उहाँको पिताजी ज्यादै रिसाहा र जण्ड स्वभावको हुनुहुन्थ्यो । पिताजीको रिसको भुङ्ग्रोमा उहाँ कारण-अकारण बारम्बार माछो बन्नुहुन्थ्यो ।
संस्कृतका श्लोकहरू घोकेर रिठ्ठो नबिराई कण्ठस्थ सुनाउनुपर्ने, बाहिर निस्किएर घुम्न-खेल्न पिटिक्कै नदिने, केटाकेटी हो त्यसै अनुसारको व्यवहार गर्नु पर्छ भन्ने त पिटिक्कै थिएन । जन्मेको चार वर्ष पुग्दानपुग्दै मातृत्वविहीन बन्नुपरेको अवस्थामा हजुरआमाको हेरचाहमा हुर्किनुभएको उहाँमा बाल्यकालभर बालसुलभ उत्साह-उमङ्ग नै आएन । उहाँ एघार वर्षको पुग्दानपुग्दै पिताजीको असामयिक निधन भएपछि दुःखका दिन झन्झन् कष्टकर हुन थाले । आमा नहुनुको पीडा भोगिसकेपछि बाबु नहुँदा उतिसारो असर नपरेको उहाँको जीवनको अनुभव छ र उहाँ
भन्नुहुन्छ -“बुबा जीवित नै हुनभएको भए सायद म घरमा हुने थिइनँ । वृन्दावन, मथुरा अथवा त्यस्तै कतै पुग्थेँ हुँला र परिस्थितिले पण्डित, जोगी वा मगन्ते केही बनाउँथ्यो होला ।”
वि.सं. १९९० पुस १७ गते पूणिर्माका दिन मकवानपुर जिल्लाको चण्डिनीमा पिता तीर्थराज उपाध्याय र माता प्रेमकुमारीबाट जन्मिएको बालक धनराज घिमिरे यतिबेला केशवपसाद उपाध्यायको नामबाट यत्तिको हुन सकेकोमा सन्तुष्टि व्यक्त गर्नुहुन्छ । जन्मले मकवानपुरे भए पनि तीन महिनाको बालक हुँदै बसाइँ-सराईमा परेर बारा जिल्लाको कलैया निवासी हुनु पुग्नुभएको थियो । छ वर्षको उमेरमा सिद्धेश्वर संस्कृत विद्यालयमा आफैँ भर्ना हुन गएको सम्झना उहाँमा ताजै छ । सिद्धेश्वर विद्यालय स्थापनाका लागि उहाँका पिताजीले पनि १० कठ्ठा जग्गा स्कुललाई दान दिनुभएको थियो तर पनि छोरालाई स्कुल भर्ना गरिदिउँ भन्ने पनि थिएन, आफैँ गएर भर्ना हुँदा पनि किन गइस् भनेर सोधेको होइन । बरू हजुरआमाले चाहिँ भन्नुभएथ्यो अरे-ल नाति धेरै पढेर पुराण भन्ने पण्डित हुनुपर्छ है ।
बाल्यकालमा धेरै दुःखकष्ट भोग्नु परेका सम्झनाले उहाँलाई अझै पनि पिरोन्छन् अरे । सानैदेखि जिम्मेवारीबोध, आफ्नालागि भन्दा अरूका लागि केही गर्नैपर्ने दायित्वबोध, धेरै कारणहरूले थिचिनुकै परिणामस्वरूप हुनपर्छ, अहिले पनि झट्ट देख्नेले उहाँलाई चिन्तित, दुःखी र घुलमिल नहुने स्वभावको एकलकाँटे देख्न सक्छन् । यो अनुमानमा उहाँ थप्नुहुन्छ- हो, यो मेरो बालककालदेखिकै स्वभाव हो । अन्तरमुखी नै हुँ । साहित्यकार प्रेमचन्द ठूला साहित्यकारहरूकहाँ जान धक मान्थे अरे, म पनि त्यस्तै छु । बाल्यकालमा आमाको माया नपाउँदा आत्मबल गुम्ने, साहस नहुने र अपहेलितझै लाग्दोरहेछ । आर्थिक अभाव, चिन्ता, किताब किन्न नसक्दाको पीडा मसँग जति छन्, अरूसँग सायदै होलान् । शास्त्रीसम्म अरूकै किताब पढेर पार भएँ । किताब पढेर उनीहरूलाई पनि व्याख्या गरिदिन्थेँ । अङ्ग्रेजी किताब पढ्न मन लाग्दा पुस्तकालयमा चाहार्नु पथ्र्यो । विद्यार्थीकालको किताब किन्न नसक्दाको पीडामा पछि केही सक्ने भएपछि एउटा/दुइटा गर्दै किनेर मल्हम लगाएको छु । विलियम हेनरी हड्सनको साहित्य-दर्शन किताब त पछि आफूले लेख्न थालेपछि गुरुग्रन्थ नै मानेको छु ।
हजुरआमाले ‘पण्डित भएस है’ भन्दा उहाँ ‘नाइँ म त मास्टर हुन्छु’ भन्नुहुन्थ्यो अरे । पछि पढ्दै जाँदा पनि सरकारी जागिर खान सक्दिन भन्ने लाग्न थाल्यो । विवाह गरेपछि र गर्भमा बच्चा आएपछि उहाँमा अचानक जिम्मेवारीबोध भएको र जागिरको खोजीमा भौँतारिँदा भौँतारिँदै आफन्तकै जोडबलले पुरानै थलोमा पढाउन पुग्नुभएको थियो । हो, उहाँले मास्टरी पनि धित मर्ने गरी, जीवनभर नै गर्नुभयो । वि.सं. २०११ सालदेखि थालेको मास्टरी लगातार ४४ वर्षसम्म चलिरहृयो । ३०/४० रुपियाँ तलबबाट थालेको मास्टरी शास्त्री पूरा भएपछि ९० रुपियाँ तलब पुगेको थियो । मकवानपुर, तौलिहवा, रौतहट हुँदै क्याम्पस पढाउन चाहिँ वि.सं. २०१८ सालमा महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा पुग्नु भयो । त्यहीँबाट उहाँको साहित्यिकलेखन प्रारम्भ भएको मान्नुहुन्छ उपाध्याय ।
आफ्नो साहित्यिकलेखनका सम्बन्धमा उहाँ भन्नुहुन्छ- लेख्न त वि.सं. २०११ सालमा कविताबाटै प्रारम्भ गरेको हो तर त्यतिबेला संस्कृतमा, हिन्दीमा, भोजपुरीमा लेख्थेँ । कथा, निबन्ध पनि लेख्न थालिसकेको थिएँ । वि.सं. २०११ सालको अन्तिमतिर म शिक्षकको नर्मल तालिम लिन काठमाडौँ, ताहाचल आएको बेला कविवर माधव घिमिरेसँग सम्पर्क भयो । उहाँले मेरा रचनाहरू हेरेर पद्यभन्दा गद्यमा लाग्न सुझाव दिनुभयो र कथालेखनतिर लागेर बीस-पच्चीस वटा कथा पनि लेखेँ । सङ्गृहीत नगरेकाले ती कथाहरू त्यत्तिकै रहे । कलैया छँदा गिरिलाल कण्ठको उत्प्रेरणा प्राप्त भयो । उनी धेरै पढ्थे । अर्का मुकुटलालीधर लाल पनि हिन्दीका पत्रपत्रिकाहरू खुब पढ्थे । साहित्यिक कृतिहरू पनि उनीहरूसँग प्रशस्तै हुन्थे । हिन्दीका विद्वान् डा. हजारीप्रसाद द्विवेदीका लेख मलाई पढौँपढौँ लाग्ने । पढाउन थालेपछि झन् धेरै पढ्नपर्यो । त्यसपछि हेनरी हड्सनको किताबलाई गुरुग्रन्थ मानेर पढ्न-लेख्न थालेँ । भनिहालेँ नि, राजविराज पुगेपछि साथ-सङ्गत फेरियो । वि.सं. २०१९ सालको कुरा हो, त्यहाँ शिशुप्रसाद देवकोटा र जगत्रञ्जनले ‘खुड्किलो’ नामक पत्रिका निकाल्थे । जगत्रञ्जन त सायद भूमिगत अवस्थामा थिए । उनी लुकेर पढाउँथे । त्यो पत्रिकामा मलाई स्तम्भ लेख्न नै दिए । त्यसमा लेखेको पहिलो रचना ‘साहित्यकारहरूको दायित्व’ शीर्षकको थियो । त्यसपछि लेखनाथको ‘तरुण तपसी’ माथिको समालोचना लेखेँ । मलाई अहिलेको समालोचक बनाउनेमा यिनीहरूकै ठूलो भूमिका छ । ‘साझा समालोचना’ मा वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानले गोपालप्रसाद रिमालको आमाको सपना कृतिमाथिको समालोचना राखेको पनि मैले पछि मात्रै थाहा पाएथेँ । रूपरेखाले मलाई मोफसलबाट राष्ट्रियस्तरमा ल्याइदिएको हो ।
वि.सं. २०१५ सालमा साहित्याचार्य गर्नुभएका उपाध्यायले वि.सं. २०२४ सालमा नेपालीमा स्नातकोत्तर गर्नुभयो । उहाँलाई डा. हजारीप्रसाद द्विवेदीका लेखहरू पढ्दा ‘विद्यावारिधि गर्न पाए त !’ भन्ने मोह जागेको थियो तर बाटो पहिल्याउन सजिलो थिएन । उहाँ विद्यावारिधि प्रसङ्गको रामकहानीको पोको फुकाउनुहुन्छ- मेरो सोचाइ त खण्डकाव्यमा गर्ने थियो तर कसरी गर्ने ? वसाई राजविराज छ, शोध-अनुसन्धान गर्नुभन्दा पनि प्रक्रियाहरू पुर्याउनै पो गाह्रो थियो । एकपटक काठमाडौँ आएका बखत वासुदेव त्रिपाठीसँग भेट भयो । उहाँले पनि विद्यावारिधि गर्न सल्लाह दिनुभयो । त्यसपछि विभागीय प्रमुख ताराप्रसाद जोशीकहाँ पुगेँ । उहाँले मलाई निकै पेलेर व्यवहार गर्नुभयो र दुरुत्साहित पार्नुभयो । त्यसपछि राजविराज फर्किएँ । दोस्रोपटक काठमाडौँ आउँदा त्रिपाठीसँग फेरि भेट भयो । उहाँले म लेखनाथको कवित्वबारे शोधकार्य गर्दैछु, कुमारबहादुर जोशी महाकवि देवकोटाको कवित्वबारे गर्दै हुनुहुन्छ, तपाईंले समको नाट्यकारिताबारे गर्नुहोस् भन्नुभयो । मैले पहिले तपाईं सक्नुस्, त्यसपछि म थालौँला भनेँ । पछि तत्कालीन डीन डा. पार्थिवेश्वर तिमिल्सिना र डा. त्रिपाठी राजविराज जानुभएको बेला विद्यावारिधि दर्ताको फारम नै लिएर जानुभएको रहेछ । उहाँहरूले नै समको नाट्यकारिताबारे दर्ता गराइदिनुभयो । मलाई त खण्डकाव्यमा गर्ने सोच थियो । यता मोहनहिमांशु थापाले समका नाटकबारे दर्ता गराइसकेका पनि रहेछन् । त्यसैले पछि शीर्षक बदलेर समका दुःखान्त नाटकबारे अध्ययन गरेँ र त्यसैमा पार लगाएँ । खै, किन हो मलाई धेरैले सहयोग पुर्याएका छन् तर मैले उहाँहरूलाई केही गर्न सकिनँ ।
समालोचना रुखो मात्र नभएर छुच्चो, अब्जस्या विधा पनि हो । राम्रैराम्रो लेखिदिए खुसी हुने, दोषपक्ष लेखिदिए रिसाउने । उहाँले धेरै समालोचना लेख्नुभयो । वि.सं. २०३० सालमा ‘साहित्य प्रकाश’ कृति प्रकाशित भएयता एक दर्जनको हाराहारीमा समालोचनात्मक कृतिहरू प्रकाशित भइसकेका छन् । वि.सं. २०५५ सालमा ‘दुःखान्त नाटकको सिर्जन परम्परा’ नामक कृतिले त मदन पुरस्कार नै पायो । समालोचनाकै कारण कसैसँग अप्ठ्यारो परेको छ कि छैन त उहाँको भनेर जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ-मैले त्यस्तोविधि आक्रामक र छुच्चो लेखिनँ । एकजना रत्नध्वज जोशीसँग चाहिँ केही ठाकठुक भयो । जवानीका बेला कुनै ठाडो लेखाई पनि भयो होला तर पछि नरम गर्दै लगेँ । कहिले कहीँ मभित्र पनि तारानाथ पस्थे र खरो हुन्थेँ । तर मलाई निष्पक्ष समालोचक नै भने । मेरो समालोचना ठीक हो कि होइन, भयो कि भएन, त्यो छुट्याउने जिम्मा पाठकको हो । मैले त यस्तो पो लेखेको थिएँ, समालोचकले त अर्कै पो अथ्र्याइदिए भन्ने लेखक पनि छन् हामीकहाँ । अहिलेका उत्तरसंरचनावादी, विनिर्माणवादीहरूले लेखकको मृत्यु भन्छन् । हाम्रा शास्त्रले त पहिले नै भनेका थिए- ‘कवि करोति काव्यानी, रसं जानन्नि पण्डिता ।’ अर्थात् कविले कविता लेख्ने हो, अर्थ र रस निकाल्ने त पण्डित-विद्वान ले हो । उत्तरआधुनिकतावादीहरूको मर्म पनि यही हो । सिर्जनामा विभेद हुनुहुँदैन भन्ने समालोचकीय दृष्टिकोण ल्याउनुको कारण सिर्जना र समालोचनालाई एउटै तराजुमा जोख्नुपर्छ भन्ने हो ।
आफ्नै गुरुहरूको जीवनशैली हेरेर शिक्षण पेशाप्रति आकषिर्त हुनुभएको डा. केशव उपाध्यायलाई जीवनका ४४ वर्षसम्म निरन्तर पढाएर पनि अझै यो पेशाप्रति धित मरेको छैन । उहाँ भन्नुहुन्छ-विद्यार्थीहरू देख्नासाथ जोस आउँछ । अझै पनि मेरो कार किन्ने हैसियत भए हप्ताको दुईचार पिरियड पढाउन जान्थेँ । उहाँ आफ्नो लेखनीलाई नामको लागि भन्नुहुन्छ । आफ्नै साथीहरूले पनि कलमको भरमा लाखौँ कमाएको देख्नुभएको छ । आफूले कमाउन नसकेकोमा ग्लानिबोध छैन तर पनि साझा प्रकाशनले छापेका कृतिहरूको रोयल्टी वाषिर्क १५/१६ हजार आउँछ उहाँलाई । यो रोयल्टी उहाँलाई ‘साहित्य प्रकाश’ बाट ज्यादा आउने हो । सबै कुरा आ-आफ्नो क्षमता अनुसार हुने हो तर पनि साहित्यमा लागेर श्रद्धा, मान-सम्मान र नाम पाएकोमा ठूलो उपलब्धि मान्नुपर्छ भन्नुहुन्छ उहाँ ।
नेपाली साहित्यमा अन्य विधाहरूको तुलनामा नाटकविधा अगाडि आउन नसकेको जस्तो अनुभव हुन्छ । उहाँको दृष्टिमा केलाउँदा-‘नाटक भन्नु नै रङ्गमञ्च हो । पश्चिमाहरूले त रङ्गमञ्च नै भन्छन् । नाटक सबैले लेख्न सक्दैनन्, लेखेका पनि सफल हुँदैनन् सबै । पाठ्यनाटकले सन्तुष्टि दिदैनन् । नाटकमा नाटकीयता चाहिन्छ, अभिनय हुनुपर्छ । रङ्गमञ्चमा रङ्गकर्मीले व्यक्तित्व देखाउन सक्ने खालको लेखिनुपर्छ । त्यसैले त सयको सङ्ख्यामा मात्रै होलान् अहिलेसम्मका पूर्णाङ्की नाटक । एकाङ्की त धेरै होलान् । हामीकहाँ रङ्गमञ्चको कमी छ, नाटकमण्डली सीमित छन् । यत्तिकैमा पनि केहीले कमाइ खाने भाँडो बनाएका छन् । उनीहरू विदेशीको सहयोगमा विज्ञापन नाटक गरिरहेका छन् ।’
उहाँ अग्रज समालोचकका नाताले युवापुस्ताका नाटककारहरूलाई प्रोत्साहन गर्नतिर लाग्नुभएको छ । रुचि नाटककै बारेमा लेख्ने, खोज-अनुसन्धान गर्ने छ तर बीचमा अड्चनहरू आइदिन्छन्-‘कसैले आग्रह गर्छन्, यस्तो लेखिदे भन्छन् । व्यवहार हो, मिलाउनै पर्यो । मूल एउटा काममा लागेकालाई अरूले विथोल्दारहेछन् । हात हालेका काम नसक्दा पीडादायी हुन्छ ।’
प्रज्ञा प्रतिष्ठानमा विताएको पाँच वर्षलाई उहाँले उकुसमुकुसमा वितेको समयका रूपमा लिनुभएको छ । आफ्नो भागको विभागमा आएको जम्मा दुई लाखको बजेट पनि आधाआधा चलाउनुपरेको, बाठो हुँ भन्नेहरूले बीचैमा त्यही पनि उडाइदिने, केही न केही, फास्स न फुस्स भएकोले कुनै राम्रो काम गराउन नसेकेकोमा दुःख लागेको छ उहाँलाई ।
उहाँलाई देख्नेहरूले यसको जीवनमा दुःखैदुःख मात्र परेका छन् भनेर लख काट्न सक्छन् तर सुखभोग गरेकाहरूलाई पनि कहाँ सुखैसुख हुन्छ र ! त्यसैले त-‘जीवनमा सुख भन्ने कुरा एकमुष्ट आउँदैन, किस्ताबन्दीमा आउँछ’ भनेर कुनै विद्वानले भनेका कुराको घत उहाँलाई परेको छ । उहाँको जीवनमा पनि किस्ताबन्दीका केही सुख आए-‘म्याटि्रक पास गर्दाको खुसी, आचार्य प्रथमश्रेणीमा गर्दाको, पहिलो लेख छापिँदाको’ पहिलो किताव प्रकाशित हुँदाको, विद्यावारिधि गर्दाको, सन्तान प्राप्तिको, मदन पुरस्कार पाउँदाको, प्राज्ञ बन्दाको खुसी । खासखास उपलब्धिमा खुसी हुइँन्छ तर मेरो हकमा चाहिँ समग्रमा भन्नुपर्दा म धेरै आहृलादित नहुने मान्छे हुँ र वाल्यकालका घटनाक्रमले पनि यसमा भूमिका खेलेका हुनसक्छन्’ उहाँको अनुभवमा ।
उहाँको यो समय भनेको विश्राम र आराम गर्ने समय हो । शरीरले केही स्थायी रोगहरू पनि पाएको छ तर पनि उहाँ अहिलेको चल्तिको बहसको विषय उत्तरआधुनिकतावादका बारेमा गहिरो अध्ययनमा लागिरहनुभएको छ । आधुनिकता-उत्तरआधुनिकता-उत्तरसंरचनामा घोत्लिइरहनुभएको छ । भन्नुहुन्छ- म संस्कृत पढेको मान्छे भए पनि केही अङ्ग्रेजीका किताव पनि पढेको छु । वास्तवमा यो के हो त ? हाम्रो उही ‘कवि करोति काव्यानी, रसं जानन्ति पण्डिता’ मा डेरिका कति फरक छन् त भनेर पढिरहेको छु । गोपीचन्द नारायणको कितावलाई आधार मानेर आफ्नो बुझाइको निष्कर्षको पुस्तक तयार पार्ने योजना छ । त्यसपछि आत्मकथा लेख्नेतिर लाग्नुपर्ला ।
नेपाली साहित्यमा लागेको त्यत्तिको उचाइमा पुगेको व्यक्तित्वको घर-कोठामा सम्मान र प्रशंसापत्रहरू अटाईनअटाई हुनुपर्ने हो । धेरैका घरमा त्यस्तो देखिन्छ तर उहाँकोमा त्यस्तो देखिएन । उहाँ भन्नुहुन्छ-मेरा पनि २०-२५ वटा त होलान् नै । मान-सम्मान विभिन्न कारणले पाइन्छ । भावनाले दिएको राम्रो हो । यहाँ त राजनीति र तँ-म को लेनदेनले पनि दिइन्छ । त्यो ठीक होइन । मोहन कोइराला राष्ट्रिय पुरस्कार नै नपाई मर्नुभयो । म पनि त्यो पाउने हैसियतमा पुगेको छैन । लेख्दैछु, लेख्ने आफ्नो धर्म हो, मूल्याङ्कन गर्ने जिम्मा पाठकलाई छोडौँ ।
मधुपर्क २०६८ बैशाख
