Skip to content

मेरो ईश्वरको लीला अपरम्पार


काइते, तारा टिप्दा विचारकहरू उद्घोष गर्छन्
म नाथे हरूवा ! जोगीसँग भिक्षा माग्दैछु ।
साधुवान हुनुको लालची दर्शाउँदैछु ।
टुप्लुक्क बगैँचाको माझमा ठोसिएको उन्यूँ हुनुले
मेरा कारण शोभा ओरालो लाग्दैछ अरे यिनीहरूको ।

जब एकचित्ते शालीन बन्ने अभ्यास चल्दछ
यिनका च्यातिएका खोल टाल्ने झोक उठ्छ मगजमा
भूँइचरीहरू फुर्कीएर-
मलाई सार्की भन्छन् ।
कसैले कामी भन्छन् ।
‘गाइने दमै’ को प्रसाद चढाउन हतारिन्छन् कोही ।
असभ्यताको पराकाष्टा वहिष्कार गर्नाले
मेरो कन्चट खोपेर गिदी निकाल्न तम्सिन्छन् काजीसा’बहरू ।

रातोरात म ‘काले डुम ‘बन्दछु
विहानी उठ्दा भगौडाको प्रमाणपत्र थमाइन्छ ।
युवाखटनले “बोहुला कुक्कुर” ठान्छ मेरो चप्परे खप्परे
यिनले हेर्ने ऐनाबाट भूत निस्कन्छ अरे मेरो !
छप्ल्याङ छुप्लुङ् पौडिन्छु वालुवाको माछा ।

लखतरान उकुसमुकुस यो साधुको वेहाल !
मन्दिरमा घण्टा बजेको सुन्दछु ।
पुलुक्क घुमेका आँखाहरू पहिचान गर्छन् मेरो जिब्रो छेड्ने आलोकहरू
तब बुर्लुक्क उफ्रन्छ पिचासे मस्तिष्क
मलाई सार्की बनाउने पनि यिनै !
मलाई लठ्याब्रो हुर्काउने पनि यिनै !
मलाई पागल साधुवर बनाएर
मन्दिरको घण्टा बजाउने पुजारी पनि यिनै !
वाह ! मेरो इश्वरको लीला अपरम्पार ।

www.arzose.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *