सबै स्वार्थी दुनियाँ छ आफ्नै दुनो सोझ्याउने
अर्को माथि जान खोजे खुट्टा तानी पल्टाउने
कस्को कति गहिराइ छ आफ्नाहरूलाई नै थाहा हुन्छ
कस्तो कस्को कहाँ के छ वास्ता अरुलाई कहाँ हुन्छ ।
पराइहरू दिल खोलिदिन्छन, दिलमा बसाउँछ्न
आफ्नाहरूले खुट्टा तानी बरु भुईंमा खसाउँछन
फूल रोपे काँडा यहाँ साटिदिन्छन थाहै नपाई
झुक्किएर फुल्यो भने काटिदिन्छन अनायासै ।
कस्को भर पर्नु यहाँ घात दिलमै बसेकाको
लात खानु पर्छ किन मुटुभित्रै पसेकाको
आफ्ना पराई भइदिन्छन पोको पार्न नपाउँदा
नाना भाँती कुरा काट्छन् धोको फेर्न नपाउँदा ।
कुन बाटो रोज्नु मैले हिंड्नु कुन गोरेटोमा
जुनसँगै हिडे पनि पुग्छु सधैं अध्यारोमा
हातभरि पाए गर्छन् आफ्नाहरू ताना-तानी
नपाएमा फकाएर छुरी हान्छन जाना-जानी ।
कति घात सहें मैले जीवन बाँच्ने बहानामा
आफ्नो इच्छा मारिदिए आफन्त कै चाहानामा
मरेको छ घरी घरी आफ्नाहरूले छुरी घस्दा
म पनि त झरेको छु आँखाबाट तिमी खस्दा ।
कति बाँच्नु अब यहाँ आँखा रारा फेवा पारी
नयनबाट सधैभरि सावनको वर्षा झारी
कस्ले पुछिदिन्छ यहाँ परेलीका ओठहरू
बरु नुन चुक लगाएर बल्झाउँछन चोटहरू ।
तीर्थ “यात्री” पौडेल
