म १८ वर्षको छँदा २०१६ सालमा मेरी फुपूको मुखबाट निस्केको वाक्यांश आज म ७० वर्षको हुँदा पनि मेरो कानमा गुञ्जँदैछ, ‘उहाँ हाम्रो देशका ठूला कवि!’
कुरा ०१६ भदौको दोस्रो/तेस्रो सातातिरको हो। एकदिन बिहान ८/९ बजेतिर पशुपतिको दर्शनपछि त्यहाँ नजिकै देवपत्तनमा कविप्रसादको ‘हरेराम कुञ्ज’मा फुपूलाई भेट्न गएको थिएँ। त्यतिखेर मेरा तीन जना फुपूहरूमध्ये कान्छीचाहिँ फुपू गंगादेवी हरिकीर्तनमा लागेर घरगृहस्थी छाडी कविप्रसादको उक्त कुञ्जमा बस्नुभएको थियो। म पुग्दा फुपू भात पकाउन तल चोकको पश्चिमपट्टिको सानो भान्छा कोठामा पस्न लाग्नुभएको रहेछ। मलाई देखेपछि उहाँले आज यहीँ खाएर जानू भन्नुभयो र म ढोकैनिर उभिँदै थिएँ।
त्यहाँबाट पाँच/सात पाइला पश्चिमपट्टिको लङको भुइँतले टहराको एउटा कोठामा एक जना ख्याउटे अनुहारको दुब्लो अधबैँसे अशक्त बिरामीजस्तो मान्छे एक्लै खाटमा लम्पसार परेको र निजको एउटा हात र टाउको खाटबाट भुइँतिर लत्रिएको देखेर ‘उहाँ को ?’ भनी सोध्दा फुपूले भन्नुभयो, “उहाँ हाम्रो देशका ठूला कवि।” हाम्रो देशका ठूला कवि यी बिरामी मान्छे त वास्तवमा महाकवि लक्ष्मीप्रसाद देवकोटा पो हुनुहुँदो रहेछ, मैले पछि मात्रै थाहा पाएँ, उहाँको निधनपछि। मलाई अन्तिम दर्शन प्राप्त भएको केही दिनपछि भदौ २९ गते उहाँको निधन भएको थियो पशुपति आर्यघाटमा।
साँच्चै भन्ने हो भने त्यतिन्जेलसम्म मैले महाकवि देवकोटाको नाम सुनेको भए पनि उहाँको कुनै पनि कृति पढेको थिइनँ। यद्यपि, म त्यसबेला संस्कृतमा दर्शन पूर्वमध्यमा प्रथम श्रेणीमा उत्तीर्ण गरी नेपाल राजकीय महाविद्यालय, पुतलीसडकमा दर्शन उत्तरमध्यमामा पढ्दै थिएँ। त्यतिबेला हाम्रो देशमा संस्कृतका सबै परीक्षाहरू भारतको बनारसस्थित वाराणसेय संस्कृत विश्वविद्यालयबाट सञ्चालित हुन्थे र उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन पनि उतैबाट हुन्थे। मैले उत्तीर्ण गरेको उक्त पूर्वमध्यमा पनि उतैको थियो। त्यतिबेला हामीकहाँ पढाइ हुने संस्कृतका पाठ्यक्रममा नेपाली पढ्नु पर्दैनथ्यो तर हिन्दीचाहिँ अनिवार्य थियो। त्यसैले मैले हिन्दीका मैथिलीशरण गुप्त, जयशंकरप्रसाद, सुमित्रानन्दन पन्त, सूर्यकान्त त्रिपाठी ‘निरौला’, महादेवी वर्मा प्रभृति कवि/कवयित्रीहरूका कृति पढेको थिएँ तर नेपालीका कुनै पनि कवि/कवयित्रीहरूका कृतिचाहिँ खास पढेको थिइनँ।
तर जेहोस्, मैले उक्त प्रकार रोगशय्यामा महाकवि देवकोटाको दर्शन पाएको केही दिनपछि नै घरमा अंग्रेजी पढेका रामदाइ (जेठाबुबाका छोरा रामबहादुर जोशी) र उहाँका साथीहरू महांकालका श्यामदाइ (श्यामप्रसाद पौडेल) तथा आरुबारीका रमेशदाइ (सुप्रसिद्ध कथाकार रमेश विकल) प्रभृतिले संस्कृत मात्र पढेर पुग्दैन, अंग्रेजी पनि पढ्नुपर्छ भन्नुभएकाले पहिले अलिअलि पढेको अंग्रेजीलाई अघि बढाउँदै संस्कृत महाविद्यालयमा पढ्दापढ्दै प्राइभेट एसएलसी परीक्षा दिने उद्देश्यले सो कोर्सका किताबहरू पनि पढ्न थालेँ र ०१७ सालमा एसएलसी पनि उत्तीर्ण गरेँ।
यथार्थमा उक्त प्रकार एसएलसीको कोर्सबुक पढ्न थालेपछि अथवा भनूँ, ०१६ भदौपछिका महिनादेखि मात्रै मैले नेपालीका कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ प्रभृतिका कविहरूका कविता पढ्न थालेँ र ती कविहरूबारे सोधपुछ गर्न थालेको हुँ। साँच्चै भन्ने हो भने त्यसबेला एसएलसीको कोर्समा समाविष्ट खासगरी महाकवि देवकोटाका ‘यात्री’ र ‘मार्ग’ कविता पढेपछि नै म महाकविप्रति आकषिर्त हुन थालेको थिएँ। त्यसदेखि यता मैले देवकोटालाई जतिजति पढ्दै गएँ, उहाँप्रति झन्झन् आकषिर्त हुँदै गएँ। यसरी महाकवि देवकोटाप्रति आफू आकषिर्त हुनथालेको उसबेलाको एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु।
कुरा त्यस्तै मैले एसएलसी गरेको अर्को साल अर्थात् ०१८ तिरको हो। काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित नेपाल सांस्कृतिक संघमा हो कि त्यसनजिकको विजय मेमोरयिल हाइस्कुलमा हो, महाकवि देवकोटाको स्मृतिमा आयोजित एउटा प्रतियोगितात्मक कवि सम्मेलनमा मैले पनि भाग लिएको थिएँ। त्यसबेला मैले सुनाएको ‘महाकवि स्मृति’ शीर्षक छ-सात श्लोकको छन्दोबद्ध कविता (यो कविता मैले सुरक्षित राख्न सकिनँ, हराएँ) वास्तवमा महाकविप्रतिको मेरो अत्यधिक आकर्षणको प्रथम प्रमाण र महाकवि देवकोटा विषयक मेरो पहिलो रचना पनि थियो। जसको पहिलो एक श्लोक मलाई अझै पनि कण्ठै आउँछ, जुन यस्तो छ ः
जो ग्रन्थरूपी छ महानिवास
जहाँ छ तिम्रो चिरकाल बास
आई त्यहीँ भेट गरी बसूँला
तिमी नबोले म अवश्य रूँला ।
महाकवि देवकोटाको निधनपछि उहाँकै सम्झनामा आयोजित कवि-सम्मेलनमा सुनाउन मैले लेखेको कविताको उक्त श्लोकमा मैले महाकविलाई उहाँले लेखेका ग्रन्थहरूमा, जहाँ उहाँको चिरकाल बास छ, गएर भेट्ने अर्थात् देवकोटालाई अब उहाँका कृतिहरू पढेर नै उहाँसँग भेट्ने, कुरा गर्ने विचार व्यक्त गरेको स्पष्टै छ।
नभन्दै मैले देवकोटाका कृतिहरू पढ्ने क्रमलाई जारी राख्दै र आफ्नो महाविद्यालयीय अध्ययनलाई पनि उत्तरोत्तर अगाडि बढाउँदै ०२४ सालसम्ममा संस्कृतमा दर्शनशास्त्री र नेपालीमा एमए परीक्षा पनि उत्तीर्ण गरेँ र यसबीचमा देवकोटाको शाकुन्तल महाकाव्य पढेर त्यसमाथि एउटा लामो समीक्षात्मक लेख पनि लेखेँ, जुन त्यसबेला भानु पत्रिकाको देवकोटा विशेषांक, ०२५ मा छापियो। त्यसपछि देवकोटाका पाँचवटा महाकाव्य (शाकुन्तल, सुलोचना, महाराणा प्रताप, वनकुसुम र प्रमिथस) पढेर मैले लेखेको महाकवि देवकोटा र उनका महाकाव्य सहयोगी प्रकाशनबाट ०३१ सालमा छापियो। यसमा १ सय १२ पृष्ठको आफ्नो लामो भूमिकामा वासुदेव त्रिपाठीले यस्तो टिप्पणी गर्नुभएको छ ः
‘तथ्य शय्यामा टेक्दै सैद्धान्तिक पृष्ठभूमिसमेत दिएर समालोचक कुमार जोशीले व्यक्त गरेको देवकोटाका महाकाव्य र महाकाव्यकार देवकोटासम्बन्धी आफ्ना आस्वादन-निष्कर्षहरू पर्याप्त प्रमाणिक छन् र नेपाली अध्ययन/अध्यापनका क्षेत्रमा यो समालोचना ग्रन्थ आजसम्मका दृष्टिले निर्विकल्प प्रतीत हुन्छ। वस्तुतः यस ग्रन्थको विकल्प यसै क्षेत्रको अर्को अझ उच्च ग्रन्थ प्रकाशित भएमा त्यही नै मात्र हुनसक्छ र आजसम्मका पुस्तकहरूमध्ये चाहिँ कुनै पनि पुस्तक यसको विकल्पका रूपमा आउन सक्दैन।’ (पृ ११०-१११)
परन्तु मलाई भने यो पुस्तक त्यति चित्तबुझ्दो लागेको थिएन। अनि, पछि फेरि परश्रिम गरेर त्यसको संशोधित/परविर्द्धित संस्करण तयार पारेँ। त्यसलाई साझा प्रकाशनले ०४५ सालमा प्रकाशित गर्यो। यतिन्जेल (०६७ साल) सम्ममा त्यसका अनेक संस्करण प्रकाशित भइसकेका छन्। जेहोस्, त्यसमा मैले महाकवि देवकोटाको स्वरूप पहिचान गराउने प्रयास गर्दै लेखेको पाँच-सात पंक्तिको एउटा कविता पनि पुस्तकको प्रारम्भमा समावेश गरेको छु, जसलाई म यहाँ उद्धृत गर्न चाहन्छु ः
छैनन् देवकोटा केवल कालिदास
संस्कृत साहित्यका
हुन् उनी धेरथोर वर्डस्वर्थ, शेली र कीट्स
पनि अंग्रेजीका
अनि हुन् प्रसाद, पन्त र निराला पनि हिन्दीका।
कहाँ हुन् र यति मात्रै पनि अझै
उनी त हुन् मान्छे पनि, नेपाली, गुणदोषयुक्त
अनि हुन् उनी मानवताका महान् मित्र,
सेवक र संरक्षक
स्वयं प्रमिथस नै पनि ।
उपर्युल्लिखित कविताबाट यतिन्जेलसम्ममा मैले महाकवि देवकोटालाई कुन रूपमा आत्मसात् गर्न पुगेको रहेछु भन्ने कुरा पनि स्पष्ट हुन्छ। तर, मैले देवकोटा-साहित्यको अध्ययनलाई अझ अगाडि बढाउँदै लगेँ र अन्ततः उहाँको समग्र काव्ययात्रा तथा काव्यकृतिहरूको व्यापक शोधखोज, अध्ययन/विश्लेषण एवं मूल्यांकन गरी तयार पारेको शोधप्रबन्धमा त्रिभुवन विश्वविद्यालयबाट ०४३ सालमा मैले विद्यावारििध उपाधि पनि प्राप्त गरेँ। यो विद्यावारििध लगभग दस वर्ष (०३३-०४२ साल) सम्मको मेरो कठोर तपस्याको प्रतिफल थियो। खुसीको कुरा, मेरो यो विद्यावारििध महाकवि देवकोटाबारेको पहिलो विद्यावारििध बन्यो।
यसरी महाकवि देवकोटामा केन्द्रित आफ्नो अध्ययन/अन्वेषणका आधारमा मैले यतिन्जेल (०६७ साल)सम्म तयार पारेका पाँच-छवटा पुस्तक प्रकाशित भइसकेको कुरा सबैमा विदितै छ। तर, महाकवि देवकोटा विषयक मेरो अध्ययन/अनुशीलन अझै रोकिएको छैन र यो रोकिने पनि छैन मेरो जीवनभर, किनभने महाकविलाई म उहाँको रचनाको गुणस्तर, रचनापरिमाण, विषयगत व्यापकता, विधागत विविधता, आर्थिक सामर्थ्य आदि अनेक दृष्टिले नेपाली साहित्यका सर्वोच्च शिखर मात्र होइन, गहिरा सागर पनि मान्छु। जसको इयत्ता एक व्यक्तिको एक जुनीले यकिन गर्न सकिने कुरा होइन। अतः उसबेला मेरी फुपूले हरेराम कुञ्जमा रोगशय्याका देवकोटातर्फ इंगित गर्दै भन्नुभएको ‘उहाँ हाम्रो देशका ठूला कवि’ भन्ने वाक्यांशमा आफ्नातर्फबाट केही पदावली थपेर म महाकवि देवकोटालाई लक्ष्य गर्दै ‘उहाँ हाम्रो देशका मात्र होइन, विश्वकै एक ठूला कवि’ भन्न चाहन्छु।
नेपाल साप्ताहिक ४२१