एउटा चक, एउटा डस्टर
एउटा कालो पाटी
एक म शिक्षक
अनि एक जमात बिद्यार्थी
आज परमाणुको कक्षा लिंदैछु
परमाणुको पाठ पढाउदैछु ।
‘परमाणु,
पदार्थको सबै भन्दा सानो कण,
सानो सानो मिलेर ठुलो
महत्वपुर्ण बस्तु बन्छ ‘
“बुझ्यौ नानी हो?”
“-बुझेनौ सर !”
‘परमाणुको केन्द्रमा न्युक्लियस
न्युक्लियस वरिपरि इलेक्ट्रोनहरू
घुमिरहेको हुन्छ, ‘
“बुझ्यौ नानी हो ?”
“-बुझेनौ सर !”
‘पख पख, त्यसो भए
नबुझ्न सक्छौ, सिक्दैछौ
अनि म बुझाउन खोज्दैछु
के सिंहदरबार थाहा छ तिमीहरूलाई”?
“-थाहा छ सर!?
‘हो!, सिङ्हदरबार न्युक्लियस,
सिंहदरबारलाई केन्द्रबिन्दु मानेर
वरिपरी घुम्ने नेताहरू इलेक्ट्रोन’
“तर ख्याल गर है!”
इलेक्टोनहरू सधैं ऋणात्मक हुन्छ
नेताहरू ऋणात्मकबाट धनात्मक, धनाढ्य हुन्छन्
इलेक्टोन घुम्ने बाटाहरू,
कक्षहरू,
अक्षहरू निस्चित हुन्छ
तर नेताहरू सिंहदरबार घुम्ने
छिर्ने बाटाहरू फेरिरहन्छन
जस्तै:-
पार्टी त्यागेर
सिद्दान्त बिर्सेर
लाज पचाएर
पैसाको फन्दामा
अनि श्रीमती र
परिवारको परिबन्दमा ।
“पारमाणिक भार थाहा छ नानी/बाबु हो ?”
“-छापामार थाहा छ” “तर
पारमाणिक भार थाहा छैन सर!”
ठिक छ !
छापामार थाहा हुनु नै
परमाणविक भार थाहा हुनु हो
छापामार जन्माउन सफल हाम्रो देश
त्यो जन्माउदाको ऋणको बोझ
ऋणको भारी, थिचिएको वजन
या ऋणको तौल …..जस्तै हो!
परमाणुको तौल वा वजन !
त्यही हो पारमाणविक भार !
“तर ख्याल गर है !”
छापामारको सङ्ख्या
घट्बढ हुनसक्छ
पारमाणुको पारमाणविक भार
निश्चित हुन्छ ।
‘आज यति मात्रै’
गृहकार्य भोलिको लागि,
उत्तर लेख:-
परमाणु बुझ्छौ कि सिङ्हदरबार?
नेता मन पर्यो की इलेक्ट्रोन ?
फरक छुट्याऊ:-
पारमाणविक भार र छापामार
ॠणात्मक इलेक्ट्रोन र धनात्मक नेता !
बश !
“घन्टी बज्यो, थेङ्क्यु !”
“-बाइ बाइ सर !”
