Skip to content


हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिर
लेख्यौ सा–दर पत्र, त्यो सब पढें केही झुकाई शिर ।
ठेगानातिर हेरदा नयनमा देखा पर्यो ‘पोखरा’
जो देख्दा मनमा मिहीं स्मरणका लाखौं फुटे आँकुरा ।।

पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सर्यो-
साथै पर्वत-शृङ्खला विपुल त्यो चौतर्फि देखा पर्यो ।
लंबा संथर फाँट तालहरुको झल्क्यो ठुलो चक्चकी
फेरी त्यो गडुवा, विजेपुर खुदी, सेती बगेकी लुकी ।।

कोठे साँघु, बजारको झिलिमिली, काला उखू, सुन्तला
दोस्रो अङ्कुरमा खचाखच भये ज्यादै मिठा शीतला ।
पैसा ढाँक उखू यतातिर, उता कोरी बढी सुन्तला
त्यो संझी खुशिले रमाउँछ यहाँ यद्यापि मेरो गला ।।

तेस्रो अङ्कुरमा उपस्थित भयो अर्घौं तथा अर्चले
पुर्खाको जसमा थियो जस ठुलो प्रख्यात पाण्डित्यले ।
चौथोमा उभियो पवित्र खरको छानू भयेको घर
आमाको मृदु लालना सुख जहाँ लिन्थं म लोकोत्तर ।।

पाँचौंमा सुकुमार बाल्य वयका साथी सबै देखिये
साना पल्लव तुल्य त्यो बखतमा नाना थरी जो थिये ।
तिन्का साथ डुलेर काफल, तिँदू, ऐसेलु, चुत्रो ‘सब’
टिप्ता जो पुरुषार्थ- गर्व मनमा चढ्थ्यो, कहाँ त्यो अब ।।

छैटौं अङ्कुरमा मिल्यो असजिलो, पाटी धुलौटो, खरी
देखाएर कडा उकुस्मुकुसमा, जर्काउँथ्यो कन्सिरी ।
त्यो आपत्ति सही सुखाखर गरी साह्रा सबै अक्षर
भाषा-श्लोक फलाक्न घोक्न मनले कस्तै गयो कम्मर ।।

सातौं अङ्कुरभित्र अङ्कित भये गङ्गा-गणेश-स्तुति
चण्डी कोश र कौमुदीहरु ममा भर्दै निजी संस्कृति ।
त्यो देखेर भन्यो- कठै !! नवमले “जा राजधानीतिर
बेडा पार हुँदैन अध्ययनको खाली अँगाली घर” ।।

चर्को चक्र घुम्यो शनै: समयको, टाढा भयो अर्चले
प्यारा साथि पनि क्रमैसित सबै संसारदेखी – चले ।
देख्दा यो सब तारतम्य बिधिको धर्कन्छ छाती सब
त्यो जन्मस्थलमा कठै !! म कसरी कैले पुगूँला अब ?

वि.सं. २०२२
वेणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *