जीवन जिउने बहानामा
मनको चाहनालाई भुटे
थाहै छैन गोरेटोमा
कति कति बाटा छुटे ।
आफ्नो लागि भन्दा यहाँ
अरुकै लागि बेसी बाँचें
मनका इच्छा बिनासित्ती
नटुसाउँदै सबै भाँचें ।
किन खोज्यौ आगो बाल्न
यो मनको मझेरीमा
तातो भुङ्ग्रोभन्दा बरु
बेसै थिए अँधेरीमा ।
चाहनालाई लत्याउँदै
विवश जीवन बचेको छु
आगो बाली यो मनमा
त्यही आगोमा नाचेंको छु ।
मन रुपी अँगेनामा,
घात प्रतिघातहरू बिस्कुन सरी
मेरो भागमा
किन नुन चुक दल्यौ
निको भएको त्यो दागमा ।
तीर्थ (यात्री) पौडेल
