Skip to content

अन्तर मनको अनुभूति

  • by


पराग
जीवनको डुङ्गामा
तिम्रो प्रेमको चुम्बन
सौन्दर्यको कोमल स्पर्श
अङ्कित हुँदा
खुशीले गदगद हुँदै
सम्बेगात्मक अनुभूतिलाई
अर्पण गर्दै मनको कुइनेटोबाट
घाम छर्न मन लाग्छ
रङ्ग बदल्न मन लाग्छ
सुहाइदिन मन लाग्छ
फुलको थुङ्गा भएर
पराग !
कैचिमार गुन्यु
चौबन्दी चोलो
काचका चुरा
ढुङ्री बुलाकीले सजिएकी
रहर र उमङ्गले भरिएकी
निधारमा रातो टिका
पसिनाले लतपत भिजेकी
पोक्ची गाला
पहाडकी परी
मेरी पराग !
आँखा कोल्ट्याएर
तिमीलाई हेर्नेहरूको बिच
जिन्दगीको भुगोल नाप्नेहरूको माझ
अक्करिलो भीर उक्लन
सजिलो कहाँ छ र ?
ब्वाँसाहरूको बगालमा
पराग !
भताभुङ्ग भएर
भत्किरहने मन सङ्गै
तिमीले भोगिरहेकी
अधबैसे दैनिकी
थिल्थिलिएर विवशतामा
ढल्नुहुदैन
कसैसित रात साटेर के भयो र ?
परस्रीगमन गर्नेहरूको भिडमा
कुठाराघात गर्नेहरूको बगालमा
रङ्गिन चस्माले
सजिब चित्रलाई हेर्दा
खल्लो अनुभूतिहुनेहरूको माझमा
साइनी जोड्न अनर्थ
हुदोरहेछ
पराग
मनको क्यानभासमा
अनुभूतिहरूमा ।

बिमल गिरी
ब्रस्सेल ,बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *