछ्यौनाबाट उठाउने
भित्तेघडी होस् या टेबलघडी
यिनीहरूले आज पटक्कै समय दिएका छैनन्
सायद
यी बिग्रेका घडीहरू सोच्दा हुन्
हामी निदाए दुनियाँ सुत्छ
घडीको काँटाले जे देखायो
मानिस उतै हेर्छ
घडीले जता डोर्‍यायो
दुनियाँ उतै हिँड्छ
घडीको काँटा तगारो बनाएर
समयलाई छेक्न खोज्ने
ए घडीहरू हो सुन !
समयले घडी जन्माएको हो
समय अनुसार चल
याद गर घडीका बिकल्प छन्
तर समयको बिकल्प छैन
नरोक समय नछेक नदी
तिम्रा सुइराले नघोच
मान्छेका पेट र छाती
घाम, जून, ताराका सार
अनि मुटुको लयसित जिस्कने
समयलाई उपहास गर्ने बिरुद्ध
मभित्रको जैविक घडी बोल्छ
अझै कतिञ्जेल हेरौं, बाँधौ
कामनलाग्ने घडीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *