आचार्य केशब
मार्च १४, २०११।
काठमाडौं ।
अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यले ‘अग्रणी महिला’ कृति सार्वजनिक गर्नुभएको छ ।
समाजसेवा, ज्ञान, विज्ञान, साहित्य, कला, राजनीति, चिकित्सा, खेलकुद, चलचित्र आदि विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका सङ्घर्षशील ५५ जना नारीका विषयमा यो कृति केन्द्रित छ । यसबाहेक कृतिमा १५० जनाभन्दा बढी प्रथम नेपाली महिलाको चर्चासमेत गरिएको छ ।
यसअघि ‘प्रथम नेपाली महिला’ तथा ‘१०१ प्रथम नेपाली महिला’ कृति जनसामु ल्याइसक्नुभएका पत्रकार आचार्यको महिलासम्बन्धी यो तेस्रो कृति हो । यसबाहेक उहाँका गर्गगोत्री आचार्य वंशावली(सम्पादन/लेखन), सांस्कृतिक सेरोफेरो(सांस्कृतिक निबन्ध), मनको ओखती(गीतसङ्ग्रह) र मेदिनीस्मृति (योग, ज्ञान र ओखतीमूलो) कृति प्रकाशित छन् ।
झन्डै दुईदशक अघिदेखि महिलासम्बन्धी खोजपरक जीवनीमूलक रचना प्रकाशन गर्दै आउनुभएका लेखक आचार्य गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।
