ऊ सन्दुक खोल्छे
जतनले राखेको
मायाका सौगात
विस्तारै खुल्छन्
पुराना प्रेमपत्रहरू ।
सम्झनाको आहटले
पोल्छ एक्लोपनमा
अट्टहास छाड्छन्
आफ्नै सम्झनाहरू ।
खोकिलामा हेर्छे
घुरमैलो तस्बिर
मायाको राग बोकेर
सपनाको घर उभिन्छ
रित्तो क्यानभासमा ।
रङ पोत्छे
नांगा भित्ताहरूमा
अनायासै
तस्बिर बोल्छ
र,
मुस्कुराउँछे अकारण ।
सपनासँगै हाँस्छे
र, रुन्छे
बिनास्केच कोरिएको
तस्बिरसँग ।
जीवन बुन्छे
रङहरूमा
नखुलेको आकाशजस्तो
घुरमैलो सपनासँग
जुहारी खेल्छन्
इच्छाहरू ।
थकित छन् पाइलाहरू
सुस्केरामा बियालो खेल्दै
बिनारङ पोतिन्छ
अपरिचित साथसँगै
निरुद्देश्य खेल्छे
क्यानभास जिन्दगी ।
नेपाल साप्ताहिक ४३३
