Skip to content


“तपाईं किन लेख्नुहुन्छ?” पत्रकारले बारम्बार सोध्ने प्रश्न हो यो। केही घटना, विषय या उद्देश्यभित्र कतै स्पर्श गर्छ, विचार एवं भावनाहरू उद्वेलित हुन्छन्, तिनलाई व्यक्त गर्न नपाउञ्जेल एकप्रकारको छटपटी, पीडाजस्तो अनुभव हुन्छ। त्यही पीडा र उकुसमुकुसबाट मुक्त हुन म लेख्ने गर्छु। अभिव्यक्त गर्न पाउँदा सन्तोष, एक प्रकारको आनन्दको अनुभव हुन्छ, त्यसैले म लेख्ने गर्छु। मैले दिँदै आएका चलनचल्तीका उत्तरहरू यिनै हुन्। तर, यही प्रश्न आफ्नो अन्तरात्माले आफूसित सोध्यो भने उत्तर दिन गाह्रो पर्दोरहेछ। म किन लेख्छु? प्रतिकूल अवस्था र परििस्थतिबीच पनि किन र के कारणले मैले आफ्नो लेखनलाई अनवरत रूपमा जारी राख्दै आएँ? चित्तबुझ्दो उत्तर आजसम्म मैले आफूलाई दिनसकेको छैन।

सोच्दा सोच्दै म स्मृतिमा फर्कन्छु। राति सुत्नुभन्दा पहिले गुनगुनाएर आमाले सुनाएका श्लोक र कविताहरू सम्झन्छु। पाँच वर्षको उमेरमै मैले लेखनाथ, देवकोटा, सम, सिद्धिचरणका कविता सुनिसकेको थिएँ। आमाको मधुर स्वरमा। त्यो स्वरले कस्तो तरंग उत्पन्न गरििदयो भने छ/सात वर्ष नपुग्दै कनीकुथी गीत कथ्न थालेँ। नौ वर्षको उमेरमा त मेचमा उभिएर धरान, विराटनगरका समारोहहरूमा गाउन सक्ने भइसकेको थिएँ, आफ्नो गीत आफ्नै लय र स्वरमा। तर, म सोच्छु, सुनाउन त आमाले सबै छोराछोरीलाई सुनाउनुभएको थियो। आमाको ध्वनिले मेरो मनमस्तिष्कलाई मात्र किन तरंगित गरायो? त्यसपछि मेरो लेखनलाई मलजल गर्ने काम काका राधाप्रसादले गर्नुभयो। एउटा पारिवारकि संस्था खोलेर प्रत्येक शनिबार प्रतियोगितात्मक गोष्ठीको आयोजन गरेर। त्यो गोष्ठीमा कविता सुनाउने त धेरै थिए। पुरस्कृत हुने पनि धेरै थिए। उनीहरूले किन लेखनलाई अघि बढाउन सकेनन्? मेरो जिन्दगीमा मात्र किन लेखन अन्तरंग रूपमा अभिन्न भएर रहिरह्यो? उत्तर मसित छैन।

तिनताका पूर्वी भेगका सबै मान्छे उच्च अध्ययनका लागि भारततिर जान्थे। हजुरबुबा, हजुरआमाहरू काशीबास गर्दै आउनुभएकाले मेरा सबै काका दाइहरूले बनारसबाटै उच्च अध्ययन पूरा गर्नुभयो। तर, २०१३ सालमा एसएलसी पास गरेपछि एकोहोरो जिद्दी गरेर, लाखौँ सम्झाउँदा फकाउँदा पनि नमानेर म पढ्नका लागि काठमाडौँ आएँ। आमाले सुनाउनुभएका कविताका सर्जकहरूको प्रत्यक्ष दर्शन गर्ने उत्कट अभिलाषाले नै मलाई काठमाडौँतिर तानेको थियो। त्यसबेलाको समयलाई नेपाली कविताको स्वणिर्म युग भन्न सकिन्छ। तीन पुस्ताका मूर्धन्य कविहरूको कविता एउटै थलोमा सुनाइन्थ्यो। लेखनाथदेखि विजय मल्ल हुँदै भूपी शेरचन, भीमदर्शन रोकासम्म। त्यस कालखण्डको कवितामय वातावरणबाट म कतिविघ्न वशीभूत भएँ भने गीत लेख्ने र गाउने रहरलाई बीचमै छोडेर सम्पूर्ण रूपमा कवितातर्फ केन्द्रित भएँ।

त्रि-चन्द्र कलेजबाट ०१६ सालमा स्नातक परीक्षा पास गरेपछि म बनारसतिर लागेँ। बनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेँ। त्यहीताका मेरो भेट वासु शशीसित भयो। उनको सानिध्यले मलाई थप ऊर्जा र उत्साह प्रदान गर्‍यो। मेरो पहिलो कथासंग्रह ज्वारभाटा ०१९ सालमा वनारसबाटै प्रकाशित भएको हो। एमए पास गर्नेबित्तिकै म २२ वर्षको उमेरमा धनकुटा डिग्री कलेजको प्रिन्सिपल हुनपुगेँ। नेपालको इतिहासमा यति कम उमेरमा यस्तो पद पाउने सम्भवत: म नै पहिलो हुँला। पछि मलाई भूमिसुधार अधिकारीका रूपमा काम गर्ने आग्रह आयो। सरकारी जागिरमा प्रवेश गर्ने मेरो कुनै इच्छा नभए पनि राजाबाटै हुकुम भएको भनेर प्रस्ताव अघि सारेपछि सोझै अस्वीकार गर्न अप्ठ्यारो पर्‍यो। मैले त्यो नियुक्ति स्वीकार गरेँ।

लोकसेवा आयोगको परीक्षा पास गरेपछि, ०३२ सालमा मेरो पदस्थापना सूचना विभागको निर्देशकमा भयो। तिनताका नारायणगोपाल सांस्कृतिक संस्थानमा काम गर्थे। उनी गायक र संगीतकार मात्र होइन, बहुमुखी प्रतिभा भएका एक अध्ययनशील व्यक्ति पनि हुन्। उनैको जिद्दीले २० वर्षपछि मैले गीत लेखेँ र नारायणगोपालको हातमा राखिदिएँ। एउटा न एउटा त कसो स्वीकृत नहोला भन्ने लागेको थियो। तर, उनले एउटै बसाइमा लगातार दुवै गीत रेकर्ड गरे रेडियो नेपालमा ‘आँखा छोपी नरोऊ भनी’ र ‘झरेको पातझैँ भयो उजाड मेरो जिन्दगी’।

‘आँखा छोपी नरोऊ भनी’ भन्ने गीतले मलाई एकाएक लोकप्रियताको शिखरमा पुर्‍याइदियो। तर, लोकप्रियताको चुलीमा पुगेको त्यो गीत एकाएक बज्न छोड्यो। पछि थाहा भयो, कर्मचारी भएर विद्रोह फैलाउने उद्देश्यबाट लेखिएको भन्दै एक जनाले फाँसीको सजाय दिनुपर्छ भनेर बिन्तीपत्र हालेछन्। ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ भन्ने वाक्यबाट पञ्चायती व्यवस्थालाई नेपालीहरूले मुटुमाथि ढुंगा राखेर सहिरहेका छन् भन्ने अर्थ लगाएछन्। सञ्चारसचिव तीर्थराज तुलाधरसमेतको समितिले फाँसी नै दिनुपर्ने कुनै कारण नदेखिएको भनेर प्रतिवेदन चढाएपछि गीतमाथिको प्रतिबन्ध फुकुवा भयो। मैले पनि मृत्युदण्डको सजाय भोग्नु परेन। अहिले सम्झन्छु यस्तो गीत किन लेखेँ? त्यसबेला म युवा अवस्थामै थिएँ। उमेर अनुसार मैले शृंगार रसको प्रेमगीत लेख्नु पर्थ्यो। दुई-दुईवटा त्यस्ता शुष्क, उदास र गम्भीर गीत किन लेख्न पुगेँ? २० वर्षको अन्तरालपछि। केले उत्प्रेरित गर्‍यो मलाई यस्तो गीत लेख्न? त्यसबेलाको वातावरणले कि मभित्रको द्वन्द्व र असन्तुष्टिले? कि यो मात्र संयोग थियो? म भन्न सक्दिनँ।

०३७ सालको जनमतसंग्रहपछि फेरि अर्को दुस्साहस गर्न पुगेँ। मूर्खताको अर्को कीर्तिमान कायम गर्न पुगेँ। विभागीय प्रमुख भएर गाईजात्रा समारोहमा व्यंग्य कविता सुनाउने म नै पहिलो व्यक्ति हुँला नेपालको प्रशासनमा। पदमा बहाल रहेर त्यसबेलाको शासन व्यवस्थाविरोधी कविता सुनाउने कुरा कमसेकम प्रशासनिक दृष्टिले सही हुन सक्दैन। राजादेखि सम्पूर्ण उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा त्यसबेलाका कुकृत्य, भ्रष्टाचार र काण्डहरूको भण्डाफोर गरेर कविता सुनाउँदाको परिणाम भोग्नुपर्छ भन्ने बुझ्दाबुझ्दै त्यति ठूलो जोखिम उठाएर किन विद्रोहमा उत्रिएँ? मलाई थाहा छैन। किन बेलाबेलामा मलाई देउता चढेजस्तो हुन्छ र म सम्पूर्ण मर्यादा, अनुशासन र बन्धनहरूको वास्ता नगरेर पागलपनमा उत्रन्छु? हुँदाहुँदै चलचित्र जीवनरेखाको ‘कहीँ आफ्नै भुँवरीमा आफैँ पर्‍यौ कि राजै आफैँ पर्‍यौ कि !’ बोलको गीत ०६१/६२ सालको आन्दोलनताका विवादित हुनपुग्यो। राजै शब्द हटाउनुपर्छ भनेर गीत रेकर्ड हुनेताका नै दबाब नपरेको होइन तर मैले मानिनँ। संगीतकार अमर गुरुङले मलाई साथ दिनुभयो। आन्दोलनताका त्यो गीत रोक्नुपर्‍यो भनेर रातबिरात मलाई गुमनाम धम्की आउँथे।

बनारसमा पढ्दा ०१८ सालतिर युगवाणीमा मेरो एउटा कविता छापिएको थियो, ‘दसैँ’। मैले सुने अनुसार, सम्पादकहरूले काठमाडौँमा अञ्चलाधीशसमक्ष त्यसबेला स्पष्टीकरण दिनुपरेको थियो। एउटा कविता लिएर ०२३ सालतिर मधुपर्क कार्यालयमा गएको थिएँ। भैरव अर्यालले कविता पढ्नुभयो र गम्भीर हुनुभयो। सोध्नुभयो, साँच्चै छाप्ने त? हामीलाई छाप्न त केही छैन तर तपाईंको जागिरमा असर पर्ला कि ! मैले पनि आँट गर्न सकिनँ। प्रतिप्रश्न गरेँ, च्यातिदिऊँ त यो कविता? भैरवजीले एउटा उपाय सुझाउनुभयो। उहाँको सुझाव अनुसार, कविताको अन्तमा एउटा टिप्पणी राखेर मेरो दोस्रो कवितासंग्रह रिजालका केही कवितामा समावेश गरेँ। पुस्तक बनारसमा छापिएको हुनाले ‘सेतो पन्ना मेरो कविता’ शीर्षकको यो कविताउपर कसैको दृष्टि परेन। फेरि त्यही प्रश्न आउँछ। म किन लेख्छु? कुन आँट र संकल्पले मलाई बारम्बार यस्तो खतरा मोल्न उद्यत गराइरहेछ? जागिर र परिवारको बन्धन नभएको भए अझ के गर्थें होला? के के लेख्थेँ होला? म पागलले।

प्रथम श्रेणीस्तरको एउटा पद थियो खुला प्रतियोगिताबाट लिइने। लोकसेवा आयोगको खुला प्रतियोगितात्मक परीक्षामा सबै प्रतियोगीलाई उछिनेर म प्रथम भएँ। मेरो पदस्थापन श्रम तथा समाजकल्याण मन्त्रालयमा भयो। तत्कालीन बडामहारानीले अध्यक्षता गरेको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूले भाग लिन पाउँदा रहेछन्। समाज कल्याण मन्त्रालयको प्रतिनिधिका रूपमा मैले पनि भाग लिन पाएँ। आफ्नो स्वभाव अनुसार चित्त नबुझेका कुराहरू मैले बैठकमा राखेँ। त्यसकै प्रतिक्रियास्वरूप यसबारे सुझाव पेस गर्न मलाई समेत संलग्न गरी एउटा अध्ययन टोली रानी ऐश्वर्यबाट गठन गरियो। पछि त्यस प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्ने जिम्मेवारी पनि मैमाथि आइपर्‍यो। अनि, मन्त्रिपरिषद्ले मलाई परिषद्मा सदस्य-सचिव भई काम गर्नका लागि चार वर्ष काजमा खटायो। प्रतिवेदनमा उल्लिखित सुझाव अनुरूप परिषद्लाई पद्धतिगत रूपमा सञ्चालन गर्ने काम भयो। त्यसपछि म आफ्नो मन्त्रालयमा फर्किएँ।

मेरो परिवार कांग्रेस समर्थक थियो। दाइ चिरञ्जीवी र काका महाप्रसाद रिजाल नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता थिए। मेरो कार्यक्षमताका कारण निकाली नहाले पनि पञ्चायतकालभरि मलाई चिरञ्जीवीको भाइ भनेर शंकाको दृष्टिले हेरियो। तर, ०४६ सालको आन्दोलनपछि पुन:स्थापित भएको प्रजातान्त्रिक व्यवस्थाले पनि शंकाकै दृष्टिले हेर्‍यो। गिरिजाप्रसाद कोइरालाले गरेको पहिलो पजनीमा मेरो नाम अग्रपंक्तिमा थियो। तत्कालीन मन्त्रिपरिषद्ले खटाएको ठाउँमा काम गरेको अभियोगमा मलाई अनिवार्य अवकाश दिइयो। कुनै बेला चिरञ्जीवीको भाइ भएका कारण म संदिग्ध रहेँ, कुनै बेला रानी ऐश्वर्यसित काम गरेका कारण म अभिशप्त भएँ। त्यसो त रानीसित काम गर्नेहरू ०४६ सालपछि राजदूत पनि भए। पार्टीका महत्त्वपूर्ण स्थानमा राखिए। अहिले पनि पार्टीले दिएको गहन जिम्मेवारी बहन गररिहेका छन्। मसितै अवकाश पाएकाहरू सर्वोच्चमा मुद्दा गरेर फेरि सचिव भए। मैले मुद्दा पनि गरनिँ। सोचेँ, जागिरमा भास्िसएको कालीप्रसादलाई गिरिजाले उद्धार गरििदए।

हरेक व्यवस्थामा मैले मित्रभन्दा शत्रु नै बढी कमाएँ। कसैको पनि विश्वासपात्र हुनसकिनँ। मेरो कारणले मेरो परिवारले पनि दु:ख पाएका छन्। मेरो लेखनले मलाई बारम्बार प्रताडित गरेको छ। गाईजात्राको कविता सुनाएलगत्तै एकपल्ट सिंहदरबारमा जम्काभेट हुँदा आफूलाई पढाएका आफ्नै गुरु तत्कालीन वाणिज्यमन्त्री रामप्रसाद राजवाहकले ‘गाईजात्रे किन आएको होला?’ भनेर कटाक्ष गरे। मन्त्री निरञ्जन थापाले ‘कविता लेखेजस्तो होइन प्रशासनको काम’ भनेर सबैका सामु मलाई मन्त्रालयमा हप्काएका थिए। पदस्थापन भएको मन्त्रालयमा मन्त्रीले मलाई सातादिनसम्म हाजिर गर्न दिएनन्। मेरो लेखनका कारण मैले धेरै दु:ख, हैरानी र अपमान सहेको छु। कतिपल्ट छोडछाड गरेर हिँडौँजस्तो नलागेको पनि होइन। तर, राजीनामा दिँदा पनि स्वीकृत भएन। मैले पनि सम्झौता गरेँ। आधाभन्दा बढी बाटो हिँडिसकेपछि फर्कन पनि गाह्रो हुँदोरहेछ।

फेरि पनि प्रश्न उठ्छ, म किन लेख्छु? विकृति, विग्रह र कुकृत्य देखेपछि हात सक्सकाइहाल्छ। बारम्बार यातना र हन्डर खाएर पनि किन चेत आउँदैन? यस्तो उपद्रो, वितण्डा, भाँडभैलो किन गररिहन्छु म? मेरा समकालीन कति दिवंगत भइसके। भएकाले पनि प्राय: लेख्न छाडिसके। म अहिले पनि केही न केही लेखिरहेकै छु। म थाकेको छैन, बिराम लिएको छैन। यस उमेरमा पनि युवाहरूका लागि प्रेमगीत लेखिरहेछु। गम्भीर भावनाका गीत पनि लेखिरहेकै छु। कुनै ठूलो पुरस्कार मैले पाएको छैन। मेरो लेखनको कसैले समीक्षा गरेका छैनन्। कतैबाट कुनै प्रोत्साहन पाएको छैन। कुनै गुट/समूहसित आबद्ध नभएकाले एकप्रकारले म बहिष्कृत छु। उपेक्षित छु।

कुन ऊर्जाले, कुन शक्तिले, कुन प्रेरणाले मलाई लेखाइरहेको छ? हो, निश्चय पनि मैले श्रोताहरूको माया पाएको छु। पाठकहरूको स्नेह पाएको छु। मेरो शिरमाथि आमाको आशीर्वाद छ। तर, यही कारणले मात्र लेख्न प्रेरित गरेको होला त ?

नेपाल साप्ताहिक ४४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *