Skip to content


ध्वस्त नै हो मेरो नाम
ध्वस्त नै हो मेरो काम

मलाई ध्वस्त नै मन पर्छ
ध्वस्तैमा मन अड्छ ।

शान्तिलाई पड्काउदै
कान्तिलाई लड्काउदै
सहमतिलाई अडकाउदै
सहकार्यलाई भड्काउदै
गाउँ शहर ध्वस्त पार्नुछ
सडक सदन अस्त-व्यस्त पार्नुछ
किनभने
मलाई ध्वस्त नै खान मन छ
मलाई ध्वस्त मै जान मन छ ।

कलाकारखाना गरी बन्द
शिक्षालाई पारी मन्द
ब्यावसायमा हाली दुर्गन्द
देशको अर्थतन्त्रलाई ध्वस्त पार्नुछ
धनीलाई गरीब,
गरीबलाई झन गरीबको रेखामुनि झार्नु छ
किनभने
ध्वस्त हो मेरो बिजय
ध्वस्त हो मेरो आशय
भोकोलाई भोकै राखेर
नाङ्गोलाई नाङ्गै पारेर
सात साल देखी अहिले सम्म
ध्वस्त नै हो मेरो जीत
ध्वस्त हो मेरो प्रीत ।

कहिले क्रान्तिको आगो बालेर
कहिले शान्तिको धागो फालेर
धनीलाई झिरमा उन्दै
गरिबको झुठो सपना बुन्दै
ध्वस्तैलाई समाउदै
ध्वस्तैमा रमाउदै
ध्वस्तैमा कमाउदै
ध्वस्त नै हो मेरो गीत
ध्वस्त नै हो मेरो हित
ध्वस्त नै हो मेरो रीत ।

मुखले बोली राम राम
बगली छुराले तमाम
भनेर अरुलाई तथानाम
मानेर आफ्नो सही काम
कमाउन छ धेरै दाम
देशैलाई पारेर जाम
किनकि
ध्वस्त नै मन पर्छ
ध्वस्तैमा मन अड्छ
ध्वस्त नै मेरो नाम
ध्वस्त नै मेरो काम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *