ईश्वरले सत्य देख्छन् तर पर्खन्छन्

LeoTolstoy


मान्नुहोस्, तपाईंलाई कुनै अपराधको आरोप लाग्छ जुन तपाईंले गर्नु भएकै छैन, र तपाईंले जन्मकैदको सजाय पाउनु हुन्छ । अझ मान्नुहोस् तपाईंका आफन्तले पक्कै पनि तपाईंलाई दोषी देख्छन् । त्यसबेला तपाईंको हृदय कति तितो होला, घृणाले कति विक्षिप्त बन्ला ? तपाईंले वास्तविक अपराधीलाई भेट्नु भयो भने के गर्नुहुन्छ ?

यो व्लादिमिर शहरको कुरा हो । त्यहाँ ईभान अक्सिनोभ नाम गरेको एक युवा व्यापारीको दुईवटा पसल र एउटा आफ्नै घर थियो । सुन्दर र रसिक अक्सिनोभ गीत गाउन असाध्यै मन पराउँथ्यो । जवान छँदा त ऊ पिउँनमा पनि बानीपरेको थियो र कहिले काहीं धेरै पिएको बेला दङ्गा फसाद समेत गर्थ्यो । तर विहे गरेपछि आक्कल झुक्कल बाहेक उसले पिउँनै छोड्यो ।

एक दिन गर्मी याममा अक्सिनोभ निज्नी भन्ने गाउँको मेलामा जान लाग्यो । तर, उसकी श्रीमतीले भनिन्, “इभान, तिमी आज नहिंड, मैले तिम्रो बारेमा नराम्रो सपना देखेकी छु ।”

अक्सिनोभले हाँस्तै भन्यो, “तिमीलाई डर छ होला कि म मेलामा गएर मोज मज्जामा मस्त पैसा उडाउँछु ।” स्वास्नीको जवाफ थियो, “मलाई के डर छ त्यो त थाहा छैन, तर के चाहिं थाहा छ भने, मैले नराम्रो सपना देखेकी छु । सपनामा तिमीले शहरबाट फर्केर जब टोपी फुकाल्यौ, तिम्रो कपाल सेताम्य फुलिसकेको थियो ।” अक्सिनोभ हाँस्यो । “त्यो त शुभ चिन्ह हो,” उसले भन्यो, “तिमी हेरी राख मात्र, यदि मैले सबै सामान बेचेर तिम्रो लागि कोशेली ल्याइनँ भने……।”

यसरी विदा भएर ऊ गोडामा चढेर मेलातिर लाग्यो । आधा बाटोमा उसले एउटा चिनेको व्यापारी भेट्यो । दुबै जना त्यो रात एउटै होटलमा बसे । तिनीहरूले सँगै बसेर चिया पिए र सँगैका दुई कोठा तर्फ सुत्न गए ।

अक्सिनोभको अबेरसम्म सुत्ने बानी थिएन र ठण्डा बिहानी मै हिंड्न मन लागेर उसले चालकलाई बिउँझायो र गाडामा घोडा जुटाउन अर्हायो । पछाडिपट्टि एउटा सानो घरमा बस्ने होटल मालिकलाई पैसा तिरेर उसले आफ्नो बाटो ततायो । पच्चाीस माइल टाढा आफ्नो घोडालाई खुवाउँने उद्देश्यले ऊ रोकियो । त्यहाँ एउटा होटलको मफेरीमा एकछिन आराम गर्यो र बाहिरपट्टि बरन्डामा गएर चिया तताउन आदेश दिँदै गिटार निकालेर बजाउँन थाल्यो ।

एक्कासि एउटा तीन पाङ्ग्रे गाडा टिङ् टिङ् घण्टी बजाउँदै आएर नजिकै रोकियो जसबाट आफ्नो पछि दुई पुलिस लगाएर एउटा प्रहरी अधिकृत ओर्ल्यो । त्यसले अक्सिनोभ सामु आएर को हो, कति खेर आएको हो, आदि प्रश्नहरू सोध्न थाल्यो । अक्सिनोभले प्रश्नहरूको जवाफ दिँदै उनीहरूलाई चिया पिउँने आग्रह गर्यो । तर अधिकृतले भने प्रश्न सोध्दै गयो– “तपाईं हिजो राती कहाँ हुनु हुन्थ्यो ? एक्लै हुनु हुन्थ्यो वा अर्को व्यापारी साथी सहित ? आज विहान साथीलाई देख्नु भयो ? किन उज्यालो हुनु अगावै होटल छोड्नु भयो ?” अक्सिनोभ किन यतिका प्रश्नहरू सोधिँदैछन् भनेर छक्क पर्यो । भएको जति सबै विवरण दिँदै उसले थप्यो, “किन तपाईंहरू मलाई चोर वा डाकालाई जस्तो केर–कार गर्दै हुनुहुन्छ ? म आफ्नै व्यापारको सिलसिलामा हिँड्दैछु र मलाई यसरी प्रश्न गर्नु पर्ने आवश्यकता त देख्दिन ।”

अधिकृतले आफ्ना सहायकलाई बोलाउँदै भन्यो, “म यस जिल्लाको प्रहरी अधिकृत हुँ । गत रात तपाईंसँगै सुतेको व्यापारीको हत्या भएको छ । कसैले उसको घाँटी काटेको छ ।” पुलिसले अक्सिनोभका लुगाफाटाहरू खोले जाँच गरे । अधिकृतले एक्कासि एउटा झोलाबाट छुरी निकाल्यो र करायो, “यो कसको छुरी हो ? अक्सिनोभले रगताम्य छुरी देख्यो र डरायो । अधिकृतले फेरि सोध्यो, “यो छुरीमा रगत कसरी लाग्यो ?” अक्सिनोभले जवाफ दिन खोज्यो तर निकै मुस्किलले मात्र शब्द निस्कन्थ्यो । ऊ लकपकायो, “म….लाई…..थाहा….छैन । ….मेरो होइन ।” अधिकृतले भन्यो, “आज विहान त्यो व्यापारीको ओछ्यानमै गला काटिएको अवस्थामा फेला पर्यो । तँ बाहेक यो काम अरु कसले गर्न सक्छ ? घर भित्रबाटै बन्द थियो र त्यहाँ अरु कोही थिएन । तेरो झोलामा रगत लागेको छुरी छ र तेरो अनुहार र व्यवहारले अपराधी तैं होस् भन्ने देखाइरहेको छ । अब भन्, तैंले उसलाई कसरी मारिस र कति पैसा चोरिस ?”

अक्सिनोभले आफूले त्यस्तो केही नगरेको, सो व्यापारीलाई सँगै चिया पिएपछि फेरि नदेखेको, आफू सँग भएको आठ हजार रुबल बाहेक अरु पैसा नभएको र त्यो छुरी आफ्नो नभएको कसम खायो । तर उसको लरबराइरहेको आवाज, पहेंलो अनुहार र डरले थरथर कापिरहेको शरीरबाट ऊ अपराधी भएको आशंका गर्न सकिन्थ्यो ।

प्रहरी अधिकृतले अक्सिनोभलाई बाँधेर गाडामा हाल्ने आदेश दियो । तिनीहरूले अक्सिनोभका दुबै गोडा एकै ठाउँ बाँधेर गाडामा खँदारे । अक्सिनोभ डल्लो परेर रोयो । उसको पैसा र सामान खोसियो र उसलाई नजिकको शहर पठाएर जेलमा हालियो ।

उसको चरित्र के कस्तो थियो भन्ने कुरा बुझ्न व्लादिमीर शहरमा मान्छे पठाइयो । त्यहाँका व्यापारी र अन्य मानिसहरूले पहिले–पहिले उसले रक्सी पिउँने र समय खेर फाल्ने गरे पनि ऊ असल मानिस भएको कुरा बताए । उसकी स्वास्नी पनि निराश भइ र लोग्ने हत्यारा नै हो भनेर विश्वास गर्न पनि सकिन, नगर्न पनि सकिन । उसका केटाकेटी स–साना थिए– एउटा त दूधे बालक नै । ती नानीहरू च्यापेर ऊ लोग्ने भएको जेल पुगी । शुरुमा उसलाई जान दिइएन । धेरै बेरको अनुनय–विनय पछि उसलाई लोग्ने समक्ष लगियो । जब उसले आफ्नो लोग्नेलाई कैदीको लुगामा सिक्रीले बाँधिएर चोर र अन्य अपराधीसाग बन्द देखी उसको होश हरायो र ऊ लडी । केही बेर पछि उसले केटाकेटीलाई तानेर लोग्ने नजिक बसी । उसले घरको हालत बताई र लोग्नेको कुरा सुनी । उसले सोधी– “अब हामी के गर्न सक्छौं ?” लोग्नेले भन्यो– “म निर्दोष छु । जारलाई मेरो प्राण नलिन विन्ति गर्नु पर्छ ।” विन्ति पत्र चढाइ सकिएको र त्यो स्वीकार नगरेको उसकी श्रीमतीले बताई । अक्सिनोभ बोलेन, बरु धोत्लिइरह्यो ।

स्वास्नी भन्दै थिई, “मैले तिम्रो कपाल फुलेको सपना त्यसै देखेकी थिइनँ, तिमी आफैं सम्झ त त्यो दिन तिमी मेला जानु हुँदैनथ्यो । प्यारो इभान, तिमी आफ्नी स्वास्नीसँग भन त, के यो सब तिमीले गर्नाले नै होइन र ?” “त्यसो भए तिमी पनि म माथिनै शंका गर्छयौ ?” अक्सिनोभले भन्यो र हातले अनुहार छोप्दै रुन थाल्यो । त्यसपछि एउटा सिपाहीले उसका स्वास्नी र नानीहरूलाई जान भन्यो । अक्सिनोभले अन्तिम पटक आफ्नो परिवारसँग विदा माग्यो । उसले मनमनै भन्यो, “लाग्छ ईश्वरले मात्र सत्य थाहा पाउँन सक्छन्” ऊ अब ईश्वरकै शरणमा पर्यो र प्रार्थना गर्न थाल्यो । उसलाई कोर्रा लगाइयो र उसको शरीरको घाउ निको हुनासाथ अन्य अपराधीहरूसँगै साइवेरीया लगियो ।

छब्बीस वर्ष सम्म अक्सिनोभ अपराधीको रुपमा साइबेरीयामा बस्यो । उसको कपाल हिउँ जस्तै सेतो र दारी लामो, पातलो र खैरो भयो । उसको सबै उल्लास हराएको थियो । कुप्रो भैसकेको ऊ विस्तारै हिँड्थ्यो । थोरै बोल्थ्यो र कहिल्यै हाँस्दैनथ्यो । तर ऊ प्रायः प्रार्थना गर्थ्यो । जेलका अधिकारीहरू उसको सुशील स्वभाव देखेर उसलाई मन पराउँथे भने अन्य कैदीहरू उसलाई श्रद्धा गर्दै ‘हजुरबा’ र ‘महात्मा’ भनेर बोलाउँथे । जेल अधिकारीसँग केही कुरा गर्नु परे अक्सिनोभलाई नै आफ्नो प्रवक्ता बनाउँथे । कैदीहरूबीच हुने झगडा मिलाउन वा त्यसमा निर्णय दिन अक्सिनोभलाई नै गुहार्थे ।

घरको समाचार भने अक्सिनोभ समक्ष कहिल्यै आएन । यति सम्म कि उसलाई आफ्ना स्वास्नी, छोराछोरी अझै बाँचेका छन् वा छैनन् भन्ने कुरा पनि थाहा भएन ।

एक दिन अपराधीहरूको एउटा नयाँ समूह त्यस जेलमा ल्याइयो । साँझ पुराना कैदीहरूले नयाँ कैदीहरूलाई भेला गरेर परिचय लिँदै थिए । अक्सिनोभ चाहिं घोत्लिएर नव आगन्तुकहरू नजिकै बसेर कुरा सुन्दै थियो । एउटा अग्लो, बलियो, पातला दारी फुलिसकेको नव आगन्तुक आफ्नो कुरा सुनाउँदै थियो– “ल सुन्नुहोस् साथीहरू, मैले एउटा बाँधिराखेका घोडा लगेकोमा पक्राउ परें र ममाथि चोरीको अभियोग लाग्यो । चाँडै घर पुग्नु परेकाले मैले त्यो घोडा लिएको थिएँ र पछि छोडिदिएको पनि थिएँ । फेरि घोडावाल मेरै साथी थियो । त्यसैले मैले भनें, “मैले ठीकै गरेकोछु ।” तर उनीहरूले “तैंले घोडा चोरेकै होस” भने । एक पटक मैले साँच्चै नै गलती गरेको थिएँ, तर त्यसबेला उनीहरूले पत्तो नै लगाएनन्, नत्र मेरो अधिकारले नै यहाँ आउँन सक्थें । तर अहिले मलाई यहाँ वित्थैमा पठाइएको छ …. सिपाहीहरूलाई म ढाँट्दैछु, म पहिला पनि साइवेरीया आएको हुँ, तर लामो बसिनँ ।”

“तपाईं कहाँबाट आएको ?” एक जनाले सोध्यो । उसले बतायो, “व्लादिमिरबाट, म त्यहींको बासिन्दा हुँ । मेरो नाम मकार हो र मलाई सेम्योनिक पनि भन्छन् ।” अक्सिनोभले त्यतिखेरै टाउको उठायो र भन्यो, “मलाई बताऊ, सेम्योनिक, तिमी व्लादिमिरको व्यापारी अक्सिनोभको बारेमा केही जान्दछौ ?” के उसको परिवार अझै बाँचेकै छ ?” सेम्योनिकले भन्यो, “तपाईं उनीहरूलाई चिन्नु हुन्छ ? म चिन्छु । ती अक्सिनोभहरू धनी छन्, तर उनीहरूको बाबु चाहिं यहीं साइवेरीयामै छ…. लाग्छ ऊ पनि हामी जस्तै अपराधी हो । अनि तपाईं नि हजुरबा, कसरी यहाँ आउनु भयो ?” अक्सिनोभ आफ्नो दुर्भाग्यको बारेमा बोल्न चाहेन । मात्र खुइय गर्दै उसले भन्यो, “आफ्नो अपराधको लागि म २६ वर्षसम्म यहाँ जेलमा छु ।” “कस्तो अपराध ?” मकारले सोध्यो । तर अक्सिनोभले यतिमात्र भन्यो, “अँ, हो– मैले यो भोग्नै पर्यो ।” उसले यो भन्दा बढी बताउँने थिएन पनि तर उसका साथीहरूले कसरी अक्सिनोभ जेलमा आइपुग्यो, कसरी कसैले एउटा व्यापारीलाई मारी उसको झोलाभित्र छुरी लुकायो र उसले कसरी यो अन्यायपूर्ण सजाय भोग्नु पर्यो भन्ने कुरा बताइ हाले । यो सुनेर मकार सेम्योनिले अक्सिनोभलाई हेर्यो, आफ्नै घुँडामा थप्पड हान्दै आश्चर्य व्यक्त गर्यो । “हो, यो उदेक लाग्दो कुरा छ । वास्तवमै उदेक लाग्दो तर कति वर्ष पुग्नु भो बुढा बा ?” उसले सोध्यो ।

व्यापारीको हत्यारालाई चिन्छु कि भन्ने आशमा अक्सिनोभले सोध्यो, “शायद, सेम्योनिक तिमीले मलाई पहिले कहीं देखेका हुन सक्छौ वा सो घटना बारे सुनेका होलाऊ ।” सेम्योनिकले भन्यो, “कसरी नसुन्ने ? चारैतिर हल्ला थियो । तर यो धेरै अघिको कुरा भएकोले मैले के सुनें बिर्सि पनि सकें ।” “शायद तिमीले सुन्यौ होला, त्यो व्यापारीलाई कसले मारेको थियो ?” अक्सिनोभले सोध्यो ।

सेम्योनिकले हाँस्दै जवाफ दियो, “त्यो त्यही व्यक्तिले हुनुपर्छ जसको झोलामा त्यो छुरी फेला पर्यो । अरु कसैले त्यहाँ छुरी लुकाएको भए एउटा कहावतनै छ– ‘ऊ त्यतिन्जेल चोर हुँदैन जबसम्म पक्राउ पर्दैन ।’ कसरी कसैले तपाईंको टाउको मुनि छुरी राख्न सक्छ ? यसले चिश्चयनै तपाईंलाई बिउँझाउनु पर्ने ।”

जब अक्सिनोभले यस्ता कुरा सुन्यो उसलाई निश्चित भयो कि यही मानिसले त्यो व्यापारीलाई मारेको हो । ऊ उठ्यो र हिँड्यो । त्यो रातभरि अक्सिनोभ जागै रह्यो । ऊ अत्यन्तै दुःखी भयो र उसको मनमा अनेक दृश्यहरू उठ्न थाले । उसले आफ्नी स्वास्नीलाई सम्झ्यो, छोराछोरीलाई सम्झ्यो । आफ्ना जवानीका सुखी दिनहरू सम्झ्यो । आफू पक्राउ परेको, कोर्रा खाएको, सिक्रीहरू, अपराधीहरू सबै दृश्य उसको मनमा नाच्न थाले । छब्बीस वर्ष भरिको कैदी जीवन र बेलै नपुगी बुढेसकाल, यी सबै कुराको सोचाइले उसलाई दिक्क बनायो । उसलाई यस्तो लाग्यो ऊ आफैलाई मार्न सम्म तयार छ । उसमा मकार सेम्योनिकसँग आफू मेटिनु परे पनि बदला लिएरै छाड्ने उत्कृट इच्छा पलायो । उसले रातभर प्रार्थना दोहोर्याइ रह्यो, तर शान्ति भएन । दिउँसो ऊ मकार सेम्योनिकको नजिक पनि गएन, न उसलाई हेर्यो नै । यसरी नै पन्ध्र दिन बित्यो । ऊ राती सुत्न सकेन र यति दयनीय स्थितिमा पुग्यो कि उसलाई के गर्ने भन्ने समेत सुझेन ।

अरुहरूले ऊ किन त्यसरी अचम्मित भएको र यस अघि उसले अक्सिनोभलाई कहाँ देखेको थियो भनेर सोधे, तर सेम्योनिकले जवाफ दिएन । उसले यति मात्र भन्यो, “यो उदेक लाग्दो कुरा हो कि हामी फेरी यहाँ भेट भयौं, साथीहरू…” यो कुराले अक्सिनोभलाई पनि चकित पार्यो ।

एक रात अक्सिनोभ जेल भित्र डुलिरहेको बेला कैदीहरू सुतेको कोठाको एउटा कुनामा माटो निकालिएको देख्यो । अचानक एउटा बासको कापबाट मकार सेम्योनिक निस्कियो । अक्सिनोभ उसलाई नहेरी हिँड्न खोज्यो । तर मकारले उसको हात समातेर भन्यो कि उसले त्यो पर्खालमुनि एउटा ठूलो प्वाल पारेको छ । जब कैदीहरूलाई काममा लगिने छ उनीहरूका अग्ला बुटमा माटो भरेर बाहिर लगेर फ्याँलिने छ । “तँ चूप लागेर बस, बूढा, तँ पनि प्वालबाट निक्लेलास् । कसैलाई बताइस् भने मलाई कोर्रा हान्नु अगावै तँलाई सिध्याइ दिनेछु ।”

