Skip to content

यी छन् र त हामी बाँचेका छौँ

  • by


माघको अन्तिम हप्ता । मौसमविदहरूले पश्चिमी पहाडमा कतै कतै बादल लाग्न सक्छ भनेर तर्साएका थिए । उनीहरूको अनुमान गलत भएको कुरा धनगढीबाट काठमाडौँ जानका लागि जहाज उडेको केही बेरमै थाहा भयो । बादल कतै थिएन । जहाजको देव्रेतिर समथर मैदान, चुरे र महाभारत पर्वत अनि हिमाल सबै छ्याङ्गै देखिए । हिमालको तेर्साे शृङ्खलामा अपि र सैपाल सुदूर पश्चिममा थिए ।

कर्णालीको पुलमाथि आइपुग्दा जहाज हिमालको निकै नजिक पुगिसकेको थियो । यहाँबाट देखिने हिमशृङ्खला अन्तका भन्दा फरक तर शोभायमान थिए । धवलागिरीबाट पश्चिम लागेपछि हिमाल दुई लहरमा उभिएका छन् । दक्षिणतिरको शृङ्खलाले समग्र कर्णाली सभ्यतालाई उत्तरमा पारेको छ । यसलाई च्याखुरे-माबु लेक भनिन्छ । यसको औषत उचाइ धेरै छैन, चार हजार मिटर मात्र छ । यो श्रृङ्खला कर्णाली नदीमा पुगेर बिलाउँछ ।

उत्तरी पाखो चाहिँ काञ्जिरोवा समूहको हिमाल सिस्नेबाट सुरू भएको छ । त्यस भन्दा अझ पश्चिम सैपाल, अपि हुँदै भारत पस्छ । सिस्नेदेखि सैपालसम्मको भाग किन हो कुन्नि खिइए जस्तो लाग्छ । यस ठाउँमा धवलागिरी भन्दा पूर्वतिर जस्तो हिमाल कहाँ हो कहाँ अग्ला र पहाड कता हो कता होचा छैनन् ।

जहाज नजिकिँदै जाँदा च्याखुरे-माबु लेक, सिस्ने-सैपाल शृङ्खला र यी दुई शृङ्लाबीचका टाकुराहरू समानान्तर जस्तै भएर पश्चिम बगेका देखिए । यी सबैमा उनीहरूका उचाइ अनुसारको हिउँ सेताम्मे थियो । यी दुईवटा मुख्य लेकमा झण्डै चैतको आधाआधीसम्म हिउँ रहन्छ । च्याखुरे-माबु लेक भन्दा दक्षिणका, हत्तपत्त हिउँ नपर्ने २,४०० मिटर भन्दा होचा डाँडाका थाप्लामा चाहिँ तुसारोको रेखी बसेको थियो ।

यस भौगोलिक अवस्थाले गर्दा यहाँका मानिसलाई पूर्वतिरको भन्दा फरक ज्ञान दिएको छ । भूगोल सम्बन्धी यहाँ यस्तो भनाइ छ- “सबै भन्दा अत्को (अग्लो) तुथो, तुथो देखि अत्को नारो, नारोदेखि अग्लो तारो ।” अर्थात यहाँको सबै भन्दा अग्लो ठाउँ तुथो अर्थात मुथू हो । यो चङ्खेलो लेकको छेऊमा पर्छ जसको उचाइ चार हजार मिटर भन्दा अलिकति मात्र बढी होला । त्यस भन्दा अग्लो चाहिँ पश्चिम तिब्बतको मानसरोबर छेऊको बजार नारो अर्थात ताक्लाकोट हो जो समुद्र सतहबाट ४,१०० मिटर अग्लो छ । त्यस भन्दा पनि अग्लो कोही छ भने त्यो आकाशको तारा हो ।

सातहजार मिटर अग्लो सैपाल यहाँ भन्दा निकै पश्चिममा पर्‍यो । आठ हजार मिटर भन्दा अग्लो धवलागिरी निकै पूर्वमा छ । त्यसैले, यहाँ यस्तो विश्वास गरिनु अनौठो होइन ।

मानिसको बसाइ अनुसार हिउँको महत्व फरक फरक छ । हिउँसँग दिनैपिच्छै सङ्गत गर्नु नपर्ने मानिसले यसलाई सुन्दर खेलौना मात्र ठान्लान । तर किसान र यहाँको जमिनका लागि चाहिँ यो जीवनदायी पानीको स्रोत हो । यहाँ आकाशबाट पर्ने कूल चिस्यान मध्ये हिउँको मात्रा निकै बढी हुन्छ । मुगुमा २९ प्रतिशत चिस्यान हिउँका रूपमा हिउँदमा खस्छ । हिउँदमा धेरै हिउँ परेन भने यहाँका किसान खेतीबाली बिग्रने भयो भनेर रून्छन् ।

हिउँ बढी पर्ने अनि उत्तरी अक्षांसमा रहेको हुनाले यहाँ हिउँ ढिलो पग्लन्छ । हिउँको यस्तो विशेषताले गर्दा यो ठाउँ यार्चा गुम्बा लगायतका जडिबुटीका लागि विशिष्ट ठाउँ बनेको छ ।

दुबैतिर हिउँ परेका टाकुराका बीचमा बसेका कर्णालीका धेरै बस्तीमा असाध्यै जाडो हुन्छ । हामी केही बेर अघि उडेको ठाउँ धनगढी (१९० मिटर) मा हिजो राती सात डिग्री न्यानो थियो र तर जुम्ला (२३४० मिटर) मा चाहिँ माइनस सात डिग्री सेल्सियस जाडो थियो । यी दुई ठाउँको तापक्रममा १४ डिग्री सेल्सियस अन्तर थियो ।

जुम्ला भन्दा झण्डै सातसय मिटर अग्लो राराताल देखिएन । नत्र त्यो सेताम्मे देखिनेथियो । अन्त कतै नपाइने, त्यहाँका रैथाने माछा कति चिसो खपेर बसेका होलान ?

उत्तरका, कर्णालीका यिनै हिम टाकुरा र गएको हप्ता परेको हिउँले निथ्रुक्क भिजाएका रूकुम, रोल्पा र प्युठानका डाँडाकाँडा हुँदै हामी काञ्जिरोवा हिमाल आइपुग्यौँ । एक हप्ता पहिले छापिएका समाचार अनुसार, त्यस वर्ष यी ठाउँमा तीस वर्षको सबै भन्दा ठूलो हिमपात भएको थियो । रूकुमको सदरमुकाम मुसिकोटमा त आधा फिटसम्म हिउँ जमेको थियो रे ।

धवलागिरी आइपुग्दा हिमालको अर्कै स्वरूप देखियो । यहाँदेखि पूर्वका हिमाल र डाँडा त्यहाँ भन्दा पश्चिमको जस्तो गरी कुम जोडौँला झैँ गरेर बसेका थिएनन् । हिमाल एक्कासी अग्लिएका थिए । डाँडा एक्कासी होचिएका थिए । त्यसैले, हिमाल र डाँडाका बीचको उचाइमा आकाशपातालको फरक थियो । आठहजार मिटर अग्लो धवलागिरीको सिधै जस्तो तल बाग्लुङको सानो फाँट देखियो जुन धवलागिरी भन्दा झण्डै सात हजार मिटर होचो थियो ।

धवलागिरी धेरै दृष्टिले अनौठो ठाउँमा छ । नेपालमा भएका आठहजार मिटर भन्दा अग्ला आठवटा हिमालमध्ये यस भन्दा पश्चिममा एउटा पनि छैन । अर्थात यो अग्ला हिमालको पश्चिमी कुना हो । धवलागिरीको उत्तरमा पानी नपर्ने हिमाली मरूभूमि छ । अनि त्यसको दक्षिणमा चाहिँ नेपालको सबै भन्दा बढी पानी पर्ने ठाउँ छ । अर्थात यो चरम हावापानी भएका नेपालका दुईवटा ठाउँका काखमा बसेको छ । यस भन्दा निकट पूर्वको अन्नपूर्णा क्षेत्र सबै भन्दा बढी विदेशी पर्यटक घुम्ने नेपाली ठाउँ हो । यस भन्दा पश्चिममा चाहिँ विदेशी पर्यटक दुमो खोजे झैँ खोज्नुपर्छ ।

धवलागिरी हिमाल भन्दा ३५ किलोमिटर पूर्वमा गहिरो भएर बगेको कालीगण्डकी तरेपछि हामी अन्नपूर्णा हिमालको आकाशमा पस्यौँ । अन्नपूर्णा दिदीवहिनी, माछापुच्छ्रे, लमजुङ र अलि पूर्वमा मनासलु हिमाल माइनस ३४ डिग्री जाडोमा कठ्याङ्गि्रका थिए । सामान्यतया, हिमाल भनेपछि नेपालको उत्तरी सिमाना भनेर बुझ्ने गरिन्छ । तर यी अजङ्गका हिमाल उत्तरी कुनाबाट उछिट्टएिर नेपालको बीचमा बसेका छन् । तिनका थोरै दक्षिणमा पोखरा, तनहुँ, र लमजुङका डाँडा र फाँट छन् । राष्ट्रकवि माधव घिमिरेले ती ठाउँलाई निकै फुक्र्याएर कविता लेखेका छन् ।

मेरा प्यारा लमजुङ तन्हौ पोखरामा गएर
जौबारीको तल लहलहा धानका खेत हेर

मालिक्नी हुन् सकल यिनकी अन्नपूर्णा हिमाली
बग्छिन् मादी ललित जसका पाइताला पखाली

नेपाली मस्तिस्कले हिमाल र तल्तिर उब्जने अन्नको सोझो सम्बन्ध जोडिदिएको छ । त्यसैले, यहाँका हिमाल र टाकुराले अन्नपूर्णा र पाथिभरा जस्ता नाउँ पाएका छन् । किसानहरू अन्नपूर्णा हिमाललाई खले गहरो मान्छन् । कात्तिक/मंसिरमा धान पाकेपछि किसानले दाईँ मात्रै तल खेतमा हाल्छन् रे । त्यसको सह त माथि अन्नपूर्णा हिमालमा छ रे ।

यो मिथ्या विश्वास भने होइन । यसका पछाडि अर्काे विश्वासको बल छ । त्यो हो- अन्नपूर्णा हिमालमा धेरै हिउँ परेको साल धेरै अन्न फल्छ । हिमालमा हिउँ परेपछि मात्रै यसले आफू भन्दा तलको सभ्यतालाई सिञ्चित गर्नसक्छ भन्ने वैज्ञानिक तथ्यमा आधारित छ यो विश्वास ।

एकअर्कासँग सम्बन्धित यी दुई भिन्न भौगोलिक स्वरूप मध्ये हिमालमा धेरै हिउँ परेको प्रष्टै देखिन्थ्यो तर राष्ट्रकविका ‘प्यारा लमजुङ, तन्हौ पोखरा’ भने देखिएनन् । तिनलाई तुवाँलोले ढाकेको थियो । शान्ति स्तुपको सेतो रङ हेरेर फेवाताल त्यसैको तल छ भनी चित्त बुझाउनुपर्‍यो । एक किसिमले नरमाइलो लाग्यो । तर तिनलाई नदेखेको राम्रै भयो । किनभने त्यहाँका जौबारी र ‘लहलहा धानका खेत’ लाई जद भनी प्रख्यात जग्गा दलालहरूले चिराचिरा पारिसक्न लागेका थिए । अन्न फलुञ्जेल तिनको स्वामित्व अन्नपूर्णा हिमालमा हुँदो हो तर घडेरी फल्न थालेपछि तिनको स्वामित्व र फाइदा जग्गा दलाल र तिनलाई पोसेर कृत्तिम अर्थतन्त्र सिर्जना गर्ने ब्याङ्कहरूका हातमा पुगिसकेको थियो । यस्तो बिजोग देखेको भन्दा नदेखेकै जाति ।

माछापुच्छ्रेलाई फरक स्वरूपमा देख्दा भने निकै आनन्द आयो । पोखराबाट हेर्दा माछापुच्छ्रेको पछाडि हिमाल देखिँदैन । पोखरा भन्दा अलि दक्षिणपूर्वको आकाशबाट हेर्दा भने माछापुच्छ्रे अन्नपूर्णाको अगाडि उभिएझैँ देखियो । यो त्यही माछापुच्छ्रे हो जसमा चढ्नका लागि निषेध गरिएको छ । केही समय पहिले यसलाई आरोहणका लागि खोल्ने कि नखोल्ने भन्ने विषयमा निकै चर्काे बहस भएर त्यसै सेलाएको थियो ।

माछापुच्छ्रे भन्दा अलि पूर्वमा हिमालै हिमालका बीचमा छुट्टै कथा बोकेको श्रृङ्गी अथवा भव्य सेराङ हिमालको नजिक पुग्यौँ । नेपालको उत्तरी सिमानामा बसेको यो हिमाल पर्वतारोहणका लागि निषेधित त छैन । तर यहाँ चढ्न पाइँदैन । केही वर्ष पहिले एउटा विदेशी टोली यो हिमाल आरोहणका लागि गएको थियो । तर त्यस हिमालको दक्षिणी काखमा बसेको सेराङ गुम्बाका लामा र गाउँलेले उनीहरूलाई रित्तै फर्काइदिए । तिब्बती वौद्ध धर्माबलम्बीहरूले यस ठाउँलाई बेयुल अर्थात अलौकिक ठाउँ मानेका छन् जसलाई मानिसको पदचापबाट मुक्त र पवित्र राख्नुपर्छ भन्ने विश्वास छ ।

पश्चिममा अपिदेखि लिएर गणेश अनि लाङटाङ हिमाल पार गरेर जहाज काठमाडौँमा बस्ने बेलासम्म देखिएका हिमालहरूले नेपालको हिमाली सम्पदाको सम्झना गराए । संसारमा भएका आठ हजार मिटर भन्दा अग्ला १४ मध्ये ८ वटा हिमाल अनि ६ हजार मिटर भन्दा अग्ला १,३०० टाकुरा भएको हाम्रो देश कसरी गरिब हुन्थ्यो ? बेलायती पर्वतारोही र अन्वेषक एच. डब्लु. तिलम्यानले भनेका थिए- हिमालका सन्दर्भमा नेपाल जति धनी देश अरू कुनै छैन । अनि कर्णालीको लोकगाथामा चाहिँ हिमाल भनेको त्यस्तो देश हो जसको दाँजोमा अरू कुनै देश आउन सक्दैन अर्थात “अरू देश कैले हुन्थ्यो हिमाल् बरोबर ।”

एक घण्टाको यात्रामा हामीले त्यस अद्वितीय पर्वत श्रृङ्खलाको ठूलो हिस्सामा फैलिएका शिखर र तिनलाई आफ्ना थाप्लामा बोकेका पहाड देख्यौँ जसले त्यसभन्दा तल पहाड र मधेस अनि गङ्गा मैदानको सभ्यतालाई सिञ्चित गरेको छ । त्यसैले मानिसहरू भन्छन्- यी छन् र त हामी बाँचेका छौँ ।

फागुन १४, २०६७
शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *