Skip to content


कुनै पनि राष्ट्रको परिचय, सभ्यता, विकास, जीवनस्तर, व्यवसाय, भेषभूषा आदिको चर्चा गर्दा त्यस देशको ललितकलाको सन्दर्भ, चर्चा, उल्लेख हुन आउँछ । ललितकलाको परिभाषाको रूपमा वास्तु, मूर्ति, चित्र, सङ्गीत, नृत्य र गायनका साथै साहित्यको सिर्जना र उत्थानको इतिहास आउँछ । यसका साथै स्रटा, दर्शक, स्रोता वा पाठकको रुचि, ज्ञान, क्षमता, समझदारी र स्तर पनि जोडिन्छ । राजनीतिक अवस्था अस्थिर वा स्थिर, सामान्य वा उन्नत, प्रजातान्त्रिक वा जुनसुकै वाद-वादीय व्यवस्थामा भए पनि त्यस राष्ट्रको मूलभूत सभ्यता र उन्नतशील सामाजिक स्थितिको प्रतिनिधित्व त्यस देशको ललितकला र साहित्यले गरिरहेको हुन्छ । यसैले सायद स्रष्टाहरूलाई तत् राष्ट्रको सर्वाधिक प्रतिनिधिको रूपमा लिइन्छ ।

यसलाई भूमिकाको रूपमा लिएर चर्चा गर्न खोजिएको हो चित्रकलाको । चित्र-सिर्जनाको भावभूमिका लागि यस देशको प्राकृतिक, भौगोलिक, सांस्कृतिक, धार्मिक, सामाजिक पक्षहरू सबै स्रष्टाहरूका लागि खुल्ला आकाश तल अनि उपयुक्त वातावरण पाइन्छन् । यसै विचारलाई चित्र सिर्जनाको आधार मानेर काठमाडौँ उपत्यकाका विभिन्न प्राकृतिकस्थलहरू, गाउँघरमा गएर हामीले (डा. रामकुमार भौकाजी अनि म आफैँ) चित्र सिर्जना गर्‍यौँ । हाम्रो सोचमा-घरको स्टुडियो अर्थात् कोठामा बसेर चित्र सिर्जना गर्नुभन्दा तत्तत् प्राकृतिक र भौगोलिकस्थलहरूमा गएर चित्र सिर्जना गर्दा त्यसत्यस स्थल वा स्थानीयताको वातावरण, रूपरङ, आकृति जीवन्तरूपमा चित्रमा प्रस्तुत गर्न सकिन्छ भन्ने हो । यसप्रकार खुल्ला वातावरण वा वाहृय चित्र सिर्जना गर्ने थालनी चित्रस्रष्टा चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकार, अमर चित्रकार, दिलबहादुर चित्रकार, रामानन्द जोशी, आदिले पनि गरेका थिए तर बीसको दशकपछि पश्चिमी सोच, शैली, प्रविधिको प्रभाव अत्यधिक मात्रामा चित्रकला क्षेत्रमा देखियो । फलस्वरूप चित्र स्रष्टाहरू बढी स्वतन्त्र भए । परम्परागत शैली, विषयवस्तु, चित्र संयोजन, प्रस्तुति आदिबाट अलग्गिएर पश्चिममा चलिसकेका प्रभाववाद कयुविज्म (घनवाद) अभिव्यञ्जनावाद (इम्प्रेसनिज्म), अमूर्त, दादावार, विषय-मिश्रणवाद (कोलाज) आदि इत्यादिको प्रभाव अनि अनुकरण अधिकयरूपमा नेपाली चित्रकला जगत्मा देखियो । अर्को अर्थभन्दा चित्रको संयोजनमा स्थानीय विषयवस्तु, रूप, आकार, प्राकृतिक स्थल, भौगोलिक-भू-वनोट, सामाजिक पक्ष, जीवनपरक पक्ष न्यून मात्रामा भएका चित्रहरूको सिर्जना प्रदर्शनी कक्षहरूमा देखिन थालियो । यसो त चित्रस्रष्टाहरू चित्र संयोजनमा स्वतन्त्र छन् तर स्थानीयताको प्रतिनिधित्व सिर्जित चित्रहरूमा न्यून देखियो भन्नुको अर्थ नेपाली चित्रहरूमा स्थलगत रङरूप अनि सौन्दर्य अनुपस्थित देखियो । चित्र संयोजन (कम्पोजिसन), प्रस्तुतिमा विषयवस्तुको खोज (एकप्लोरेसन), नवीनता (इनोभेटिभ), सिर्जनात्मकता, स्रष्टाको निजीपन, मौलिकता अतिआवश्यक तत्त्वहरू हुन् भने वाद र प्रभाव गौण हुन् । माथि उल्लेखित तत्त्वहरूले स्रष्टाको सोच, विचार, सिर्जनात्मकता, परिश्रम, व्यक्तित्व, शैली, भावभूमि के-कस्ता छन् भन्ने सङ्केत र प्रदर्शन गर्दछ । यी तत्त्वहरूले एक जना स्रष्टा आफ्ना सोच, संयोजन, प्रस्तुति, शीपशैलीमा अरू स्रष्टाबाट कतिको फरक छ भन्ने निजत्व देखाउँछ र स्रष्टाको सिर्जनात्मकताको परिचय दिन्छ ।

यस देशको हिमाली प्रदेशको आकाशीय दृश्य, प्राकृतिक, भौगोलिक रूपरङ वनजङ्गलका आकार, रङ आफ्नै ढङ्गले आकषिर्त छन् । अन्य राष्ट्रका प्राकृतिकताबाट फरक छन् । यसैगरी भिन्नभिन्न उपत्यकाका प्राकृतिक, भौगोलिक वनपाखा, धार्मिक स्थल, सामाजिक पक्षहरूले आफ्नै निजत्व बोकेका छन् अनि तराई-मदेश प्रदेशका स्थानीयताका आफ्नै भिन्न निजत्वको परिचय दिन्छन् । त्यसकारण यसै सोच-विचारको आधार लिएर चित्र सिर्जनामा स्थानीयता वा स्थानीयत्वको (Nativism) प्रतिनिधित्व गर्ने उद्देश्यले मुस्ताङ पुगियो ।

हिमालपारिका जिल्लाहरू हुन्- मुस्ताङ र मनाङ तर मुस्ताङ र मनाङको दक्षिणमा हिमाल छन् अर्थात् हिमालको उत्तरी भेगमा यी जिल्लाहरू पर्छन् । यसैले यहाँको आकाश, भौगोलिक भू-बनोट, चट््टानी, पाखापर्वत अरू प्रदेश वा स्थलबाट भिन्न छन् । रुख, लहरा, वनपाखा, वलौटे भूमि भिन्न छन् । यसैले चित्रस्रष्टाका लागि यहाँको भू-दृश्य चित्र सिर्जना अरू प्रदेशबाट फरक बन्छ । मौलिक प्रकारको रङरूप, आकारका साथै स्थानीयताको प्रतिनिधित्व र प्रस्तुतिमा निजत्व नवीनता, मौलिकता, उच्चता पाइन्छ । पर्वत-चट्टानको चित्र सिर्जनामा अमूर्तता प्रस्तुत गर्न सकिन्छ, बलौटे पाखा-बगरको चित्रमा कुनै निश्चित रूप-आकार छैन, रङको प्रयोगले अमूर्तचित्र सिर्जना गर्न सकिन्छ । कुनै निश्चित परिभाषित वस्तुको रूप-आकार मिल्न आउँदैन । चट्टानी पाखाका आफ्नै रूप छन्, रङ छन् । यसैले चित्र सिर्जनामा नवीनता र मौलिकता ल्याउन सकिन्छ । सामान्यरूपमा रुख, फूलपात, व्यक्तिका रङ अनि भेष-भूषा फरक छन् । परिभाषित ज्यामितीय रूप-आकारका वस्तुहरूबाट फरक विषयवस्तुको संयोजनले रङलेपन र प्रयोग फरक हुन आउँछ, चित्रमा अमूर्तता मात्र पनि प्रस्तुत गर्न सकिन्छ । काली-गण्डकीको पानी सामान्यरूपमा कोसी-कर्णालीको पानीको रूपमा नीलो वा गहन छैन । नदीको बगर, गेग्रान, ढुङ्गा-बालुवा, पानीलाई रङ दिएर चित्र सिर्जना गर्दा ज्यामितीयको निश्चित परिभाषित आकार आउँदैन । चित्र स्रष्टा बढी स्वतन्त्र बन्न सक्छन् । आफ्नै कल्पना, सोच, भावभूमि, उद्देश्यानुसार चित्र संयोजनमा रङहरूको प्रयोग गरी खेल्न सक्छन् । प्राकृतिक वस्तुकै चित्र संयोजनमा पनि निश्चित रूपरङ झल्काउने वस्तुचित्रमा प्रस्तुत नगरी चित्र सिर्जना गर्न सकिन्छ । बालुवाको फाँट-मैदान अनि झारपातको चित्र सिर्जनामा अप्रतिनिधिमूलक रूप-आकार मात्र निर्माण गर्न सकिन्छ, ठोस वस्तुको निश्चित आकारको अनुपस्थिति रहन्छ । रङ प्रयोग, रङको आकार, रङ संयोजन, रङ प्रस्तुतिमा स्रष्टाको भावना र सौन्दर्यपक्षको अध्ययन गर्न सकिन्छ । स्रष्टा निर्धक्क अनि स्वतन्त्र रूपमा सिर्जना गर्न सक्छन् । पानी रङको तरलता र पारदर्शिता स्रष्टा आफ्नै शैली र शीपअनुसार प्रयोग गर्न सक्छ भने तेल रङको ठोसपना र गहनता आफ्नै विशेषतासाथ स्रष्टा निर्माण गर्न सक्छन् । प्राकृतिक वस्तुको यथारूप प्रतिविम्ब र प्रतिनिधित्व नभएकोले चित्र अमूर्त हुन आउँछ । चित्रमा लय, लयात्मकता, सौष्ठव, सौन्दर्यपक्ष आउँछ । स्रष्टा आफ्नै भाव भूमि, धारणाअनुसार स्थान छान्न र चित्र संयोजन गर्न सक्छन् ।

मुस्ताङ र मनाङ अमूर्तचित्र सिर्जनाका लागि सारै उपयुक्त र अनुकूल प्रकृति, भौगोलिक भू-वनोट, रूपरङको भूमि ! सामान्य व्यक्तिलाई पट्यारलाग्दो स्थल, रङहीन-अनआकर्षक भू-भाग । धार्मिक व्यक्तिका लागि मुक्तिनाथको वासस्थानको प्रदेश/अमूर्त चित्रस्रष्टाका लागि सारै उपयुक्त-अनुकूल भू-प्रदेश । पानी पर्दैन तर हिँउका पिउरी फुसफुस र्झछन् आकाशबाट । शान्त भू-प्रदेश, तपस्वीका लागि निर्जन-एकान्त शान्त प्रदेशझैँ अनुभव हुन्छ ।

रातो, हरियो, नीलो रङ प्रयोगका लागि कतैकतै खेतवारी, गाउँघर खोज्नु पर्छ, वनस्पतिमा अधिकांशरूपमा लहरे पीपल पाइन्छ । यस प्रदेशका मानव आकृति र उनीहरूको भेषभूषाको चित्र-निर्माणमा पनि स्थानीयता पाइन्छ । अर्थात् मानव मुहार, टोपी, बख्खु, दोचा अनि घरहरूको बनोट र निर्माणमा पनि सहरी क्षेत्रको भन्दा फरक, आफ्नै मौलिक रूप देखिन्छ । स्थानीयताको राम्रो परिचय दिन्छ र प्रतिनिधित्व गर्छ । निर्मित चित्रको आकर्षण र सौन्दर्य अन्य स्थानको भन्दा एकदम भिन्न हुन्छ । त्यस अर्थमा प्रतिनिधित्व गर्ने रङरूप आकारले निजत्व प्रदर्शन गर्दै दर्शकले चित्रको अवलोकन गर्दा रङरूप आकारमात्र नहेरी चित्र स्रष्टाको भावभूमि, अवधारणा, अनि विषयवस्तुको छनोट, प्रस्तुति, तात्पर्य वा उद्देश्य, प्रतीक तथा विम्ब आदि पनि पढ्नु र बुझ्नु आवश्यक छ । यसका साथै रङहरूको अर्थ रङ विन्यास बुझ्न सके चित्रबाट विशेष अनुभूति र आनन्द प्राप्त गर्न सकिन्छ । चित्रमा भएका रङहरूको आफ्नै शब्द र भाषा अनि वाक्यविन्यास छन् । रङको आफ्नै व्याकरण हुन्छ । आकृति अनि रूपहरूको सौष्ठव, लय, लयात्मक, दूरानतरता, गहिराइ रङविन्यास आदि बारे ज्ञान भएमा सिर्जित चित्रबाट भावनात्मक आनन्द प्राप्त गर्न सकिन्छ । चित्रको अवलोकन अनि अध्ययन यसको व्याकरणको आधारमा गर्न सकियो भने चित्रको सौन्दर्यपक्षले दर्शकको मनमस्तिष्कमा अविस्मरणीय प्रभाव पार्छ, जुन प्रभावबाट एक प्रकारको सौन्दर्यानुभूति दर्शकको मनमस्तिष्कमा आइरहन्छ, दोहरिइरहन्छ । राम्रो र सफल चित्रले दिने भनेझँै एक प्रकारको गहन प्रभाव र सौन्दर्यानुभूति हो ।

चित्रमा प्रस्तुत गरिएका आकृति र रूपहरूले त्यस राष्ट्रको कुनै स्थानीयताको प्राकृतिक, भौगोलिक, सामाजिक पक्षको प्रतिनिधित्व गरेको भनेर बुझ्न सकिन्छ । यी तत्त्वहरूले तत्कालीन समय अनि मानव-समुदायको दर्शन प्रस्तुत गर्छन् । चित्र-स्रष्टाले आफ्ना चित्रहरूमा अग्रज चित्रस्रष्टाहरूको प्रभावबाट मुक्त भएर आफ्नै सोच, भावभूमि, अवधारणाअनुसार नवीनता, सिर्जनात्मकता, निजत्व प्रस्तुत गर्न सक्नु नै स्रष्टाको व्यक्तिगत वा निजी मौलिकता हो ।

चित्रका लागि दृश्य र विषय छनोट, रङ प्रयोग, प्रस्तुतिको दृष्टिले चित्रकार एक जना स्रष्टाका साथै कुशल सम्पादकको रूपमा पनि आउनु आवश्यक छ । सम्पादक के अर्थमा स्थानको छनोट अनि भू-दृश्यमा भएका सौन्दर्ययुक्त विषयवस्तु मात्र प्रस्तुत गर्न सक्छन् । चित्रमा बाधा पर्ने वा सौन्दर्यपक्षमा व्यवधान देखिने वस्तु हटाउन सक्छन् । यहाँ नै सिर्जित चित्र र फोटोमा मूलभूत फरक देखिन आउँछ ।

यस्तैयस्तै सोच, भावभूमि, अवधारणाअनुसार चित्र सिर्जनाका लागि आफ्नो विचार-अनुभूति अभिव्यक्त गर्न तथा स्थानीयताका सभ्यता, संस्कृति, प्रकृति-भूगोलको पृष्ठभूमिमा आधारित चित्र सिर्जना गर्न पाइएला भनेर मेरा पाइला सोलु, सल्लेरी पनि पुगे ।

सोलु, सल्लेरी सगरमाथाको जिल्ला, उत्तरमा हिमालय प्रदेश, दक्षिणमा हरियो वन प्रदेश, त्यहाँका हिमपर्वतका आकार रूप अन्य हिमशिखरभन्दा फरक । भू-वनोटले पहाडका आकार, खोँच भिन्नै प्रकारका लाग्छन् । बजारका घरहरू अधिकांश मात्रामा सल्लो काठका, छाना पनि कतै सल्लोका त कतै पातलो ढुङ्गा छन् । पृष्ठभूमिमा हिमाच्छारित हिमपर्वतका भूभाग, वनपाखामा कतैकतै छरिएका रुखलहरा त कतिपय ठाउँहरूमा खस्रो, फुस्रो ढुङ्गे माटो पाइन्छ । सूर्योदय अनि सूर्यास्तका समयमा प्रकाश र छायाँ अनि बादल र वातावरणले पृष्ठ भागको आकाशको रङ र दृश्य फरक लाग्छ । कहिले गहन-गहिरो नीलो रङ त कहिले खुल्ला उज्यालो वातावरण बादलका लहरिँदा भुवादार चँदुवा । कुनै पर्वतस्थलबाट सगरमाथा, नुप्से पर्वत शृङ्खला चित्रित गर्न सकिन्छ भने पहाडका मध्यभूभागबाट नुम्बुर हिमशिखर, स्तूप, बजार, गाउँघर अनि ढुङ्गे चट्टान र फुस्रो-पाखा चित्राङ्कन गर्न मिल्ने । ढुङ्गाबाट निर्मित ठूलासाना माने (स्तूप) हरूमा रङ भर्न पाइने । तल पहाड फेदीमा अविरल बग्ने नदी, ढुङ्गे बगर, बगरका वनस्पतिका बुट्यान ! अनौठो प्रदेश, स्वप्निल भू-प्रदेश, जीवन्त स्थल, प्रकृतिका विविधता !

शेर्पा जातिका अनुहार र वस्त्राभूषणमा रङीनता, भू-प्रदेश आकषिर्त र सौन्दर्ययुक्त मादकता पाइन्छ । एक जना चित्रस्रष्टाले स्थानीयताका चित्र संरचना र संयोजनका लागि विविध पक्षका चित्र सिर्जना गर्न सक्छन् । यथार्थमा भू-दृश्य चित्र, मानवरूप, आकृति, रङीन वस्त्राभूषण चित्रमा प्रतिनिधित्व गराउन सकिन्छ भने हिमशिखर अनि नदीका बगरबाट मूर्त-अमूर्त चित्र सिर्जना गर्न सकिन्छ । चित्रका विषयवस्तुमा विविधता र स्थानीयता ल्याउन सक्छन् । चित्र संरचनामा बहुरङको प्रयोगले दर्शकलाई आकषिर्त गर्न सकिन्छ ।

चित्र स्रष्टाको विचार-खोजी, भावभूमि र अवधारणा अनि चित्र संरचनामा प्रस्तुत भएका रङरूप आकार, विषयवस्तु, प्रस्तुतिले स्रष्टाको तात्पर्य, उद्देश्य, परिश्रम राम्ररी अध्ययन गर्न सकिन्छ । चित्रबाट स्रष्टाको नवीनता र व्यक्तिको परिचय राम्ररी प्राप्त गर्न सकिन्छ । चित्रकार स्रष्टा हुन् । यस अर्थमा उनको भावना अनुभूति चित्रमा कसरी अभिव्यञ्जित भएको छ भन्ने बुझ्न चित्रलाई गहन रूपमा अध्ययन गरेर विश्लेषकको दृष्टिले हेरेमा चित्रमा भएका रङ आकृति, प्रतीक वा विम्बले स्रष्टाको तात्पर्य र चित्रको अर्थ राम्ररी अध्ययन गर्न सकिन्छ । चित्रले आफ्नो भाषा बोल्छ, दर्शकले त्यसलाई बुझ्नु आवश्यक छ ।

सिर्जित चित्रको नेपथ्य वा अदृश्य भागमा चित्रस्रष्टा रहन्छ, अर्थात् स्रष्टाको सोच, भावभूमि, अवधारणा, तात्पर्य परोक्षरूपमा रहन्छ । यसैले सिर्जित चित्र अनि स्रष्टा दुवैलाई समन्वयात्मक दृष्टिले गहन अध्ययन गर्नु आवश्यक छ । यस प्रकारको अवलोकन र अध्ययनले दर्शक चित्रबाट प्रभावोत्पादक अनुभूति र रसास्वादन प्राप्त गर्न सक्छन् । चित्रले कुन स्थानीयताको प्रतिनिधित्व गरिहेको छ बुझ्न सकिन्छ ।

कुनै पनि चित्र स्रष्टाले अर्थात् जुनसुकै राष्ट्रका स्रष्टाले आफ्नो चित्रमा उनको देशको आकाश, भू-वनोट, नदीनाला, वनजङ्गल, पाखापर्वत, मानवीय आकृति, जीवजन्तु आदिबारे प्रस्तुत गर्न सक्छन् । साथै परोक्षरूपमा त्यस देशको सभ्यता, संस्कृति, व्यवसाय, जीवनस्तर, क्रियाकलाप पनि प्रस्तुत गरिरहेको हुन्छ । चित्र स्रष्टाले त्यस राष्ट्रको प्रतिनिधित्व गरिरहेको हुन्छ । कुनै पनि चित्र हेरेर अध्ययन गरेर यो चित्र फलानो देशको चित्र हो भन्न सकिन्छ भने त्यस राष्ट्रबारेको ज्ञान पनि दर्शकले पाउन सक्छन् । चित्र र स्रष्टा दुवैले त्यस राष्ट्रको प्रतिनिधित्वको काम गर्छन् ।

हाम्रो स्रष्टाहरूका चित्रहरूमा पनि आफ्नै राष्ट्रको स्थानीयताको पृष्ठभूमि प्रत्यक्ष वा परोक्ष रूपमा झल्कनु आवश्यक छ । अधिक सङ्ख्यागत चित्र सिर्जनाले मात्र चित्रकार सफल बन्न सक्तैन । सफल चित्रका गुणस्तरका आफ्नै लय, लयात्मकता, सौष्ठव, सौन्दर्य, प्रभाव, प्रस्तुति, संयोजन आदिका विविध पक्ष वा दृष्टि छन् । कुनै पनि चित्रको एउटा केन्द्रविन्दु लिएर चित्रलाई बारम्बार अध्ययन गर्न सकियो भने चित्रले यस राष्ट्रका स्थानीयताका कतिपय पक्षहरूको प्रतिविम्ब प्रस्तुत गरिहेको हुन्छ ।

यस सन्दर्भमा साहित्य वा चित्र ऐना मात्र होइन, ऐनाभन्दा व्यापक-विशाल विषय हो । ऐनामा प्रतिविम्ब मात्र हेर्न सकिन्छ, फोटोमा यथार्थका प्रतिछाप वा छायाँ ल्याउन सकिन्छ तर स्रष्टाका कल्पना, धारणा, सिर्जनात्मकता, नवीनता, शैली, व्यक्तित्वको अनुपस्थिति रहन्छ । यसैकारण स्रष्टा सिर्जित कृति व्यापक-विशाल प्रतिनिधिमूलक भनिएको हो । सिर्जित रचनामा विम्ब, प्रतीक आदिको प्रयोगले स्रष्टाको व्यक्तित्व निजत्वको प्रतिछाप पनि अपरोक्षरूपमा हुन्छ ।

स्रष्टाबाट सिर्जित कथा, कविता, चित्रले विषयवस्तुको जस्ताको तस्तै छायाँ वा छाप विवरण प्रस्तुत गर्दैन, व्यापक अर्थमा भन्न खोज्दा सिर्जित कथा कविता, चित्रले त्यस राष्ट्रको कुनै स्थानीय पक्ष, प्रकृति, भूगोल सामाजिक, सांस्कृतिक स्थिति, व्यवसाय आदिको चित्राङ्कन साथ स्रष्टाको मनमस्तिष्कको भावना झल्काउँछ । यस्ता कृतिमा मानवीय संवेदना स्पन्दन, जीवन्तता अदृश्यरूपमा आउँछन् ।

मधुपर्क २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *