Skip to content


छातीमा जून टाँसिएको
आकाश देखाएर
मेरी हजुरआमाले
मलाई स्वर्ग चिनाउनुभयो !
सुकिलो जून देख्ता आकाशमा
लोभिएर त्यसैत्यसै
म जूनलाई बोलाउँथे
बसेर हजुरआमाको काखमा
रिसाउँथे कहिले
आँगनमा नआउने जूनसित
हाँसेर थोते हाँसो
समाएर मेरा साना औँला
देखाएर आकाशको सफा जून
मेरी हजुरआमाले
मलाई देउतीमाता चिनाउनुभयो ।
आकाशबत्ती बालेर हजुरआमा
उज्यालो पठाइदिनुहुन्थ्यो आकाशमा
थाली लिएर हातमा
पूजा गर्नुहुन्थ्यो देउतीमाताको
जब बादलले पुरिन्थ्यो आकाश
धूवाँमा गुम्सिएको दुम्सीझैँ
बिचरा देउतीमाता !
गुम्सिनुहुन्थ्यो आकाशमा
सुम्सुम्याउँदै
मेरो बालक अनुहार
आकाशकी देउती छोप्ने
बादल देखाएर
मेरी हजुरआमाले
मलाई राक्षस चिनाउनु भयो ।
बसाएर बूढो काखमा
चुसाउँदै सुकिसकेको लाम्टो
आकाशबाट
खस्तै गरेको तारा देखाएर
मेरी हजुरआमाले
मलाई पापको कथा सुनाउनु भयो …….
धर्म छाडे भने,
देउता पनि खस्छन् स्वर्गबाट !!

भोजपुर

मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष

Leave a Reply

Your email address will not be published. Required fields are marked *