Skip to content


धन्य छन् तिनीहरू
जसले आफ्नो परिचय दिन जान्दछन्
जसरी जूनकीरीले आफ्नो परिचय दिन्छन्
जसरी हिउँचुलीले आफ्नो परिचय दिन्छन्
जसरी जलासयहरूले आफ्नो परिचय दिन्छन्
आमाले नानीहरूलाई जसरी आफ्नो परिचय दिन्छन्
जसरी फूलहरूले आहृलादपूर्वक आफ्नो परिचय दिन्छन्
त्यसरी परिचय दिने एक अभिलाषा हुन्छ
प्रसङ्गवश ती तमाम व्यक्तित्वहरूको सम्झना हुन थाल्छ
जसले कति सजिलै, सहजै आफ्नो परिचय प्रदान गर्छन्
म कल्पना गर्न थाल्छु
अकस्मात् ईश्वरसँग मेरो भेट भएको छ
र आफ्नो परिचय दिन लागिरहेछु म ईश्वरलाई
को भन्ने के भन्ने मैले ईश्वरलाई ?
साँच्चै म अलमलिन्छु र आफूलाई खोज्न थाल्छु
आफ्नै आँखासित सोध्न थाल्छु, सपनासित सोध्न थाल्छु
हृदय छाम्न थाल्छु, स्मृतिहरू उधिन्न थाल्छु
सोचाइ र क्रियाकलापमा आफूलाई नियाल्न थाल्छु
आकुलतापूर्वक घरी यो घरी त्यो समात्न र छोड्न थाल्छु
म यो हुँ भन्ने केही फेला पर्दैन
मेरो कुनै अत्तोपत्तो हुँदैन
लज्जा र ग्लानिले रातो हुँदै
आँखा उठाएर ईश्वरतिर हेर्दा ऊ अलप भइसकेको हुन्छ
म संज्ञाशून्य हुनुबाहेक केही गर्न सकिरहेको हुन्न !
मन प्रायः आफ्नै उडानमा हुने गर्छ
बिजुली चम्केको झझल्को दिँदै मसँग चाप्लुसी गर्न आइपुग्छ-
परिचय दिनु त्यत्रो भारी कुरा होइन
रोइदिए पनि पुग्छ
ढङ्गले बोलिदिए पुग्छ
एक नजर हेरिदिए पुग्छ
मुस्कुराइदिए पुग्छ
एक ढिका आँसुकै कत्रो पहिचान हुन्छ !
आह !
म साँच्चै हृदयदेखि नै मुस्कुराउन चाहन्थें
म सत्यसत्य बोल्न चाहन्थें
म साँच्चै रुन चाहन्थें
तर ईश्वर अलप भइसकेको थियो

नवलपरासी, हाल ः बलम्बु, काठमाडौँ

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *