आज झर्ना-समुद्रको, नाउमा हुन्थेँ म
काश पानी हुँदो त, तलाउमा हुन्थेँ म
कठ्यांग्रिंदो जाडोसँग, मीठो जोरी खेल्थेँ
जति बेला तिम्रो तातो, बाहुमा हुन्थेँ म
ढुङ्गो जस्तो भइएछ, सस्तो भइएछ
सुन भएँ यति बेला, भाउमा हुन्थेँ म
जून हेर्ने बहानामा, तारा गन्दै राति
झ्यालबाट तिमी हेर्ने, दाउमा हुन्थेँ म
सोध्छौ तिमी, के-के गर्छौ, मेरो लागि ‘सूर्य’?
फूल हुँदो हो त, तिम्रो पाउमा हुन्थेँ म