अक्सिनोभ आफ्नो शत्रुलाई हेरेर काँप्यो । उसले आफ्नो हात तान्यो र भन्यो, “मेरो भाग्ने इच्छा छैन र तैंले मलाई मार्नु पर्ने आवश्यकता पनि छैन, किनकि तैंले मलाई धेरै अघिनै मारिसकेकै छस् । तेरो यो करतुत् पर्दाफास गर्नलाई चाहिं ईश्वरकै निर्देशन मान्छु ।”

अर्को दिन कैदीहरूलाई काममा लगेपछि एउटा कैदीले आफ्नो बूटबाट माटो खन्याएको देखेर सिपाहींहरूले जेलमा खानतलाश गरे र सुरुङ फेला पारे । गभर्नर आएर सो सम्बन्धमा सोधपुछ गर्यो । थाहा पाउँनेहरूले पनि सेम्योनिकको डरले बताएनन् । अन्त्यमा गर्भनर अक्सिनोभ तर्फ फर्कियो र भन्यो, “तिमी सत्यवादी वृद्ध मानिस हौ, मलाई बताऊ त्यो सुरुङ कसले खन्यो ?” सेम्योनिक चाहिं आफू निश्चित छु झैं गरेर उभिएको थियो र गभर्नरलाई नै हेर्दै थियो । अक्सिनोभका ओठ र हातहरू काँपे र मुखबाट केही शब्द पनि निकाल्नै सकेन । उसले सोच्यो,– “किन आफ्नो जीवन बर्वाद गरिदिने मान्छेलाई लुकाउने ? तर बताउँदा उसलाई पिटेर ज्यान लिन सक्छन् र ऊ त्यस व्यापारीको हत्यारा नहुन पनि त सक्छ । र, अन्त्यमा बताँउदैमा मलाई के पो भलो हुन्छ र ?”

“ल बुढो मान्छे”, गभर्नरले दोहोर्यायो, “साँचो कुरा बताऊ, त्यो पर्खालमुनि खन्ने मान्छे को हो ?” अक्सिनोभले मकार सेम्योनिकलाई एक झलक हेर्यो र भन्यो, “म भन्न सक्दिन, श्रीमान, ईश्वरको यही इच्छा छ । तपाईं मलाई जे चाहनु हुन्छ त्यही गर्नुहोस्, म तपाईंको हातमा छु ।” गभर्नरले जतिसुकै प्रयास गरेपनि अक्सिनोभले यो भन्दा बढी बताएन र यो कुरालाई त्यतिकै छोडियो ।

त्यस रात जब अक्सिनोभ भर्खरै झकाउन लागेको थियो कोही सुटुक्क आएर उसको ओछ्यानमा बस्यो । उसले अँध्यारामा नियालेर धेरै बेरपछि मात्र मकार सेम्योनिकलाई चिन्यो । “तँ के चाहन्छस्, हँ, गइहाल्, नत्र म पालेलाई बोलाउँछु ।” मकार सेम्योनिक अक्सिनोभ नजिकै झुक्यो र फुसफुसायो, “इमान दिभित्री, मलाई क्षमा गर । मैं हुँ त्यो व्यापारीको हत्यारा । मैले तपाईंलाई पनि मार्न लागेको थिएँ, तर बाहिर आवाज सुनेकोले हत्त–पत्त तपाईंको झोलामा छुरी लुकाएर भागें ।”

अक्सिनोभ मौन थियो । सेम्योनिकले ओछ्यान छोडेर जमिनमा गइ घुँडा टेक्यो र विन्ति गर्यो, “इमान दिभित्री, भगवानको प्रेमको खातिर मलाई माफ गर्नुहोस् । म यो स्वीकार गर्छु कि म त्यो व्यापारीको हत्यारा हुँ र तपाईं छुटेर घर जान सक्नु हुन्छ ।” अक्सिनोभले भन्यो, “कुरा गर्न त तँ सिपालु रहिछस् । तर मैले तेरो लागि यी छब्बीस वर्ष दुःख खपेको छु । अब अहिले म कहाँ जाने … मेरी स्वास्नी मरिसकी र छोराछोरीले पनि मलाई बिर्सिसके । मेरो जाने ठाउँ कहीं छैन…।”

मकार सेम्योनिक उठेन बरु भुइँमा टाउको ठोकाउँन थाल्यो । “इमान दिभित्री, मलाई माफ गर्नुहोस्,” उ करायो, “जब तिनीहरूले मलाई कोर्रा लगाए मलाई सहन गाह्रो भएन । तर तपाईंलाई देख्दा सहन गाह्रो परेको छ…..। अझ तपाईंले म प्रति दया गर्नु भई केही पनि बताउनु भएन । क्राइस्टको लागि मलाई माफ गर्नुहोस् । म कलंक हुँ ।” ऊ सुँक्क–सुँक्क रुन थाल्यो । यो देखेर अक्सिनोभ पनि रुन थाल्यो ।

“भगवानले तिमीलाई क्षमा गर्नेछन् । हुन सक्छ म तिमी भन्दा सयगुणा खराब होउँ,” यी शब्दहरूसँगै अक्सिनोभको हृदय हलुंगो भयो र घर फर्कने तिब्र इच्छाले उसलाई छोड्यो । ऊ केवल अन्तिम घडीको प्रतिक्षा गर्न थाल्यो ।

अक्सिनोभले जे भने तापनि मकार सेम्योनिकले आफ्नो अपराध कबुल गरेरै छोड्यो । तर जब अक्सिनोभको छुटकारा आदेश आयो ऊ मरिसकेको थियो ।

प्रस्तुति: के बी राई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on “ईश्वरले सत्य देख्छन् तर पर्खन्छन्”

  1. केबीजी,
    हामीले सानोमा

    केबीजी,

    हामीले सानोमा अंग्रेजीमा पढेको कथालाई नेपालीमा उल्था गरी मझेरीमा राखिदिनुभएकोमा धेरै धन्यवाद छ ।

    पहिले त, लियो टाल्सटाय आफैंमा महान नाम हो । त्यसमाथि पनि यो प्रसिद्ध कथाको विशेषता छुट्टै छ। कथा आफैंमा कमेन्ट गर्नु खास केही छैन । अनुवादको शैलीमा पनि गाली निकै कम र ताली अलि बढी नै दिनपुर्छ जस्तो लाग्छ । न्यारेसन्, वर्ण विन्यास त अधिक मिलेको त छ नै, नेपालीमा उल्था गरिंदा पनि कथाको न्यारेसन् रसिलो र मिल्दो हुनु प्रशंसायोग्य कुरा हो । अनुवादकको मेहनत र लगनशीलता पाठकले सहजै बुझ्न सक्दछ; यसको लागि साधुवाद छ ।

  2. K.B g leo talsotoy ko katha
    K.B g leo talsotoy ko katha anubad garnu bhayekoma dhanyabad.war and peace pani anubad garnu bhaye khusi hune thiye.

  3. प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद
    मैले अप्लोड गरेको ‘ईश्वरले सत्य देख्छन्, तर पर्खन्छन्’ शिर्षकको छोटो अनुवादित कथा बारे प्रतिकृया दिनुहुने सम्पूर्णमा म धेरै धेरै धन्यवाद प्रकट गर्दछु । प्रशान्त वुढामगर ज्यूले वार एण्ड पिसको पनि अनुवाद गरिदिनु भए हुन्थ्यो भन्नु भएको रहेछ । यसलाई पनि म अनुवाद गर्ने जमर्को गर्नेछु ।
    अन्तमा मझेरी डट कमबाट मेरो कथा बारे सकारात्मक प्रतिकृया पाउन सफल भएकोमा म आपैm गदगद भएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *