केही वर्षयता इन्टरनेट सञ्जालभित्रको फेसबुकले साहित्य प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको यथार्थ यस प्रविधिसँग नजिक रहेका सबैसामु जगजाहेर नै छ । आफ्ना अनुभूतिहरू एक-अर्कामा बाँड्न चाहनेहरूका लागि सहज माध्यम बनेको फेसबुकले केही राम्रा साहित्यकारहरू पनि जन्माएको देख्न सकिन्छ । पत्रपत्रिकामा सिर्जनाहरू नछाप्पिई स्थापित साहित्यकार बन्न सकिँदैन भन्ने अघिल्लो मान्यतालाई पछिल्ला प्रविधिहरूले बदलिदिन थालिसकेका छन् । यसैको एक उदाहरणको रूपमा लिन सकिन्छ साहित्यकार उमा सुवेदीलाई । रोजगारीको खोजीमा ठूलो आँट र हिम्मतका साथ विदेशिएकी चेली यहाँ छउञ्जेल साहित्यिकवृत्तमा चर्चा थिइनन् । विदेशी भूमिमा रहँदाका पीडा, व्यथा, स्वदेशको सम्झना, आफन्त र परिवारबाट टाढा रहँदाको एक्लोपनको न्यास्रोलगायतका कुराहरूबाट निचोरिएर गजल र गीतहरूका माध्यमबाट केही अघिदेखि फेसबुकमा पोखिन थालेकी थिइन् । तिनै सिर्जनाहरूको सङ्ग्रहका रूपमा भर्खरै प्रकाशित भएको छ गजलसङ्ग्रह-तप्किएर अञ्जुलीमा । अहिलेको फस्टाउँदो लेखनका रूपमा लिइन्छ गजललाई । यसले गीतको अस्तित्वलाई पनि आफूमा केही हदसम्म समाहित गरेर अघि बढिरहेको छ । अर्थात् गजललाई पनि गीतको अस्तित्वमा ढालेर गाउन थालिएको छ र सङ्गीत एवं गायनले श्रोताका मन-मस्तिष्कमा प्रभाव पार्न सफल भइरहेको छ । उमाको यस भित्रका पचास वटा गजलहरूमा प्रारम्भमा रहेको छ ‘विश्वव्यापी प्रथम नेपाली अनलाइन रेडियो गजल प्रतियोगिता २०६६’ मा प्रथम भएको गजल । यो गजलले विदेशिनु पर्दाको पीडा र यथार्थ बोलेको छ –
परदेशमा दुख्यो मन दुखाएर रोएँ
परेलीमै सबै आँसु लुकाएर रोएँ
वाध्यतामा विदेशिएँ रहर हैन मेरो
ऋणमाथिको घाउ फेरि उप्काएर रोएँ ।
साच्चै भन्नुपर्दा यतिबेला पचास लाखको हाराहारीमा नेपालीहरू विदेशी भूमिमा विभिन्न काम, अध्ययन र भूमिकामा होलान् । रहरले जानेहरूको सङ्ख्या कति नै होला र यसमा ? बाध्यता धेरै थरि होलान् । उमाकै गजलको जस्तो वाध्यता हुनेहरूको सङ्ख्या पन्चान्नबे प्रतिशतभन्दा बढी अवश्य छ ।
गजलको महत्त्वपूर्ण पक्ष भन्नु नै शृङ्गारिक हो तर पछिल्लो समयमा आएर राजनीतिक विकृतिका सन्दर्भमा पनि प्रशस्तै गजलहरू लेखिएका छन् । उमाका एकाध गजल यस्ता भए पनि अधिकांश गजलहरू माया, प्रेम, रतिराग, नारी उत्कण्ठा, देशप्रेम, समानता, एवं शान्तिको कामना गरिएका भावका छन् । उनका गजलमा नारी अस्मिताको खोजी गरिएको पनि पाइन्छ । गजल विधानका आधारभूत तत्त्वहरूसमेत समातेर लेखिएकाले उनका गजलमा सित्तिमित्ती ठेस लागि हाल्दैन । अर्थात् उनी यो पहिलो सङ्ग्रहबाटै गजललेखनका क्षेत्रमा स्थापित हुन सफल भएकी छिन् ।
उनले गजलमा वसन्तको वहार प्रेम, आदिकवि भानुभक्त आचार्यप्रति सम्मान र भाषाप्रेम एवं मातृभूमिको प्रेम एकसाथ प्रकट गरेकी छिन् । नारीपुरुष समान हुन् भन्दै गजलमा पोखिएकी छिन् –
नियतिको भर परी रुँदै बसे हार हुन्छ
सङ्घर्षमा उत्रिए पो जिन्दगीको सार हुन्छ
अन्ध परम्परा अब तोड्नै पर्छ सबै मिली
दुवै पाङ्ग्रासँगै गुडे जीवन कहाँ भार हुन्छ ?
कोमल मन र हार्दिक आग्रहयुक्त हृदयसंवेद्य भावहरू पोखिएका गजलहरूको यो सङ्ग्रहमार्फत् उमाको आगामी यात्रा सुखद हुनेमा आशावादी हुन सकिन्छ ।
कृति ः तप्किएर अञ्जुलीमा (गजलसङ्ग्रह)
गजलकार ः उमा सुवेदी
प्रकाशक ः अनाममण्डली
प्रकाशन ः २०६७, कात्तिक
पृष्ठ ः ६४
मूल्य ः रु. ४५।-
मधुपर्क २०६८ बैशाख
