Skip to content



बिनी बिनी बीउ सजाउँछु
दिलको सलिल छरेर भिजाउँछु

बिरुवा बहुत बढाई,
जीवनभित्र सुगन्ध भिजाउँछु
कलिला फूल फुलाई
उमङ्गहरूमा म वसन्त फुलाउँछु
नव मलयपवन बहाई ।

उजाड भर्दछु रङ्ग वैभवले,
पल्लव कलिले सौरभ नवले

कल्पनाको बाग;
भावनाका मसिना रवले
भर्दछु मीठो राग
सज्दछु अनुभव-रजनी-लवले
गर्दछु आह्लाद-पराग ।

काँढामाथि सिहरी चल्छन्
आँसुहरूका रसले फुल्दछन्
दिव्य हाँसी कविता-फूल
हृदय घटाका जलले खुल्छन्
अधर हजार मृदुल;
कल्पनाको वनमा फुल्छन्
वेदनाको विस्तृत मूल ।

घाम र छायाहरूका सार
दिव्य कलाका शृङ्गार

जीवनका बोल,
सुन्दरताका हार
अश्रुविन्दु झैं गोल,
बस पथिक ! लेऊ उपहार
नचुँड नजानी मोल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *