प्राचीन र ऐतिहासिक सांस्कृतिक पर्व ल्होछार/लोसार

  • by


नेपाल एक बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश हो । यिनै संस्कृतिहरूमध्ये सिङ्गो हिमाली तथा पहाडी भू-भागको आदिवासी जनजाति समुदायको ऐतिहासिक र सबैभन्दा ठूलो पर्व या चाड ‘ल्होछार वा लोसार’ हो ।

नेपालमा सम्पूर्ण उच्च पहाडी हिमालय क्षेत्रको हुम्ली तामाङ, मुगाली, डोल्पाली, मुस्ताङ्गी, तामाङ, ह्योल्मो, गुरुङ, मनाङ्गे, थकाली, दुरा, जिरेल, लोमी, लेप्चा, भुटिया, तोप्केगोला, ओलाङचुङ, होलुङ, भोटे, शेर्पा, लामाभोटे, तिब्बती आदि जातिहरूले ल्होछार (लोसार) पर्वको मनाउँछन् ।

नेपालको उपल्लो मुस्ताङ, डोल्पाको तिजिरोङ, मुगुको कर्मारोङ लगायत क्षेत्रहरूमा यो उत्सवलाई छेगो र रूङ पर्वको रूपमा मनाइन्छ । यो उत्सव नेपालको सम्पूर्ण उच्च पहाडी हिमालय क्षेत्र, चीन, मङ्गोलिया, सिङ्गापुर, मलेसिया, कोरिया, जापान, लावस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, बर्मा, भुटान लगायत भारतको लदाख, दार्जिलिङ, सिक्किम, अरुणाञ्चल प्रदेश, हिमाञ्चल प्रदेश आदि स्थानमा बडो महत्त्वका साथ मनाइन्छ । तिब्बत र नेपालका शेर्पा, गुरुङ जाति बाहेक तामाङ, योल्मो, मनाङबा, दोल्बु लगायत ग्रामीण हिमाली आदिवासी जनता र चीन, भियतनाम, लावस, मलाया, सिङ्गापुरका चिनियाँ मूलका जनताले यो पर्व सौरमास अनुसार माघ २१ गते त्यसैगरी सन् २०११ को फेब्रुअरी ४ र ५ तारिख अर्थात् मुख्य गरी चिनियाँ प्रथम चन्द्र महिनाको प्रथम दिन नेपाल र भारतमा चन्द्रमासानुसार माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भ उत्सवको रूपमा मनाउँदै छन् । त्यसकारण यो चन्द्रमासानुसार मनाइने नयाँ वर्ष आरम्भ उत्सव हो । चीनमा यही उत्सवलाई वसन्त उत्सव अर्थात् स्प्रिङ फेस्टिवलको रूपमा पनि मनाइन्छ । तसर्थ ल्होछार वा लोसार नेपालमा मात्र नभएर एसियाका धेरै मुलुकहरूमा एकैसाथ मनाउने एउटा साझा अन्तर्राष्ट्रिय उत्सव हो । नेपालमा २०५१ सालदेखि यो ल्होछार लोसार उत्सवलाई सांस्कृतिक राष्ट्रिय पर्वको रूपमा एक दिन सार्वजनिक बिदासमेत दिइँदै आएको छ ।

लोसार र ल्होछार के हो ?

तत्वीय खगोलशास्त्रमा आधारित साल, वर्ष, सम्वत्, मानिसको उमेर बदलिएको दिनलाई बुझाउने ल्होछार या लोसार दुई शब्दको शाब्दिक अर्थ एउटै हो । यहाँ ल्हो वा लो भनेको विभिन्न १२ जीव जन्तुको नाममा आधारित तत्वीय वर्षलाई बुझउँछ भने छार वा सार भनेको नयाँ, नवीन भन्ने बुझाउँछ । नेपालको तामाङ, गुरूङ तथा थकाली, दुरा लगायत आदिवासीको भाषामा ‘ल्हो’ शब्दले र तिब्बती, शेर्पा, ह्योल्मो, सीङसा, तोप्केगोला, डोल्पाली, होलुङ आदि हिमाली जनसमुदाय र तिब्बती भाषामा ‘लो’ शब्दले सम्वत, सम्वतसर, साल, वर्ष, ऋतु, मान्छेउमेर आदि बुझाउने तत्वीय वर्ष चक्रमा रहेका १२ वटा जीवजन्तुहरूको नामकरण भएको वर्षहरू समूहलाई बुझाउँछ । त्यसकारण ल्हो र छार बाट ‘ल्होछार’ तथा लो र सारबाट ‘लोसार’ भन्ने चन्द्रमासमा आधारित तत्वीय नयाँ वर्ष आरम्भ उत्सव हो । तसर्थ ल्होछार या लोसार शब्दले तत्वीय वर्षचक्रको वर्ष, साल फेरिने दिन या नयाँ वर्ष लाई बुझाउँछ । ल्होछार वा लोसार तत्वीय ज्योतिष तथा खगोल शास्त्रमा आधारित खगोलीय काल गणनाको प्राचीन पद्धति हो । ल्होकोर या लोकोर (वर्षचक्र)मा विभिन्न १२ वटा जीवजन्तुहरू क्रमशः १. मुसा, २. गोरू, ३. बाघ, ४. खरायो, ५. ड्राइगन, ६. सर्प, ७. घोडा, ८. भेडा, ९. बाँदर, १०. चरा, ११. कुकुर, १२. बँदेल रहेको हुन्छ । यही १२ जीवले भोग गर्ने वर्षहरूको एउटा ‘लोकोर’ या ‘ल्होखोर्लो’ (वर्षचक्र) हुन्छ । यही वर्षचक्रको एउटा जीव सङ्केतको एउटा वर्षबाट अर्को जीव सङ्केत वर्ष फेरिने दिनलाई नै ल्होछार या लोसार भनिन्छ ।

ल्होछार/लोसार ज्युङ्ची अर्थात् तत्वीय खगोल तथा ज्यातिष शास्त्रमा आधारित छ ।

संसारमा हाल प्रयोगमा रहेको खागोल तथा ज्योतिष शास्त्रको अध्ययन अभ्यास मुख्य रूपमा दुई प्रकारको पाइन्छ । एउटा गणितीय विधिबाट गणना गर्ने र भाषा, लिपिको विकाससँगै विकास भएको भारतीय तथा पश्चिमी ग्रेगोरियन पात्रो परम्परा हो, जहाँ अङ्क गणितीय माध्यमबाट दिन, महीना समय, वर्ष लगायतको विभिन्न कालका एकाइहरूको निर्धारण गरिन्छ । यस्तै विभिन्न जीवहरूको नाम ‘ल्होकोर/ लोकोर’ अर्थात् वर्षचक्र तथा ‘खाम’ अर्थात् तत्त्व सङ्केत चिन्हहरूको एक आपासमा हुने सम्बन्धको आधारमा काल तथा कालका एकाइहरू निर्धारण गरिन्छ जसलाई चिनियाँ तत्वीय खगोलशास्त्र अङ्ग्रेजीमा इलमेन्टल एस्ट्रोनोमी भनिन्छ । संसारमा प्रचलित ज्योतिष तथा खगोल शास्त्रहरूमा चिनियाँ तत्वीय खगोल तथा ज्योतिष शास्त्र प्राचीन र पुरानो मानिन्छ ।

यो तत्वीय वर्ष चक्र गणना परम्परामा चिनियाँ तत्वीय खगोलशास्त्र तथा ज्योतिषशास्त्र अनुसार प्रत्येक वर्षहरू सँग यी पाँच तत्त्वहरू (१. काठ, २. आगो, ३. पृथ्वी, ४. धातु, ५. पानी) प्रत्येकको भाले र पोथी (यिङ र याङ) को छुट्टाछुट्टै सम्बन्ध रहेको हुन्छ । यो पाँच तत्त्वहरूको तत्वीय वर्ष बुझाउने अलग-अलग सङ्केतात्मक जीवहरूसँग सम्बन्ध हुन्छ ।

प्रत्येक जीव सङ्केतात्मक तत्वीय वर्षले माथि वर्णन गरिएको प्रत्येक तत्वहरूको भाले या पोथीको प्रभाव रहेको हुन्छ । जस्तै यसपालिको नयाँ वर्षलाई च्या-मो योअी ल्हो “स्त्री-माटो-तत्वीय खरायो वर्ष” अर्थात् इलमेन्टल वर्ष भनिन्छ । यस प्रकारको विभिन्न १२ जीवहरूको नाममा रहेको वर्ष चक्र तथा पाँच भौतिक तत्वहरूको आधारमा सम्वत, वर्ष, साल, महिना, दिन, घडी, पला जस्ता समय, काल आदिको गणना गर्ने प्रणली वा पात्रो वा ज्योतिष परम्परालाई नेपालका हिमाली आदिवासीहरूको भाषामा ‘ज्युङची’ अर्थात् तत्वीय खगोल तथा ज्यातिष शास्त्र भनिन्छ । ल्होछार वा लोसार नयाँ वर्ष उत्सव यही तत्वीय खगोल तथा ज्योतिष शास्त्रामा आधारित छ ।

तसर्थ ल्होछार वा लोसार तत्वीय ज्योतिष तथा खगोलशास्त्र (इलमेन्टल एस्ट्रोलोजी एन्ड एस्ट्रोनोमी) परम्परा अनुसारको पाँच तत्त्वहरू(खामहरू) सँग क्रियात्मक सम्बन्ध रहने वर्षचक्रको तत्वीय वर्ष (ल्हो) फेरिने दिन हो । तत्वीय खगोलशास्त्र र ज्योतिषशास्त्र (इलमेन्टल एस्ट्रोलोजी एन्ड एस्ट्रोनोमी) को प्रयोग तथा यसका आधारमा वर्ष, महिना, दिन, समय आदिको गणना गर्ने र त्यसैको आधारमा वर्ष फेरिने पर्व, नयाँ वर्ष उत्सव मनाउने गरिन्छ । तसर्थ यहाँ नयाँ वर्षलाई बुझाउने शब्द लोसार र ल्होछार शब्दले ‘ज्युङची’ प्राचीन चिनियाँ तत्वीय खगोलशास्त्र अनुसारको वर्ष फेरिने दिन अर्थात् नयाँ वर्ष उत्सवलाई बुझाउँछ ।

तत्वीय खगोलशास्त्रको वर्ष, महिना, दिन, समय आदि गणना गर्ने परम्परालाई तामाङ शेर्पा, ह्योल्मो लगायत तिब्बती भाषाहरूमा ‘ज्युङची’ तथा ‘नाग्ची’ भनिन्छ । ज्युङचीकै आधारमा तत्वीय ज्योतिषशास्त्रको परम्परा चली आएको छ । यसका निमित्त खाम (पाँच तत्व), ल्हो (लो) (बाह्र जीव चक्र), मेवागु (नौ अङ्कीय वर्गाकार) र पार्ख (अष्टकोण वा दिशा) युक्त तालिका स्हिपा खोर्लोको प्रयोग गरिन्छ । यसैको प्रयोग गरेर, विवाह, चुडाकर्म, मृत्यु संस्कार आदिका निमित्त शुभ साइत जुराउने तथा निर्धारण गर्ने गरिन्छ ।

त्यसकारण यो ल्होछार (लोसार) उत्सव तत्वीय वर्षचक्र तथा चन्द्रपात्रोमा आधारित चन्द्रमासको पहिलो चन्द्र महिनाको पहिलो दिन पर्ने भएकाले चीन, सिंगापुर, मलेसिया, भेतनाम, लावोस आदि देसमा चन्द्र नयाँ वर्ष (लुनार न्यू-एर) भनेर पनि भनिन्छ । ल्होछार (लोसार) दिनलाई चिनियाँहरू ‘युआन’ पनि भन्छन् । त्यसै गरी यो पर्व सूर्य उत्तरायण प्रवेश हुने वा ऋतु परिवर्तन हुने दिनसँग जोडेर चिनियाँहरूले वसन्त उत्सव (स्प्रिङ फेस्टिवल) को रूपमा पनि मनाउँदै आएको छ । यसरी नै नेपालको तामाङ समुदायले यो वसन्त उत्सवलाई ‘ल्हो पोबा रे'(वर्ष फेरिने दिन), ‘ल्हो दोबा रे'(वर्ष र्फकने दिन), ‘छारदीङ’ (नयाँसाल आरम्भको दिन) पनि भन्ने गरेको पाइन्छ ।

तत्वीय वर्षचक्रको नाम कसरी छनोट भए भन्ने सन्दर्भमा पाइने आख्यानहरू

ल्होकोर च्युअङी अर्थात १२ वटा वर्षहरुको नामाकरण कसरी हुन गयो भन्ने सम्बन्धमा यो परम्पराको सबैभन्दा पुरानो परम्परा भएको चीनियाहरु पनि स्पष्ट देखिन्दैन र पनि पनि उनीहरुमा विभिन्न कथनहरु पाइन्छ तर अरु समुदायमा हालसम्म कुनै प्रकारको कथनहरु सुन्नमा आएको छैन तर चीनियाहरुमा भने दुई प्रकारको मतहरु पाइएको छ । तर चीनमा प्रचलित १२ वर्षको नामसंग चीनियाहरुको जत्तिको पूर्णरुपमा खगोल र ज्योतीष शास्त्रसंग ठ्याक्कै मेल खाने ल्होकोर परम्परा नभएका तर अवशेषमात्र रहेका नेपालका केहि समुदाय र भियतनामीहरुमा १२ वर्षलाई प्रतिनिधित्व गर्ने जीव जन्तुहरुको नाम क्रममा एक दुइवटा भिन्न छ ।

(क) संसारको सम्पूर्ण प्राणीहरुलाई भगवान बुद्धले परिनिर्माण हुनु पूर्व भेला हुन निम्त्याउनु भएको थियो । निम्तो मान्न भेला भएका प्राणीहरु मध्य १२ प्राणीहरुलाई डाकेर उनीहरुलाई भगवान बुद्ध सामु सबैभन्दा पहिले आइपुग्नेको नामबाट क्रमशः एक एकलाई एउटा वर्ष गरी नामाकरण गर्नु भएको थियो ।घ

(ख) जाड बादशाहले एक पटक सबै भन्दा छिटो कुन प्राणी रहेछ भन्ने थाहा पाउन एउटा प्रतियोगिताको आयोजना गरेको थियो । बादशाहले तोकिएको नदी पार गर्ने(तर्न सक्ने) प्रथम १२ प्राणीहरुलाई धरतीको १२ हाँगाको रुपमा चन्द्र पात्रोको वर्ष चक्रमा समावेश गर्ने निधो गरेका थिए । यो प्रतियोगितामा गोरुले पौडन कमजोर विरालो तथा मुसालाई आफ्नो ढाडमा(आङमा) बोकेर खोला तारी प्रतियोगितामा सहयोग गर्ने वाचा गरेका थिए । नदी विचमा पुगे पछि मुसाले विरालोलाई धकेली दिए र आफू भने गोरुको कान भित्र बसेका थिए । जब खोला तरीसके पछि आफ्नो ढाडमा रहेको मित्रहरुलाई ओराल्न लाग्दा मुसा फुत्त उफ्रेर पहिला भए र विरोलोले प्रथम हुने १२ प्राणीहरुमा पर्ने मोका गुमायो । मुसा पहिला भएकाले वर्ष चक्रमा पहिलोमा, दोश्रोमा गोरु परे । भन्ने उल्लेख गरिएको छ ।

(ग) ल्हो-खोर्लोमा चिनिया परम्रामा वाहेक भियतनाम, नेपालमा तामाङ र गुरुङहरुमा खरायो वर्षलाई विरालो वर्षको रुपमा पनि गणना गर्ने चलनछ । तर सरकारी स्तरमा नै सयौं वर्ष देखि प्रचलनमा रहेको मुख्य भूमि चीन र स्वशासित क्षेत्र तिब्बतमा भने १२ वर्षलाई प्रतिनिधीत्व गर्ने जीव जन्तुको नाममा खासै भिन्नता छैन ।

फागुन २१, २०६७
शनिबार, गोरखापत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *