Skip to content


ऊ सन्दुक खोल्छे
जतनले राखेको
मायाका सौगात
विस्तारै खुल्छन्
पुराना प्रेमपत्रहरू ।

सम्झनाको आहटले
पोल्छ एक्लोपनमा
अट्टहास छाड्छन्
आफ्नै सम्झनाहरू ।

खोकिलामा हेर्छे
घुरमैलो तस्बिर
मायाको राग बोकेर
सपनाको घर उभिन्छ
रित्तो क्यानभासमा ।

रङ पोत्छे
नांगा भित्ताहरूमा
अनायासै
तस्बिर बोल्छ
र,
मुस्कुराउँछे अकारण ।

सपनासँगै हाँस्छे
र, रुन्छे
बिनास्केच कोरिएको
तस्बिरसँग ।

जीवन बुन्छे
रङहरूमा
नखुलेको आकाशजस्तो
घुरमैलो सपनासँग
जुहारी खेल्छन्
इच्छाहरू ।

थकित छन् पाइलाहरू
सुस्केरामा बियालो खेल्दै
बिनारङ पोतिन्छ
अपरिचित साथसँगै

निरुद्देश्य खेल्छे
क्यानभास जिन्दगी ।

नेपाल साप्ताहिक ४३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *