विद्या, श्रम, सीप, कला, कौशल तथा उद्यमशीलताको मौलिक रूप र स्रोत सरस्वतीदेवीलाई नै मानिँदैआइएको छ । वेद विद्या, ज्योतिष, खगोल भूगोल, इतिहास पुराणका ज्ञाताहरूले उनै देवीको माया, ममता कृपाबाट सम्बन्धित विषयहरूमा ज्ञान हासिल गरेका हुन् । विद्या प्रेमी सबैले कुनै न कुनै कोणबाट प्र्रत्येक क्षण सरस्वतीदेवीलाई नै सम्झिराखेका हुन्छन् । सामान्यतया कापी, किताब, कलम, मसी आदि वस्तुहरू अगाडि राखेर अध्ययन वा लेखनकार्य गरेको क्षणलाई मात्र सरस्वतीदेवीलाई सम्झना गरेको मान्ने चलन छ । वास्तवमा सरस्वतीको आराधना विद्या आर्जनका लागि मात्र गरिने होइन । सीप र पेशामा संलग्न कुनै पनि प्रकारका व्यक्तिहरू जस्तै लोहकार, सुवर्णकार, डकर्मी, सिकर्मी, कुमाले, सूचिकार, कृषक आदि प्रत्येकले लगनशील भई आ-आफ्नो कर्मबाट उत्तीर्ण हुँदा उनीहरू दृशय वा अदृश्य रूपबाट सरस्वतीदेवीबाट नै सञ्चालित भइरहेका हुन्छन् । अर्थात् उनीहरूबाट सरस्वतीदेवीको आराधना भइरहेको हुन्छ । चार वेद, शिक्षा, कल्प, व्याकरण, निरूक्त, छन्द, मीमांसा, न्याय, धर्मशास्त्र, महाभारत, धनुर्वेद, गान्धर्ववेद, स्थापत्यवेद (वास्तुशास्त्र) आदि विद्याको मूलरूप सरस्वतीदेवी नै हुन् । यस्ती देवीलाई सम्झना गर्ने पावन पर्व हो वसन्त पञ्चमी, श्रीपञ्चमी, माघशुल्क पञ्चमी !!!

स्वर, सङ्गीत, ताल, लय, नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, शिल्पी, प्रविधि, सीप, बोलीको मिठास, गला र कलाको सामिप्यता आदिको स्रोत प्राप्त गर्न विभिन्न साधना र पूजाका विधान छन् । ज्ञान, दूरदृष्टि र इच्छाशक्ति भएका व्यक्तिहरू सरस्वतीलाई सिरानी बनाइ अत्यन्त क्रियाशील र लगनशील भई महान् व्यक्ति भएका छन् । विद्या र उन्नतिको स्रोत सरस्वतीदेवीका उत्तम उपासकहरू ‘विद्या धनं सर्व धनं प्रधानं’ विद्या नै सबैभन्दा ठूलो धन सम्झन्छन् ।

पुराण शास्त्रहरूमा बताएअनुसार सरस्वतीदेवी ब्रहृमाजीको मुखबाट उत्पन्न भएकी हुन् । प्रत्येक देवीहरूको आ-आफ्नै बाहन भएअनुसार यिनको चाहिँ मिसिएको दुधपानी छुट्उयाउन सक्ने नीरक्षीर विवेकीको संज्ञा र बरदान पाएको राजहाँस हो ।

सरस्वतीदेवी चारहातले सजिएकी छिन् । उक्त हातहरूमा विणा, स्फटिकको माला, पुस्तक र अभय मुद्रा रहेको छ उनी सधैँ मन्त्र मुस्कानमा हुन्छिन् । यो मन्द मुस्कान प्रत्येक मानव जाति र प्राणी सधैँ मन्द मुस्कान मानै रहुन् भन्ने आहृवान हुनसक्छ । यसै मन्द मुस्कानलाई जीवन्त राख्न नेपाली कविले कविता रचना गरे ‘मुसु मुसु हाँसी मिल्नु धरामा हो सच्चा जीवनको इतिहास’ । सरस्वतीको हातमा क्रमशः ज्ञानको निमित्त पुस्तक, सङ्गीतको निमित्त विणा एकाग्रताको निमित्त माला र सृष्टिको प्रतीक कमलको फूल उनको आशन छ उनको कवचबाट शारदा, सरस्वती, भारती, वाक्देवी, जगत्माता, बागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम राखिएको छ ।

त्यही कवचको आधारमा व्यास, वाल्मिकी, याद्दवल्क्य, कणाद, पाणिनी, शङ्कराचार्य, सन्ततुलसीदास आदिले आ-आफ्नो सिद्धि प्राप्त गरे । मूर्ख कालिदास पनि सरस्वतीको उपासनाबाट विद्वान हुन सके । ज्ञान, बुद्धि, संयम र विवेक दिनसक्ने देवी सरस्वतीको कृपा प्रसादले नै मानव सृष्टिकै सर्वश्रेष्ठ प्राणी कहलिन सकेको हो ।

श्रीपञ्चमी अथवा वसन्तपञ्चमीलाई राष्ट्रिय चाड मानिएको छ । यो दिनमा पर्वविदा दिने चलन छ। काठमाडौँ हनुमान ढोकास्थित नासल चोकमा तत्कालीन राजसंस्था प्रमुख श्री ५ लाई वसन्त श्रवण सुनाउने अनुष्ठान गरिन्थ्यो । वर्तमानमा त्यो अनुष्ठान राष्ट्रप्रमुख तथा राष्ट्रपतिलाई गराइन्छ ।

श्रीकृष्णराधाको यौवन क्रिडामा आधारित जयदेवद्वारा सम्पादित वसन्त वर्णनको संस्कृतको प्रसिद्ध गीति काव्य ‘गीत गोविन्द’ दोस्रो अध्यायको पाठलाई ‘वसन्त श्रवण’ नाम राखिएको बताइएको छ । यसै अवसरमा विभिन्न उस्ताद, भाट, सङ्गीतकार, गीतकारहरू वसन्त रागमा आफ्नो गला र कलाको विशेषता देखाउँछन् ।

वसन्त ऋतुका राजा र वसन्तकभित्र कामदेवको स्व्ाागत र पूजा हुन्छ । वेदमा कामलाई आदि सृष्टिको मानिएको र भगवद् गीतामा ‘प्रजनश्चास्मि कनदर्पः’ भनेर कामलाई ईश्वरको रूपमा दर्शाइएको छ । साथै शास्त्रीय परम्परामा महषिर् पाश्चात्य विद्वान फ्रायडले कामको विस्तृत व्याख्या गरेका छन् । श्रीकृष्णले एकाधिकार जनाउन ‘ऋतुनां कुसुमाकर’ भनेर आफूलाई वसन्त ऋतुमा राखेका छन् ।

वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण र वसन्तराग गाउने दिन श्रीपञ्चमी नै हो । वसन्त रागले जीवनमा शृङ्गार मात्र होइन, जीवनलाई उमङ्ग, उत्साह, प्रेरणा दिने शृङ्गार हो । यस्तो शृङ्गारको उद्देश्य र तत्व बुझ्ने पारखीहरू काव्य विनोदी स्रष्टाहरू वसन्तरागबाट धेरै खुशी हुन्छन् । नेपाललाई ऋतुहरूको क्रिडास्थल मानेर वसन्तोत्सव मनाउने प्राचीन परम्परा छँदैछ ।

वेद तथा अन्य साहित्यमा ऋतु परिवर्तनसाग मिल्दोजुल्दो उत्सवलाई वसन्तोत्सवको रूपमा गणना गरिएको छ । वात्स्यायनको कामसूत्रमा ‘सुवसन्तक, कालिदासको अभिज्ञान शाकुन्तल, मालवीकाग्निमित्र, रघुवंशमा ऋतुत्सव नाम राखिएको छ । तसर्थ वसन्तोत्सव, सुवसन्तक, ऋतुत्सव आदिनामहरू पर्यायवाची नाम भन्न सकिन्छ ।

प्राचीन संस्कृत कवितहरू, अर्वाचीन नेपाली कवि साहित्यकारहरूले वसन्त महिनाको वेजोड सह्रहना गर्दै रूप, सुगन्ध आदिले अमृतवाणी भरेका छन् । जन जन र उपवनलाई लज्याउने, सुवाषित गर्न सक्ने वसन्त ऋतुलाई ‘मधुऋतु’ अथवा प्राकृतिक सौनदर्य सूचक भन्न सकिन्छ ।

कुनै कुनै पाश्चात्य देशहरूमा नेपालको जस्तै वसन्तोत्सव मनाउन एउटी राम्री केटीलाई विभिन्न जातका फूलैफूलले सजाइ ‘सौन्दर्यरानी’ को संद्दा दिई वसन्त पर्वमनाइने चलन रहेको पाइन्छ ।

वेद पुराण आदिमा यस उत्सवको सामान्य परिचयको अलावा नेपालमा यसको थालनी लिच्छवीकालको कुनै माघ महिनाको शुल्क पञ्चमीमा मनाउन सुरू गरिएको पाइन्छ । तत्कालीन कुनै अभिलेखमा धार्मिक रूपबाट मघशुल्क पञ्चमी र मल्लकालमा मल्लराजाहरूबाट यसै पञ्चमीको दिनमा कामदेवको पूजा गरी वसन्त उत्सव मनाइएको व्यहोरा अभिलेखहरू अध्ययन गर्ने संस्कृति विद् तथा सम्बन्धित ज्ञाताहरू बताउँछन् ।

हिन्दु संस्कारमा श्री को गहन अर्थ र महानता बताइएको छ । प्रत्येक देवी देवता अथवा व्यक्तिहरूको अगाडि श्री लेखिने चलन कायम छ । श्रीगणेशायनमः, श्रीसरसत्वैनमः इत्यादि । पञ्चमी तिथिमा विशेषचाडहरू नागपञ्चमी, ऋषिपञ्चमी, विवाहपञ्चमी आदि जुराउने क्रममा माघ शुल्क पञ्चमीलाई पनि श्रीपञ्चमी नामकरण गरिएको हो कि भनाइ अनुमान गर्न सकिन्छ । यसै श्रीपञ्चमीको दिन गाउँघरमा आफ्नो आर्थिक हिसाव किताब गर्ने दिनको रूपमा श्रीपञ्चमीको भाका भनेर लेनदेन गर्ने र जग्गा खरिद बिक्री गर्ने परम्परा कायमै छ । श्रीशब्दले लक्ष्मीलाई जनाउँछ जो धनकी देवी हुन् भन्ने जनिन्छ । सरस्वतीको आराधना गर्ने दिन श्रीपञ्चमीमा अक्षराम्भ, विवाह, ब्रतबन्ध, सप्ताह, एकाह, यज्ञ आदि धार्मिक अनुष्ठान र बालबालिकाहरूको नाक कान छेड्ने, यात्रा गर्नेजस्ता कार्यहरूमा नभई नयाँ उद्योगको शुभारम्भ पनि गरिन्छ । यसैदिनमा यस्ता कार्यहरू गदाृ गराउँदा सइत अथवा शुभमूहुर्त जुराउन आवश्यक छैन ।

तसर्थ अर्थात् लक्ष्मी र सरस्वतीलाई एक अर्काको परिपूरकको रूपमा रहेको पाइन्छ । यसको अलावा सृष्टिको शुभारम्भ ‘चैत्रेमासे जगदब्रहृम ससर्ज प्रथमे हनि’, वेद विद्याको अध्ययनको शुभारम्भ ‘वसन्ते ब्राहृमण मुपनीयत’ र साथै विक्रम सम्वत्को शुभारम्भ यसै ऋतुमा गराइएको र भएको पाइन्छ ।

सरस्वतीदेवीलाई नेपाली संस्कृतिको सूचक र मानक भन्न सकिन्छ । सरस्वती पूजा अथवा वसन्तपञ्चमीदेखि नै गुरूङ्ग समाजको ‘घाटु’ नाच सुरू हुन्छ । वलामी समाजमा यसै दिनमा परम्परागत विवाह गर्ने चलन छ । लोक सङ्गीत, सोरठी, मारूनी, वालुन आदिको शुभमूहुर्तमा प्रथमतः यिनै देवीको आराधना, बन्दना गरिन्छ ।

वैज्ञानिक तथ्यको जानकारी नभएपनि धामी, झाँक्री नचाउने परम्परा र शैलीमा पनि यिनै देवीको पुकार हुन्छ ।

वेदमा जलदेवीकी नामले प्रसिद्ध यिनीलाई तलाउ थाली भनिन्छ । महाभारतमा वेदकी जननी, जैन धर्ममा ‘श्रुतीदेवी’ बौद्ध धर्ममा ‘प्रज्ञादेवी’ ले पुकारिने यिनको नामको सङ्ख्या किटान गर्न सकिन्न ।

जयवागीशवरी, स्वयम्भूमञ्जुश्री, हाँडीगाउँ, वल्खु गैह्रीधारा, चाँगु हनुमानघाटको नील सरस्वती, देउपाटन (पशुपति) आदि सरस्वती मन्दिरहरूमा गुरू, विद्यार्थी छात्रछात्रा, प्राध्यापक, विद्वान-विदुषी आदिको जमघट भेटघाट भलाकुसारी र सरस्वतीको पूजा हुन्छ । यसै अवसरमा आ-आफ्ना बालबालिकाहरूलाई साँवा अक्षर सिकाउँदै ज्ञानको ज्योतिको शुभारम्भ गरिदिन्छन् ।

मनुर्नामका मुद ब्राहृमण यसै पञ्चमीको आराधना गरी विद्वान भएको विश्वासमा बौद्धमार्गीहरू यो पर्वमा सरस्वतीको पूजा आराधना र पुस्तक दान गर्दछन् । मनश्री दोभानको कुण्डको जल बालबालिकालाई पिलाउनाले चाँडै वाक्य फुट्दछ भन्ने विश्वास लिन्छन् । यसैदिन बौद्धमार्गीहरू आँपको मञ्जरी, सस्र्युको फूल केशर घोलेर खिर बनाइ बुद्धको पूजा र स्मरण गर्दछन् । मञ्जुश्री बोधिसत्वको अनुकरण गर्ने अभिभावकहरू स्वयम्भू सरस्वती स्थान वरपर ‘ओमनमो वागिश्वराय’ शबदले वातावरण हृदयस्पर्शी गराउँदै आफ्ना बालबालिकाको हात समातेर ओम नमो वागिस्वराय लेख्न लगाउँछन् ।

सृष्टिभित्र जडमय र चेतनामय स्थिति छँदैछ । चेतनामय संस्कार अँगालेर विश्वएकता गर्ने जीवन दृष्टि विद्यमानै छ भन्ने तथ्य निर्विवाद नै हो । पुरातन शास्त्रहरूले ‘विद्या धनं सर्व धनं प्रधानं’ बताएकै हुन् । अर्थात् विद्या धननै सबैभन्दा प्रधान भएकोले ती देशहरूले आर्थिक उन्नति गर्नसकेका हुन् । हाम्रोजस्तो पिछडिएको देशमा जतिसक्यो धेरै शिक्षित जनसमुदाय तयार गर्ने र उनीहरूलाई आ-आफ्नो दायित्व पूरा गर्ने वातावरण दिनसके मात्रै पनि देशको मुहार अझै राम्रो हुनेथियो । शिक्षाको क्षेत्र र कार्यानवयनमा देश जति पिछडिएको हुन्छ आर्थिक हिसावले पनि त्यो त्यतिकै कुँजो हुन्छ । ‘किं किं नसाधयति कल्पलतेव विद्या’ जस्तो श्लोकांशको अध्ययन र गुढतत्व सरकारले लिनसकेमा विद्याबाट चाहेको जस्तो विकास र मनोकामना पूरा हुनेथियो ।

शनिबार, गोरखापत्र
माघ २२, २०६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *