Skip to content


औपचारिक निर्वाह गर्दै आउने बानी परिसक्यो हामीलाई । खासगरी एउटा स्रष्टाको सम्बन्धमा अझ भनौं उसको निधनमा । फलानो स्रष्टाको निधन (कतिपयको त यति समाचारसम्म आउँदैन) शोक व्यक्त, श्रद्धाञ्जली व्यक्त जस्ता समाचार पढ्छौं, सुन्छौं । अभ्यस्त भइसकेका छौं, हामी यसरी नै औपचारिक निर्वाह गर्नमा । बाँचुञ्जेल चिनिदैन स्रष्टा, मरेपछि शोक र श्रद्धाञ्जलीमा चिनाइन्छ । बाँचुञ्जेल आफ्नै शोक, मरेपछि अरूको शोक फरक यति मात्र हो । घर अस्पताल पुग्नेभन्दा आर्यघाटमा भेला हुनेहरूको कमी हुँदैन । औपचारिकताको यात्रामा डा. राममान ‘तृषित’ को प्रसङ्ग पर्ने अवस्था आइपर्‍यो ।

नआवोस्, भन्दाभन्दै आइदिने मृत्युले गाँजेर लगेपछि भन्नैपर्छ २०६८ सालको जेठ १६ गतेको बिहान ७१ वर्षको उमेरमा साहित्यकार राममान तृषितको निधन भयो । तीन वर्षअघि रोगले नराम्ररी गाँजेपछि संभावित मृत्युको अनुमान गरेर बस्यौं हामी अन्ततः त्यस्तै भयो, मृत्यु आयो र लिएरगयो उहाँलाई । एउटा जिउँदो जाग्दो मान्छे,गीत कविता निबन्ध लेखेर कैयौंको मन जित्ने मान्छे, स्वास्थ्य क्षेत्रमा सेवा गरेर सहयोगी बन्ने मान्छेलाई पनि लिएर गयो मृत्युले । मृत्युले छोड्दैन कसैलाई पनि नदेख्ने मृत्युले । बरू देख्ने मृत्युले स्रष्टाको सिर्जनामा धाबा बोलेका छन्, दुःख कष्ट दिएका छन्, पूर्वाग्रह र दुराग्रहले ग्रस्त कमजोर मानसिकताकाहरूले दुःख दिएजस्तो मृत्युले स्रष्टाको सिर्जनालाई छुनसम्म सक्दो रहेनछ ।

उहिलेको …

“मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस्, मैले तिमीलाई चुपचाप मन पराएँ”

जस्तो चर्चित गीतका स्रष्टा राममान तृषितका रचना, कृति, योगदानलाई छुनसमेत सकेन मृत्युले । त्यसैले यही बलियो पक्ष, अमर पक्ष, कालजयी पक्षबाट बाँच्नु भएको छ उहाँ हामीमाझ । तीन महिनाअघि मात्र उहाँकै घर (चाबहिल) पुगी उहाँसँग गरिएको कुराकानी संस्मरण छापिएको यही स्थानमा उहाँकै स्मृतिमा लेख्नुपर्दाको पीडा भोग्दैछु म, यतिखेर सङ्गीतजगत्, साहित्यजगत् यस्तै पीडा भोगिरहेको छ ।

७० वर्षको उमेर नटेक्दै डा. राममान तृषितलाई रोगले दुःख दियो, ७० काटेपछि उहाँको दुवै मिर्गौलाले काम गर्न छाडे । त्यसपछि भने डाक्टरको निगरानीम्ाा बस्नुपर्‍यो उहाँले । आफै डाक्टर भएर कैयौंको उपचार गर्दै हिँड्ने डा. राममान श्रेष्ठको पछिल्लो जीवन घर-डाक्टर-उपचार, दुःख कष्ट पीडामै बित्यो । बाँचुञ्जेल उहाँलाई पीडा, मरेपछि हामीलाई पीडा ।

वि.सं. १९९७ सालको माघ महिनामा काठमाडौँको ओमबहालमा जन्मिनुभएका राममान तृषितले १७ वर्षको उमेरमै तारादेवीको आवाजमा आफ्नो गीत प्रसार गर्नुभयो । नारायणगोपालको स्वर परीक्षाको गीतकार, प्रेमध्वज प्रधानका निकटका मित्र तृषित ओमबहालमा जन्मिए पनि चाबहिल बस्ने सङ्गीत साधक नातिकाजीको जोडले चाबहिलमै घर बनाएर बसोबास गर्नुभयो । राममान तृषितको जीवनमा रोगले आयुको म्याद थप्न दिएन, उपचारले केही थेगे पनि ७१ वर्षको उमेरमा उहाँ बित्नुभयो । हामीले जोड गरेर, रोइकराइ गराएर हुने भए स्रष्टा तृषितको आयुको म्याद बढाउथ्यौं हामी तर सकिएन ।

फूल थरिथरिका (२०३३) एक मनको अनेक मृत्यु (२०३७) शोरा (२०४७) मनदेखि मनसम्म (२०६५) गीत सङ्ग्रह । क्षितिजको पृष्ठभूमिमा (२०५०) राममात तृषितका कविता (२०५४) बहुलाको हातमा बन्दुक (२०६५) कविता सङ्ग्रह । प्रेयसीका आँखासित पिरतीका कुरा (२०५४) गजल सङ्ग्रह, अनुत्तरित प्रश्न (२०५७, लघुकता सङ्ग्रह) बन्दुकको नालबाट बाँसुरीको धून (२०५७) आज मान्छे खोज्नुपर्ने भएको छ (२०५७, मुक्तक सङ्ग्रह, भजनका नयाँ पाइला (२०६४, भजन सङ्ग्रह) लामबाहिर (२०६१, निबन्ध सङ्ग्रह) सर्जक तृषितका विचार शृङ्खला र कृति समीक्षा (२०६४) अनि ६ वटा गीति एल्बम प्रकाशित भइसकेका छन्, उहाँका ।

“गीतको निकटत्तम सम्बन्ध हृदयसँग हुन्छ । मान्छेसँग हृदय हुनुको स्थिति नै प्रेम हो, सत्य हो । प्रेम प्रायः गीतमा छर्लङ्गन्िछ । असल गीत लेख्नु पनि प्रेम गर्नुजस्तै हो । प्रेम गर्नु र गीत लेख्नु भनेको एउटै सत्यका दुई पक्ष हुन् । मनको वैज्ञानिक व्याख्या वा विश्लेषण हुन सक्तैन । यसैले मन लेख्नु, गीत लेख्नु र सत्य लेख्नु भनेको एउटै कुराजस्तो लाग्छ ।’ १६ वर्षअघि ने गीतबारे उहाँको कथन टिपिएको थियो । त्यसपछि उहाँको मैले पुण्य मन पराएँ …. जस्तो गीत लेखनको प्रसङ्ग जोडेर प्रश्न गर्दा पनि थाहा पाएँ उहाँको प्रेम विवाह भएको होइन रहेछ । बरू पहिलो बिहे आफ्ना लागि गरेपनि दोस्रो बिहे आफ्नै छोराका लागि गर्नुपरेको थियो रे ! तीन महिनाअघि चाबहिलस्थित उहाँकी पत्नी पार्वती उहाँ र म कुराकानी गर्दै थियौं यस विषयमा । रोगले राम्ररी हिंड्डुल गर्न नसक्ने, राम्ररी बोल्न पनि नसक्ने अवस्थामा पुग्दा पनि साहित्य सङ्गीतप्रति उत्साहित हुँदै त्यतिखेर उहाँले गरेको कुराकानी यतिखेर झनै महत्त्वपूर्ण लागेको छ । त्यसमा पनि हाम्रो स्वभावै यस्तै छ कसैको अनुपस्थितिमा, रिक्ततामा त्यसको महत्त्व बढी बोध गर्छौं ।

बासु शशि स्मृति परिषद्को अध्यक्ष, नातिकाजी स्मृति समाजका अध्यक्ष तृषितले छिन्नलता गीत पुरस्कार ०४७, व्यथित काव्य पुरस्कार ०६७, नातिकाजी विशेष सङ्गीत सम्मान २०६६, सुरभि नवरत्न स्रष्टा सम्मान ०६७, नेपाली साहित्य समिति विराटनगरबाट ०५३ मा सम्मानित, महाकवि देवकोटा सम्मान, २०६६, गो.द.वा. चौथो ०४०, रेडियो नेपाल, हिम शिखर फाउण्डेशन, देवकोटा स्मृति सभा, सुगन्ध परिवार आदिबाट सम्मानित राममान तृषित एक सफल र सहयागी चिकित्सक, समर्पित, प्रिय गीतकार, सक्रिय साहित्यकारका रूपमा समाजमा चिनिनुभयो, चिनिरहनुहुन्छ । पाप मन पराएँ, वा पुण्य मन पराएँ भनेजस्तै चुपचाप हामीले एउटा असल, सरल र सहज मान्छे अर्थात् साधक राममान तृषितलाई मन परायौं, उहाँको सिर्जना मन परायौं, जेहोस् राममान तृषितले हामीले मन पराउँदापराउँदै गुमायौं । हामीले मन पराएको तृषित अझै आफ्ना सिर्जनामा बाँचिरहनुभएको छ, त्यसैले उहाँलाई अझै कैयौं वर्ष यसरी नै हामी मन पराइरहन्छौं ।

शनिबार, गोरखापत्र
२०६८ जेठ २१

Leave a Reply

Your email address will not be published. Required fields are marked *