Skip to content


यौटा अज्ञात गर्भाशय बोकेर
दौड्दैछे विवश कुमारी ।

नांगो खुट्टाले र फुलेको भुँडी हल्लाएर
खोज्दैछे पि्रय आकाशलाई वा आकाश
उनलाई लखेट्दैछ पुनः असुरी बलात्कार गर्नलाई ।

जुन बेगमा दौडे पनि समात्न सक्तिनन््
जति आँगनमा पुगे पनि भेट्न सक्तिनन्
पुगून् जुनसुकै गोलार्द्धमा
कुमारी चुम्न सक्तिनन् नीलो देखिने आकाशलाई ।

आकाश फैलिएको सर्वत्र कुनासम्म
जहाँसम्म लुकून् उनी
जुन बेला लुकून् उनी
जुन ठाउँ लुकून् उनी
आकाश जिस्क्याउनेछ उनलाई प्रत्येक लुकामारीमा
आकाश गिज्याउनेछ उनलाई प्रत्येक ऋतुमा ।

उनले दौड्नु हुन्नथ्यो यति विवश भएर
आकाश फैलनु हुन्नथ्यो यति निकृष्ट भएर
विवश हुनु र निकृष्ट हुनुको यो सरल
तर अनौठो स्पर्धामा
दोषी को ?

उनी आकाशलाई लखेट्दैछिन् या आकाश उनलाई
उनी आकाशलाई खोज्दैछिन् या आकाश उनलाई !

विवश कुमारी
विवश आकाश !

नेपाल साप्ताहिक ४२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *